भर्खरै :

फासीवाद पुँजीवादको चरम रूप

सामन्त वर्ग तथा निरङ्कुश राजतन्त्रको विरोधमा नवधनाढ्य पुँजीवादी दलहरूले स–साना पसले, व्यापारी, स–साना ज्यासल र कारखानाका मालिकहरूसँग मिलेर मजदुर किसानहरूको साथ लिई विद्रोहको शङ्ख फुकेका थिए ।
पुँजीवादी सेना र सामन्तवर्गको सेनाबीचको सङ्घर्षमा पुरानो शासक वर्गको पराजय भयो । मजदुर र किसानहरूले भूमिको साथै सम्पत्तिका अन्य स्रोतहरूको समेत समान वितरणको विषय उठाएपछि पुँजीपति वर्ग र सामन्त वर्ग एक भए र मजदुरकिसानको आन्दोलन दबाए । सामन्त वर्ग र पुँजीपति वर्ग मिलेर संवैधानिक राजतन्त्रको पुनःस्थापना गरे । त्यसलाई बेलायती इतिहासमा ‘गौरवपूर्ण’ क्रान्ति भनियो । सारमा त्यो पुँजीपति वर्गले मजदुर र किसानहरूमाथि गरेको विश्वासघात थियो भने सामन्त वर्गले पुँजीपति वर्गको अगाडि आत्मसमर्पण गरेको घटना थियो ।
राजनीतिशास्त्रमा यसलाई सामन्त र पुँजीपति वर्गको बीचको सङ्घर्षमा दुवैले मिलेर शासन गर्ने ‘सामाजिक सम्झौता’ को सिद्धान्तको रूपमा लिइयो । सामन्त वर्गको नेतालाई समारोही बनाएर त्यसको शासनको अनुभवलाई पुँजीपति वर्गको हितमा उपयोग गरियो, त्योे एक ‘प्रतिक्रान्ति’ थियो ।
१९ औँ शताब्दीमा आएर निर्वाचनको माध्यमले पुँजीवादी व्यवस्थालाई एक–एक पाइला गरेर पुँजीपति वर्गको तानाशाहीलाई मूर्तरूप दिन सहयोग ग¥यो । कानुनी जालझेल, रकम खर्च गर्ने, प्रचारका निम्ति गुप्त र खुला धनराशी खर्च गर्ने, मत किन्ने, कामदार वर्गको विरोधमा पुँजीपति वर्गको हितको निम्ति पुराना निर्वाचन क्षेत्रहरू हेरफेर गर्ने, सेना, प्रहरी, गुप्तचर विभाग र प्रशासनिक कर्मचारीहरूको प्रयोगले बिस्तारै पुँजीवादी निर्वाचन झन्झन् बदनाम हुँदै गयो । हिटलर, मुसोलिनी र तोजोले जर्मनी, इटाली र जापानमा निर्वाचनलाई औपचारिकतामा सीमित गरे । वर्तमान नेपालमा संसद्को विघटन, निर्वाचनको घोषणापछि पनि अदालतद्वारा संसद्को पुनःस्थापना र निर्वाचनलाई अस्वीकार गरी पुँजीवादी राजनैतिक पार्टीहरूबीच सजिलै अर्थात् जनताको राय लिने औपचारिकतालाई समेत छोडेर सदनभित्रकै खेलमा पुनः सरकार बनाउने खेल हुँदै छ ।
यही समयमा भारतमा केही प्रान्तहरूको निर्वाचनमा हिटलर, मुसोलिनी र ट्रम्पले जस्तै चुनाव जित्ने अनेक छलफल गर्दै गरेका समाचारहरूले बताएका छन् । ती हुन् ः
क) चुनाव नजिक आउँदा सरकारी कर्मचारी, राजनैतिक दलका नेताहरू र अन्य भ्रष्टाचारीहरूलाई राजस्व अनुसन्धान र अदालतद्वारा कारबाही गर्ने डर देखाई भारतीय जनता पार्टीमा तान्ने उपाय चलाइँदै छ ।
ख) हिन्दु धर्म र ‘श्री राम’ को नारा चर्काएर बहुमत हिन्दु जनतालाई भाजपालाई मत दिन बाध्य पार्ने, अल्पसङ्ख्यक मुसलमान, जन–जाति, अन्य धर्मावलम्बी र दलितहरूलाई आतङ्कित पार्दै मत लिने उपाय अपनाइँदै छ ।
ग) सुरक्षाकर्मीहरूलाई निर्वाचनकै बेला नश्लवादी क्षेत्रमा दमन गर्न पठाई सुरक्षाकर्मीहरूको हत्याको जाल फैलाउने र देशभक्ति र सेनाप्रति सहानुभूति देखाई सेनाका परिवार र सरल जनताको मत तान्ने उपाय चलाइँदै छ ।
घ) मुसलमानहरूलाई ‘सानो पाकिस्तान’ बनायो भन्ने आरोपले तर्साउने र हिन्दुहरूसँग तर्साएर मत लिने उपाय ल्याइयो ।
ङ) निर्वाचनको हार–जीत नभएकै कारण भारतीय जनता पार्टीले अन्य राजनैतिक पार्टीका उम्मेदवारलाई नै किन्ने उपाय लगाउँदै छ ।
च) ‘राम्रो दिन आउँदै छ’ भन्ने आशा देखाउँदै भाजपाले जनतालाई आश्वासन दिएर मत माग्दै छ । तर, तथ्याङ्कअनुसार १ वर्षमा भारतमा ७ करोड ५० लाख गरिब थपिएको छ । (मजदुर–३० चैत,२०७७)
यस्तै अन्य झूटा आश्वासन र मानसिक यातना दिने मोदीको पार्टी भाजपाले गर्दै गइरहेको चर्चा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *