भर्खरै :

शासक पार्टीहरूको नालायकी र कोभिड–१९ को दोस्रो लहर

बहुदलीय व्यवस्था र गणतन्त्रको तीस वर्षयता नेका, एमाले, माओवादी, राप्रपाले आलोपालो सरकारको नेतृत्व गरे । ती सबै सरकारहरूले विकासलाई प्राथमिकतामा राखेको दावी गर्छन् । मान्छेमा कपाल र नङ बढेजस्तै विकास त राणा र पञ्चायत कालमा पनि भएको थियो । परिणाम देशले १६ खर्ब ऋण बोक्दै छ । खर्बाँै रुपैयाँको खाद्यान्न आयात भइरहेको छ । ७०–८० लाख नेपालीलाई वैदेशिक रोजगारीको निहुँमा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बनाइएको छ । अन्धविश्वास यथावत छ । सर्वसाधारण जनताले वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल र जिल्ला–जिल्लाका सरकारी अस्पतालहरूमा उपचार पाउँदैनन् ।
एमालेको सरकारमा झन्डै तीन वर्ष माओवादी पनि संलग्न थियो । सरकारबाट भर्खरै बाहिरिएको माओवादीले समेत देश विकास नभएको चर्चा गर्दछ । तर, माओवादीले एमालेको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिनसक्दैन र एमालेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि राख्न सक्दैन । एमालेको सरकार पानीजहाज, रेल, घरघरमा खाना पकाउने ग्यासको पाइप, सुरूङ मार्गजस्ता विकासका योजनाबारे चर्चा गर्छ ।
बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकामा मात्रै यो वर्ष २८० बालबालिकाको विवाह भएको समाचार प्रकाशित भयो । अस्टे«लियाको सहयोगमा सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू जाजरकोटमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक देखाउँदै छन् । सङ्घ र प्रदेश सरकारले बालविवाह न्यूनीकरण गर्न मान्त्रालय नै खडा गरी जिम्मेवारी दिएका छन् । तर, समाजमा अन्धविश्वास यथावत छ । मन्त्रीहरूले जिम्मेवारी पूरा गरेको देखिएन ।
माओवादीले स्थानीय चुनावमा नेकासँग संयुक्त मोर्चा बनाई आफ्नो भाग सुनिश्चित ग¥यो भने प्रतिनिधिसभा र प्रदेशसभामा एमालेसँग चुनावी मोर्चा गरी भाग स्थापित ग¥यो । प्रतिनिधिसभा विघटनको झट्का पाएको माओवादी अहिले राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गर्छ तर विश्वासको मत फिर्ता लिने साहस गर्दैन । एमाले सरकारका प्रम, मन्त्री र सांसदहरूले माओवादीलाई समर्थन फिर्ता लिन आग्रह पनि गरे । ‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ’ भनेजस्तै माओवादी–एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रमले फेरि प्रतिनिधिसभा विघटन गर्लान् भनी डराएको छ । यसरी माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको घटनालाई ‘ङारङुर’ तर्क राखेर टाल्दै छ । यो अनैतिकताको हद हो ।
प्रमुख प्रतिपक्षी नेकाले पनि एमाले सरकारको विरोध गर्छ तर अविश्वासको प्रस्ताव पेश गर्ने साहस गर्दैन । अविश्वासको प्रस्ताव पारित नभए एमालेको सरकार अबको एक वर्षलाई ढुक्क हुने डर नेका र माओवादी दुवैमा छ । अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवारको समेत नाम संलग्न गर्नुपर्ने तर नेका, माओवादी र राजपाबीच नयाँ प्रमबारे सहमतिसमेत नजुरेको हुँदा तत्काललाई एमालेको सरकारको विकल्प देखिएको छैन । नेकाका एक सांसदले एमाले र माओवादी मिलेर सरकार अघि बढाउनुपर्ने समेत धारणा राखे । नेकाका अर्का सांसद प्रदीप गिरीले यो अन्योलको स्थितिको दोषी संसद् नै भएको आरोप लगाए । तर, यो सत्य होइन । कमजोरी नेका, माओवादी र राजपाको हो । साथै, एमालेको ठाउँमा अरू कसैको सरकार गठन भए पनि अहिलेको स्थितिमा परिवर्तन आउने छैन, किनभने ‘गाँसेगुसे एकैनासे’ हुन् ।
नेकाको रामचन्द्र पौडेल समूह आफ्ना सभापति देउवालाई प्रमको लागि अघि बढ्न नसकेको र एमाले सरकारसँग साँठगाँठ गरेको आरोप लगाउँदै छ । पौडेलले आफूलाई कहाँनिर खसाल्ने हो भन्ने चिन्तामा देउवा छन् । यसकारण, पौडेलको प्रस्ताव नेकाभित्र सजिलै कार्यान्वयन हुने अवस्था छैन । शासक दलहरूको झगडाले नै नेपालमा विदेशी प्रभाव बढिरहेको हो । राणा शासनको बेलामा पनि ‘क’ र ‘ख’ क्लासका राणाबीच विवाद हुँदा विदेशी हस्तक्षेप बढेको थियो । तर, माओवादीले नेका र जसपालाई भारतको निर्देशनअनुसार नीति तय गर्ने भएकोले निकास ननिस्केको आरोप लगाउँदै छन् । जब कि माओवादी सशस्त्र द्वन्द्वको बेला पुष्पकमल दाहाल, बावुराम भट्टराई लगायत नेताहरू भारतीय सुरक्षाकर्मीको घेरामा भारतको विभिन्न ठाउँमा बसेको सार्वजनिक भइसकेको छ ।
भारतकै कारण नेपाल कोभिड–१९ जोखिममा !
भारतमा कोभिड–१९ को दोस्रो लहर सुरु भइसक्यो । चैत २९ गतेको २४ घण्टामा मात्र भारतमा १ लाख ७० हजार २०९ जना सङ्क्रमित भए भने ९०४ को मृत्यु भयो । भारतको १६ वटा राज्य कोभिड–१९ को चपेटामा छन् । नेपालसँग जोडिएको उत्तर प्रदेश, उत्तराखण्ड र पश्चिम बङ्गाल पनि उच्च सङ्क्रमणमा छन् । भारतका यी राज्यमा १० दिनमा सङ्क्रमितको सङ्ख्या दोब्बर वृद्धि भएको छ । यसले नेपाल पनि कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरको जोखिममा रहेको प्रस्ट गर्छ ।
पछिल्लो १५ दिनमा ६ हजार ७८ जना भारतीय नागरिक हवाई मार्गबाट नेपाल पसे । खुला सीमा नाकाबाट कति भारतीय नेपाल पसे, यसको लेखाजोखा सरकारसँग छैन । खाडी मुलुकले भारतसँग सीधा उडान रोकेपछि भारतीय नागरिकहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान थालेका छन् । १५ लाख भारतीयहरू साउदी अरबमा काम गर्दै छन् । नेपाल भएर खाडी मुलुक जाने भारतीयहरू नरोकिए नेपालमा कोभिड–१९ सङ्क्रमण दर अझ उच्च हुनेछ ।
उत्तरप्रदेशमा रात्रीकालीन कफ्र्यु छ भने अहिले विद्यालयलाई बन्द गरिएको छ । त्यहाँको लखनउ, कानपुर, गोरखपुर, गौतमबुद्ध नगर, इलाहावाद, गाजीयावाद, मुजफ्फरपुरमा केही दिनदेखि रात्रीकालीन कफ्र्यु छ । खुलामा १०० जना र बन्द कोठामा ५० जनामात्र जम्मा हुने अनुमति दिइएको छ । दिल्लीमा पनि रात्रीकालीन कफ्र्यु जारी भइसकेको छ ।
वीरगञ्ज नाकामा कोभिड–१९ सङ्क्रमण दर उच्च रहेको छ । त्यहाँ सुरुमा भारतबाट आएका सङ्क्रमित भेटिएकोमा अहिले समुदायमा सङ्क्रमण फैलिएको छ । परीक्षणमा धेरै नआएका हुँदा सबै सङ्क्रमित पत्ता लागेको छैन ।
कोभिड–१९ सङ्क्रमण वायु प्रदूषण र बाक्लो जनसङ्ख्या भएको ठाउँमा उच्च हुने अध्ययनले बताएको छ । काठमाडौँ उपत्यका र अन्य बाक्लो जनसङ्ख्या भएका सहरहरू कोभिड–१९ सङ्क्रमण र वायु प्रदूषणको चपेटामा पर्नु स्वाभाविक हो । नेपालले भारतसँग कोभिड–१९ रोकथाम खोप २० लाख डोज खरिद गर्ने भनिएकोमा १० लाख डोजमात्र प्राप्त भयो । भारतमा यसरी नै सङ्क्रमण बढेमा नेपालले त्यहाँबाट खोप पाउने छैन । यसकारण, नेपाल सरकारले चीनसँग खोप खरिद गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *