भर्खरै :

काम्पानेलाको घमाइलो सहर– ४

प्रमुख : उनीहरू यति सम्पन्न छन् । उनीहरू कोसित युद्ध लड्छन् र किन लड्छन् ?
कप्तान : युद्ध कहिल्यै नहुन सक्छ । तैपनि, आपत्को घडीमा नामर्द र तयारीहीन नहून् भनेर उनीहरूलाई युद्धका दाउपेच र शिकारबारे अभ्यास गराइन्छ । त्यसबाहेक त्यस टापुमा चारवटा राज्य छन् । तिनीहरू घमाइलो सहरको सम्पन्नता देखेर डाहा गर्छन् । ती राज्यका जनता पनि घमाइलो सहरका जनताजस्तै बाँच्न चाहन्छन् र आफ्ना राजाहरूबाट भन्दा घमाइलो सहरबाट शासित हुन चाहन्छन् । त्यसकारण, ती राज्यहरूले छिमेकमाथि हमला गरिरहन्छन् । उनीहरूले कसैलाई पुज्दैनन् र अन्य राष्ट्र वा ब्राह्मणहरूको धर्म पालन गर्दैनन् । यसकारण उनीहरू अधर्मी जीवन जिउँछन् । उनीहरू पहिले भारतका अन्य राष्ट्रका प्रजा थिए । ती राष्ट्रहरूमा विद्रोह भइरहन्छ । ताप्रोबेनहरूबीच पनि यस्तै उथलपुथल भइरहन्छ । तर, घमाइलो सहरका योद्धाहरू सधैँ विजेता बन्छन् । उनीहरू कुनै अपमान, निर्दयीता वा लुटपाटबाट उत्पीडित हुँदाघरि वा उनीहरूका मित्रहरू प्रताडित हुँदा वा त्यहाँका जनता राज्यको तानाशाहबाट सताइँदै उनीहरू छलफलका लागि सल्लाहकारमा जान्छन् । किनभने, उनीहरूले स्वतन्त्रताको पक्ष लिन्छन् । परिषद्मा ईश्वरले आफ्नो छलफलमा सघाउने आसले ईश्वरसामु झुकेपछि उनीहरूले स्थितिका फाइदाहरू खोतल्छन् र युद्धको निर्णय लिन्छन् । लगत्तै उनीहरूले फरेन्जिक भन्ने एक पुजारीलाई बाहिर पठाउँछन् । उनी शत्रुसामु लुटपाट रोक्नुपर्ने, मित्र (राष्ट्र) हरूलाई दमनबाट मुक्त गर्नुपर्ने वा तानाशाहलाई हटाउनुपर्ने माग राख्छन् । शत्रुले यी माग अस्वीकार गरेमा अन्यायी शासकहरूलाई नष्ट गर्न संहारका देवताको दण्डविधानअनुसार युद्धको घोषणा गरिन्छ । शत्रुले उत्तर दिन आनाकानी गरेको खण्डमा पुजारीले प्रतिक्रियाको लागि समय दिन्छन् । शत्रु देशमा राजा छन् भने १ घण्टाको म्याद दिइन्छ र शत्रु देश गणतन्त्र हो भने ३ घण्टा दिइन्छ । यसरी प्राकृतिक अधिकार र धर्मका उद्दण्ड शत्रुहरूका विरुद्ध युद्ध गरिन्छ । युद्ध घोषणा गरेपछि शक्तिका प्रतिनिधिले सबैथोक गर्छन् । तर, रोमन शासकले जस्तै सम्पूर्ण योजना र आकाङ्क्षा शक्तिको नै हुन्छ । यसले गर्दा उच्चाटलाग्दो सुस्तता हुँदैन । विकराल परिस्थिति आइपर्दा भने उनी होहसँग, विवेक र प्रेमसँग सल्लाह गर्छन् ।
यसअघि नै युद्धको समय र अभियानको औचित्यबारे काउन्सिलमा जनाउ दिएर घोषणा गरिन्छ । २० वर्षभन्दा माथिको उमेरका सबैजना परिषद्मा दाखिल हुन्छन् । यसरी युद्धका आवश्यक बन्दोबस्तीमा सबैको सहमति हुन्छ । सबै प्रकारका हतियारहरू गठ्ठाघरमा हुन्छन् र तिनलाई उनीहरू छलकारी लडाइँमा प्रयोग गर्छन् । प्रत्येक घेराको बाहिरी पर्खालहरूमा उनीहरूले बन्दुकहरू राख्छन् । उनीहरूसँग तोप पनि छ । तिनलाई उनीहरू खच्चर, गधा वा गाडामा राखेर लडाइँको मैदानमा पु¥याउँछन् । मैदानमा पुगेपछि उनीहरूले बीचमा बन्दोबस्तीका सामग्री, युद्धका यन्त्र र उपकरण, रथ आदि राख्छन् र सबैले बहादुरीपूर्वक लड्छन् । त्यसपछि सबैजना आफ्नो झन्डातिर फर्किन्छन् । शत्रुले उनीहरूको मनोबल खस्केको र पछाडि हट्न तयारी गरेको ठान्छन् । यसरी शत्रु सेना झुक्किन्छ र आराम गर्नपट्टि लाग्छ । त्यसपछि घमाइलो सहरका योद्धाहरूले विभिन्न दस्तालाई दायाँबायाँ लगाएर आफ्नो साहस र बल सुदृढ पार्छन् । तोपहरूलाई गोलाबारी गर्न आदेश दिएर उनीहरूले छरिएको शत्रुमाथि हमला गर्छन् । उनीहरूले यस्ता धेरै जुक्ति जानेका छन् । उनीहरू सबैमाथि आफ्ना दाउपेच र यन्त्रहरूको बलले विजयी हुन्छन् । उनीहरूको किल्लाबन्दी गर्ने तरिका रोमनहरूसँग मिल्छ । शिविरहरू गाड्न अनि पर्खाल लगाएर र खाल्डो खनेर किल्लाबन्दी गर्नमा उनीहरू चुस्त छन् । विभिन्न काम गर्ने कामदार, यन्त्र र औजार लगाउने उस्तादहरू तम्तयारी अवस्थामा रहन्छन् र सैनिकहरूले कोदालो र बन्चरो चलाउनुको महत्व बुझेका हुन्छन् ।
लडाइँको आदेश र रणनीतिमा अभ्यस्त ५, ८ वा १० जना अगुवाहरूले युद्धको विषयमा सरसल्लाह गर्छन् अनि आफ्नो दस्तालाई आदेश दिन्छन् । हतियार बोकेका केही ठिटाहरूलाई घोडामा राखेर लडाइँमा लैजानु उनीहरूको चलनजस्तै हो । यसले गर्दा उनीहरूले लडाइँ गर्न सिक्छन् । यसरी नै सिंह र ब्वाँसाका छाउराहरू हिंसामा अभ्यस्त हुन्छन् । खतरा आइपरेमा यी ठिटाहरूलाई सुरक्षित स्थानमा जान्छन् । उनीहरूसँगै धेरै हतियारधारी महिलाहरू पनि हुन्छन् । लडाइँपछि ती ठिटा र महिलाहरूले घाइते योद्धाहरूलाई मलमपट्टि गर्छन् । तिनको हेरविचार गर्छन् । मीठा शब्दले ढाडस दिन्छन् र तिनलाई हौस्याउँछन् । कति गजबको सहयोग है ¤ आफ्ना पत्नी र छोराछोरीको आँखामा कठोर व्यक्तिको रूपमा खरो उत्रिन सैनिकहरूलाई प्रेमले नै सघाउँछ । प्रेमले उनीहरूलाई विजेता बनाउँछ । लडाइँको बेला शत्रुको पर्खालमा चढ्ने पहिलो व्यक्तिलाई युद्धपछि घाँसको मुकुट लगाइदिएर सम्मान गरिन्छ । समारोहमा महिला र ठिटाहरूको करतल ध्वनी गुञ्जिन्छ । लडाइँको क्रममा मित्रलाई सघाउने व्यक्तिलाई अग्राखका पातहरूको नागरिक मुकुट लगाउने गरिन्छ । अत्याचारीहरूलाई मार्ने व्यक्तिको हतियार मन्दिरमा चढाइन्छ । त्यस्तो व्यक्तिलाई होहले उसको पराक्रमअनुसार उपनाम दिन्छन् । यसरी नै अन्य योद्धाहरूले मुकुटहरू प्राप्त गर्छन् ।
प्रत्येक घोडचढीले एउटा भाला र दुइटा पिस्तोल लिन्छ । पिस्तोलको नाल मसिनो हुन्छ र त्यो घोडाको काठीमा झुन्ड्याइएको हुन्छ । पिस्तोलको नाल बनाउन उनीहरूले धातुमा प्वाल बनाउँछन् । सबै रिसल्लाहरूसँग तरबार र चक्कु हुन्छ । बाँकी सैनिकहरूसँग भने धातुका लौरा हुन्छन् । हलुका हतियारधारी यी सैनिकको अलग्गै दस्ता हुन्छ । शत्रुले पिस्तोल र तरबारहरू बनाउन सक्दैन भने उनीहरूले आफ्ना गदाले हमला गर्छन्, उनीहरूलाई छिन्नभिन्न पार्छन् र भगाउँछन् । गदामा ६ आँख्ला लामा दुइटा सिक्री जडिएको हुन्छ । टुप्पोमा फलामका डल्लाहरू हुन्छन् । यी डल्लाले शत्रुको घाँटीमा प्रहार गरिन्छ र तिनलाई भुइँमा पछारिन्छ । गदालाई सजिलोसँग प्रयोग गर्नका लागि पुछारलाई हातले समातिन्न । बरु खुट्टाले प्रयोग गरिन्छ । गदाको पुछार घोडाको रिकाबमाथि अड्कियो भने खुट्टा अल्झिन्न । रिकाबको डोरी घोडाको लगामसँग सजिलो पारामा जोडिएको हुन्छ । यसरी गदाको पुछारलाई सजिलै चलाउन सकिन्छ । दाहिने खुट्टाले उनीहरूले घोडालाई देब्रेतिर मोड्छन् भने देब्रे खुट्टालाई दाहिने मोड्छन् । यस्तो रहस्य तारतार जातिलाई थाहा छैन । उनीहरूले गदाको लगाम खुट्टाले नियन्त्रण गरे पनि त्यसलाई कसरी रिकाबको औजारबाट निकाल्ने भन्नेबारे उनीहरू जानकार छन् । लडाइँको आरम्भमा हलुका हतियारसितका रिसल्लाहरूलाई पठाइन्छ । त्यसपछि दायाँबायाँबाट भालासितका सैनिकहरूलाई पठाइन्छ । लगत्तै धनुर्धर दस्तालाई पठाइन्छ । उनीहरूलाई धेरै खर्च दिइन्छ । उनीहरू लुगाका धागोजस्तै एकअर्कासँग जेलिएर र अघिपछि जाँदै लड्न सिपालु हुन्छन् । शूल बोकेका रिसल्लाहरूले लडाइँको घेरालाई सबल बनाउँछन् । तर, उनीहरूले युद्धको अन्त्यमा मात्र तरबारको प्रयोग गर्छन् ।
लडाइँपछि उनीहरू रोमनहरूले जस्तै वा त्योभन्दा पनि धुमधामसित सैन्य विजयको उत्सव मनाउँछन् । ईश्वरलाई धन्यवाद दिइन्छ । त्यसपछि उनीहरू जनरल मन्दिरमा पस्छन् । त्यसपछि लडाइँमा भएका राम्रा वा नराम्रा कार्यहरूलाई कवि वा इतिहासकारले टिपोट गर्छन् । अभियानमा कवि वा इतिहासकारलाई पनि सामेल गरिएको हुन्छ । सर्वोच्च प्रधान होहले जनरललाई पदवी दिन्छन् र सम्पूर्ण पराक्रमी सैनिकहरूलाई उपहार र सम्मान वितरण गर्छन् । सम्मान पाउनेहरूलाई केही दिनका लागि सार्वजनिक जिम्मेवारीबाट बिदा दिइन्छ । तर, यस्तो खालको बिदा उनीहरूलाई खुसी तुल्याउन दिइएको हुँदैन । उनीहरूलाई फुर्सद भन्ने कुरा नै थाहा छैन । यस्तो बिदामा उनीहरूले आफ्ना मित्रहरूलाई सघाउँछन् । अर्कोतिर, आफ्नो गल्तीले युद्ध आरम्भ गरेका र पराजित सैनिकहरूलाई दोष दिइन्छ । लडाइँको अग्रपङ्क्तिमा हुनेहरू धेरैजसो बच्न सक्दैनन् । आत्मसमर्पणपछि मात्र शत्रु सेना बाँच्न सक्छन् । सबैको दोष आफूले लिनेहरू पनि हुन्छन् । कुनै उचित कारणबिना यस्तो छुट दिइन्न । तर, आफ्नो मित्रलाई सहयोग नगर्नेहरूलाई भने लौरोले चुटिन्छ । आदेश पालन नगर्नेहरूलाई जङ्गली जनावरको आहारको रूपमा कैद गरिन्छ । त्यहाँ सिंह र भालुलाई तह लगाउन उनीहरूलाई लौरो पनि दिइएको हुन्छ । त्यसो गर्न सके उनीहरू बाँच्न सक्छन् । तर, यो झन्डै असम्भव हुन्छ । कब्जा गरिएको राज्य वा आफूलाई स्वेच्छाले समर्पित गर्ने राज्यसँग त्यसपछि सबैकुरा साझा हुन्छ । त्यसले घमाइलो सहरबाट सेना र प्रशासकहरू पाउँछ । बिस्तारै उनीहरू सहरको जीवनशैलीमा अभ्यस्त हुँदै जान्छन् । घमाइलो सहर सबैथोकको जन्मथलो बन्छ । उनीहरूले सहरमा निःशुल्क शिक्षा लिन आफ्ना सन्तान पठाउँछन् । तपाईँलाई गुप्तचर र तिनका उस्तादहरूबारे, राज्यभित्र र बाहिरका रक्षक, कानुन र उत्सवहरूबारे बताउन अलि अप्ठ्यारो पर्ला । यसबारे तपाईँ आफै कल्पना गर्न सक्नुहुन्छ । बाल्यकालबाटै उनीहरूलाई तिनको रुचि र ग्रहदशाअनुसार छनोट गरिन्छ । उनीहरू आफ्नो प्राकृतिक प्रवृत्तिअनुरूप आफ्नो कर्तव्यमा रमाइरमाइ दत्तचित्त हुनु स्वाभाविक छ । रणनीति र अन्य कर्तव्यबारे पनि यसै भन्न सकिन्छ ।
सहरमा दिन र रात गरी रक्षकदल तैनाथ रहन्छ । रक्षकहरू चारवटा प्रवेशद्वारहरू, साताँै घेराको पर्खालबाहिर, पर्खालमाथि र बुर्जाहरूमा बस्छन् । दिनमा यी सबैको रक्षा महिलाहरूले गर्छन् भने रातमा पुरुषहरूले तिनको रक्षा गर्छन् । हामीकहाँजस्तै रक्षकहरू पहरामा बस्दा नथाकून् भनेर ३ घन्टामा उनीहरूको पालो फेरिन्छ । घाम डुबेपछि विगुल बजेजस्तै नगरा र ठूलो घण्टा वा सैनिक बाजा बजेपछि रक्षकहरू छरिन्छन् । घोडचढी र पैदल सेनाले शिकारलाई युद्धको प्रतीक बनाउँछन् र खेलको अभ्यास गर्छन् । उनीहरूले मैदानमै उत्सव मनाउँछन् । त्यसपछि धुन बज्छ र उनीहरूले खुला मनले शत्रुका आक्रमण र गल्तीहरूलाई माफ गर्छन् । विजयपछि उनीहरूलाई शत्रु सहरका पर्खाल ध्वस्त पार्न र वैरीको प्राण लिन आदेश भएमा उनीहरू वैरीप्रति नरम हुन्छन् । यी सबै विजयको दिन नै हुन्छ । उनीहरूले वैरीलाई गुन लगाउन छोड्दैनन् किनभने उनीहरू आत्मसमर्पणपछि युद्ध हुनुहुँदैन भन्ने मान्यता राख्छन् । घाइते र अन्य विषयमा उनीहरूबीच विवाद उत्पन्न भएमा र कसैले रिसको झोँकमा कुनै हानि पु¥याएमा प्रमुख र अधिकारीहरूले आरोपीलाई गोप्यरूपमा कडा आलोचना गर्छन् । खासमा उनीहरू सम्मान पाउनबाहेक अन्य कुरामा बिरलै हानथाप गर्छन् । शत्रुले लडाइँको बेला मौखिक निर्णय दिन समय लिइरहेको बेला उनीहरूले शत्रुविरुद्ध आफ्नो आक्रोशलाई अभिव्यक्ति पोख्नुपर्ने हुन्छ । लडाइँको बेला सबैभन्दा बढी दुस्साहस गर्ने सैनिकले सङ्घर्षमा लक्ष्यको सेवा गर्नसक्ने थियो भन्ने ठानिन्छ । त्यसैले आफ्नो आक्रोशले सङ्घर्षमा हानि पु¥याउने यस्ता व्यक्तिलाई पछि दण्डित गरिन्छ । तैपनि, उनीहरूलाई एक्लै लड्न दिइन्न । अदालतले उसको हकको रक्षा गर्छ । बदनियत झट्टै देखिन्छ र त्यो उम्लिँदै गएपछि पोखिन्छ । तर, सुध्रिने कसम खाने व्यक्तिले आफूलाई लडाइँमा सावित गर्छ ।
प्रमुख : यो अर्थपूर्ण छ । मातृभूमिलाई नोक्सान पु¥याउने गुटहरूलाई छुट दिनुहुँदैन । यसले गृहयुद्ध टर्छ । यस्तो गृहयुद्धबाट तानाशाहहरू जन्मिरहन्छन् । रोम र एथेन्समा यस्तै भएको थियो । अब मलाई उनीहरूको पेशा वा आन्तरिक व्यवसायबारे बताऊ ।
कप्तान : तपाईँले उनीहरूको सैनिक, खेती किसानी र गोठालो जीवनबारे सुनिहाल्नुभयो । उनीहरू सबैले यी काम गर्छन् र यिनको विषयमा ज्ञान राख्ने व्यक्तिलाई अब्बल दर्जाको कुलिनको रूपमा सम्मान गरिन्छ । यसबारेमा तपाईँले थाहा पाइहाल्नुभयो । यीबाहेक अन्य कलामा पनि सिपालु व्यक्तिलाई त्यहाँ अझ कुलिन ठानिन्छ र एउटा कलामा सिद्धहस्त व्यक्तिलाई शिक्षकको रूपमा राखिन्छ । धातुको काम र डकर्मी कामजस्ता धेरै श्रम लाग्ने पेशालाई उनीहरू अत्यन्त प्रशंसा गर्छन् । सुरुदेखि नै आफ्नो झुकाव अर्कै भएको आधारमा कोही पनि यी पेशामा जान आनाकानी गर्दैनन् । श्रम विभाजनको आधारमा कसैले पनि अरूलाई हानि गर्दैन बरु अरूलाई आवश्यक काम गर्छ । थोरै श्रम लाग्ने काम महिलाको हुन्छ । सबैले पौडिन जानेका हुन्छन् । यसैको लागि सहरका पर्खालहरूबाहिर र सहरभित्र फोहरानजिक पोखरी बनाइएको छ ।
उनीहरूबीच व्यापारको ठूलो महत्व हुँदैन । तर, उनीहरूलाई पैसाको मूल्य थाहा छ । आफ्ना राजदूत र खोजकर्ताहरूका निम्ति उनीहरूले पैसा छुट्याउँछन् । यसबाट उनीहरूले जीविकोपार्जन गर्छन् । उनीहरूको राज्यमा विश्वका विभिन्न देशबाट व्यापारीहरू जान्छन् र उनीहरूले सहरको बढी भएको मालसामान किन्छन् । घमाइलो सहरका जनताले पैसा दिन मान्दैनन् बरु त्यसको साटो आफूलाई आवश्यक सामान लिन्छन् । कहिलेकाहीँ उनीहरूले सामान किन्न पैसाको प्रयोग पनि गर्छन् । घमाइलो सहरका युवायुवतीहरूले थोरै पैसाको बदलामा धेरै सामान पाएकोमा अचम्म मान्छन् । बुढापाकाहरू त्यति हाँस्दैनन् । राज्यलाई दासप्रथा र विदेशीहरूको विषाक्त संस्कृतिले भ्रष्ट बनाउन उनीहरू चाहँदैनन् । त्यसैले उनीहरूले प्रवेशद्वारहरूमा व्यापार गर्छन् र युद्धमा जितेका सरसामान बेच्छन् अथवा ती सामानलाई सहरबाहिर खाल्डो खन्न र कठोर काम गर्न उपयोग गर्छन् । यसकारण उनीहरूले सदा सिपाहीहरूका चारवटा समूहलाई सहरबाहिर पठाइरहेका हुन्छन् । उनीहरूसँगै अन्य श्रमिकहरू समेत हुन्छन् । चारवटा प्रवेशद्वारबाहिर दुवैतिर पर्खाल भएका सडकहरू छन् । ती सडक समुद्रसम्म जान्छन् । यसले गर्दा उनीहरू र विदेशीहरूलाई मालसामान लैजान वा ल्याउन अप्ठ्यारो हुँदैन ।
विदेशीहरूप्रति उनीहरू दयालु र शिष्ट हुन्छन् । तिनलाई उनीहरू सार्वजनिक खर्चमा ३ दिनसम्म राख्छन् । सुरुमा तिनको खुट्टा धोइदिन्छन्, अनि तिनलाई सहर घुमाउँछन् र आफ्ना चालचलन देखाउँछन् । त्यसपछि तिनलाई परिषद्मा सार्वजनिक टेबलनिर बसाल्छन् । त्यहाँ पाहुनाहरूको रेखदेख र रक्षा गर्न अलग्गै कर्मचारीहरू हुन्छन् । विदेशीहरूले उनीहरूको राज्यको नागरिकता पाउन चाहे भने पहिलो महिना उनीहरूले खेतमा काम गर्नुपर्छ र अर्को महिना सहरमा काम गर्नुपर्छ । त्यसपछि तिनको बारेमा निर्णय लिइन्छ र निश्चित समारोह र शपथग्रहणको कार्यक्रमपछि तिनलाई नागरिकता दिइन्छ ।
उनीहरू खेतीपातीलाई धेरै महत्व दिन्छन् । त्यहाँ खेतीपाती नगरिएको जमिन पाइँदैन । उनीहरू हावाको बहाव र सौभाग्य जनाउने ताराको अवलोकन गर्छन् । सहरमा बस्ने केही मानिसबाहेक सबैजना हतियार लिएर बाहिर जान्छन् । झन्डा, नगरा र बिगुलको कलरव ध्वनीसहित उनीहरू जोत्न, रोप्न, खन्न, खोस्रिन, बाली काट्न, फलफुल र अङ्गुर टिप्न खेतमा जान्छन् । यसरी उनीहरू सबैथोकको बन्दोबस्त मिलाउँछन् र छोटो समयमै सावधानीपूर्वक आफ्नो काम सिध्याउँछन् । उनीहरूले ठूलो डुङ्गामा अटाउने गाडाको प्रयोग गर्छन् । बतासले नाउलाई सहरतिर लैजान्छ । बतास उल्टो दिशाबाट आए पनि विभिन्न चक्काहरूको प्रयोग गरेर नाउलाई सहरतिर नै लगिन्छ ।
हावा नचलेको बेला ठूलो लडियालाई पशुले तानेर सहर लगिन्छ । यो हेर्नलायक दृश्य हुन्छ । जमिनका पहरेदारहरू आफ्नो पालो आउँदा हतियारबद्ध भई समयमै हिँड्छन् । फलफुलमा कुहिने गुण नसारून्, खाँदा थोरै पोषण नदिऊन् भनेर खेतमा गोबर र अन्य फोहरलाई मलको रूपमा प्रयोग गर्दैनन् । जस्तो, लाली लगाएर सुन्दर देखिने र व्यायाम नगर्ने महिलाहरूले लुरे सन्तान जन्माउँछन् । त्यसैले उनीहरूले खेतलाई रङ्गयाउँदैनन् बरु राम्ररी खनजोत गरेर केही गोप्य उपाय लगाउँछन् । यसले गर्दा फलफुल ठूलो मात्रामा हर्लक्कै बढ्छन्, तर बिग्रँदैनन् । यस कामको लागि उनीहरूसँग जिओर्जिक्स नाउँको पुस्तक हुन्छ । आवश्यक जमिनमा खेतीपाती गरिन्छ र बाँकी जमिनलाई चरण क्षेत्रको रूपमा प्रयोग गरिन्छ ।
अब्राहमको (प्राचीन) युगमा जस्तै उनीहरूकहाँ घोडा, गोरु, भेडा, कुकुर र अन्य घरेलु पशुलाई पालिन्छ र उत्साहपूर्वक काममा लगाइन्छ । समय आउँदा वस्तुभाउलाई भाले लगाइन्छ ।
गोरु, घोडा, भेडा र अन्य जन्तुहरूका राम्रा चित्रहरूलाई अगाडि राखिन्छ । उनीहरूले भाले र पोथी घोडालाई सँगै दाना दिँदैनन् बरु उपयुक्त समयमा उनीहरूलाई खेतको तबेलामा सँगै राखिन्छ । धनु तारामण्डल मङ्गल र बृहस्पतिसँग मिलेको बेला यस्तो गरिन्छ । गोरुको लागि वृष र भेडाको लागि मेषलाई हेरिन्छ । अरूमा पनि कलाअनुरूप गरिन्छ । कृतिका नक्षत्रका आधारमा कुखुरा र हाँसलाई बाहिर लगिन्छ । महिलाहरूले तिनलाई चारा दिन सहरनजिक लग्छन् । यो काममा रमाइलो लाग्ने बेलामात्र महिलाले यसो गर्छन् । त्यस्तै उनीहरूले पनिर, घिउ र दूधका परिकार बनाउने छुट्टै स्थानहरू पनि हुन्छन् । उनीहरूले फलफुल र अन्य सामानहरूको भण्डारण पनि गर्छन् । यी सबैबारे लेखिएको बुकोलिक्स नाउँको पुस्तक उनीहरूसँग हुन्छ । उनीहरूसँग सबैथोकको छेलोखेलो हुन्छ किनभने सबैजना मिहिनेत गर्न रुचाउँछन् र सबैले आफ्नो श्रम फलदायी होस् भन्ने चाहन्छन् । उनीहरू नम्र मिजासका हुन्छन् । यी कामहरूमा जो अन्य सहरवासीको प्रमुख हुन्छ उसलाई सबैले राजा भन्छन् । उनीहरू भन्छन्, नेताहरूलाई बोलाउने उपयुक्त नाम यही हो । अज्ञानीहरूले यस्तो सम्बोधन पाउँदैनन् । महिला र पुरुषहरू एकसाथ राजाको आह्वानमा सदा लम्केको हेर्न रमाइलो हुन्छ । नेतालाई उनीहरूले हामीले जस्तो घिनलाग्दो मान्दैनन् किनभने नेता आफूहरूभन्दा ठूलो भए पनि सबैको बुबा वा दाजुभाइसमान हुन्छन् भन्ने उनीहरूलाई थाहा छ । उनीहरूले वन्यजन्तुको लागि घाँसे मैदान र जङ्गल राखेका हुन्छन् । उनीहरू बेलाबेला शिकार खेल्छन् ।
नाविक विज्ञानलाई त्यहाँ गौरवपूर्ण पेशा मानिन्छ । उनीहरूसँग सानाठूला नाउहरू छन् । तिनीहरू पानीमा खियाउने व्यक्तिबिना हावाको बलले असामान्य ढङ्गले बग्छन् । उनीहरूसँग हावाले नै चल्ने युद्धपोतहरू पनि छन् । उनीहरूलाई नक्षत्र र ज्वारभाटाहरूको बारेमा सटिक ज्ञान छ । उनीहरू विभिन्न राष्ट्र र राज्यहरूको खोजबिन गर्न समुद्री यात्रामा निस्कन्छन् । उनीहरूले कसैलाई हानी गर्दैनन्, कसैलाई घाइते पार्दैनन् र कसैले निहुँ नखोजेसम्म लडाइँ गर्दैनन् । उनीहरूको दाबी छ, समग्र पृथ्वीका मानिसहरू भविष्यमा आफ्नो संस्कृतिअनुरूप बाँच्न थाल्नेछन् । यसकारण उनीहरू सदैव आफ्नो भन्दा उत्तम जीवनशैली भएको र अरूभन्दा बढी स्वीकार्य राष्ट्रको खोजीमा हुन्छन् । उनीहरूले इसाई बन्दोबस्तको प्रशंसा गर्छन् । आफ्नो र हाम्रो समेत चालचलनमा सन्त जीवनको पालन भएको छ वा छैन भनी खोजी गर्छन् । उनीहरूले चिनियाँ र अन्य धेरै राष्ट्रहरूसँग, सियाम र कालिकटजस्ता बन्द र खुला दुवैखाले देशहरूसँग सन्धि गरेका छन् । पछिल्ला दुई देश उनीहरूले हालसालैमात्र पत्ता लगाएका हुन् । उनीहरूसँग कृत्रिम अग्नीअस्त्र छ, जमिन र पानी दुवैमा उनीहरूले लडाइँ गरेका छन् । यस्ता थुप्रै रणनीतिक रहस्यहरू उनीहरूलाई थाहा छ । यसकारण, उनीहरू जहिल्यै विजयी हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *