भर्खरै :

काम्पानेलाको घमाइलो सहर– ३

प्रमुख : मलाई उनीहरूका छोराछोरीको बारेमा बताऊ ।
कप्तान : महिलाहरूले बच्चा जन्माएपछि तिनलाई अछट्टै बनाइएका मन्दिरहरूमा दूध चुसाउँछन् र स्याहारसुसार गर्छन् । वैद्यले भनेअनुसार उनीहरूले दुई वा त्योभन्दा पनि बढी समयसम्म दूध चुसाउँछन् । बच्चाले खाना खान थालेपछि केटी भए महिला अनुभवीलाई र केटा भए पुरुष अनुभवीलाई दिइन्छ । त्यसपछि बालबालिकालाई सँगै राखेर अक्षर चिनाइन्छ र चित्रकारिता, दौड, हिँडाइ र कुस्तीको ज्ञान दिइन्छ । त्यस्तै उनीहरूलाई ऐतिहासिक चित्रकारिता र भाषा सिकाइन्छ । त्यसपछि उनीहरूलाई रङ्गीबिरङ्गी पोशाकबाट सजाइन्छ । ६ वर्ष पुगेपछि उनीहरूलाई प्रकृति विज्ञान र यन्त्र विज्ञान वा प्रविधि पढाइन्छ । बुद्धिको काममा सुस्त मानिसहरूलाई खेतीपातीमा पठाइन्छ । आफ्नो काममा अब्बल देखिनेहरूलाई राज्यको काममा लगाइन्छ । एकै उमेरका र उस्तै ग्रह दशा भएका मान्छेहरू बलबुद्धि र सक्कलले उस्तै हुन्छन् । यस्ता मान्छेहरूको राज्यसँग तादात्म्य हुन्छ । उनीहरूले आपसी प्रेम र सरसहयोग गर्छन् । उनीहरूलाई दार्शनिकले नाम दिन्छन् । यस्तो नाम जथाभावी दिइन्न । बरु हरेकको विशेषताअनुसार नाम दिइन्छ । यस्तो चलन प्राचीन रोमनमा पनि थियो । यसरी कसैलाई सुन्दर (पल्सर), कसैलाई घोरनाके (नासो), कसैलाई हात्तीपाइले (क्रेनिपस), कसैलाई कुप्रे (टोर्भस) र कसैलाई लिखुरे (मासर) आदि भनिन्छ । उनीहरू आफ्नो पेशामा योग्य बनेपछि र युद्ध वा शान्तिको समयमा पराक्रम गरेपछि कलाको एउटा छोटो उपनाम थपिन्छ । जस्तो सुन्दर महान् चित्रकार (पल्सर, पिक्टोर म्याग्नस), स्वर्णमय (आउरियस), उत्कृष्ट (एक्सिलान्स), बाहुबली (स्ट्रेनस) । उनीहरूको कामले पनि उपनाम थपिन्छ । जस्तो, घोरनाके बहादुर (नासोँ फोर्टिस), वा लोभी वा महान् वा महान् विजेता । जुन शत्रुलाई जितेको हो, त्यसबाट पनि चिनारी थपिन्छ । जस्तो, अफ्रिकानस, एसियाटिकस, इट्रयूस्कस । त्यस्तो मासरले मानफ्रेड वा टोर्टेलियसलाई जितेको छ भने उसलाई मासर मानफ्रेड वा टोर्टेलियस आदि भनिन्छ । यी सबै उपनामहरू माथिल्ला प्रशासकहरूले थप्छन् र त्यससँगै काम वा कलासँग मिल्दोजुल्दो मुकुट पनि लगाइदिने गर्छन् । यस्तो बेला सङ्गीत पनि बजाइन्छ । भाँडावर्तन वा गरगहनाका साधनबाहेक उनीहरूले सुनचाँदीलाई त्यति महत्व नदिने हुनाले त्यसो गरिएको हो । सुनचाँदीलाई सबैको साझा मानिन्छ ।
प्रमुख: उनीहरूमा इष्र्याभाव वा आफूले चाहेको पद वा प्रशासकमा चयन नभएकोमा निराशा हुन्छ कि हुँदैन ?
कप्तान : हुँदैन नि । किनभने कोही पनि विलासी बन्न चाहँदैन । त्यो जातलाई व्यक्ति विशेषको भन्दा पनि सामूहिक भलाइका लागि व्यवस्थित गरिएको छ र प्रशासकले भनेको मान्नुपर्ने हुन्छ । हामीलाई स्वाभाविक लाग्ने कुरा उनीहरू अस्वीकार गर्छन् । जस्तो, हामीलाई एकजना लोग्नेमान्छेले सन्तानलाई आफ्नो नाम र शिक्षा दिनु अथवा पत्नी, घर र बालबच्चालाई निजी ठान्नु स्वाभाविक मानिन्छ । उनीहरू भन्छन्, आफ्नो प्रजातिको रक्षा गर्न नै बालबच्चा जन्माइन्छ, सेन्ट थोमसले जोड दिएजस्तो निजी आनन्दको निम्ति होइन । यसरी बालबच्चा जन्माउनु साझा भलाइको निम्ति हो, निजी सुखको निम्ति होइन । किनभने, उनीहरू आफूलाई समूहको अभिन्न अङ्ग ठान्छन् । मानिसहरूले प्रायः आफ्ना छोराछोरीलाई गलत तरिकाले हुर्काउँछन् र गलत तरिकाले शिक्षा दिन्छन् । त्यसकारण ‘घमाइलो सहर’ वासीहरू आफूले राज्यबाट ठूलो विपत्ति हटाएको बताउँछन् । यसका लागि उनीहरू शुद्ध भावनाले आफ्ना सन्तानको शिक्षालाई गणतन्त्रको अङ्ग ठान्छन् र यसको जिम्मा प्रशासकहरूलाई सुम्पिन्छ । यसले मुट्ठीभर व्यक्तिको नभई समाजको रक्षा हुने उनीहरूको ठहर छ । यसरी प्रतिभाशाली छोराछोरीहरूलाई दार्शनिक नियमअनुसार वितरण हुन्छ । प्लेटोले यस्तो वितरण धेरैले गर्नुपर्ने बताएका छन् किनभने केही व्यक्तिलाई मात्र सुन्दर युवतीहरूबाट टाढा राख्दा उनीहरू प्रशासकहरूसँग रिसाउने वा उनीहरूले प्रशासकहरूलाई घृणा गर्ने हुनसक्छ । त्यस्तै प्लेटोले सुन्दर युवतीहरूसँग बस्ने हक नराख्नेहरूलाई छक्याउनुपर्छ भन्छन् । जबकि धेरैलाई प्रशासकहरूले सहरबाहिर राखेका हुन्छन् । यसरी सधैँभरि लायक युवतीहरू यस कार्यको शिकार हुन्छन् र उनीहरूले आफूले चाहेको युवक नपाउने हुनसक्छ । तर, यस्तो कुटिलता ‘घमाइलो सहर’ का बासिन्दाहरूका निम्ति आवश्यक हुँदैन । उनीहरूलाई कुरूपता भन्ने थाहा छैन । महिलाहरूलाई उचित तालिमले सफा सक्कलको, हातखुट्टा बलियो, अग्लो र चुस्त शरीरको राखिन्छ । उचाइ र बल हुनेलाई उनीहरू सुन्दर भन्छन् । त्यसले कसैले सुन्दर बन्न आफ्नो अनुहारमा रङ पोतेमा, अग्लो देखिन कुर्कुचेको जुत्ता लगाएमा अथवा आफ्नो काठको जुत्ता ढाक्न झल्लरसहितको लुगा लगाएमा ज्यान सजाय दिइन्छ । तर, महिलाहरूले यस्तो आकाङ्क्षा नै राखे भने पनि त्यहाँ त्यस्तो सुविधा हुन्न । उनीहरूलाई ती सामान कसले दिने ? त्यसमाथि, त्यहाँका बासिन्दाको दाबी छ, हामीकहाँ महिलाहरूको फुर्सद र आलस्यले गर्दा यस्तो गलत परिपाटी बसेको हो । यसले गर्दा महिलाहरूले रूपको रङ गुमाउँछन्, सक्कल फुस्रो पार्छन् अनि कमजोर र होचा हुन्छन् । यसकारण उनीहरूको सक्कल राम्रो हुँदैन, कुर्कुचेका जुत्ता लगाउँछन् र बलले नभई आलस्यपूर्ण कोमलताले सुन्दर कहलिन्छन् । यसरी उनीहरूले आफ्नो स्वभाव र प्रवृत्तिलाई नराम्रो पार्छन् । फलस्वरूप उनीहरूले आफ्ना सन्तानलाई पनि बिगार्छन् । जुनसुकै बेला पुरुष कुनै महिलाको उदात् (हार्दिक) प्रेममा पर्छ भने दुवैलाई कुराकानी गर्न, हाँसो मजाक गर्न, फूलपातका माला साटासाट गर्न र कविता लेख्न दिइन्छ । तर, जाति नै खतरामा छ भने उनीहरूलाई भेटघाट गर्न दिइन्न । अझ, उत्कट अभिलाषाबाट जन्मेको प्रेम उनीहरूबीच अज्ञात छ । उनीहरूलाई मित्रताबाट जन्मेको प्रेममात्र थाहा छ ।
घरेलु मामिला र जोडीलाई धेरै महत्व दिइन्न किनभने गरिमाको अपेक्षा गर्ने प्रत्येकले आफूले चाहेको कुरा पाउँछ । गणतन्त्रका वीर र वीरङ्गनालाई चाडपर्वमा सम्मानजनक उपहार, सुन्दर हार, मीठा परिकार वा सुन्दर लुगा दिइन्छ । दिउँसोपख सहरका सबैले सेतो पोशाक लगाउँछन् । तर, रातमा वा सहरबाहिर उनीहरूले सुती वा रेशमका राता पोशाक लगाउँछन् । उनीहरूले कालो रङलाई गोबरलाई झैँ घृणा गर्छन् । त्यसैले कालो रङ रुचाउने जापानीहरूलाई उनीहरू मन पराउँदैनन् । अभिमानलाई उनीहरू सबैभन्दा खराब दुर्गुण ठान्छन् र घमन्डी व्यवहार गर्ने व्यक्तिलाई उनीहरूले सबैभन्दा कठोरतापूर्वक आलोचना गर्छन् । त्यसैले उनीहरू टेबलमा कसैलाई पर्खन, भान्सा वा खेतमा काम गर्नुलाई तल्लो काम ठान्दैनन् । हरेक कामलाई उनीहरू अनुशासन भन्छन् । त्यसैले उनीहरू पैदल हिँड्नुलाई, प्रकृतिको कुनै काम गर्नुलाई, आँखाले हेर्नु, जिब्रोले बोल्नुलाई सम्मानजनक ठान्छन् । आवश्यकता परेको बेला उनीहरूले दार्शनिक पारामा प्रेम र घृणालाई भेद गर्नसक्छन् ।
प्रत्येक व्यक्तिले अह्राएको जिम्मेवारी पूरा गर्छ । त्यसलाई उसले सम्मानको कुरा ठान्छ । त्यहाँ कमाराकमारी राख्ने चलन छैन । उनीहरू आफैमा पुगीसरि छन् । विडम्बना ¤ हामीमाझ त्यस्तो छैन । नेपल्समा ७० हजार मान्छे बस्छन् । त्यसमध्ये मुस्किलले १० वा १५ हजारले मात्र काम गर्छन् । बाँकी मान्छे कामको बोझले दिनानुदिन दुर्बल हुँदै छन् । काम नगर्नेहरू आलस्य, लोभ, रोगब्याधी, वासना, सुदखोरी र अन्य अनाचारका शिकार हुन्छन् । उनीहरूले धेरै परिवारहरूलाई आफ्नो सुखको निम्ति नोकरचाकर तुल्याएर उनीहरूलाई गरिबी र दासत्वमा राखेर र उनीहरूमा आफ्नै दुर्गुणहरू सारेर पतीत र भ्रष्ट बनाउँछन् । त्यसैले सार्वजनिक दासत्वले उनीहरूलाई ध्वस्त पार्छ । खेत, सैन्य सेवा र कलाकोे क्षेत्रमा उपयोगी काम गरिँदैन । खालि पतनशील काम गरिन्छ । केहीले उपयोगी काम गरे पनि त्यसलाई हेलाहोचो गरिन्छ ।
घमाइलो सहरमा भने कामकर्तव्य सबैमाझ बाँडिन्छ । सबैको भागमा दिनको चार घण्टाजतिको काम पर्छ । बचेको समय आनन्दपूर्वक सिक्न, बहस गर्न, पढ्न, वाचन गर्न, लेख्न, टहलिन, शारीरिक र बौद्धिक अभ्यास गर्न र खेल्नमा खर्च गरिन्छ । लङ्गुरबुर्जा, लुँडो वा चेसजस्ता बसेर खेलिने खेलमा मनाही गरिएको छ । तर, उनीहरू फूटबल, कुस्तीजस्ता शारीरिक खेल खेल्छन् । उनीहरू भन्छन्, चरम गरिबीले मान्छेलाई अर्थहीन, कपटी, चेपारे, चोर, घुसघुसे, आवारा, झूटबोलुवा, झुटो साक्षी आदि बनाउँछ । सम्पत्तिले उनीहरूलाई उद्दण्ड, घमन्डी, अज्ञानी, विश्वासघाती, जानीटोपल्ने, ठग, गफाडी, निर्मोही, निन्दक आदि बनाउँछ । तर, उनीहरूबीच धनी र गरिब सबै मिलेर समुदाय बनेको छ । उनीहरू धनी छन् किनभने उनीहरूलाई केही चाहिँदैन । उनीहरू गरिब छन् किनभने उनीहरूसँग केही छैन । त्यसैले उनीहरू परिस्थितिका दास होइनन् तर परिस्थितिले नै उनीहरूको सेवा गर्छ । यहाँनिर उनीहरूले इसाई धर्मको महिमा गाउँछन् । सन्तहरूजस्तै बाँच्नुपर्नेमा जोड दिन्छन् ।
प्रमुख : यो त गजब र पवित्र देखिन्छ । तर, महिलाको समुदाय बनाउन गाह्रो छ । पवित्र रोमन सन्त क्लिमेन्टले सन्त परम्पराअनुसार पत्नीहरू साझा हुनुपर्ने बताउँछन् अनि प्लेटो र सुकरातको प्रशंसा गर्छन् । उनीहरू दुवैले त्यस्तै शिक्षा दिएका छन् । तर, शास्त्रले महिला समुदायको काम आज्ञा पालन गर्नु हो भन्छ । प्रथम इसाईहरूबीच पत्नीबाहेक सबैथोक साझा थियो भन्ने कुरामा (धर्मगुरु) टरटुलियन शास्त्रसँग सहमत छन् ।
कप्तान : यी कुरा म त्यति जान्दिन । ‘घमाइलो सहर’ का बासिन्दाहरूमा मैले यसको उल्टो देखिन । उनीहरूले आफ्नो विचारलाई काटो, प्लेटो र सन्त क्लिमेन्टकै तर्कले पुस्टि गर्छन् । तपाईँले भनेझैँ उनीहरूले ती विचारकहरूको कुरा गलत अर्थमा बुझ्छन् । घमाइलो सहरका बासिन्दाहरूले यसलाई आफ्नो शिक्षासँग जोड्छन् किनभने उनीहरूले दर्शन सिकेका छैनन् । तैपनि, उनीहरूले विभिन्न राष्ट्रहरूका संस्कृति सिक्न विदेशमा मान्छे पठाउँछन् र उत्कृष्ट संस्कृति सधैँ अपनाउँछन् । अभ्यासले महिलाहरूलाई युद्ध र अन्य कर्तव्यका निम्ति योग्य बनाउँछ । यसरी उनीहरू प्लेटोसँग सहमत हुन्छन् । मैले पनि तपाईँले जस्तै पढेको थिएँ । हाम्रा काजेटनको कुराले मलाई छोएन । अरस्तुको कुराले त झनै छोएन । उनीहरूबीच विद्यमान एउटा उत्कृष्ट चलन भने हामीले अनुकरण गर्नुपर्नेछ । बुढ्यौलीबाहेक अन्य कुनै शारीरिक दोषले व्यक्तिलाई त्यहाँ अयोग्य बनाउँदैन । अपाङ्गहरूसमेत सरसल्लाहको लागि काम आउँछन् । लङ्गडो व्यक्ति आफ्ना आँखालाई प्रयोग गरी पहरेदारको काम गर्छन् । अन्धाहरूले ऊनबाट कपाल आदि अलग्याउँछन् । यी सामग्री पछि सोफामा भरिन्छ । आँखा र हात नहुनेहरूले राज्यको सेवामा आफ्ना कान र आवाजको उपयोग गर्छन् । कसैसँग कुनै एउटा मात्र इन्द्रिय छ भने उसले त्यसलाई खेतमा लगाउँछ । यी अपाङ्गलाई पनि उचित सम्मान गरिन्छ । तीमध्ये केही गुप्तचर बन्छन् । राज्यका अधिकारीहरूलाई आफूले सुनेका कुरा बताउँछन् ।
प्रमुख : अब मलाई उनीहरूको सेनाबारे बताऊ । त्यसपछि उनीहरूका कला, जीवनशैली, विज्ञान र उनीहरूको धर्मबारे बताउला ।
कप्तान : तीनजनामध्ये एक शक्तिको मातहत धेरै प्रशासकहरू हुन्छन् । हतियार, तोप, घोडचढी सेना, पैदल सेना, वास्तुकार, रणनीतिका अलग प्रशासकहरू हुन्छन् । उस्ताद र अन्य धेरै कामदारहरूले प्रशासकहरूले भनेका मान्छन् । प्रत्येक शाखाका मान्छेले आआफ्ना मुखियाहरूसँग जोडिएका हुन्छन् । शक्ति नै सैन्य कवाज सिकाउने र सानो उमेरमै बुद्धिमान जनरलको तहमा उक्लेका जिमन्यास्टिकका सम्पूर्ण गुरुहरूका प्रमुख हुन्छन् । यी गुरुहरूले १२ वर्ष पुगेका सम्पूर्ण केटाहरूलाई तालिम दिन्छन् । यो उमेरभन्दा पहिले केटाहरूलाई तल्लो तहका उस्तादहरूबाट कुस्ती, दौड, सटपुटजस्ता हलुका अभ्यास गराइएको हुन्छ । तर, १२ वर्षमा उनीहरूलाई घोडा वा हात्तीमा बसेर शत्रुमाथि हमला गर्न भाला, तरबार, तीर र गुलेली चलाउन सिकाइन्छ । घोडा समाल्न, अघि बढ्न र पछि हट्न, लडाइँमा टिक्न, साथीलाई सघाउन, शत्रुलाई छलद्वारा फसाउन र जित्न सिकाइन्छ ।
महिलाहरूलाई समेत आफ्ना गुरु वा गुरु आमाबाट युद्धकला सिकाइन्छ । यसरी आवश्यक पर्दा सहरनजिक हुने लडाइँको क्रममा पुरुषहरूलाई उनीहरू सघाउन सक्षम बन्छन् । अपर्झट आक्रमण गर्नुपर्ने बेला उनीहरूलाई सहरका किल्लाहरूको रेखदेख गर्न सिकाइन्छ । यस अर्थमा उनीहरूले स्पार्टा र अमेजन जातिको प्रशंसा गर्छन् । महिलाहरूलाई बलेका गोलाहरू कसरी प्रहार गर्ने भन्ने थाहा छ । लिडको धातुबाट ती गोला कसरी बनाउने भन्ने थाहा छ । त्यसैगरी उनीहरूलाई डाँडाबाट ढुङ्गाहरू प्रहार गर्न र आक्रमण गर्न आउँछ । उनीहरूलाई मिसावटबिनाको रक्सी दिन पनि आउँछ । यसो गर्दा डराउनेहरूलाई कठोर दण्ड दिइन्छ ।
घमाइलो सहरका बासिन्दाहरू मृत्युदेखि डराउँदैनन् किनभने उनीहरूको आत्मा अजम्बरी छ र त्यसले शरीर छोडेपछि यो जुनीको कामको फलअनुसार असल वा खराब आत्मासँग मिसिन्छ भन्ने कुरामा विश्वास छ । उनीहरू ब्रह्मा र पाइथागोरसमाथि पनि विश्वास गर्छन् । तैपनि, उनीहरू आत्माले रूप फेरिरहने कुरामा विश्वास गर्दैनन् । ईश्वरको आज्ञामा कहिलेकाहीँ यस्तो हुन सक्छ । उनीहरू गणतन्त्र र धर्मका शत्रुहरूलाई, दयाधर्मका अयोग्य व्यक्तिहरूलाई आघात पु¥याउन हात कमाउँदैनन् । प्रत्येक दोस्रो महिनामा सेनाको समीक्षा हुन्छ । दिनदिनै मैदान वा पर्खालमा हातहतियारको अभ्यास हुन्छ । उनीहरूलाई युद्ध विज्ञानको कक्षा दिने काम भइरहन्छ । उनीहरूले मोजेज, योशुवा, डेभिड, जुडास माकाबियस, सीजर, अलेक्जेन्डर, शिपियो, हनिबल र अन्य महान् योद्धाहरूको विवरण पढ्नैपर्छ । त्यसपछि उनीहरूले ती जनरलहरूले आवश्यकताले वा आत्मसम्मानका लागि सही गरे अथवा गलत गरे भनी आफ्ना धारणाहरू दिन्छन् । अनि गुरुहरूले उनीहरूका प्रश्नको उत्तर दिन्छन् र को सही थियो भनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *