भर्खरै :

यसपालिको औँसीमा फोनबाट शुभकामना दिने हो कि ?

नेपाललगायत विश्व नै कोरोनाले सङ्क्रमित भइरहेका छन् । २०७६ माघ महिनादेखि सुरू भएको कोरोनाको दोस्रो लहरसम्म पुग्दा विश्वमा सङ्क्रमितको सङ्ख्या १५ करोड ७६ लाख ३६ हजार ८१३ र मृत्युको सङ्ख्या ३२ लाख ८६ हजार ४९७ पुगेको छ । कोरोनाले गर्दा विश्वमा आर्थिक समस्या भएको छ । कति उद्योग र कम्पनीहरू बन्द भइसकेका छन् । कति नागरिकहरूले रोजगारी गुमाए । गरिब–असहाय नागरिकहरूको त भोकभोकै मर्ने अवस्थामा पुगेको छ ।
नेपाललगायत छिमेकी मुलुक भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमितका बिरामीहरू दिनदिनै बढिरहेका छन् । कोरोना सङ्क्रमितले गर्दा अकालमा मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढेको छ । नेपालका अधिकांश सरकारी अस्पताल र निजी अस्पतालहरूमा उपचारको लागि जाने सङ्क्रमित बिरामीहरूको सङ्ख्या वृद्धि भएको छ । सरकारको सुरक्षा नीति नराम्रो हुँदा, अपारदर्शी र अप्रजातान्त्रिक कार्यले गर्दा सङ्क्रमित बिरामीको लागि आवश्यक अक्सिजन, भेन्टिलेटर, औषधि पर्याप्त नहुँदा बिरामीहरूको अकालमै ज्यान गएको छ । सङ्क्रमित बिरामीहरूलाई उपचार गर्ने चिकित्सक, नर्स, पारामेडिकल्स स्वास्थ्यकर्मीहरूको लागि अति आवश्यक पीपीई एन ९५ मास्क, सर्जिकल मास्क, सर्जिकल ग्लोबस तथा अन्य स्वास्थ्य सामग्रीहरू अभाव हुन थालेको छ । यसले गर्दा उपचारमा संलग्न चिकित्सक, नर्सलगायत अन्य स्वास्थ्यकर्मी पनि बढी मात्रामा सङ्क्रमित भएका छन् ।
यस्तो कठिन अवस्थामा कोरोना सङ्क्रमितबाट बच्न सरकारले निषेधाज्ञा लागू गरेको छ । सङ्क्रमणबाट बच्न पत्रपत्रिका, सोसियल मिडिया र स्थानीय सरकारमार्फत सम्पूर्ण जनतामा अनुरोध गरिएको छ तर पनि जानेर हो या नजानेर संस्कृति, रीतिरिवाजको बहानामा हजारौँ जनता जम्मा भएर चाड–पर्व मनाउने, विवाहको कार्यक्रम गर्ने र राजनीतिक जुलुसहरू प्रदर्शन गर्नेजस्ता कार्यहरूले गर्दा कोरोनाको महामारी बढेको अवस्था छ ।
यस्तो अवस्थामा माता कुशे औँसीको अवसरमा हरेक छोराछोरीहरू आमाको मुख हेर्न बजारमा गई फलफुल, मिठाइ अन्य सामानहरू किन्ने सोचाइमा होला । बजारमा सामान किन्दा सङ्क्रमण हुने प्रवल सम्भावना हुन्छ । स्थानीय तथा सङ्घीय सरकारले उर्दी जारी गरेको नियम उल्लङ्घन गर्नु हुँदैन । हाम्रो जीवन रहुञ्जेल यस्ता प्रकारका चाड–पर्व अरू वर्षमा गर्न पाइन्छ । पहिले हामी आफ्नो जीवन सुरक्षित बनाऔँ । आमाको भूमिका अहम् हुने भएकोले आफ्नै घरमा सुरक्षितका साथ आमाको मुख हेर्ने कार्यक्रम गर्नू र फोनबाटै शुभकामना व्यक्त गर्नू । यसैमा सम्पूर्ण आमाहरूको सन्तुष्टि मिल्छ । यसबाट कोरोना महामारी रोक्न थोरै भए पनि कोशेढुङ्गा साबित हुनेछ ।

One response to “यसपालिको औँसीमा फोनबाट शुभकामना दिने हो कि ?”

  1. राजाराम says:

    लेख प्रकाशीत भएकोमा धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *