भर्खरै :

सक्वको म राजदास – ७६

सोभियत सङ्घमा गोर्भाचोभको उदय
सन् १९१७ मा रुसमा महान् अक्टोबर क्रान्ति सम्पन्न भएपछि विश्वमा एक नयाँ व्यवस्था सृजना भयो– ‘सोभियत सङ्घ’ अथवा ‘सोभियत समाजवादी गणतन्त्र सङ्घ’ ।
विश्वमा सर्वप्रथम सम्पन्न भएको यो समाजवादी क्रान्तिले एक विशाल तरङ्ग ल्यायो । यसले साम्राज्यवादी र पुँजीवादी देशहरूको सातोपुत्लो उडायो । त्यसकारण सोभियत सङ्घको उदय भएदेखि नै यसको घाँटी निमोठ्ने प्रयास विश्व पुँजीवादी देशहरूबाट भइरह्यो । ७० वर्षको निरन्तर सङ्घर्षमा सोभियत सङ्घले आफ्नो अस्तित्व गुमायो सन् १९९१ मा सोभियत नेता मिखाएल गोर्भाचोभको शासनकालमा ।
७० वर्षमा आफ्नो अस्तित्व गुमाए पनि सोभियत सङ्घले विश्वका सयौँ देश र करोडौँ शोषित उत्पीडित जनताको लागि ठूलो गुण लगाएको कुरा विश्व इतिहासले बिर्सने छैन । सोभियत समाजवादी क्रान्तिपछि सोभियत सङ्घले विश्व प्रसिद्ध दार्शनिक कार्ल माक्र्सको सिद्धान्त प्रयोग गरेर विश्वमा एक नयाँ राजनीतिक चेतना ल्यायो र मानिसले मानिसलाई शोषण गर्नु हुँदैन भन्ने शिक्षा दियो । यसले आफ्नो देशमा मात्र होइन विश्वका कैयौँ देशहरूमा जनक्रान्तिको लहर ल्याई समाजवादी व्यवस्था स्थापना गर्न सहयोग ग¥यो भने सयौँ उपनिवेशबाट मुक्त हुन नैतिक समर्थनको साथै राजनीतिक चेतना फैलाइदियो ।
यसबाहेक सोभियत सङ्घको धेरै विकासोन्मुख तथा अर्धविकसित देशका लाखौँ विद्यार्थीहरूलाई आफ्नो देशमा बोलाएर निःशुल्क छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा हासिल गर्न सहयोग भयो ।
नेपालमा मात्र आज झन्डै ८–१० हजार सोभियत सङ्घमा पढेर आएका डाक्टर, इन्जिनियर, वकिल आ–आफ्ना स्थानमा काम गरिरहेका छन् ।
सोभियत सङ्घमा शिक्षा र स्वास्थ्य पूर्णरूपमा निःशुल्क थियो । प्रत्येक सोभियत नागरिकले सबैले आफ्नो दक्षताअनुसारको काम पाएका थिए भने गाँस बासको पनि राम्रो व्यवस्था भइसकेको थियो ।
तर, सन् १९५३ मा सोभियत नेता जोसेफ स्तालिनको अवसानपछि या निकिता खुश्चेभ सोभियत सत्तामा आएपछि विदेशी पुँजीवादी देशहरूसँग मिलेर बस्ने ‘सह अस्तित्वको ’ सिद्धान्त अपनाएर सोभियत सङ्घलाई संशोधनको बाटोमा लग्यो र देशमा पुँजीवादी अर्थतन्त्रतिर ढकेलिदियो । ख्रुश्चेभपछि सन् १९६४ मा सत्तामा आएका सोेभियत नेता लिओनिद इलिच्छ ब्रेझनेभको शासन कालमा देशमा भ्रष्टाचारले पनि जग बसाल्न थाल्यो र देश समाजवादबाट अर्कै दिशामा गयो ।
सन् १९५२ मा लिओनिद इलिच्छको मृत्यपश्चात् सोभियत सत्तामा मिखाइल गोर्भाचोभको हावी भयो । खुश्चेभले अपनाएको बाटोलाई अँगाल्दै उनी एक पाइला अघि सरेर नवउदारवादको नीति अपनाउन मध्य र पूर्वी युरोपका समाजवादी देशहरूलाई स्व–इच्छाअनुसार समाजवाद र अन्तमा स्वयम् सोभियत सङ्घको अवसान गराए सन् १९९१ मा ।
को हुन् मिखाएल गोर्भाचोभ
सन् १९३१ मार्च २ मा सोभियत सङ्घको उत्तरी काउकास क्षेत्रको क्रास्नोग्वारडीस्को जिल्लाको प्रिभोल्नोए स्टाभ्रोपोलमा एक किसानको परिवारमा जन्मेका थिए मिखाएल सेर्गेभिछ गोर्भाचोभ । द्वितीय विश्व युद्ध हुँदा सन् १९४२ मा उनले नाजी–जर्मन फौजले प्रिभोल्नोए क्षेत्रमा आक्रमण गरेर आफ्नो अधीनमा राखेका थिए । विश्व युद्ध हुँदै गर्दा मिखाएल गोर्भाचोभ एक सहकारी कृषि फार्ममा बाली काट्ने कम्बाइन मेसिन चलाउँथे । कठोर र इमानदारीपूर्वक गरेको कामको कदर गर्दै गोर्भाचोभलाई ‘परिश्रमी लाल ध्वजा’ पदकले सम्मान गरिएको थियो ।
द्वितीय विश्वयुद्धपश्चात् सन् १९५० मा मिखाएल गोर्भाचोभ कानुन विषयमा अध्ययन गर्न रुसको प्रख्यात विश्वविद्यालय ‘मस्को विश्वविद्यालय’ मा भर्ना भए र त्यहीँ पढ्दा पढ्दै आफ्ना सहपाठी राइसा टिटोरेन्को (गोर्भाचोभ) सँग उनको विवाह भएको थियो । राइसा दर्शनशास्त्र (फिलोसोफी) का विद्यार्थी थिइन् ।
आफ्नो अध्ययनपछि मिखाइल गोर्भाचोभ राजनीतिमा संलग्न हुन पुगे । सबभन्दा पहिले उनी युवा कम्युनिस्ट सङ्गठन (कम्सोमोल) मा सदस्य बन्न पुगे । युवा कम्युनिस्ट सङ्गठन हुँदै उनी सोभियत कम्युनिस्ट पार्टीको सदस्य बन्न पुगे । कम्सोमोलको सदस्य भएकै बेला उनी आफू जन्मेकै ठाउँ स्टाभ्रोपोलमा कम्सोमोलको उच्चपदस्थ अफिसर बन्न सफल भए । सन् १९५६ मा उनीहरूको परिवारमा एक छोरीले जन्म लिइन् ।
स्टाभ्रोपोलमा कम्युनिस्ट पार्टीको भ¥याङ्ग चढ्दै उनी २४ लाख जनसङ्ख्या भएको स्टाभ्रोपोल क्षेत्रको प्रथम सचिव भए सन् १९७० मा । तत्पश्चात् सन् १९७१ मा उनी सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका सदस्य भए ।
स्टाभ्रोपोलमा हुँदा कम्युनिस्ट पार्टीको प्रथम सचिव पदमा रहँदा गोर्भाचोभले मुख्यतया स्टाभ्रोपोल क्षेत्रको उद्योग र कृषि क्षेत्रका विकासमा काम गरे । स्टाभ्रोपोल सोभियत युनियनको रुस र उक्राइनाको सीमा क्षेत्रमा पर्छ । यो खाद्यान्न उत्पादनमा धेरै राम्रो ठाउँ हो । कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा रहँदा पनि गोर्भाचोभले कृषि विभागको अध्यक्षता गरेका थिए । केन्द्रीय कमिटीबाट सन् १९८० मा मिखाइल सोभियत कम्युनिस्ट पार्टीको पोलिटब्युरोको सबभन्दा कान्छो सदस्य बन्न पुगे । यसरी अनवरतरूपमा गोर्भाचोभले सफलता हासिल गर्दै गए । सन् १९८५ मा सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले गोर्भाचोभलाई सोभियत कम्युनिस्ट पार्टीको सबभन्दा शक्तिशाली महासचिव पदमा नियुक्त ग¥यो ।
सन् १९८५ सम्म आइपुग्दा सोभियत सङ्घमा ब्रेझनेभकाल समाप्त भइसकेको थियो । सन् १९८२ मा बे्रझनेभको मृत्युपश्चात् केही समय छेर्नेन्को र युरी आन्द्रोपोभले सोभियत सङ्घ चलाएका थिए । यी दुवै नेताले धेरै समय राज्य चलाउन पाएनन् र कुनै खास लोकप्रियता पनि हासिल गरेनन् ।
छेर्नेन्को कन्स्टान्टिन
सन् १९११ सेप्टेम्बर २४ मा साइवेरीयाको एक साधारण गरिब परिवारमा जन्मेका कन्स्टान्टिन छेर्नेन्को सन् १९२९ मा अठार वर्षको अवस्थामा सोभियत कम्युनिस्ट पार्टीको ‘युवा कम्युनिस्ट लीग’ कम्सोमोलमा भर्ना भएका थिए । सन् १९३३ देखि कम्युनिस्ट पार्टीको सदस्य भएर सन् १९८५ मार्च १० मा उनको मृत्यु भएको थियो । सन् १९८४ देखि १९८५ सम्म छेर्नेन्को सोभियत सङ्घको मुख्य राजनीतिक नेता भए ।
सन् १९८४ मा लिओनिद ब्रेझनेभको मृत्युपश्चात् सोभियत कम्युनिस्ट पार्टीको महासचिव हुनु अगाडिसम्म छेर्नेन्को नाम कमैले सुनेका थिए ।
युरी आन्द्रोपोभ
आफ्नो जीवनको अन्तिम घडीतिर आइपुग्दा लिओनिद इलिच्छ बे्रेझनेभले सोभियत सत्ता कब्जा गरी राख्न सकेनन् । सोभियत सङ्घमा सरकारको कन्ट्रोल फितलो बन्दै गयो । सन् १९८२ को नोभेम्बर १० मा ब्रेझनेभको मृत्यु हुनासाथ युरी आन्द्रोपोभलाई सोभियत सत्ता हस्तान्तरण गरियो । यद्यपि ब्रेझनेभले कन्स्टान्टिन छेर्नेन्कोलाई आफ्नो उत्तराधिकारी बन्न चाहेका थिए ।
को थिए युरी आन्द्रोपोभ
सन् १९६७ देखि सन् १९८२ सम्म युरी आन्द्रोपोभ सोभियत गुप्तचर विभागका प्रमुख थिए । गुप्तचर विभागका पदाधिकारी सोभियत नेता बन्न सकिँदैन । त्यसकारण, एक सोभियत नेता मिखाइल सुस्लोभको मृत्यपश्चात् युरी आन्द्रोपोभलाई सुस्लोभको स्थानमा केन्द्रीय कमिटीमा लगियो र ब्रेझनेभको मृत्युपश्चात् सोभियत कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्ति गरियो । तत्पश्चात् सन् १९८३ को जून महिनामा आन्द्रोपोभलाई सोभियत सङ्घको राष्ट्रपति घोषणा गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *