भर्खरै :

ओझेल परेको समाजवादको मुद्दा

२०६२/६३ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले चालेको प्रतिगामी कदमको विरोधमा भएको आन्दोलनताका आयोजना हुने जुलुसमा समाजवादी व्यवस्थाको पक्षमा नारा लाग्दा एमालेका नेता–कार्यकर्ताहरू कर्के नजरले हेर्थे । नेकाका कतिपय नेता–कार्यकर्ताहरू त समाजवादको पक्षमा नारा लगाउने आन्दोलनकारीलाई झम्टन पनि पछि पर्दैनथे । तिनताक समाजवादको नारा एमालेको लागि उग्रवादी नारा थियो भने काङ्ग्रेसको निम्ति ‘कम्युनिस्ट’ नारा थियो । इतिहास पल्टाएर हेर्दा कम्युनिस्ट दाबी गर्ने एमाले त समाजवादमात्र होइन, त्योभन्दा निकै अघि बढेको साम्यवादी समाज स्थापनाको लक्ष्य बोकेर स्थापना भएको थियो भने नेकाको लक्षित समाज समाजवादी समाज नै थियो । विडम्बना ¤ सिद्धान्त पढाएर र प्रशिक्षण दिएर राजनीतिक सङ्गठन नगरेको हुनाले त्यत्तिबेला उनीहरूको लागि आफ्नै आदर्श पराइ बनेको थियो ।
आन्दोलनको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीले लगातार समाजवादको विषय उठाइरह्यो । प्रतिगमनविरोधी आन्दोलन समाप्त भएसँगै नेमकिपाले आफ्ना युवा–विद्यार्थी कार्यकर्ताहरूलाई देशभर परिचालन गरी समाजवादको प्रचार ग¥यो । जनतालाई समाजवादी समाज कस्तो हुन्छ भनी बुझाउनु नै त्यो अभियानको मूल लक्ष्य थियो । युवा–विद्यार्थीहरूले हिमाल, पहाड र तराईका गाउँ–गाउँ र जनताको घरदैलोसम्म पुगेर समाजवादबारे जनतालाई बुझाउने काम गरे । परिणामतः समाजवादी व्यवस्था देशव्यापी चर्चाको विषय बन्यो । अन्ततः हिजो छिःछिः र दुरदुर गरिएको शब्द एमाले र नेका संविधान निर्माणको क्रममा अँगीकार गर्न बाध्य भए । उनीहरूले समाजवादी समाज निर्माणको पक्षमा प्रतिबद्धता व्यक्त गरे ।
तर, उनीहरूले मन दुखाएरै भए पनि स्थापना गर्न चाहेको समाजवादी व्यवस्था कस्तो थरीको समाजवाद थियो ? समाजवादी समाज संसद, चुनाव वा पुँजीवादी राजनीतिक दलबाट स्थापना हुन सम्भव हुँदैन । कदाचित कसैले त्यसरी स्थापना भएको व्यवस्थालाई समाजवाद भन्छ भने त्यो झूटमात्र हो । व्यापक कामदार जनताको हित गर्ने वैज्ञानिक समाजवादी व्यवस्था समाजमा क्रान्तिकारी परिवर्तनबाट मात्र सम्भव हुनसक्छ । तथापि, समाजवादी व्यवस्थाबारे जनतालाई बुझाउनमात्र भए पनि समाजवादको चर्चा र प्रयोग आवश्यक छ । एमाले र नेकाले स्थापना गर्न चाहेको समाजवादी समाज व्यापक कामदार नेपाली जनताको हित हुने व्यवस्था होइन । उनीहरू नाफामा आधारित पुँजीवादी व्यवस्थाका पक्षधर हुन् । उनीहरूले स्थापना गर्न चाहेको समाजवाद कदापि वैज्ञानिक समाजवाद होइन ।
विडम्बना ¤ आज ती राजनीतिक दलहरू लोकाचारको लागि भए पनि चर्चा गर्ने गरेको समाजवादको कुरा हाल त्यो पनि गर्न छोड्दै छन् । पछिल्ला दुई महिनामा देशमा ठूलठूला राजनीतिक सभाहरू भए । ती राजनीतिक सभामा कोही पनि नेताहरूले आफूले स्थापना गर्न खोजेको राजनीतिक व्यवस्थाबारे कहीं कतै चर्चै भएन । नेताहरूका भाषणका विषय आपसमा गालीगलौज, आरोप–प्रत्यारोप र सत्ता नै भयो । उनीहरूले भागबन्डाकै कुरालाई आफ्नो अभिव्यक्तिको विषय बनाए । समाजवाद उनीहरूका दस्तावेजमा सजाउने शब्दबाहेक केही पनि भएन । संविधानमा समाजवादउन्मुख समाजको परिकल्पना गरिएको छ । तर, शासक दलका नेताहरू त्यो कस्तो समाज हुने भन्ने विषयमा जनतालाई बुझाउन चाहिरहेका छैनन् अथवा उनीहरू आफै त्यो विषयमा अन्योलमा छन् ।
व्यापक नेपाली जनताको हित हुने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थामात्र हुनसक्छ । त्यो वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको निम्ति व्यापक नेपाली जनताबीच त्यो व्यवस्थाको प्रारुपबारे व्यापक छलफल र बहसको आवश्यकता छ । नेपालमा नेपाली इतिहास, अर्थतन्त्र, समाज र संस्कृति सुहाउँदो समाजवाद व्यवस्था स्थापना हुँदा नेपाली जनताका सुखका दिन सुरु हुनेछ । त्यस्तो व्यवस्था स्थापनाको निम्ति समाजवादी व्यवस्थाको प्रचार र चर्चालाई निरन्तर र अझ व्यापक बनाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *