भर्खरै :

दुःख र पीडाको वर्षमा खुसीको वर्ष !

  • चैत्र १०, २०७७
  • – दीनबन्धु अर्याल
  • विशेष

नेपाल खुसीको देशमा ८७ औँ स्थानमा रहेको सार्वजनिक भयो । संयुक्त राष्ट्रसङ्घको सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कका वल्ड हाय्पिनेस इन्डेक्स २०२१ अनुसार विश्वका १५७ देशमध्ये नेपाल उक्त स्थानमा रहेको हो । खुसी देशको मापन बाल मृत्युदर प्रजनन तथा मातृत्व स्वास्थ्य, बाल स्वास्थ्य, पोषण तथा तथा विकास, जीवन सन्तुष्टि, शिक्षा, खानेपानी, बीमा, विद्युत् सेवालगायत अन्य विषय रहेका छन् । सारमा जनताको खुसी नै देशको खुसीको मापनको आधार बनाइएको छ ।
कोरोना भाइरसको कारण नेपाल यो वर्ष सङ्कटग्रस्त वर्ष हो । शिक्षालय, उद्योगधन्दा र व्यापार व्यवसाय नचलेर आर्थिक सङ्कट निम्तिएको वर्ष हो । रोजगारी नपाएर र भएको काम छोड्नु परेको कारण यही वर्षमा खुला चउर र पेटीमा बसेर खाना खान बाध्य भएको वर्ष हो । विकासको वर्ष मानिएको यो वर्षमै सत्तारुढ दलभित्र आन्तरिक विवाद चर्केर विभाजनको स्थितिमा पुगेको वर्ष हो । सत्तारुढ दल अलग अर्थात् नेकपा एमाले र एमाओवादी केन्द्रमा परिणत भएको वर्ष हो । बाढी पहिरोले बढी मान्छे मरेको वर्ष हो । हत्या, हिंसा र बलात्कार बढी भएको वर्ष हो । जातीय छुवाछूतको कारण हत्या भएको वर्ष हो । बोक्सीको कारण देखाइ सार्वजनिक स्थलमा महिलालाई अर्धनग्न बनाई कुटपिट भएको, दिसा खुवाइएको, शारीरिक र मानसिक यातना दिइएको वर्ष हो । सत्तारुढ दलभित्रै गुट उपगुट देखिएको र दल टुक्रिएको वर्ष हो । प्रधानमन्त्री केपी ओली आफैले आफ्नै नेता र सांसदहरूले काम गर्न नदिएको भनी उद्घोष भएको वर्ष हो । राजनीतिक अस्थिरताको वर्ष हो । निरासाको वर्ष हो । निरासा र दुःखै दुःख थपेको यो वर्षमा नेपाली जनता बढी खुसी भएको देखाइएको छ । गत वर्ष नेपाल ९२ औँ स्थानमा परेको देखाइएको थियो ।
बेरोजगारी बढेको, विद्यालय, कलेज, उद्योग, कारखाना र व्यापार–व्यवसाय बन्द भएको यो वर्षमा कसरी खुसी हुने नेपालीको सङ्ख्या बढ्यो र खुसीमा प्रगति भयो ? देश अन्योल, अस्थिरता र निरासाको यो वर्षमा कसरी बढी नेपाली खुसी भए ? सरकारले तय गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको आधारमा कतै खुसीको मूल्याङ्कन गरिएको त होइन ? खानेपानीको समस्या यथावत छ । जनता सुरक्षित छैनन् । गरिबको कारण कहिले खोलामा हामफालेर त कहिले आत्महत्या गरेर परिवारका सदस्य, नाता कुटुम्ब र घर छिमेकमा पीडा थपेको छ । नेपालमा खुसी नेपालीहरूको सङ्ख्या बढ्यो रे ! नेपालीहरू खुसी हुनु, मुहार उज्यालो हुनु राम्रो हो । तर, दुःखै दुःख र पीडै पीडाको आँसु पिएर जीवन बिताइरहेको वर्षमै खुसीमा प्रगति भएको देखाउँदा आश्चर्य लाग्यो । कतै यसको मूल्याङ्कनमा पूर्वाग्रह त छैन ? सोचनीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *