भर्खरै :

छिमेकीका घर पनि बिरानो लाग्दै छ

ताप्लेजुङ, १ जेठ । वल्लो पल्लो घर पालो पैँचो गर्ने, पसलमा गएर सरसामान किन्ने र घाँस–दाउरा, मेलापात गर्दै आएका मेरिङदेन गाउँपालिका–४ का ५४ वर्षीय जनार्दन प्रसाई घर बाहिर ननिस्किएको दुई साता भयो । उहाँमात्र होइन प्रायः ताप्लेजुङको सबै गाउँमा मानिसहरू घरभित्रै बस्न थालेका छन् । मेरिङदेन गाउँपालिका—६ की विमना लिम्बु दुई हप्तादेखि छिमेकीको घरमा जानुभएको छैन । छिमेकीसँग भेटघाट पनि गरेको छैन ।
फुङ्लिङ नगरपालिका–७ बिहीबारे निवासी जितेन चेम्बजोङले भन्नुभयो, “टोलबाट बाहिर गएर फेरि फर्केर आउन पाइँदैन । टोलको नियम कडा छ ।” आफ्नो गाउँमा कोभिड–१९ सङ्क्रमण फैलिन नदिनको लागि कडा नियम बनाएको चेम्जोङले बताउनुभयो ।
घरमा कोही छन् भन्ने भेउ बिहान धुरीबाट निस्केको धुवाँले थाहा पाइन्छ । नत्र गाउँमा सन्नाटा छाएको छ । उराठलाग्दो देखिएको छ । बारीमा मकै हरियो देखिन्छ । बारिका कान्लाहरूमा घाँसको बालुवा पलाउन थालेको छ । गाउँ सुनसान भएपछि चराचुरूङ्गीहरू घर नजिक—नजिक आउन थालेको छ । चराहरूको आवाजले एक प्रकारको सङ्गीतमय बन्दै गएको छ ।
पहिलो चरणको कोभिड—१९ को सङ्क्रमण फैलिँदा सहरभन्दा गाउँ धेरै सुरक्षित मानिएको थियो । तर दोस्रो चरणको कोभिड–१९को लहरमा गाउँ पनि असुरक्षित हँुदै आएको मेरिङदेन गाउँपालिका–२ का स्थानीय मेघराज लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा महामारी फैलियो भने बजारको जस्तो अस्पतालको सुविधा छैन । त्यसैले समयमै सुरक्षित रहनुपर्दछ ।”
ताप्लेजुङमा नौ स्थानीय तहमध्ये ७ स्थानीय तहमा कोभिड—१९ सङ्क्रमण फैलिएको छ । गाउँ–गाउँमा कोभिड सङ्क्रमितहरू छन् । गाउँमा बिरामी भए अस्पताल, यातायात, बाटोको सहज नभएको पाथीभराङवरका गाउँपालिका–६ की चित्राकुमार लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “बरू केही समय घरभित्र बस्नुको विकल्प छैन ।” प्रत्येक स्थानीय तहहरूले एक गाउँदेखि अर्को गाउँ आउ जाउ नगर्न सार्वजनिक सूचनाहरू विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङको तथ्याङ्कअनुसार जिल्लामा शनिबारसम्म सक्रिय सङ्क्रमित २७१ छन् । मेरिङदेन गाउँपालिमा १२ जान सक्रिय सङ्क्रमित रहेको जिल्ला कोभिड—१९ जिल्ला फोकल पर्सन तथा जिल्ला जनस्वास्थ अधिकृत प्रतिमा खरेलले बताउनुभयो । आठराइत्रिवेणी गाउँपालिकामा ८ सिरिजङ्घा गाउँपालिकामा ११ पाथीभरायाङवरक गाउँपालिकामा ४ जना र फुङ्लिङ नगरपालिकामा २०३ जना सक्रिय सङ्क्रमित रहेको खरेलले बताउनुभयो ।
मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले भन्नुभयो, “अहिले सहज वातावरण छैन । कोरोना सर्ने डर उत्तिकै छ । पोहोरको जस्तो होइन ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *