भर्खरै :

काम्पानेलाको घमाइलो सहर– ५

प्रमुख :अब उनीहरूले कस्तो खानपान गर्छन्, कसरी र कति उमेरसम्म बाँच्छन् भनी जान्न रमाइलो होला ।
कप्तान : उनीहरूको खानामा मासु, घिउ, मह, पनिर, मरमसला र थरीथरीका तरकारीहरू हुन्छन् । सुरुमा उनीहरूले पशु मार्न चाहँदैनथे किनभने त्यो क्रूर देखिन्थ्यो । तर, पछि उनीहरूले सोचे, जडीबुटी नष्ट गर्नु पनि क्रूर छ किनभने तिनमा समेत संवेदना हुन्छ । यसरी त भोकले मरिने हुन्थ्यो । त्यसपछि उनीहरू तर्कसङ्गत कार्यका लागि असङ्गत कार्य गर्नुपर्ने निष्कर्षमा पुगे । त्यसैले, अहिले उनीहरू सबैले मासु खान्छन् । तैपनि, उनीहरूले गोरु र घोडाजस्ता उपयोगी जीवजन्तुलाई जानीजानी मार्दैनन् । उनीहरूलाई उपयोगी र हानिकारक खानाको भेद थाहा छ । यसको लागि उनीहरूले औषधि विज्ञानको सहारा लिन्छन् । उनीहरूले सधैँ आफ्नो खाना बदलिरहन्छन् । पहिले उनीहरूले मासु खान्छन्, त्यसपछि माछा अनि फेरि मासु नै खान्छन् । यसले गर्दा प्रकृतिको धारण शक्ति कहिल्यै कमजोर हुँदैन । बुढापाकाले सधैँ पचाउनसक्ने खानामात्र खान्छन् र थोरैथोरै गर्दै दैनिक तीन छाक खाना खान्छन् । तर, सामान्य मानिसहरू दैनिक दुई छाक खान्छन् भने केटाहरूले दैनिक भरपेट चार छाक खान्छन् । उनीहरूको सरदर आयु १०० वर्ष छ । तर, उनीहरूमध्ये २०० वर्ष बाँच्नेहरू पनि प्रशस्तै हुन्छन् ।
पेय पदार्थको मामिलामा उनीहरू एकदम संयमी छन् । केटाकेटीलाई १० वर्षको नपुग्दासम्म वाइन खान दिइन्न । शरीरले नमाग्दासम्म त्यसो गरिन्न । १० वर्ष पुगेपछि उनीहरूलाई पानीमा मिसाएर वाइन खान दिइन्छ । महिलाहरूलाई पनि मिसाएर नै दिइन्छ । तर, ५० कटेका बुढापाकाहरूले अलिकति पानी मिसाउँछन्, कसैले मिसाउँदैनन् । उनीहरूले मौसमअनुसार एकदम स्वस्थकर खाना खान्छन् । ईश्वरले पस्केका कुनै पनि चीजलाई उनीहरू हानिकारक ठान्दैनन् । कुनै चीजको अति सेवनलाई भने उनीहरू रुचाउँदैनन् । गर्मी याममा उनीहरू फलफूल खान्छन् किनभने फलफुल ओसिलो, रसिलो र चिसो हुन्छ अनि गर्मी र सुक्खाविरुद्ध काम गर्छ । हिउँदमा उनीहरूले सुक्खा खाना खान्छन् । शरद्मा उनीहरूले अङ्गुर खान्छन् किनभने ईश्वरले उदासी र दुःख हटाउनका लागि अङ्गुर प्रदान गरेका हुन् । उनीहरूले अत्तरको पनि खुब प्रयोग गर्छन् । बिहान निद्राबाट ब्युँझिएपछि उनीहरू आफ्नो कपाल कोर्छन् र चिसो पानीले आफ्नो मुहार र हात धुन्छन् । त्यसपछि उनीहरूले सोँफ, ज्वानो वा धनिया चपाउँछन् वा यी जडीबुटीले आफ्ना हात माड्छन् । बुढापाकाहरूले अगरबत्ती बनाउँछन् र पूर्वतिर फर्केर यशु क्राइस्टले हामीलाई सिकाएको छोटो बन्दना दोहो¥याउँछन् । यसपछि उनीहरूले बुढापाका मान्छेलाई पर्खिन्छन् । केही नाच्न जान्छन् । बाँकी मान्छे राज्यको जिम्मेवारीतिर लाग्छन् । पछि उनीहरू मन्दिरमा सुरुआती प्रवचन सुन्न भेला हुन्छन् । त्यसपछि उनीहरू शारीरिक कसरत गर्छन् । छोटो समयलाई उनीहरू आराम गर्न बस्छन् र अलिबेर दिउँसोको खाना खान जान्छन् ।
उनीहरूबीच हात वा खुट्टाको जोर्नी दुख्ने, कफ, तीघ्रा दुख्ने, गानो गएको, पेट फुल्लिने र श्वासप्रश्वासको समस्या देखिँदैन । किनभने, यी रोगहरू अपच र ग्यास्ट्रिकले गर्दा हुन्छन् । सन्तुलित आहार र व्यायामद्वारा उनीहरूले प्रत्येक विकार र ऐठन हटाउँछन् । कसैले वाक्नु वा थुक्नुलाई अशिष्ट मानिन्छ किनभने उनीहरू यसलाई अल्प व्यायाम वा लज्जास्पद आलस्य वा अगस्तीपनाको परिणाम मान्छन् । उनीहरू प्रायजसो शरीर सुन्निने वा बाउँडिने समस्याले ग्रस्त हुन्छन् । यी समस्यालाई उनीहरू प्रशस्त स्वस्थकर र झोलिलो खानाद्वारा हटाउँछन् । ज्वरोलाई उनीहरू आरामदायी स्नान गरेर, दुधिलो पदार्थ खाएर, आरामको लागि गाउँ गएर र हलुका व्यायाम गरेर हटाउँछन् । सरसफाईको अभावले हुने रोगहरू त्यहाँ छैनन् किनभने उनीहरूले प्रायः आफ्नो शरीर वाइनले सफा गर्छन् र बास्नादार तेलले मालिस गर्छन् । पसिना काढ्ने गरी व्यायाम गरेर उनीहरूले शरीरको विषाक्त वाफ फाल्छन् । यस्तो वाफले रगत र मासी दुषित गर्छ । उनीहरूमध्ये थोरैलाई क्षयरोग पनि लाग्छ किनभने उनीहरूले छातीबाट वाफ फाल्दैनन् । तर, उनीहरूलाई कहिल्यै दमको समस्याले छुँदैन । यसको लागि मानिसहरू ठूलो जीउडालको हुन आवश्यक छ । उनीहरूले कामज्वरोलाई चिसो पानी पिएर निको पार्छन् । तर, साधारण ज्वरोलाई सुगन्ध लिएर, पनिर रोटी खाएर वा आराम गरेर र सङ्गीत वा नृत्यमार्फत उपचार गर्छन् । मध्यम खालको ज्वरोलाई उनीहरू रगत फालेर, चुल्ठे अमिलो सेवन गरेर वा यस्तै अन्य उपायले हटाउँछन् । यसको लागि जडीबुटीको जराहरू राखेको पानी, विरेचन र कडा गन्धको प्रयोग पनि हुन्छ । तर, उनीहरूले यी उपायको बिरलै प्रयोग गर्छन् । चार–चार दिनमा आउने ज्वरोमा बिरामीलाई झस्काएर र ज्वरोको विकार हटाउने जडीबुटीको प्रयोगले निको पारिन्छ । यी रहस्यहरू उनीहरूले हिच्किचाउँदै मलाई सुनाए । लामो ज्वरोको उपचार गर्न उनीहरू पीडा खेप्छन् । यस्तो दुखाइ खेप्न उनीहरूले गाह्रो मान्छन् । यसको लागि उनीहरू ग्रहन क्षेत्रको अवलोकन गर्न र ईश्वरको प्रार्थना गर्न रुचाउँछन् । पाँचौँ, छैटौँ, आठौँ र अन्य दिनमा दोहोरिरहने ज्वरो हुन्छ । विकारको कुनै ठेगान हुँदैन ।
उनीहरू विशेष स्नान गर्छन् । खासगरी उनीहरू रोमन परम्पराअनुरूपको तातो पानीले नुहाउँछन् । यसको लागि उनीहरूले जैतुनको तेलको प्रयोग पनि गर्छन् । सरसफाइ र सुस्वास्थ्यको लागि उनीहरूले धेरै नै उपचारका रहस्यहरू पत्ता लगाएका छन् । उनीहरूलाई कहिलेकाहीँ कुष्ठरोगले सताउँछ । उनीहरूले त्यसको उपचार गर्ने तरिका खोज्दै छन् ।
प्रमुख ः यो रोगले खुब झुक्याउँछ । यसले हर्कुलस, स्कोटस, सोक्रेटस, क्यालिमाकस र मोहम्मदलाई समेत छोडेन ।
कप्तान ः उनीहरू देवताको आराधना गरेर उपचार गर्छन् । अम्ल प्रयोग गरेर, कसरत गरेर र गहुँको पिठोमा बोसोदार पनिर–रोटी मिसाएर उनीहरू आफ्नो टाउको बलियो बनाउँछन् । परिकार बनाउन उनीहरू निकै सिपालु छन् । त्यसमा उनीहरू मसला, मह, घिउ र धेरै पोषिला मरमसला राख्छन् । अम्ल मिसाएर उनीहरू परिकारलाई तिख्खर बनाउँछन् । यसले गर्दा उनीहरू कहिल्यै बाक्दैनन् । उनीहरू बरफ राखेको चिसो पेय पिउँदैनन् । उनीहरूले चिनियाँहरूले जस्तो बनावटी तातो पेय पनि पिउँदैनन् किनभने उनीहरूमा शारीरिक बिकारविरोधी क्षमता हुन्छ । पानीको प्राकृतिक तापबाटै उनीहरूले यस्तो शक्ति प्राप्त गर्छन् । त्यस्तै उनीहरूले गर्मी याममा वा विशेष अवसरमा लसुन, अमिलो, वन सोँफ, पुदिना र तुलसीको लेपबाट यस्तो शक्ति बढाउँछन् । उनीहरूलाई ७० वर्षपछि यौवन ब्यूँताउने र जीवनलाई समस्याहरूबाट मुक्त पार्ने रहस्य थाहा छ । एउटा रमाइलो कलाद्वारा उनीहरूले यसो गर्छन् ।
प्रमुख ः तिमीले उनीहरूको विज्ञान र प्रशासकहरूका बारेमा केही पनि बताएनौ त ।
कप्तान ः मैले बताइसकेको छु । तपाईँले रुचि लिनुभएकोले थप भन्छु । औँसी र पूर्णेमा बलि दिएपछि उनीहरू परिषद् बोलाउँछन् । २० वर्ष कटेका सबैलाई त्यो सभामा बोलाइन्छ । राज्यमा केको अभाव छ, कुन चाहिँ प्रशासकले आफ्नो कर्तव्यको सही पालन गरेको छ र कसले गलत गरेको छ भनी सबैलाई छुट्टाछुट्टै सोधिन्छ । ८ दिनपछि सबै प्रशासकहरू भेला हुन्छन् । अनि पहिले होह र पछि शक्ति, विवेक र प्रेमसामू स्पष्टीकरण दिन्छन् । प्रेमको मातहतमा तीनजना प्रशासकहरू हुन्छन् । सबैजनासँग गरेर १३ जना प्रशासकहरू हुन्छन् । उनीहरूले आफ्ना अलग क्षेत्रहरू छुट्टाएका हुन्छन् । शक्तिलाई युद्ध, विवेकलाई विज्ञान र प्रेमलाई गाँस, बास, शिक्षा र प्रजननको जिम्मा दिइएको हुन्छ । सबै समूहहरूका उस्तादहरूले १०, ५० र १०० जनाको समूहको कप्तानी गर्छन् । उनीहरूले पहिले महिलाहरूलाई भेला गराउँछन् र पछि पुरुषहरूलाई जम्मा गर्छन् । उनीहरूले राज्यको हित हुने विषयहरूमा छलफल गर्छन् । अनि, परिषद्मा नाम कमाइसकेका व्यक्तिहरूबाट प्रशासकहरू छनोट गर्छन् । यस अर्थमा होह र तीनजना राजकुमारहरू दिनदिनै भेला हुन्छन् र चुनावका निर्णय र अन्य आवश्यक प्रश्नबारे आफूसामु ल्याइएका मुद्दाहरूलाई सच्याउँछन्, मिलाउँछन् र कार्यान्वयन गर्छन् । आफूहरू निर्णयबारे अलमलमा नपरेसम्म उनीहरूले बहुसङ्ख्यकलाई प्रयोग गर्दैनन् । होह, शक्ति, विवेक र प्रेमका ८ जना प्रशासकहरू जनताको इच्छाअनुसार हेरफेर भइरहन्छन् । तर, ४ जना प्रधान भने कहिल्यै फेरिँदैनन् । उनीहरू आपसमा सल्लाह गरेर को बढी विवेकवान, प्रसिद्ध र प्रवीण छ भन्ने आधारमा आफ्नो पद साटफेर नगर्दासम्म यसो भइरहन्छ । उनीहरू आफैले बुद्धिमान व्यक्तिसामु आफूलाई समर्पित गर्ने हुनाले र उनीबाट आफूलाई शिक्षित गर्ने हुनाले उनीसामु उनीहहरू बफादार र मर्यादित रहन्छन् । यस्तो साटफेर बिरलै हुन्छ । दर्शनबाहेक विज्ञानका सिद्धान्त विवेकसँग जोडिएका हुन्छन् । आफै दार्शनिक हुनाले होहले सबै कुरामा शासन गर्छन् र विज्ञानको रूपरेखा कोर्छन् । सम्भावित कुनै कुराबारे अनभिज्ञ हुनुलाई होहले लज्जास्पद ठान्छन् । विवेकको मातहतमा व्याकरण, तर्क, भौतिकशास्त्र, औषधिविज्ञान, खगोल र नक्षत्र विज्ञान, ज्यामिति, ब्रह्माण्डविज्ञान, सङ्गीत, दृष्टिकोण, अङ्कगणित, काव्य, अलङ्कार, चित्रकला, मूर्तिकला आदि हुन्छन् । त्यस्तै प्रेमले प्रजनन, कृषि, शिक्षा, औषधि, लुगाफाटो, चरण क्षेत्र, टकसारी हेर्छन् ।
प्रमुख ः अनि उनीहरूका न्यायाधीश ?
कप्तान ः यसैबारे बताउँछु भन्ने सोचेको थिएँ । सबैलाई उसको कामको उस्तादले निगरानी गर्छन् । यसरी सबै प्रमुख शिल्पीहरू न्यायाधीश हुन्छन् । निर्वासनमा पठाएर, कोर्रा लगाएर, दोष लगाएर, साझा भन्साबाट वञ्चित गरेर, गिर्जाघरबाट निकालेर र महिलाको सङ्गतबाट वञ्चित गरेर दण्ड दिइन्छ । ठूलो नोक्सानी भएको मुद्दामा भने मृत्युदण्ड दिएर, आँखाको बदला आँखा निकालेर, नाकको बदला नाक काटेर, दाँतको बदला दाँत झारेर, प्रतिहिंसाको कानुनअनुरूप सजाय दिइन्छ । जानाजान आक्रमण गरिएको हो भने परिषद्ले निर्णय लिन्छ । विवाद उठेमा त्यो स्वतस्फूर्त हुन्छ । त्यसबेला दण्ड अलि मत्थर पारिन्छ । तैपनि, यो काम न्यायाधीशले नभई तीन प्रधानले गर्छन् । त्यहाँबाट यो कुरा होहसम्म पुग्न पनि सक्छ । यस्तो न्यायले नभई अभयको माध्यमबाट गरिन्छ । किनभने, होहले माफी दिन सक्छन् । उनीहरूकहाँ जेलखाना छैनन् । विद्रोही शत्रुहरूलाई थुन्न केवल एउटा बुर्जा हुन्छ । त्यहाँ हामीकहाँ जस्तो मुद्दाको लिखित मुचुल्का हुँदैन । बरु, आरोपी र साक्षीहरू न्यायाधीश र शक्तिको उपस्थितिमा तयार गरिन्छ । आरोप लागेको व्यक्तिले आफ्नो प्रतिवाद गर्छ । उसलाई न्यायाधीशले तत्काल छुटकारा दिन्छन् वा निन्दा गर्छन् । उसले तीनजना प्रधानहरूसामु पुनरावेदन गरेमा अर्को दिन उसलाई सफाइ दिइन्छ वा पुनः पुष्टि गरिन्छ । तेस्रो दिन होहले अभय दिएर वा क्षमा गरेर उसलाई छुटकारा दिन्छन् वा उसले दण्ड पाउँछ । आरोप लगाउने व्यक्ति वा साक्षीको इच्छाअनुसार उपचार गरेर आरोपीसँग उनीहरूको मेलमिलाप गराइन्छ । अङ्कमाल वा चुम्बनलाई यस्तो उपचार ठानिन्छ ।
आरोप लगाउने व्यक्ति वा साक्षीहरूले नै ढुङ्गा हान्न वा मार्न सुरु नगरेसम्म कसैले त्यसो गर्दैन । उनीहरूकहाँ हत्यारा वा जल्लादहरू छैनन् । हुन्थे भने राज्य नै भड्खालोमा डुब्न सक्थ्यो । मार्ने शैली भने उपस्थित जनताले निक्र्योल गर्छन् । उनीहरूले लासको रहलपहल थैलोमा राख्छन् र आगोमा जलाउँछन् । राम्रो मरणका लागि सल्लाह दिने अधिकारी पनि सँगै हुन्छन् । तैपनि, सिङ्गो राष्ट्रले नै ईश्वरको क्रोध शान्त होस् भनी पश्चाताप् र प्रार्थना गर्छ । राज्यको एक कुहिएको सदस्यलाई काट्नुपर्दा उनीहरू शोकमा डुब्छन् । निश्चित अधिकारीहरूले आरोपीसँग कुराकानी गर्छन् र उसलाई तर्कहरूद्वारा उसलाई दिइएको मृत्युदण्ड जायज छ भनी सहमत गराउँछन् । ऊ राजी भएन भने उसलाई मारिन्न । तर, उसले गणतन्त्रको स्वाधीनता, ईश्वर वा सर्वोच्च प्रशासकविरुद्ध अपराध गरेको छ भने दया नगरी उसलाई तत्काल दण्ड दिइन्छ । उनीहरूलाई मात्र मृत्युदण्ड दिइन्छ । मर्न लागेको व्यक्तिलाई जनताको उपस्थितिमा उसले आफूलाई किन मृत्युदण्ड दिइनुहुन्न भनी इमानदारीसाथ बोल्न लगाइन्छ । साथै उसले आफ्नो साटो मर्नुपर्ने व्यक्तिका पाप र प्रशासकका गल्तीहरूबारे पनि बोल्नुपर्ने हुन्छ । आफूले औँल्याएका व्यक्तिहरूको पनि दोष छ भने उसले किन ती व्यक्तिहरूले आफूले भन्दा नरम दण्ड पाए भनी बताउनुपर्ने हुन्छ । यो तर्कवितर्कमा ऊ विजयी भएमा उसलाई निर्वासनमा पठाइन्छ र उसले राज्यलाई आफ्ना प्रार्थना, त्याग र असल जीवनद्वारा शान्त पार्छ । उनीहरूले आरोपीले औँल्याएका व्यक्तिहरूलाई सताउँदैनन् बरु उनीहरूलाई चेतावनी दिन्छन् । दुर्बलता र अज्ञानताको पाप गर्नेहरूलाई दोष लगाएर सजाय दिइन्छ र उनीहरूले उल्लङ्घन गरेको कानुन र विज्ञान वा कलाको अनुशासनमा अनिवार्य सिकारुको रूपमा उनीहरूलाई भर्ना गरिन्छ । यी सबथोक उनीहरू सबैमाथि समानरूपले लागू हुन्छ किनभने उनीहरू सबैजना एकै शरीरका सत्यनिष्ठ सदस्य देखापर्छन् ।
अर्को कुरा पनि बताउँछु । कानुन मिच्ने व्यक्ति वा अपराधी आफूलाई आरोप लगाउनुअघि आफै प्रशासकसामु जान्छ र आफूमाथि आरोप लगाउँछ अनि सुध्रिने वाचा गर्छ । गोप्य अपराध गर्ने कुनै व्यक्तिले सजाय पाएको छैन र उसलाई त्यस्तो कुनै अपराधको आरोप पनि लागेको छैन भने उसको सजाय अर्कै सजायमा फेरिन्छ । कसैमाथि पनि बनिबनाउ लाञ्छना नलागोस् भनी उनीहरू एकदम सतर्क हुन्छन् । यस्तो भएमा उनीहरू सजायका भागी हुन्छन् । उनीहरूले सधैँ सँगै हिँड्ने र समूहमा काम गर्ने हुनाले अपराधीको कबुलियतमा पाँचजना साक्षीको आवश्यकता पर्छ । अन्यथा, उसलाई झपारिन्छ र उसले असल व्यवहार गर्ने शपथ खाएपछि उसलाई छोडिन्छ । ऊमाथि दोस्रो वा तेस्रोचोटि पनि उही आरोप लाग्यो भने त्यसको लागि दुई वा तीनजना साक्षी भए पनि पुग्छ । उनीहरूकहाँ थोरैमात्र कानुन छन् ।
ती पनि छोटा र सरल हुन्छन् । तिनलाई सामान्य टेबलमा लेखिएको हुन्छ र मन्दिरका द्वारहरूमा खाँबाहरूबीच झुन्ड्याइएको हुन्छ । अलग खाँबाहरूमा दर्शनको सूत्रात्मक शैलीमा विषयवस्तुका सारहरू र्कुदिएको हुन्छ । ईश्वर, देवदूत, जगत, नक्षत्र, मान्छे, भाग्य, सदाचारजस्ता महान् विवेकका सम्पूर्ण पक्षबारे लेखिएको हुन्छ । एकएक सदाचारको अलग्गै परिभाषा लेखिएका खम्बाहरू हुन्छन् । तिनै खम्बामुनि तत्तत् विषयका न्यायाधीशहरू बस्छन् । फैसला सुनाउने बेला न्यायाधीश बस्छन् र यसरी भन्छन् – हे पुत्र, यसप्रकार कल्याण, महानता, वा मुद्दाअनुसार अन्य सदाचारको यो पवित्र परिभाषाविरुद्ध तिमीले पाप गरेका छौ । छलफलपछि न्यायाधीशले वैधानिकरूपमा उसको निन्दा गर्छन् र आरोपीलाई उसको कसुरअनुसार सजाय दिन्छन् । कसैलाई हानी गरेको, निराश भएको, घमण्ड देखाएको, बैगुनी बनेको, अल्छी भएको आदि कसुर हुने गर्छ । तर, दण्ड निश्चित हुन्छ र सुधार्ने ध्येयले तोकिएको हुन्छ । यी दण्ड वास्तविक सजाय भन्दा पनि दयाले चाखलाग्दो तुल्याएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *