भर्खरै :

क्युवाली क्रान्तिकारी युद्धको सम्झना

आलेग्रिया दि पिआओ
आलेग्रिया दि पिआओ ओरियन्ते प्रान्तमा अवस्थित छ । यो केप क्रुज नजिकै निक्युरो नगरपालिकामा पर्छ । सन् १९५६ डिसेम्बर ५ को दिन बाटिष्टा तानाशाहको सेनाले हामीमाथि अचानक हमला गर्यो । हामी पैदल यात्रा गरेर थाकिसकेका थियौँ । बाटो त्यति लामो र कठिन भने थिएन । हामी डिसेम्बर २ का दिन लास कोलोराडस तटमा उत्रिएका थियौँ । हामी नुनिलो पानी भएको दलदलमा नयाँ जुत्ता लगाएर अन्तहीन लामो हिँडाइ हिँड्दा लगभग हाम्रो सबै सरसामान गुमाइसकेका थियौँ । लगभग सबैका खुट्टामा ठेला उठेको थियो । ढुसीबाट हुने सङ्क्रमणमात्रै हाम्रो शत्रु थिएन । हामी मेक्सिकोको खाडी र क्यारेबियन समुद्रपार गरेर सात दिनको यात्रापछि क्युवा पुग्यौँ । हामीले २५ नोभेम्बरको दिन टसपनको बन्दरगाहबाट हिँड्दा आँधी चलेकोले सबै समुद्री यात्रा गर्न निषेध गरिएको थियो । ती सबै कुराले हामीलाई गहिरो छाप पार्यो किनभने हामीले कहिल्यै पनि लडाइँमा भाग नलिएका र तालिम नपाएका लडाकूहरू भर्ती गरेका थियौँ ।
हामीसँग बचेका युद्धउपकरण भनेको राइफल र कार्तुसका पेटिबाहेक केही थिएन । भएको केही राउन्ड गोलीगठ्ठा पनि भिजेका थिए । हामीले बोकेका समानका भारिहरू हिलोको दलदलमा भासिए । हाम्रो औषधि र स्वास्थ्य उपकरण सबै हराए । अघिल्लो रात हामी उखुबारी पार गर्दै निकोरो चिनी मिल पुगेका थियौँ । त्यो मिल जुलियो लुबुको अधिनमा थियो । हामीले उखु चपाएर भोकप्यास मेटाएका थियौँ । तर, युद्धको अनुभव नभएको हुँदा हामीले बाटोमा उखुका छोक्रा फालेर भुल ग¥यौँ । हाम्रो पाइला पछ्याइरहेका साथीहरूलाई कुनै चिह्न आवश्यक पर्दैनथ्यो । वर्षौँपछि मात्रै हामीलाई थाहा भयो, हामीलाई कसले धोका दियो र हाम्रो ठाउँ दुश्मनलाई कसले देखायो । हामीले राति आराम गर्नुभन्दा पहिला बाटो देखाउने मान्छेलाई बाहिर जाने छुट दिएछौँ । जोखिमपूर्ण क्षेत्रहरूका नागरिकको सबै पृष्ठभूमि थाहा नपाएरै विश्वास गर्नुहुँदैन भन्ने ज्ञान नपाउँदासम्म हामीले लामो सङ्घर्षको दौरान कैयौँपटक यस्ता गल्ती दोहो¥यायौँ । त्यस्तो परिस्थितिमा हामीले पथप्रदर्शकलाई बाहिर जाने अनुमति दिनु हुन्थेन ।
५ डिसेम्बरको दिन बिहान केही साथीहरू लडाइँबाट भाग्न खोजे । छोटो दूरीको हिँडाइपछि हामी लामो विश्राम लिने गर्दथ्यौँ । हामीलाई उखुबारीको किनारमा घना जङ्गलको नजिकै रोकिनका लगि आदेश दिइयो । हामी प्रायशः बिहान अबेरसम्म सुत्थ्यौँ । मध्याह्नपछि हामीले केही गडबडी भएको थाहा पायौँ । ठुला हवाइजहाजका साथसाथै साना र ब्यक्तिगत लडाकु विमानले हामीलाई घेरा हाल्न थाल्यो । हाम्रो केही समूहले दुश्मनका विमानहरू उडेको नदेखेझैँ शान्तरूपले उखु काटेर खाँदै गरे । जहाज उडेको स्पष्ट देख्न सकिन्थ्यो । दुश्मनहरूका विमानहरू हाम्रो टाउकोमाथि नै उड्न थालेझैँ भयो । चिकित्सक भएकोले घाइतेको उपचार गर्नु मेरो कर्तव्य थियो । म त्यस बिहानको कम्पानेरो नामको अन्तिम बिरामीलाई सम्झिन्छु । त्यो दिन उसको अन्तिम दिन बन्यो । मैले प्राथमिक उपचार गरेपछि जुत्ता लगाउन नसक्दा हातमा बोकेर दुःखित हुँदै ऊ आफ्नो पोस्टतिर हिँडेको याद आइरहन्छ ।
कम्पानेरो र म रुखमा अडेस लागेर ससेज र बिस्कुट बाँडेर खाँदै आफ्ना केटाकेटीको बारेमा कुरा गरिरहेका थियौँ । हामीले गोली चलेको आवाज सुन्यौँ । केही सेकेन्डभित्र असिना वर्षेझँै गोली वर्षिन थाल्यो । हामीलाई यस्तो लाग्न थाल्यो कि हामी आगोमा नुहाएर शुद्ध हुँदै छौँ । हाम्रो सङ्ख्या ८२ जनामा सीमित भयो । मेरो राइफल राम्रो अवस्थामा थिएन । मैले थाहा पाएरै यो राइफल मागेको थिएँ । किनकि दमको आक्रमण र समुद्री यात्राले मेरो शारीरिक अवस्था बिग्रेकै कारणले मात्र कुनै राम्रो हतियार खेर फाल्नु मलाई उचित लागेन । त्यसपछाडि के भयो भन्ने कुरा मलाई त्यति राम्रो सम्झना छैन । विष्फोटको ठूलो आवाज सुन्नासाथ त्यसबेला अलमेडा र जुवान आदेश दिँदै नजिकै आइपुग्नुभयो तर आदेश पालना गर्ने त्यहाँ कोही पनि थिएन । मलाई कसैले फिडेल नजिकैको उखु बारीमै साथीहरूलाई जम्मा गर्ने व्यर्थको प्रयास गरिरहनुभएको छ भनी सुनायो । सिमापार गरेर मात्रै त्यहाँ पुग्न सकिन्थ्यो । अलमेडाको समूहले आफ्नो पोजिसन लियो । अचानक यति ठूलो र भयङ्कर आक्रमण भयो कि ठूल्ठूला विष्फोटको आवाज सुनिन थाल्यो । कम्पानेरोले हतियार र गोलीगठ्ठाको एक बाकस मेरो नजिकै ल्याएर छोड्यो । मैले के हो भनी इसारा गर्दा दुखित हुँदै युद्धसामाग्री ढिलो आइपुग्यो भनी जवाफ दिइएको मलाई याद छ । ऊ तुरुन्तै उखुबारीतिरको बाटो लाग्यो । उसलाई पछि बाटिष्टाका गुप्तचरले हत्या ग¥यो ।
घाइतेलाई उपचार गर्ने कि बन्दूक समातेर क्रान्तिकारी सेनाको अभिभारा पूरा गर्ने ? भनी म दुविधामा परेको यो नै पहिलो घटना हुनुपर्छ । मेरा वरिपरि ओखतीका भारी र बन्दूकका बाकसहरू थिए । दुबैलाई बोक्न असम्भव जस्तै थियो । मैले उपचार गर्न छोडेर बन्दूक समातेर मैदान खाली गर्दै उखुबारीतिर लागेँ । पेरेजले झाडीमा घुँडा टेकेर मेसिनगन चलाइरहेको सम्झिन्छु । मेरो नजिकै कम्पानेरो हिँडिरहेको थियो । हामीले उसको उपनाम अल्बेन्तोसा राखेका थियाँै । एउटा विष्फोटमा हामी दुबैजना प¥यौँ । मेरो छातिमा एकदमै पीडा भयो । घाँटीमा चोट लागेको महसुस गरेँ। अब म बाँच्दिनँ होला भन्ने लाग्यो । अल्बेनतोसा रगत छादिरहेको थियो । ४५ क्यालिबरको गोलीको गहिरो घाउबाट रगत बगिरहेको थियो । मलाई मारे भनेर चिच्याउँदै ऊ अन्धाधुन्ध फाइरिङ गरिरहेको थियो । भुईँमा उत्तानो परेर मैले फास्टिनोलाई म अब मर्ने भएँ भनेँ । ऊ अझै लडिरहेको थियो मतिर हेरेर उसले के भन्यो मैले बुझिनँ ।
भुईँमा उत्तानो परेरै मैले मेरो साथी घाइते भएको रिसमा जङ्गलतिर एक फायर गरेँ। त्यो क्षणमा सबै गुमाइसके जस्तो लागेपछि म तुरुन्तै मर्ने जुक्ति सोच्न थालेँ । मैले ज्याक लण्डनको पुरानो कथा सम्झेँ । त्यसमा हिरो अलास्काको बरफमा कठ्याङ््ग्रिँदा ऊ रुखमा अडेस लागेर शानदार मृत्युवरण गर्न चाहन्थ्यो । त्यसैगरी मर्ने विचार मेरो मनमा आयो । कसैले आत्मसमर्पण गरौँ भनी चिच्याएजस्तो आवाज मैले सुनेँ । पछि मात्र थाहा भयो क्यामिलोले कोही पनि आत्मसमर्पण गर्नेछैन भनेर सपथ खाएको रहेछ । पोन्से उत्तेजित भएर लामो र कठिन सास लिँदै मेरो नजिकै आयो । उसले गोलीको घाउ देखायो । गोली लागेको घाउ हेर्दा उसको फोक्सोसमेत प्वाल परेको हुने देखिन्थ्यो । उसले मलाई आफू घाइते भएको बतायो । मैले भावशून्य भएर म पनि घाइते छु भनी जवाफ फर्काएँ। त्यसपछि पोन्सेसँगै घाइते नभएका अरूसाथीहरू र कम्पानेरो घस्रेर उखुबारीतिर लागे । म केहीबेर मृत्युको प्रतिक्षा गरेर एक्लै त्यहीँपल्टिरहेँ । अल्मेडा मेरो नजिकै आएर उखुबारीमा जान आग्रह गर्यो । अति पीडा हुँदाहुँदै पनि म घिस्रिँदै उखुबारीमा पुगेँ । त्यहाँ मैले राउल सुरेजलाई देखेँ । उनको बुढीऔँला गोली लागेर छिनिएको थियो भने फाउस्टिनो पेरेज हातमा ब्यान्डेज बाँधिरहेका थिए । त्यतिकैमा लडाकु विमानहरू नजिकै आएर उखुबारीमा आक्रमण गर्न थालेपछि झनै अन्योल थपियो । यसबीचका दृश्यहरू निराशाजनक र घिनलाग्दा देखिए । ठूलो भारी बोकेका लडाकुहरू उखुबारीमा लुक्ने प्रयास गरिरहेका थिए । गोला बारुदको गडगडाहटबीच एउटा मानिस चुप लाग्नुहोस् भनेर चिच्याउनुको के अर्थ हुन्थ्यो र !
अल्मेडाको नेतृत्वमा कमान्डर रामिरो र कम्पानेरोको एउटा टुकडी सङ्गठित भएर अगाडि बढ्यो । हामी उखुबारी पार गर्दै सुरक्षित जङ्गलमा पुग्यौँ । उखुबारीबाट ठुलो आवाजको विष्फोट सुनियो । जताततै आगोको लप्का र धुवाँको मुस्लो उड्न थाल्यो । के भएको होला भनी मेरो मनमा अनिश्चयको डर पैदा भयो । म अपमानजनक पराजय र आफ्नै मृत्यु नियालिरहेको अनुभव भयो । हामी त्यसपछि अँध्यारो हुने बेलासम्म हिँड्यौँ । अँध्यारोमा हिँड्न सम्भव नभएपछि हामी सबै एक ठाउँमा सुत्नका लागि सँगै थुप्रियौँ । हामी एक त भोक र प्यासले आकुलब्याकुल भएका थियौँ भने लामखुट्टेको टोकाइले झनै हामीलाई सतायो । यो हाम्रो ५ डिसेम्बर १९५६ मा निकोरोको दुर्गम गाउँमा भएको अग्निपरीक्षा थियो ।
अर्नेष्टो चे ग्वेभाराको
‘क्युवाली क्रान्तिकारी युद्धको सम्झना’बाट
अनुवादः नगेन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *