भर्खरै :

यो कस्तो संयोग !

कोरोना भाइरस
गाउंँ सहर डुलिरहेको छ ।
निर्धक्क !
बुझेर पनि नबुझेझैँ
बथानका बथान
बुज्रुक उप—बुज्रुकहरू टहलिरहेका छन् ।
अस्पतालको आँगन पेटीमै
छट्पटिरहेका छन् ।
प्राणवायु रोकिएका छन् ।
अन्तिम सास फेर्न तम्तयार छन् ।
एकपछि अर्को सङ्क्रमित थपिइरहेका छन् ।
व्यवस्थापनको रवाफ देखेर
स्वास्थ्यकर्मी आफै चकित छन् ।
आफै थकित छन् ।
आफै ग्रसित छन् ।
आफै त्रसित छन् ।
प्रशासन निषेधाज्ञाको
टिन ठटाइरहेका छन् ।
छाउरो छाउराहरूझैँ !
बथानका बथान
बुज्रुक उप—बुज्रुकहरू टहलिरहेका छन् ।
सत्तापक्ष र प्रतिपक्ष
सरकार ढाल्ने र
कुर्सी बचाउने रमाइलो मेलामा
दोहोरी गीत गाइरहेका छन् ।
जनता भोको पेटमा
सारङ्गी रेट्दै छन् ।
फेरि पनि भोट माग्न आउने
दिन गनिरहेका छन् ।
कोरोना भाइरस
गाउँ–सहर डुलिरहेको छ ।
निर्धक्कका साथ
अब ऊ पनि
सिंहदरबारदेखि मन्त्रालय छिर्ने
छिद्र खोज्दै छ ।
बाटो ढुक्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *