भर्खरै :

हरिबहादुर श्रेष्ठको चिट्ठी/ विवाह गर्नुभन्दा पहिले

विवाह गर्न चाहने भाइबहिनीहरू,
२०–३० वर्षअगाडि छिमेकी देशमा जब सहर – सहरमा नयाँ रोजगारीको सम्भावना बढ्यो, गाउँका प्रवेशिका पास गरेका र १२ कक्षा उत्तीर्ण छात्रछात्राहरू गाउँबाट सहर पुगे । ठुलो जनसङ्ख्या भएको देश हुँदा त्यहाँको योजना नेपालको भन्दा ३०–३५ गुणा ठुलो हुनु स्वाभाविक हो । एकैबाजी लाखौँ लाख युवाहरूले उद्योगधन्दा र अन्य सेवाका हजारौँ तालिम केन्द्र खुले, तालिम पाए, केही महिना र एक दुई वर्षमा तालिमअनुसारको काम पनि पाए । विदेशी कलकारखाना, व्यापार – व्यवसाय र अनेक वैज्ञानिक अनुसन्धानका क्षेत्रहरू खुले, सोअनुसारको काम पनि पाए । नयाँ नयाँ सहर, सबै प्रकारका आधुनिक परिवेशका गाउँका युवा युवतीहरू सहर जीवनमा रमाए, बसे र दिनभरको कामपछि केही सिक्ने सिकाउने झिलिमिलीमा गाउँ बिर्से ।
विवाह भएका केटा सहरमा पढ्न जान र काम पाउन आफ्ना जीवन साथी र परिवारले बरोबर दुःख–सुख गर्दै पैसा पठाए, चिठी लेखे आदि । सहरको तुलनामा बढी शिक्षित र बढी कमाउने जीवन साथीहरू बनाए । केटाहरूले तुलनात्मकरूपले राम्रो पढेका र सुन्दरी जीवन साथीसँग बिताउन थाले । पत्रहरू आउन छाडेको गाइँगुइँ हल्लाले आफ्नो घरका पत्नीहरू ठेगानाअनुसार कोठा – कोठामा पुग्दा रुवावासी भयो । लोग्नेले आफ्नो धर्म छोडेपछि केही नलागी पारपाचुके भए । चीनको नयाँ आर्थिक प्रकृतिले समाजको परिवेश फेरिँदा नयाँ नयाँ आवश्यकताअनुसार पुराना ऐन – कानुन परिमार्जन हुनु स्वाभाविक थियो ।
भियतनाममा १०–१५ वर्षअगाडि विदेशी प्रविधि भित्याएसँगै शिक्षित युवाहरूले रोजगारीको निम्ति सहरहरूमा कामको अवसर प्राप्त गर्न थाले । गाउँका प्रवेशिका उत्तीर्ण वा १२ कक्षा उत्तीर्ण केटीहरूले पनि सहरमा तालिमपछि प्राविधिक, उद्योग–व्यापार र बैङ्कहरूमा रोजगार पाउन थाले । गाउँको पुरानो परिवेशबाट सहरको परिवेश र आर्थिकरूपले आफ्नो खुट्टामा उभिन सकिने उनीहरूले सम्भावना देखे । एक्लै बस्नुभन्दा एकजना जीवन साथी रोजेर ‘सँगै बस्ने’ व्यवहारबाट आर्थिकरूपले पनि सुरक्षित देखेर तिनीहरूलाई विवाह दर्तामा पु¥याइयो ।
नयाँ परिचय, नयाँ ठाउँ र नयाँ परिवेशले गाउँको पुरानो संस्कार, संस्कृतिका युवाहरू धेरै दिन बस्न नसक्ने देखे । विवाहको केही दिनपछि नै पारपाचुके हुन थालियो । एक भियतनामी न्यायाधीशले वडो प्रतिकात्मकरूपले भने, “बिहान प्रेम, दिउँसो विवाह र साँझ पारपाचुके हुन्छ ।”
नेपालका विभिन्न जातजाति र भाषाभाषीहरूको फरक फरक चालचलन र रीतिरिवाजमा हुर्केका युवाहरू गैरजातीय विवाहमा समस्याहरू भोग्दै छन् भन्ने सुनिन्छ । उठ्दा, बस्दा, हाँस्दा र खोक्दासमेत फरक फरक आचरण र सदाचारमा हुर्केका युवाहरूको बानी व्यहोरामा भिन्नता देख्दा असमञ्जस्य अनुभव गर्नु नौलो विषय भएन । एकले अर्काको भावना बुझी स्वीकार्ने प्रवृत्तिको विकासले त्यो सम्बन्ध लामो समय टिक्ने भयो नत्र एकपछि अर्काे खोट र समस्या देखापर्नु स्वाभाविक हो ।
समस्या केटा र केटीको मात्रै होइन । पछि पछि दुवैका अभिभावकहरू घरका अरू सदस्यहरूको पनि आवतजावत हुन्छ । केटा राम्रो स्कूलमा पढेको र सङ्गत राम्रो हुँदा बोली वचन पनि सोअनुसार सुसंस्कृत होला । आमाबाबु, दाजु खेतीपाती वा अरू नै पेशाका होलान् । ठुलठुलो स्वरले कराउने, आँगन, कोठा, भान्छासमेत फोहर गर्ने र ठुलठुलो स्वरले हल्ला गर्ने भयो भने समस्या देखिन थाल्छ । केटीपट्टिको माइतीका मानिसहरूको यही हाल भयो भने जीवन सहज नहुन सक्छ ।
पहिले पहिले आफ्नै जात र भाषाभित्रै मामा र फुपूहरूबाटै जानकारी लिएर, घर छिमेक र नातागोताबाट बुझेर विवाह टुङ्ग्याइन्थ्यो । मामा र फुपूबाट जान्नुको अर्थ केटा र केटीतिरका परिवारमा कुन रोगले मानिस बितेका हुन् भने बुझ्ने गरिन्थ्यो भन्ने नातागोताबाट परिवारको आर्थिक स्थिति, बानी व्यवहार, चालचलन र रीतिरिवाज बुझी आफ्नो परिवारको स्तरसँग मिल्छ मिल्दैन बुझ्ने गरिन्थ्यो । आफ्नोभन्दा ठुलो र उँचो स्तर भएमा पछि व्यवहारमा धेरै खर्चालु हुने स्थितिबाट जोगिन पनि विवाह हुने गर्दैन । समान आर्थिक र सामाजिक स्तरले समस्या समाधान पनि सजिलै हुने गर्छ । कहिलेकाहीँ गाउँ र सहरको विवाहले समस्या आइपर्छ ।
धेरै दाजुभाइ र दिदी बहिनी भएको घरमा आफ्नो छोरीले दुःख पाउली भनी सम्बन्ध जोड्न चाहँदैनन्, कान्छी बुहारी भएमा सबैको मुख हेर्नुपर्ने र सबैको सेवा गर्नुपर्ने हुँदा आमाहरू त्यस्ता घरमा आफ्नो छोरी दिन चाहँदैनन् । यस्तो विचार केटा मानिसहरू कम सोच्छन् । बुहारीहरूले घरको सबै काम गर्नुपर्ने र धेरैको अदबमा बस्न गा¥हो हुने भएकोले आमाहरू सितिमिति त्यस्ता घरमा छोरी विवाह गर्न राजी हुँदैनन् ।
प्रेम विवाहमा लाग्ने जोडीमा ती सबै कुरा नसोची लोग्ने घर जान्छन् र पछि विदेश जाने उद्देश्य राख्छन् । कसैले सुरुमै विदेश जाने मनमा राखी विवाह गरेका हुन्छन् । बुहारीहरूले पनि अरूको आमा बाबुको सेवा र अदब मन पराउँदैनन् । धनी परिवार र माइतीमा नोकर चाकर भएकाहरू लोग्नेको घरमा सबै काम आफूले गर्नुपर्ने हुँदा काठमाडौँ पुग्नासाथै विश्वविद्यालय जाने, अमेरिका र विदेश जाने सपना देखाइहाल्छन् । केटो पनि घरको पुरानो शैलीमा बस्न गा¥हो मानेको हुन्छ । यस्ता मध्यम वर्गका परिवारका युवायुवतीहरू पहिल्यै विदेश पुग्थे ।
देशमा गणतन्त्रले केन्द्र र प्रदेश छुट्यायो र नागरिकता – विवाहको स्वीकृति पालिकाहरूले दिने व्यवस्था आएपछि दिनको २–४ वटा विदेश जाने राहदानीका दर्खास्तहरू वडा र पालिकाहरूमा दर्ता भए । विदेश जान नक्कली विवाह गराउने ‘दलाल–कार्यालय’ हरूको अहिले के कमी ! केटीले एमए गरेकी छिन् र एकजना सोझो केटोलाई फकाएर वडा कार्यालयमा विवाह दर्ता गराउँछिन्, केटाका आमाबाबु एक्लो छोरालाई बाहिर पठाउन मान्दैनन्, केटाले केटीको अगाडि बोल्न सक्दैनन् । टोल र छिमेकमा हो हल्ला भइरहेकै हुन्छ, केटीले हप्ता दिनभित्र नजिकैको ‘दलाल–कार्यालय’ मार्फत स्वीकृति लिएर उडी हाल्छिन्– नयाँ केटो लिएर !
तर, हाम्रा युवाहरू विदेश पुग्नासाथै त्यहाँका हरेक रुखबाट डलरको पात टिप्न पाइन्छ भन्ने गलत धारणा राख्छन् । त्यहाँ पुगेको केही दिनपछि नै केटा र केटीको बीच ठाकठुक भइहाल्छ । केटाले आफ्नो ‘पुरुषत्व’ को धाक देखाउनासाथ केटीले प्रहरी बोलाइसकेको हुन्छ र केटा पक्राउमा पर्छ ।
भाइबहिनीहरू,
यस्ता अनेकौँ मुद्दाहरू देशभित्र र बाहिर नेपाली युवाहरूले भोगिरहेका छन् । साथै विवाहको अनेक नाटक गरेर गाउँका युवाहरूले भारतका अनेक वेश्यालयहरूमा केटीहरू बेचेका कैयौँ मुद्दा छन् । ‘सँगै जीउने र सँगै मर्ने’ गीत गाएका केटाहरूले दर्जनौँ पटक गाउँका चेलीहरू विदेश लगेर बेचे । केटीहरूको चेलीबेटीको जीउ मास्ने उजुर परी पक्राउ परेका अपराधीहरूलाई शासक दलका केन्द्रीय नेता, मन्त्री र सांसदहरूले केही महिनामै छुटाउँछन् । ५–१० वर्ष जेल पर्नुपर्ने अपराधीहरूलाई तीन महिनामा छुटाएपछि अपराधी कसरी हतोत्साही हुन्छ ?
यस्ता विषय एकतर्फीमात्र छैन । काठमाडौँ उपत्यकामा रीतपूर्वकको विवाहको ठीक १५ दिनपछि केटीले मुद्दा हालिन् र १५ लाख रूपैयाँ लिएर पारपाचुके गरिन् । पछि थाहा भयो, विभिन्न नाउँमा विभिन्न ठाउँमा नक्कली विवाह गर्ने उनको पेशै रहेछ । यस कार्यमा पनि कुनै दल र वकिल संलग्न भएको हुन्छ ।
यसकारण, छिटो विवाह गर्न जे भए पनि बेहोरुँला भन्ने खालको जिद्दी गर्दा नचिताएको परिणाम आउनेबारे सचेत हुनु जरुरी छ – भाइबहिनीहरू !
केही शिक्षकका छोराछोरीसमेत विदेश जान मरिहत्ते गर्दै थिए । सम्झाउँदा उनीहरूले “यो पुरानो विचार हो, अभिभावकहरूले नयाँ पुस्ताको भावना बुझ्दैनन्” भन्ने गरे । ती केटाहरूका पछाडि दलालहरू रहेछन् । यसमा नयाँ पुस्ताको दोष होइन । हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय विदेशमा रोजगारी पठाउने बजेटमा घोषणा गर्नु नै नेपाली काङ्ग्रेस सरकारको विराम थियो । ७० लाख युवाहरू विदेश पठाएर देशको कृषि, उद्योग, निर्माण सेवाजस्ता सबै क्षेत्र अलपत्र पार्ने र सबै क्षेत्र परनिर्भर हुने नीतिलाई कसरी राम्रो भन्न मिल्ला ? एउटैमात्र स्रोतमा जीउन खोज्नु आफ्नै खुट्टामा बञ्चरोले हान्नुसरह हो । पर्यटन उद्योगलाई नै अर्थतन्त्रको आधार बनाउने नीतिको परिणाम अहिले सबैले बुझे । यसकारण, सबै फुल एउटै टोकरीमा राख्नु वा भरपर्नु खोटपूर्ण अर्थनीति हो । दुई चार परिवार होइन देश नै भड्खालोमा पुग्ने सम्भावना छ ।
२१ वैशाख २०७८ को ‘अन्नपूर्ण पोष्ट’ ले लेख्यो, ‘रोजगारी गुमाएर फर्किए साढे ४ लाख नेपाली ।’ कुवेत, साउदी अरब, टर्की, बहराइन, कतार, यूएई, ओमन, माल्दिभ्स, सिङ्गापुर, बङ्गलादेश, हङकङ, मलेसिया, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया आदि देशबाट फर्के नेपाली । ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएको भए धेरै नेपालीहरूलाई निकाल्ने सम्भावना थियो । फेरि हाम्रा विज्ञहरू पनि कस्ता कस्ता छन् ।
अचम्मै लाग्छ । फर्काइएका नेपालीहरूलाई एक विज्ञ भन्छन्, “विदेशमा गरेकै प्रकृतिको काम दिनुपर्छ ।” विदेशमा गाईको मासु काट्ने र पेल्ने काम गरेको व्यक्तिलाई के नेपालमा त्यस्तो काम दिनसक्ला ? नेपालीलाई विदेशमा होइन नेपालमै योग्यताअनुसारको काम सरकारले दिनुपर्छ भन्ने नेपाली जनताले अधिकार राख्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *