युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
डानिएल जड्यु रिसोलेता नगरका प्रमुख हुन् । त्यो नगर चिलीको राजधानी सान्टियागो सहरको हिस्सा हो । नगरपालिका भवनको छैटौँ तल्लामा उनको कार्यालय छ । त्यसको मुनिको तल्लामा औषधि पसल, चस्मा पसल र पुस्तक पसल छन् । ती सबै उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउन नगरपालिकाले नै खोलेका पसल हुन् । उनको कार्यालयको भित्तामा प्यालेस्टाइनी जनताप्रति ऐक्यबद्धता व्यक्त गरिएका केही सन्देश देखिएका छन् । प्यालेस्टाइनको झण्डा पनि छ । अनि सन् १९८७ मा हत्या गरिएका प्यालेस्टाइनका व्यङ्ग्य चित्रकार नजी अल–अलीले रचना गरेको हन्दालाको चर्चित कार्टुन पनि झुण्ड्याइएको छ ।
“म प्यालेस्टाइनी हुँ”, जड्युले सगौरव भने, “मेरो जन्म सन् १९६७ को जुन २८ मा भएको थियो । इजरायलले जेरुसेलम सहरमाथि कब्जा जमाएको भोलिपल्ट मेरो जन्म भएको थियो ।” उनी आफ्नो राजनीतिक जीवनको अधिकांश भाग व्यतित भएको प्यालेस्टाइनी जनताको सङ्घर्षलाई चिलीका जनताको सङ्घर्षभन्दा खासै भिन्न देख्दैनन् । दुवै देशका जनता एउटै लक्ष्य प्राप्त गर्न लडिरहेका छौँ–न्याय ।
गत वर्ष जड्युले सन् २०२१ को नोभेम्बर महिनामा हुने चिलीको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए । मत सर्वेक्षणहरूले उनी सशक्त प्रतिस्पर्धी हुनसक्ने र त्यसै परे चुनावमा जित्न पनि सक्ने देखाएको छ । चिलीमा राष्ट्रपति सेबास्टियन पिनेराको दक्षिणपन्थी सरकारविरुद्ध आन्दोलनको लहर उठेको छ । यस्ता जनप्रदर्शनका साथै नयाँ संविधानको कार्यान्वयनले वामपन्थी सरकार बन्ने सम्भावनाको ढोका खोलेको छ । सन् १९७० मा पपुलर युनिटी पार्टीका साल्भाडोर एयेन्डे चिलीका पहिला वामपन्थी राष्ट्रपति बनेका थिए ।
जड्युसँग कुराकानी भएको केही समयमै हामीले उनको अपार लोकप्रियताको कारण थाहा पाइहाल्यौँ । उनी निकै मित्रवत् र सरल व्यक्ति हुन् । उनी आफ्नो काममा प्रस्ट छन् । जनताप्रतिको प्रतिबद्धता र आवश्यकताबारे पनि उनी स्पष्ट छन् । राष्ट्रपति पदमा उम्मेदवारी दिँदा आइपर्ने चुनौती र जोखिमका लागि उनी तयार छन् । सिमन वैसेन्थल केन्द्रले उनलाई बिना कुनै प्रमाण संसारकै सबभन्दा खतरनाक यहुदीविरोधी घोषणा गरेको छ ।
सन् १९९३ देखि उनी चिलीको कम्युनिस्ट पार्टीका सदस्य छन् । त्यही बेलादेखि उनी चिलीमा लामो समयदेखि चलिरहेको नवउदारवादी प्रयोगलाई उल्टाउने लक्ष्यमा दृढसङ्कल्पित छन् । जनताको भागमा सामाजिक क्षेत्रमा लगानी कटौती गर्ने र अर्बपतिलाई अझ धनी बनाउने नीति भनी जानिएको नवउदारवाद संसारमै सबभन्दा पहिले चिलीमा प्रयोग गरिएको थियो । एउटा नारा पनि छ–‘नवउदारवाद चिलीमा जन्मियो, त्यसको मृत्यु पनि चिलीमै हुनेछ ।’
जड्यु पेशाले वास्तुविद् हुन् । उनीसँग दीर्घकालीन योजनाको राम्रो जानकारी छ । सन् २००१ मा उनले मलाई भनेका थिए– सन् २०१२ मा प्रमुख पदको चुनावमा जित्न हामी रिकोलेताका कम्युनिस्टहरूले रणनीतिक योजना बनाइरहेका छौँ । त्यत्तिबेला (सन् २००१) मा उनले अतिदक्षिणपन्थी शक्तिले त्यो समुदायमा सरकार चलाइरहेको थियो । उनीहरूले पचास प्रतिशतभन्दा बढी मत हासिल गरेका थिए । त्यस्तो अवस्थामा कम्युनिस्टहरूको योजना दुस्साहस जस्तो सुनिन्थ्यो । सन् २००४ र २००८ मा प्रमुख पदको लागि भएको चुनावमा उनी पराजित बनेका थिए । सन् २०१२ को निर्वाचनमा भने उनी सफल भए । श्रमिक जनता, उपेक्षित क्षेत्र र साना व्यापारीहरूसँग चुनावी तालमेलपछि उनी चुनाव जित्न सफल भए । हिजोआज भने रिसोलेतामा अतिदक्षिणपन्थी शक्तिहरू अल्पमतमा परेका छन् भने वामपन्थीहरूले कुल मतको आधा मत हासिल गर्ने गरेका छन् ।
सन् १९७३ मा सैनिक जनरल अगस्टो पिनोचेले सत्ता कब्जा गरे । उनले सन् १९९० सम्म चिलीमा सैनिक शासन चलाए । चिलीको पुँजीवादी अर्थतन्त्रमा ‘सिकागो ब्वाइज’ को प्रभाव थियो । ‘सिकागो ब्वाइज’ चिलीका अर्थशास्त्रीहरूको एउटा समूह हो । उनीहरूको नवउदारवादी नीतिले विदेशी बहुराष्ट्रिय कम्पनीहरूका स्वार्थ पुरा गर्न मद्दत गर्छ । नवउदारवादको मूल आन्तर्य भनेको सामाजिक तथा आर्थिक जीवनको निजीकरण, धनी र व्यापारीहरूमाथि करको कटौती र सामाजिक कल्याणकारी तथा सार्वजनिक क्षेत्रमा लगानी कटौती हुन् ।
रिकोलेता नगरमा जड्यु र कम्युनिस्टहरूले चुनाव जितेपछि त्यो नगर एउटा प्रयोगशाला बनेको छ जहाँ उनीहरूले नवउदारवादी नीति उल्टाउन खोजिरहेका छन् । नगरप्रमुखलाई चिलीको कानुन र राजनीतिले दिएको अधिकारको सीमितताको आधारमा नवउदारवादी नीतिलाई पूर्णतः उल्टाउन सम्भव छैन । नवउदारवादी नीति उल्टाउने प्रयास नै समाजवादको स्थापना भने होइन । बरु उनीहरू त्यहाँ सार्वजनिक क्षेत्रको पुनः निर्माण गर्ने प्रयोग गरिरहेका छन् । सन् २००३ मा जड्युले सार्वजनिक शिक्षामा सरकारी स्रोतको लगानी गर्ने मुद्दा अघि सारेका थिए । त्यस्तै स्थानीय सामाजिक र सांस्कृतिक सङ्गठन ला चिम्बाको अध्यक्षको हैसियतमा स्थानीय सामुदायिक परिषद्मा लगानी बढाउने बताएका थिए । नगर प्रमुख भएपछि जड्युले नगर स्वास्थ्य चौकी, चस्मा पसल, पुस्तक तथा अभिलेख पसल, खुला विश्वविद्यालयको स्थापना तथा आवास क्षेत्र निर्माणका काम गरे । ती सबै क्षेत्र गैरनाफामुखी हुन् । “यी सबै योजना मेरो जीवनकै सपना हुन्”, उनले मलाई भने ।
रिकोलेतामा जे भइरहेको छ, त्यो कुनै ठूलो आमूल परिवर्तनकारी काम नभएको नगरप्रमुख स्वीकार्छन् । पहिला गरिबहरू नगरबासी नगरपालिकामा आउँथे र स्वास्थ्य उपचारको लागि चन्दा माग्थे । नगरपालिकाले दिएको पैसा उनीहरू कुनै निजी औषधि पसलमा गएर महँगोमा औषधि किन्थे । तर, हिजोआज जनताको पैसाले निजी क्षेत्रलाई पोस्ने काम रोकिएको जड्युले बताए । नगरपालिका आफैले औषधि पसल चलाएको छ । त्यहाँ सुपथ मूल्यमा औषधिको बिक्री हुने गरेको छ । त्यसो गरेर नगरपालिकाले औषधिको लागि खर्च हुने पैसा घटाउन सफल भएको छ । घटेको पैसा नगरबासीको बचत बनेको छ ।
यदि यो तर्कसङ्गत नीतिले गरिबको सेवा र नगरपालिकाको पैसाको बचत गर्छ भने अरू नगरपालिकाले रिकोलेताको उदाहरण किन पछ्याउँदैनन् ?, मैले सोधें ।
“उत्तर सरल छ । किनभने उनीहरू जनताको हित हेर्दैनन्”, जड्युले भने ।
“पुँजीवादले गरिबी जन्माउँछ । अनि गरिब जनता आफ्नो शक्तिहीनताको कारण राज्यसमक्ष सेवा र सुविधाको लागि भीख माग्न आउँछन् । धनीहरूभन्दा गरिबहरू बढी इमानदार हुन्छन् । यदि गरिब जनता सुपथ मूल्यमा सेवा सुविधा किन्न सक्छन् भने उनीहरू अरूसमक्ष झोली फैलाएर हिँड्दैनन्”, उनले भने ।
आफ्नो शक्तिशाली कविता ‘सिकागो पोयम्स’ प्रकाशित हुन ६ वर्षअघि सन् १९१० मा कार्ल स्यान्डवर्गले अमेरिकी समाजवादी पार्टीको लागि एउटा छोटो पुस्तिका लेखेका थिए । त्यसको शीर्षक थियो– तिमी र तिम्रो रोजगार । बिल नामका एकजना व्यक्तिको नाममा पत्रको शैलीमा लेखिएको सो लेखमा स्यान्डवर्गले बिलका एक जना साथीले कसरी रोजगारी गुमाए भन्ने लामो चर्चाबाट सुरु गरेका छन् । उनले लेखेका छन्, “काम नपाएकोमा बेरोजगार व्यक्तिलाई दोष लगाउनु सजिलो छ । ऊ अल्छी भयो होला । ऊ अक्षम भयो होला । काम नपाउनु उसको असफलता हो, आदि । तर, ती सबै ‘असफलता’ ऊ जन्मेको वर्गको दोष हो, व्यक्तिगतरूपमा त्यो व्यक्तिको दोष होइन ।”
“तिमीले आफ्नो लागि जे गर्छौ त्यो व्यक्तिगत हो । तर, तिमीले अरूको लागि वा अरूसँग मिलेर जे गर्छौ त्यो सामाजिक कार्य हो । फरक पहिल्यायौ त बिल ? यो कुरा तिम्रो टोपीमा छापेर दिमागमा कसेर बाँध । तर, कहिल्यै पनि यो कुरालाई नबिर्स । यदि तिमीले व्यक्तिगत र सामाजिक कार्यबीचको यो भेदलाई प्रस्ट बुझ्न सक्छौ भने म तिमीलाई समाजवादी बनाउन सक्छु”, स्यान्डबर्गले सरल शैलीमा लेखेका छन् । नवउदारवादी नीतिले समाजलाई जनस्तरमा बुझ्न कठिन बनाइदिन्छ । जब मानिसलाई काम पाउन धौ धौ हुन्छ अथवा पाएको काम पनि निकै तनावपूर्ण हुन्छ अथवा काम गर्ने अवधि बढी हुन्छ तब आक्रोश बढ्न थाल्छ । यदि स्वास्थ्य सेवा पाउन गा¥हो हुन्छ, यदि खर्च (करसहित) बढेसँगै निवृत्तिभरण घट्दै जान्छ र जब दैनिक जीवनका समस्या समाधानको लागि कठिनाइ बढ्छ तब आक्रोश बढ्छ । अनि समाजका दुःख र समस्या सतहमा देखापर्न थाल्छ ।
सभ्य व्यवहार कसैको मनसायको कुरामात्र होइन । सभ्य व्यवहार स्रोत साधनसँग पनि जोडिएको विषय हो । मानौँ, समाजले आफूसँग भएको सम्पत्तिको ठूलो हिस्सा एकअर्काको सुखी जीवनको लागि खर्च गरे, स्वास्थ्य सेवा र ज्येष्ठ नागरिकको स्याहारमा खर्च गरे र समाजका सामूहिक समस्या समाधानको लागि खर्च गरे कस्तो होला ? त्यस्तो अवस्थामा मात्र साथीहरूबीच आराम गर्ने फुर्सदको समय हुनेछ, हाम्रो समुदायमा स्वयम्सेवा गर्ने समय हुनेछ, एकअर्कालाई बुझ्न सक्नेछौँ र समाजमा तनाव र आक्रोश कम हुन्छ ।
‘आशा’ व्यक्तिगत भावना कदापि होइन । त्यो त सँगै मिलेर काम गर्ने, समुदाय निर्माण गर्ने र आफ्ना मूल्य मान्यताको लड्ने मानिसहरूले जन्माउने कुरा हो । रेबोलेताको कार्यक्रममा हामी यही कुरा देख्छौँ । वाम प्रजातान्त्रिक मोर्चाको केराला सरकारदेखि क्युवाको क्रान्तिकारी कार्यक्रमसम्म संसारभर समाजवादी कार्यक्रम लागु भएका सबै ठाउँमा हामी यही कुरा देख्न सक्छौँ ।
मानौँ, कर छली गरेर कमाएको सम्पत्ति र हतियार तथा कर कटौतीजस्ता बेफ्वाँकका कुरा एउटा असल समाज निर्माणमा खर्च गर्नसके कसो होला ? त्यो पैसा शिशुस्याहारदेखि विश्वविद्यालयसम्म, सार्वजनिक यातायातमा खर्च गर्न सकिन्थ्यो । सार्वजनिक यातायातका साधनको प्रयोगले कारमा प्रयोग हुने जीवाष्म इन्धन घट्नेछ । सार्वजनिक आवासको बन्दोबस्त हुने छ । अस्पतालहरूमा सबैको लागि निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त हुने छ । कला र समुदाय केन्द्रमा लगानी बढाउन सकिनेछ । सबभन्दा महत्वपूर्ण कुरा त पूरा तलबसहित दैनिक चार घण्टा काम गर्ने बन्दोबस्त हुन सम्भव हुनेछ । दैनिक चार घण्टा काम गरेर बाँकी रहेको समय समाज पुनःनिर्माणमा लगाउन सकिनेछ ।
जब कुर्ट भोन्नेगटलाई डे«सडेनमाथि विश्वयुद्धको बेला एलाइज गठबन्धनले बमबारी गर्नुुपथ्र्यो वा पर्दैनथ्यो भनी प्रश्न सोध्दा उनले भनेका थिए, “वमबारी त भइसक्यो । मुख्य कुरा बमबारी पछि कसले कस्तो व्यवहार ग¥यो भन्ने हो ।” नवउदारवादी नीतिले अर्बपतिहरूलाई स्रोतसाधन कुम्ल्याउन सक्षम बनाउँछ । उनीहरूको यस्तो व्यवहार समाजमा वमबारी नै हुने गर्छ । त्यसकारण मुख्य प्रश्न भनेको त्यस्तो विपद्को समयमा हामीले कस्तो व्यवहार ग¥यौं भन्ने हो ।
डानिएल जड्यु र उनीजस्ता अरू व्यक्तिहरू जस्तै टीएम थोमस आइज्याक (केरालाका अर्थमन्त्री) र एलिजावेथ गोमेज अलकोर्टा (अर्जेन्टिनाकी महिला, लैङ्गिक तथा विविधता मन्त्री) सँगको भेटघाटले हाम्रो सामाजिक जीवनका भइरहेका क्षयीकरणलाई कसरी उल्टाउने भन्ने विषयमा राम्रो उपाय सुझाउँछ । उनीहरू भविष्यको मात्र कल्पना गर्दैनन् बरु आजै आफ्नो परिकल्पना साकार बनाउन अग्रसर हुन्छन् ।
(लेखक भारतका इतिहासकार, सम्पादक र पत्रकार हुनुहुन्छ । उहाँ ‘द ट्राइकन्टिनेन्टल’का निर्देशक हुनुहुन्छ ।)
स्रोतः द ट्राइकन्टिनेन्टल (मार्च ११, २०२१)
नेपाली अनुवाद : सुमन
Leave a Reply