युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
(सन् १९६७ मा एक अमेरिकी विश्वविद्यालयको निम्ति लेखिएको यो अध्ययनपत्र संसारका प्रथम कम्युनिस्ट क्रान्तिकारी मानिने बाबेफको विषयमा लेखिएको सरस र सारपूर्ण रचना हो । बाबेफसम्बन्धी सैद्धान्तिक बुझाइमा लेखकसँग मतभेद हुँदाहुँदै पनि फ्रान्सेली क्रान्ति र एक क्रान्तिकारीका उतारचढावबारे थाहा पाउन पठनयोग्य हुनाले अध्ययनपत्रको अनौपचारिक अनुवाद गरिएको छ । अर्थात्, यसका सन्दर्भ सामग्रीहरू यहाँ उल्लेख गरिने छैन तर थप ऐतिहासिक सन्दर्भसहित टिप्पणीहरूलाई यथास्थान राखिनेछ । अक्टोबर क्रान्तिसँग दाँजेर हेर्दा यहाँ वर्णित फ्रान्सेली क्रान्तिका घटनाक्रमले जीवन्त र मूल्यवान अर्थ राख्नेछन् ।– अनुवादक)
पूर्वकथन
फ्रान्सेली क्रान्तिको छोटो झलक सहज बुझाइका निम्ति आवश्यक छ ।
सन् १७८७–८९ को अवधिमा फ्रान्सको अर्थतन्त्रमा ठूलो सङ्कट आयो । फ्रान्सले औद्योगिक सङ्कट झेलिरहेको थियो । १७८८ मा कृषि उब्जनी न्यून भयो । चिसो बढेकोले जनजीवन थप कष्टकर भयो । त्यतिबेला ९९ प्रतिशत गरिबहरू १ प्रतिशत राजारजौटा, खानीदानी, जमिनदार र गुरूपुरोहितको थिचोमिचोमा थिए । सहरमा पुँजीपति वर्ग र सहरी गरिबहरू बढ्दो महँगीको चेपुवामा पर्दै थिए । भोक र गरिबीले जनअसन्तोष चुलिँदो थियो । सम्राट र भारदारहरूलाई पुरानै ढर्राबाट शासन चलाउन सकिन्न भन्ने अनुमान भइसकेको थियो । राजकोष रित्तिँदै थियो । त्यसैले सम्राटले १७८९ मा भर्सेलिजमा सबै वर्गका प्रतिनिधिहरूको सभा वा स्टेटस जनरल डाके । त्यसमा कुलीन वर्ग, गुरूपुरोहित वर्ग र तेस्रो वर्गका प्रतिनिधि भेला भए । तेस्रो वर्गमा अल्पसङ्ख्यक पुँजीपति, ग्रामीण किसान र सहरी गरिबहरू पर्थे । भेलामा अघिल्ला विशेषाधिकार प्राप्त दुई वर्गसँग तेस्रो वर्गको हानथाप भयो । तेस्रो वर्गले आफूलाई राष्ट्रिय सभा घोषित ग¥यो, आफूलाई फ्रान्सेली जनताको सच्चा प्रतिनिधि घोषणा ग¥यो । राजाले बैठक भइरहेको महलमा ताल्चा पड्काएपछि तेस्रो वर्गले जून २० मा नजिकैको टेनिस कोर्टमा राष्ट्रिय सभाको बैठक ग¥यो । प्रतिनिधिहरूले नयाँ संविधान मस्यौदा गरेर पारित नगरेसम्म अधिवेशन भङ्ग नहुने शपथ खाए । जुलाई ९ मा राष्ट्रिय सभाले आफूलाई संविधान सभा घोषणा ग¥यो । राजाले त्यसलाई स्वीकार गर्नुप¥यो । उनले राष्ट्रिय सभाका आफ्नो पक्षधरलाई बर्खास्त गर्नुप¥यो । उनले राजधानी पेरिसमा सेनाकेन्द्रित गर्न खोज्दा जनता आफै प्रतिक्रान्तिको डरले सडकमा आए । हप्तादिनसम्म पेरिसका तेस्रो वर्गका जनताले मिलिसिया बनाएर सेनासँग भिडे । बेस्टिल जेल र बारुदखाना कब्जा गरे । सहरको समाचार सुनेर गाउँमा किसानहरूले जमिनदार र खानदानीका घरखेत र जङ्गलहरू कब्जा गरे । अगस्ट २६ मा संविधान सभाले मानव अधिकारहरूको घोषणा ग¥यो । त्यस दस्तावेजमा उल्लेख भएको ‘स्वतन्त्रता, समानता र भाइचारा’ को नारा विश्व प्रसिद्ध भयो । तर, त्यसमा निजी सम्पत्तिको अधिकार सुरक्षित गरिएको थियो ।
तेस्रो वर्गमा राजधानी, नगर परिषद् र राष्ट्रिय गार्डको नेतृत्व समालिरहेका धनी पुँजीपतिहरू हावी थिए । उनीहरू राजतन्त्रको विरुद्ध संविधानसभामा आगो ओकल्थे । केही नेताले भित्रभित्र राजावादीहरूसँग साठगाँठ गर्दै थिए । संविधान सभामा मतदानको नियम तय भयो । त्यस नियमले जनतालाई दुई भागमा बाँड्यो । सम्पत्तिशाली तेस्रो वर्गलाई सक्रिय नागरिक भनियो र निर्धनहरूलाई निष्क्रिय नागरिक भनियो । दुई करोड ६० लाख जनतामध्ये हुनेखाने ४३ लाख जनता सक्रिय नागरिक बन्न पुगे र मतदानको राजनीतिक अधिकार केवल उनीहरूले पाउने भए । क्रान्तिबाट एउटा नवधनाढ्य वर्ग तयार भएको भनेर क्रान्तिकारी नेता मारातले आफ्नो अखबारमा लेखे । तैपनि, संविधान सभाले फ्रान्सको पुरानो प्रशासनिक विभाजन खारेज ग¥यो र देशलाई ८३ डिपार्टमेन्ट वा विभागमा बाँड्यो । राज्यले नोभेम्बरमा गिर्जाघरका सम्पत्तिहरू कब्जा ग¥यो र त्यसलाई ‘राष्ट्रिय सम्पत्ति’ घोषणा गरी बेच्यो । जन्म, विवाह, मृत्यु दर्ताजस्ता गिर्जाघरले गर्ने काम राज्यले गर्ने भयो । धर्मबाट राज्य अलग भयो ।
सम्पन्न तेस्रो वर्गले आफूले खोजेका हक अधिकार पाइसकेको थियो । उसले छिट्टै थप परिवर्तन गर्न अस्वीकार ग¥यो बरु पाएका अधिकारहरू ‘संस्थागत’ गर्नेतिर ध्यान दियो । भूदासप्रथा उन्मूलन गरेको घोषणा भयो, तर व्यवहारमा त्यो ज्यूँदै थियो । १७९० मा किसानहरूले मालिकलाई कुत बुझाउन अस्वीकार गरे । सहरमा व्यापारमा मन्दी थियो । सहरी गरिबहरू भोकै थिए । १७८९ को अक्टोबरमा सहरी गरिब, साना व्यापारी र ज्यामीहरूका चेलीबेटीले राजमहल घेर्न गए । संविधान सभा जनतासँग डरायो । उसले आन्दोलन दबाउन सेना परिचालन ग¥यो । यसमा ऊ सफल भएन । जननेता रोबेस्पीयर र मारातले संविधान सभामा ठुला पुँजीपति वर्गले गरेका जनघाती कामलाई जनतासामु उदाङ्ग्याउने काम गरे । त्यस वर्गले दरबारसँग घाँटी जोडिसकेको थियो । दरबारले भित्रभित्र विदेशी शासकहरूसँग फ्रान्समा हस्तक्षेप गर्न आग्रह गरिरहेको थियो । १७९१ को जूनमा राजारानी नोकरको भेषमा विदेश भाग्दै गर्दा सीमा वारेनमा समातिए । सर्वसाधारणको राजारानीमा आस्था थियो । उनीहरूले दरबारका आउरेबाउरेले नै राजारानीलाई जनताका पिरव्यथाबाट टाढा राखेको ठान्थे । वारेन घटनापछि राजतन्त्रको विरोध चर्कियो । त्यसबेला त्यहाँ जाकोविन्स र गिरोन्डिस दुवै राजनैतिक ‘क्लव’ वा पार्टी थिए । त्यसैले नै त्यसबेलाको सबैभन्दा ठूलो राजनीतिक दल ज्याकोबिन क्लबमा फुट आयो । ज्याकोविन्सहरू वामपन्थी वा क्रान्तिकारीहरू थिए । गिरोन्डिसहरू दक्षिणपन्थी वा प्रतिगामीहरू थिए ।
त्यसबेला फ्रान्समा विभिन्न राजनीतिक क्लवहरू हुन्थे । ज्याकोबिन क्लव फुटेर जनतालाई फाइदा भयो । त्यसका राजतन्त्र पक्षधरहरूले फएआँ क्लव बनाए । रोबेस्पीयर ज्याकोबिन क्लवका नेता भए । १७९१ को सेप्टेम्बरमा संविधान सभाले पारित गरेको संविधानमा राजाले लालमोहर लगाए र संविधान सभा भङ्ग भयो । अक्टोबरमा नयाँ संसदको अधिवेशन सुरु भइसकेको थियो । यसमा कुलीन प्रतिनिधिमात्र थिए । फएआँ त्यहाँ बलशाली थिए । अर्को वर्ष अप्रिलमा फ्रान्सले अष्ट्रियाविरुद्ध युद्धको घोषणा ग¥यो । खासमा यो युद्ध जनताको ध्यान अन्तै मोड्न रचिएको थियो । युद्धबाटै विदेशी सेनालाई देशमा भित्र्याउने दरबारी षड्यन्त्र थियो । रोबेस्पीयर र मारातले युद्धको विरोध गरे तथा देशमा मौलाइरहेका प्रतिक्रान्तिका गतिविधि तह लगाउनुपर्ने बताए । रोबेस्पीयर समूहकै ब्रिसो नाउँका नेताले युद्धको समर्थन गरे । पछि उनले गिरोन्डिस क्लव बनाए । दरबारको चाल सफल भयो । उसले ज्याकोबिनहरूलाई फुटायो । राजाले गिरोन्डिसहरूलाई मन्त्री बनाए । युद्धमा फ्रान्स पराजित हुने रोबेस्पीयरहरूको अनुमान थियो । त्यस्तै भयो र राजाले गिरोन्डिसहरूको मन्त्री पद खोसे । सत्तामा फएआँहरू नै आए । दरबारले सेनाका भित्री कुरा अष्ट्रिया र भियना पठाएर देशलाई हराउने दाउ खेलिरहेको थियो । रोबेस्पीयर, मारात र दाँतेको नेतृत्वमा युद्ध गर्ने नै भए क्रान्तिकारी तरिकाले गर्नुपर्ने भन्दै जनता एकगठ भए । ज्याकोबिनहरू जनताका अगुवा बने । देशभित्रका विदेशी सुलसुलेहरूलाई परास्त नगरी युद्ध जित्न सम्भव थिएन । त्यसैले सेनामा भर्ती भएका जनताले देशद्रोहीहरूलाई कुल्चे । देशघातको स्रोत दरबार थियो । त्यसैले जनविद्रोहबाट १७९२ को अगस्ट १० मा फ्रान्समा राजतन्त्र अन्त्य भयो । राजालाई बन्दी बनाइयो । सक्रिय र निष्क्रिय नागरिकको भेद हटाइयो ।
सरकार र संसदबाट फएआँहरू हटे । त्यहाँ गिरोन्डिसहरू बलिया भए । उनीहरू पुँजीपति र जमिनदारका प्रतिनिधि थिए । उनीहरूको प्रभाव देशभरिका नगर परिषद्हरूमा थियो । ज्याकोबिनहरूको थिएन । ज्याकोबिन मध्यम र निम्न पुँजीपति, किसान र सहरी गरिबको दल थियो, क्रान्तिलाई लक्ष्यसम्म लग्न उनीहरू एक भएका थिए । पहिले सामन्तवादको चर्को विरोध गर्ने गिरोन्डिसहरू नलडिकन सत्ता पाएर अघाउन थाले । यो भिन्नता सङ्घर्षको बीउ बन्यो । १७९२ सेप्टेम्बर २१ मा अधिवेशन (कन्भेनसन) सुरु भयो । फ्रान्सेली सेनाले प्रसिया (जर्मनी) लाई हराएको उपलक्ष्यमा हर्षोल्लास मनाउँदै अधिवेशन सुरु भयो । यस दिनलाई स्वतन्त्रताको चौथो वर्ष र गणतन्त्रको पहिलो दिन भनी घोषणा गरियो । नयाँ वर्षसम्म ज्याकोबिन र जिरोन्दिहरूबीच राजालाई प्राणदण्ड दिने विषयमा फरक मत रह्यो । देशद्रोहको सजायस्वरूप १७९३ को जनवरी २१ मा लुई १६ औँ टाउको काट्ने यन्त्र गिलोटिनमा काटिए । प्राणदण्डको पक्षमा रहेका ज्याकोबिन नेता रोबेस्पीयरले राजाको टाउकोलाई भकुन्डोझैँ हाने । युरोपका बाँकी सबै राजा र राजतन्त्रवादीहरू थर्कमान भए । झन्डै सबै युरोपेली देशले फ्रान्समाथि आक्रमण गरे । फ्रान्सेली क्रान्तिकारीहरू पूरै युरोपसँग लडे । (ठीक यस्तै स्थितिको सामना अक्टोबर क्रान्तिपछिका बोल्शेभिकहरूले गर्नुपरेको थियो र उनीहरूलाई फुटाउन दरबारमात्र होइन, विदेशी दूतावासहरू पनि सक्रिय थिए ।)
गिरोन्डिस सरकार कानमा तेल हालेर बसिरहेको थियो । ऊ ज्याकोबिनहरूसँग ठाकठुकमै रमाइरहेको थियो । युद्धले फ्रान्सको अर्थतन्त्र धुजाधुजा भयो । गरिबी र भोकले गाउँसहरका जनता निस्सासिँदै थिए । सहरी गरिबका प्रतिनिधिहरूले आन्दोलन गर्न थाले । गिरोन्डिसहरूले तिनलाई साँक्युलोत अर्थात् भावुकतावादी क्रान्तिकारीहरू (रुमानीहरू) भन्थे । साँक्युलोतहरूसँग मिलेर ज्याकोबिनहरूले सशस्त्र विद्रोह गरे । १७९३ को मे र जूनमा विद्रोह भयो । विद्रोहबाट २९ गिरोन्डिस प्रतिनिधिहरूलाई अधिवेशन र सरकारबाट बर्खास्त गरियो । सत्ता ज्याकोबिनहरूको हातमा पुग्यो । तर, स्थिति गम्भीर थियो । देशको पश्चिमी भेगमा राजावादी प्रतिक्रान्तिकारीहरू सक्रिय थिए । दक्षिणतिर नजरबन्दीबाट भागेका जिरोन्दीहरूले उत्पात मच्चाइरहेका थिए । देशका ८३ डिपार्टमेन्टमध्ये ६० वटामा विद्रोह भड्किएको थियो । विदेशी सेनाले पेरिस घेर्दै थिए । ज्याकोबिन नेताहरूले साहस देखाए । सम्झौता गर्ने वा हार खाने कुरै थिएन । रोबेस्पीयरले डायरीमा टिपे, “संयुक्त सङ्कल्प आवश्यक छ । भित्री खतरा पुँजीपतिहरूसँग छ । तिनलाई हराउन जनतालाई एकजुट पार्नु छ । जनता र अधिवेशनले मिलेर काम गर्नुपर्छ । अधिवेशनले आफूलाई जनतासँग एकाकार गर्नुपर्छ ।”
सत्तामा पुगेका ज्याकोबिनहरूले ४ वर्षमा नभएका काम २ हप्तामा गरेर देखाए । जमिनमाथिको सामन्ती स्वामित्व उन्मूलन भयो । जमिनदारहरूको जमिन खोसेर दस वर्षको निम्ति किसानहरूलाई दिइयो । सामन्ती अधिकारहरू समाप्त भए । लाखौँ किसानहरू ज्याकोबिनहरूको पक्षमा गए । उनीहरूले गणतन्त्रलाई आफ्नै ठान्न थाले । ३ हप्ताभित्र ज्याकोबिनहरूले नयाँ संविधान जारी गरे । १७९३ को संविधान फ्रान्सको त्यसबेलासम्मकै प्रजातान्त्रिक संविधान थियो । युद्धको भाँडभैलोबीच त्यसलाई लागू गर्ने स्थिति थिएन । विदेशी आक्रमण, गृहयुद्ध, हत्या र षड्यन्त्रले फ्रान्सलाई गाँजेको थियो । के गर्ने ? ज्याकोबिनहरूसँग समाधानको उपाय थिएन । क्रान्तिका नेता मारातको हत्या भयो । ज्याकोबिन नेताहरूको हत्यामा प्रतिक्रान्तिकारी गिरोन्डिसहरू सक्रिय थिए । परिस्थितिले ज्याकोबिन सरकारलाई प्रतिक्रान्तिकारी आतङ्कका विरुद्ध क्रान्तिकारी आतङ्क चर्काउने टुङ्गोमा पु¥यायो । मारातको हत्या हुनुभन्दा २ महिनाअगाडि अप्रिलमा अधिवेशनले जनसुरक्षा समिति गठन गरेको थियो । सरकारले शङ्कास्पद व्यक्तिलाई गिरफ्तार गरेर कारबाही चलाउने अधिकार दियो । यसले पूर्वमहारानीलाई समातेर मुद्दा चलायो र गिलोटिनमा राखेर मा¥यो । गणतन्त्रका शत्रुहरूको धनसम्पत्ति खोस्न थालियो । पेरिसका गरिबहरूको गुनासो सुनेर अधिवेशनले धमाधम कडा कदम चाल्दै गयो । अव्यवस्थालाई रोक्न एउटा अधिकारसम्पन्न क्रान्तिकारी सरकार आवश्यक थियो । त्यसले जनअधिकारहरू खोस्न सक्थ्यो । अधिवेशनलाई संसद र सरकार दुवैको अधिकार दिइयो । अधिवेशनका कमिसार वा मन्त्रीहरूलाई जिल्ला–जिल्ला र सेनामा खटाइयो । यसरी जनसुरक्षा समिति नै क्रान्तिकारी सरकार बन्न पुग्यो । प्रशासन, प्रतिरक्षा र खाद्यान्न आपूर्तिजस्ता सबै व्यवहारिक कार्य जनसुरक्षा समितिले गथ्र्यो । समितिका नेता रोबेस्पीयरलाई जनताले नबिक्ने र शुद्ध नेता भन्थे । देशको बागडोर समितिको हातमा थियो । माथिदेखि तलसम्म सत्ता ज्याकोबिन हुकुमअन्तर्गत थियो । जनताको विश्वास उनीहरूसँगै थियो । गाउँ र सहरमा राजनीतिकरूपमा सचेत मानिसहरूबीच प्रतिनिधिहरू चुनेर क्रान्तिकारी समितिहरू बन्थे । ती समितिले जनसुरक्षा समिति र अधिवेशनलाई साथ दिएका थिए । देशभरि ज्याकोबिन क्लवको शाखा थियो । यी शाखामा हुने बैठकहरूमा सबैको हैसियत बराबर हुन्थ्यो ।
देशभरि भर्ती लिएर बनेको १० लाखको फ्रान्सेली सेनाले १७९३ को हिउँदमा रणमैदानमा विजय हासिल ग¥यो । साधारण परिवारमा जन्मेका सैनिकहरूले पनि ठुलो बहादुरी देखाए । अर्को वर्षको वसन्त याममा लडाइँको मैदान देशको सीमापारि पुगिसकेको थियो । छोटो समयमै ज्याकोबिनहरूले भित्री र बाहिरी समस्याहरूमाथि विजय पाए । विदेशीहरूको डर छँदासम्म गाउँसहरका धनाढ्य वर्गले ज्याकोबिनहरूको हुकुमी शासन सहे । १७९४ को जून २६ को लडाइँमा ज्याकोबिन सेना विजयी भएपछि भने धनाढ्य वर्गले सरकारी नियन्त्रणबाट फुत्किने बहाना खोज्न थाल्यो । अन्योलबीच ज्याकोबिनहरूले ल्याएका कानुनले गाउँका धनाढ्यहरूको स्वार्थमा ठेस पु¥याएका थिए । बिस्तारै उनीहरूले ज्याकोबिन अधिनायकत्वको विरोध गर्न थाले । त्यस्तै गाउँसहरका गरिब जनताको विषयमा पनि ज्याकोबिनहरूको धारणा प्रस्ट थिएन । कहीँ उनीहरूले सहुलियत दिएका थिए भने कहीँ कडिकडाउ थियो । तल्लो वर्ग क्रान्तिलाई अगाडि बढाउन परिपक्व थिएन । घुमाइफिराइ ज्याकोबिनहरू पुँजीवादकै सेवामा लाग्नु थियो । युगको सीमा नै त्यति थियो ।
रोबेस्पीयर सरकारको विरोध सुरु भयो । दक्षिणपन्थीहरूले शिर ठाडो पारे । क्रान्तिको उद्देश्यमा अघि नबढेकोमा वामपन्थीहरूले विरोध गरे । त्यसका नेता एबेर नाउँका पत्रकार थिए । सरकारले तिनीहरूलाई मुद्दा चलाउँदै मार्न थाल्यो । अप्रिलमा दाँते मारिए । आतङ्कको परिस्थिति यस्तैमा सरकारभित्रैबाट आन्दोलन चर्कियो । यो एउटा गोप्य षड्यन्त्र थियो । त्यसमा दाँते र एबेरका शिष्यलगायत रोबेस्पीयरका अन्य शत्रुहरू मिलेका थिए । ९ थर्मिडोर (क्रान्तिको ११ औँ महिनामा) अर्थात् १७९४ को २७ जुलाईमा उनीहरू रोबेस्पीयरलाई गिरफ्तार गराउन सफल भए । अधिवेशनमा रोबेस्पीयरले भने, “गणतन्त्र अन्त्य भयो, डाँकाराज सुरु भयो ।” जनताले रोबेस्पीयर र उनका साथीहरूको रक्षा गर्नु आफ्नै रक्षा गर्नु हो भन्ठानेर उनीहरूलाई जेलबाट छुटाए । तर, षड्यन्त्रकारीहरूले सारा प्रतिक्रान्तिमा लागेका पुँजीपतिहरूलाई जम्मा पारिसकेका थिए र सेनालाई पनि हातमा लिएका थिए । १० थर्मिडोरको दिन रोबेस्पीयर र उनका साथीहरूमाथि मुद्दा चलाएर उनीहरू मारिए ।
रोबेस्पीयरको हत्यापछि अलि समयसम्म अधिवेशनका प्रतिनिधिहरूले क्रान्तिप्रति इमानदार रहेको देखाइरहे । बिस्तारै अधिवेशन र सरकारमा दक्षिणपन्थी थर्मिडोरको हैकम बढ्न थाल्यो । सडकमा उनीहरूका पाल्तु गुन्डाहरूको दबदबा बढ्यो । युद्धकालमा सामानको मूल्यमाथि ज्याकोबिन सरकारले लगाएका नियन्त्रणहरू खुकुलो हुन थाल्यो । महँगी अचाक्ली बढ्न थाल्यो । सर्वसाधारण भोकभोकै हुन थाले भने व्यापारी मालामाल हुँदै गए । १७९४ को नोभेम्बरमा गुन्डाहरूले पेरिसको ज्याकोबिन क्लव नस्ट गरे । त्यसपछि ज्याकोबिनहरूमाथि गिरोन्डिस र फएआँहरूको हमला सुरु भयो । ज्याकोबिन सरकारका आर्थिक र राजनीतिक उपलब्धिहरू उल्ट्याइयो । १७९५ मा नयाँ संविधान जारी भयो । त्यसमा बालिग मतदानको अधिकार खोसियो । सक्रिय र निष्क्रिय नागरिकको विभेद पुनः सुरु भयो । नयाँ संविधानअनुसार सत्ता डाइरेक्टरी वा निर्देशक मण्डलको हातमा गयो । डाइरेक्टरीमा पाँचजना सदस्य हुन्थे । दुई सदनको व्यवस्थापिका भयो । तल्लो सदनमा पाँच सय सदस्य थिए । डाइरेक्टरीमा लोभी पुँजीपतिहरूकै प्रतिनिधिको दबदबा भयो । उनीहरू सहरी गरिबहरूसँग डराउँथे । पछाडि फर्किन गाह्रो थियो । पुराना सामन्तहरूको धनसम्पत्ति हत्याएर उनीहरू मोटाएका थिए । त्यसैले, उनीहरूले राजतन्त्र उल्ट्याउने सङ्घर्षलाई आँखा चिम्लेर नामेट पारे । यसरी डाइरेक्टरी न दक्षिणपन्थी हुनसक्थ्यो न वामपन्थी हुनसक्थ्यो । ऊ बीचमा पिङझैँ झुलिरह्यो ।
डाइरेक्टरीले यसैबीच एउटा सत्ता उल्ट्याउने षड्यन्त्र निस्तेज पा¥यो । त्यसलाई ‘समानहरूको षड्यन्त्र’ भनियो । त्यसका नेता ग्राक्स बाबेफ थिए । केही व्यक्तिहरूको भरमा सत्ता उल्ट्याएर निजी सम्पत्ति उन्मूलन गर्ने शासन व्यवस्था स्थापित गर्नु उनको लक्ष्य थियो । यसकारण, उनलाई संसारको प्रथम कम्युनिस्ट क्रान्तिकारी भनिन्छ । क्रान्तिको निम्ति तल्लो वर्गलाई उठाउनुपर्ने कुरा उनको युग सुहाउँदो विचार नहुनु स्वाभाविक थियो । मोरेली र माब्लीजस्ता काल्पनिक समाजवादको विचार फ्रान्सकै देन थियो । पहिलोपटक राजनीतिक सत्तामार्फत ती विचार लागू गर्न खोज्नु चानचुने कुरा थिएन । बाबेफको मृत्युदण्डसँगै ‘समानहरूको षड्यन्त्र’ छिन्नभिन्न भयो । लगत्तै डाइरेक्टरीले दक्षिणपन्थी षड्यन्त्रको पनि सामना ग¥यो । डाइरेक्टरीको फितलो सत्ता सञ्चालन देखेर माथिल्लो संसदले ज्याकोबिनहरूको षड्यन्त्रको हौवा फैलाएर क्रान्तिको आठौँ वर्षको १८ ब्रुमेर (क्रान्तिकारी क्यालेन्डरको दोस्रो महिना) मा अर्थात् १७९९ को नोभेम्बर ९ मा नेपोलियन बोनापार्टलाई सेनापति बनायो । यो अत्यन्त नियोजित घटना थियो । नेपोलियनले भावुक स्वरमा ‘स्वतन्त्रता, समानता र जनप्रतिनिधिहरूका पवित्र सिद्धान्तमा आधारित गणतन्त्र’ को रक्षा गर्ने वचन दिए । डाइरेक्टरीको शक्ति घटाइयो । त्यसको ठाउँमा कन्सुलेटको स्थापना गरियो । सत्ता परिवर्तन भयो । त्यसपछि बनेको संविधानलाई फ्रान्समा सन् ८ को संविधान भनिन्छ । नेपोलियनलाई त्यसकै लागि तयार गरिएको थियो । फ्रान्स गणतन्त्र नै रह्यो । अधिवेशनले चलाएको क्रान्तिकारी क्यालेन्डर चलिरह्यो । ‘स्वतन्त्रता, समानता र भाइचारा’ का नाराहरू लेखिएका स्थानबाट मेटिएनन् । सत्ता डाइरेक्टरीको हातबाट तीनजना कन्सुलको हातमा गयो । नेपोलियन फ्रान्सका अधिनायकको रूपमा उदाए ।
स्रोत;
सङ्क्षिप्त विश्व इतिहास । भाग १ । सं. प्रो. मानफ्रेद । १९८० ।
द लास्ट इपिसोड अफ द फ्रेन्च रेभोल्यूसन । अर्नेस्ट बी. बाक्स । १९११ ।
अनुवाद: राजीव
Leave a Reply