भर्खरै :

मूर्तिकार अशोक प्रजापतिसँग एकक्षण

भक्तपुर नगरपालिका वडा नं. ९ बस्ने अशोक प्रजापति सिद्धहस्त मूर्तिकार हुन् । ललितकला क्याम्पसबाट २०६९ मा मूर्तिकलामा स्नातक गरेका मूर्तिकार प्रजापतिले ०६४ देखि नै माटोका विभिन्न मूर्तिहरू बनाउन थालेका हुन् । सर्वप्रथम मायादेवीको मूर्ति बनाउँदा प्रेरणास्वरूप उनलाई ललितकला क्याम्पसमा पढ्ने ढोका खुल्यो । एसएलसी सकेपछि तीन महिनाको फुर्सदमा उनले मायादेवीको मूर्ति बनाएका थिए । आफूले मूर्ति बनाएको देखेपछि ठूलो दाइ सरोज प्रजापति प्रभावित भए र मूर्तिकला पढ्न सुझाए । तर, त्यसबेला मूर्तिकार प्रजापतिको उत्कट इच्छा मेकानिक्स बन्ने थियो ।

हालसम्म आफूले बनाएका मूर्तिहरूमध्ये बज्रसत्व मूर्ति, माटोको किसि कप झ्यो (झ्याल) र सालिक उत्कृष्ट रहेको उनी बताउँछन् । १० फिटको सो मूर्ति काठमाडौँको रातो गुम्बाको लागि मास्टर पिस बनाउने काम उनले गरेका थिए । अर्को अत्यन्त मौलिक किसि कप झ्यो (हात्तीको टाउके झ्याल) हो । मूर्तिकार प्रजापतिका अनुसार उक्त झ्यालको वजन ७०–८० किलो छ । कालो माटोबाट बनेको उक्त झ्याल तलातुंछिको लिभिमा विश्वकर्मा भैल प्याखंका सामान राख्ने गणेश मन्दिर द्योछेँको लागि बनाइएको हो  । उक्त झ्याल सहयोगस्वरूप सो द्योछेँको लागि कलाकार प्रजापतिले हस्तान्तरण गरिसकेका छन् । उनका अनुसार उक्त झ्यालको मूल्य रू. २ लाख पचास हजार पर्छ ।
मूर्तिकार अशोक अधिकांश बुद्ध, गणेश, कुमार, ताराका साथै अन्य अमूर्त मूर्तिहरू बनाउँछन् । हाल उनी जग्गा भाडामा लिएर व्यवसाय प्रवद्र्धन गर्न वर्कसप खोलेर मूर्ति बनाउँछन् । वर्कसपमा उनलाई साथ दिने बोलाछेँ निवासी पुण्यलक्ष्मी प्रजापति र इटाछेँका सरिता वैद्य छिन् । मूर्तिकार प्रजापतिले पद्मसंभव, बुद्ध, हनुमान, विभिन्न व्यक्तिका सालिक (प्रतिमा), तोरण, थां (खम्बा), क्षेफ पनि बनाउँथे । यसबाहेक पुरस्कार दिने अवार्ड, मायाको चिनो पनि उनी बनाउँछन् । उनका मूर्तिहरू भक्तपुरबाहेक काठमाडौँ, ललितपुरमा मात्र होइन अस्ट्रेलिया र अमेरिकामा पनि पुगेका छन् ।

मूर्ति बनाउँदाको अनुभवबारे जिज्ञासा राख्दा उनले भने, मूर्ति बनाउँदा समय लाग्ने, धैर्यता चाहिने, तत्काल फल प्राप्त नहुने हुँदा सुरू सुरूमा मन खिन्न भएको थियो । निरन्तरको मेहनतले यस कामबाट अहिले सन्तुष्ट छु । नाम र दाम पनि हुने भएकोले हाल उनी सन्तोषपूर्वक काममा व्यस्त छन् । बिहान र बेलुका काम गरेर उनी दिउँसो सेरामिक तालिम केन्द्र एसओएस सानोठिमीमा माटोकै मूर्ति बनाउने तथा सेरामिकसम्बन्धी तालिम दिन पुग्छन् ।
उनले एकातिर एकेडेमिक योग्यता हासिल गरे भने अर्कोतिर विज्ञ एवं ज्ञाता गोपालदास श्रेष्ठ (कलाप्रेमी) सँग पनि धेरै अनुभव प्राप्त गरे । सेरामिक ट्रेनिङ्गमा ६ महिना तालिमको अनुभव पनि उनले हासिल गरे । दिलबहादुर प्रजापतिले पनि कामको सिलसिलामा आइपरेको प्राविधिक समस्याको समाधानमा टेवा पु¥याएको उनको अनुभव छ । मूर्तिकार प्रजापति १२ वर्षदेखि सेरामिक तालिम केन्द्रमा संलग्न छन् ।
मूर्तिकार प्रजापति माटोको मात्र होइन, सिमेन्ट, धलौट र फाइबरका विभिन्न कलात्मक मूर्ति र तोरणहरू पनि बनाउँछन् । मूर्ति बनाउने माटोमा उनी खरि धुलो, बालुवा, पाँगोमाटो पनि प्रयोग गर्ने बताउँछन् । उनले एसओएस बालग्रामका संस्थापक हर्मन माइनरको सालिक, अश्वघोषको सालिक, तालाक्व निवासी माहेश्वरी प्रजापति र काशिबहादुर प्रजापतिको सालिक पनि बनाइसकेका छन् । उनको काममा सहयोगीको रूपमा पुण्यलक्ष्मी प्रजापति र सरिता वैद्य मूर्ति, टुँडाल, थाम आदिको कम्पोज गर्छिन् र अशोक फिनिसिङ्ग गर्छन् ।
भविष्यमा टेराकोटासम्बन्धी मूर्ति, झ्याल र थाम बनाउने विचार व्यक्त गर्ने उनले माटोकै थप उत्कृष्ट मूर्ति बनाउने योजना बुनिरहेका छन् । भक्तपुर नगरलाई मृत्तिका (टेराकोटा) मूर्तिबाट परिचित गराउने उनको योजना छ । उनले आफ्ना मूर्तिहरू बबरमहल, केयू (धुलिखेल) र ललितपुरमा प्रदर्शन गरिसकेका छन् । भनपा वडा नं. ९ स्थित वाचुहिटीस्थित तः गुठीको पाटी (फल्चा) मा भैलद्यो, क्षेफ र थां (थाम) तथा स्टुपा, बुट्टेदार फ्रेम आदि बनाउने काम पनि उनले गरे । ढुङ्गा, धलौट, तामा, पित्तल, चाँडी, सुनका मूर्ति बनिरहेको बेला उनले माटोको मूर्ति बनाएर भक्तपुरको निम्ति अर्को छुट्टै पहिचान बनाएका छन् । स्थानीय स्रोत र साधन अधिक उपयोग गरेर आफ्नो प्रतिभा देखाउन उनी सफल कलाकार बनेका छन् ।
राज्यले देशको विभिन्न भागमा रहेका हस्तकला, मृत्तिका कला, लोहँकर्मी तथा अन्य प्रतिभाशाली व्यक्तिहरूको खोजीनीति गर्नुपर्छ । उनीहरूले गरिरहेको काममा हौसला दिने, प्राविधिक सहयोग गर्ने, तयार भएको सामानको बजार व्यवस्थापन गर्ने र कलाकारहरूलाई सम्मान गर्ने काम गर्नुपर्छ । उनीहरूको अनुभव, सीप र कलाको कदर गर्नुपर्छ । समाजमा रहेका तर सबैले थाहा नपाएका विशिष्ट व्यक्तिहरूको पहिचान गर्ने, समाजमा चिनाउने काम भइरहनुपर्छ । हामीले आफ्नै ठाउँका विज्ञहरूबारे थाहा पाउँदैनौँ, चिन्दैनौ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कुनै पनि विशेषज्ञहरूको पहिचान गर्नुपर्छ । उनीहरूको कला, प्रतिभा, सीप र अनुभव साट्नुपर्छ । त्यो राज्यको दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *