भर्खरै :

नेता सत्ता र पदमा सदावहार, जनता कोरोना कहरमा हाहाकार !

एकीकृत भइसकेपछिको नेकपाको रापताप र बोझ थाम्न नसकेर २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर चुनावको घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त कदमलाई लिएर दुईथरी मतको सङ्घर्ष चल्यो । एकातिर सही कदम र अर्काेतिर प्रतिगमनको नाममा गालीगलौज, आरोप–प्रत्यारोप, शक्ति प्रदर्शन र आमहड्तालसम्ममा जेजति गतिविधि भए, ती सबै सत्ताधारी पार्टीबाटै भए । फागुन ११ मा सर्वाेच्च अदालतले संसद् भङ्गउपर दायर गरिएको रिटलाई सदर गरिदिएपछि दाहाल–नेपाल–खनाल समूहले लड्डु बाँडेर खुसियाली मनायो ।
तर, फागुन २३ गते सर्वाेच्चले नेकपा एकता खारेज गरिदिँदा फेरि ओली समूहले खुसी मनायो । वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत गुमाउँदा प्रचण्ड पक्ष एकपटक, आफ्नो अभीष्ट पूरा भएकोमा खुसी हुने नै भए । तर, विश्वासको प्रस्ताव असफल पार्दाको त्यो खुसियाली तीन दिन पनि टिकेन । अठाइस जनाले राजीनामा दिने भनेर धम्क्याएकै भरमा नेपाल–खनाल पक्ष भाग पाएर सन्तुष्ट भयो । फलतः प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका ओली फेरि बहाली भए । मन्त्रिमण्डल पनि भागशान्तिसहित गठन भयो ।
यता जनता कोरोनाका कारण दिनदिनै मरिरहेका छन् । मर्ने त मरिहाले, अक्सिजन अभावका कारण बाँचेकालाई सद्दे हुने गरी बचाउन गाह्रो भइरहेको छ । यतिखेर देशमा घृणित राजनीतिको दुर्गन्ध फैलाएका नेता र मृत्युको चित्कार खेपिरहेका जनता देखिन्छन् । जनताले त्यस्ता नेता र राजनीतिक दलबाट कहिले पार पाउने हुन्, थाहा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *