जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
हिजोआज दिनैजस्तो गाँजा, चरेश, अफिम, हेरोइनलगायत विभिन्नखाले लागूपदार्थसहित युवा युवती र किशोरकिशोरीहरू पक्राउ परेका समाचार आइरहेका छन् । त्यसरी लागूपदार्थ बोकिहिँड्ने र प्रयोग गर्नेहरूको सङ्ख्या समाचारमा आएजत्तिमात्र हुन् भन्ने होइन । समाचारमा आएको भन्दा सयौँ गुणा बढी लागूपदार्थ प्रयोगमा फसेको अनुमान गर्न असहज छैन । पूर्वदेखि पश्चिमसम्म तराईका जिल्लामा पर्ने भारतका हरेक नाकाहरूमा बरोबर लागू पदार्थहरूसहित नेपाली र भारतीय युवाहरू पक्राउ परिरहेका छन् । लागूपदार्थ प्रयोगको लतमा फसेका नेपाली युवायुवतीहरू खुला सीमा नाघेर बिहानै भारतका सीमावर्ती बजारहरूमा जाने र लागूपदार्थ प्रयोग गरिसकेपछि साँझ फर्कने गरेका नेपाल प्रहरी र विभिन्न सामाजिक सङ्घसंस्थाहरूको प्रतिवेदनमा उल्लेख छन् ।
लागूपदार्थ प्रयोग बढेपछि हुने आर्थिक, सामाजिक घाटाको बारेमा यहाँ लामो चर्चा जरूरी छैन । कुनै घरको एउटामात्र छोरा वा छोरी लागूपदार्थको लतमा फसेपछि त्यो घरको सुखशान्ति, प्रगति र आशा सबै सकिन्छ । घरको मुली नै वा छोराछोरी लागूपदार्थहरूको प्रयोग गर्ने भएपछि त्यस घरपरिवारको सर्वनाश हुन धेरै समय लाग्दैन । लागूपदार्थको लतमा फसेकाहरूमध्ये अधिकांश धेरै वर्ष बाँच्ने गर्दैनन्, परिवार र आफन्तलाई दुःख दिँदादिँदै आफै असमयमै मृत्युको मुखमा पुग्ने गर्दछन् । लागूपदार्थ प्रयोगले घरपरिवारलाई मात्र होइन गाउँसमाज, समुदाय र देशलाई नै विभिन्न आयाममा क्षति पुग्ने छर्लङ्गै छ । लागूपदार्थ किन्नमा खर्च हुने पैसा अधिकांश देशी विदेशी माफियाको हातमा थुप्रिन पुग्छ र राम्रो कार्य र उद्देश्यको निम्ति प्रयोगमा आउँदैन । सृजनात्मक र उत्पादनमूलक कार्यहरूमा सक्रिय रहनुपर्ने युवा जनशक्ति लागूपदार्थको लतमा बेहोसी अवस्थामा रहेको हुन्छ र केही समयपछि स्वास्थ्य नराम्ररी बिग्रेर परिवार र देशकै लागि भार बनेको हुन्छ ।
देशलाई लागूपदार्थको बजार बन्नबाट जोगाउन सरकार, गाउँ, नगर, समुदाय र सबै सचेत नागरिकहरू जागरूक बन्न जरूरी छ । समय घर्किसकेपछि वा देशको युवा जनशक्तिको ठुलो भाग लागूपदार्थको लतमा फसेर समाज नै विकृत बनिसकेपछि होसमा आउनुको कुनै अर्थ रहनेछैन । तसर्थ, सर्वप्रथमतः युवा युवती र किशोरकिशोरीहरूलाई लागूपदार्थ प्रयोग नगर्न सचेत र सजग पार्ने, उनीहरूलाई सृजनात्मक र उत्पादनमूलक गतिविधिमा व्यस्त राख्ने र लागूपदार्थविरूद्धको अभियानमा सक्रिय पार्न जरूरी छ । देश र जनताको हितविरूद्ध लागूपदार्थको उत्पादन, ओसारपसार गर्ने र गर्न लगाउनेहरू, कारोबार गर्नेहरूमाथि कडा कारबाही गर्न जरूरी छ । कुनै पनि अमुक राजनीतिक पार्टीका नेता, मन्त्री वा सांसदको दबाबमा त्यस्तालाई खुला छाड्ने, कानुनी कारबाहीबाट जोगाउने र विसङ्गति बढाउनमा टेवा दिने कार्य हुनुहुँदैन । कुनै नेता, मन्त्री वा सांसदले त्यसो गरेमा तिनीहरूको भण्डाफोर गर्नुपर्छ ।
Leave a Reply