भर्खरै :

नयाँ सरकार गठन गर्न दलहरू असफल

प्रम ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रमुख प्रतिपक्ष दलका नेताहरू वैकल्पिक सरकार गठन गर्नेतर्फ लाग्नु स्वाभाविक हो । वैकल्पिक सरकार बनाउन नै नेका र माओवादी केन्द्रका नेताहरू राजनीतिक वार्तामा जोडतोडका साथ लागे भने दुई वा दुईभन्दा बढीको संयुक्त सरकार बिथोल्न सत्तासीन दलका नेता र मन्त्रीहरू पनि वार्ता या भेटघाट गर्न दौडधूप भए । नयाँ सरकार असफल पार्न र केपी ओलीकै नेतृत्वमा सरकार गठन गर्न भएको यो दौडधूप अक्सिजन उपलब्ध गराउन, अस्पतालमा आवश्यक पूर्वाधार तयार गर्न भएको भए कति नेपालीको ज्यान जोग्थ्यो र आफ्नो जिम्मेवारी पूरा गरेको हुन्थ्यो ।
संयुक्त सरकार गठन सफल पार्न र असफल पार्न दलका नेताहरू को कहाँ गए, को कहाँ जुटे, कसले कसलाई के लोभ देखाए ? त्यो सबै अहिले सार्वजनिक नभए पनि पछि थाहा होला । सरकार गठन गर्ने अन्तिम दिन भएकोले पनि अल्टिमेटम दिँदै वार्ता गर्न वाध्य पार्ने र यस्तै बेलामा हीरा फोर्नुपर्छ भनेर नेताहरू लागेको देखिन्छ । यही बेला केपी ओली पक्षको स्थायी समितिको बैठकले एमालेकै वरिष्ठ नेताहरू माधवकुमार नेपालसमेत चार जना माथि गरिएको कारबाही फुकुवा ग¥यो । कारबाही फुकुवासँगै अन्य छलफल पनि गरियो । यस्तै दौडधूप अन्य दलका नेताहरूको पनि भयो ।
महन्थ ठाकुरहरू प्रम ओली र राष्ट्रपतिकहाँ मात्र पुगेनन्, नेकाका सभापति शेरबहादुर देउवाकहाँ पनि पुगे । माधव नेपालहरू ओलीकहाँ मात्र होइन ओलीका नेताहरू माधवकहाँ धाए । नेताबीचको फोन वार्ता र भेटवार्ता बाक्लै भयो । एमालेको ओलीको स्थायी समितिको बैठकले त एमालेका असन्तुष्ट नेताहरूको माग पूरा गर्न प्रम ओलीलाई एकलौटी निर्णय गर्ने अधिकारसमेत दिएको थियो । यसरी दलका नेताहरू नयाँ सरकारको खोजी गर्न दिनभर जुटिरहे । प्रतिपक्ष दलहरूसँग स्पष्ट बहुमत नभएकोले र एउटै दलका शीर्ष नेताहरूबीच नयाँ सरकारमा जाने र नजाने फरक मत भएको हुँदा राजनीति झन् तातेको हो ।
यसबीचमा माधव नेपाल पक्षधर नेताहरूले सामूहिक राजीनामा गर्ने, अलगै पार्टी खोल्ने, संयुक्त सरकारमा सामेल हुने या साथ दिनेजस्ता टिप्पणीहरू पनि विभिन्न सञ्चारमाध्यममा आए । बहुमत जुटाउन नसक्ने स्थिति भएकोले प्रम बन्ने शेरबहादुर देउवाको सपना चकनाचुर भएको र देउवा र माओवादी केन्द्रका अध्यक्ष छटपटिएको जानकारी सञ्चारमाध्यममा आयो ।
जनता समाजवादी पार्टीका नेताहरू पनि कहिले ओलीकहाँ त कहिले देउवाकहाँ धाए । कुन दलले आफ्नो बढी माग पूरा गर्छ त्यतैतिर भन्किने अवसरवादी बाटो जसपाले लिएको अनुभूति पनि कतिले गरे । जसपाको मुद्दा सबै फिर्ता लिए, नागरिकतासम्बन्धी ऐन संशोधन भए र सरकारमा जिम्मेवार पद लिए जसपाका महन्थ र राजेन्द्र पक्षधर सांसदहरूको मन फेरिँदैन भन्न सकिँदैन । अन्ततः गठबन्धनको सरकार गठन गर्न नेताहरू असफल भए । पद, भागबन्डामात्र होइन दलगत र व्यक्तिगत स्वार्थमा लागेका नेताहरू देश र जनताको समग्र हितमा लाग्लान् भन्ने विश्वास जनताले कसरी गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *