भर्खरै :

नयाँ पुस्ता – ३

 ६
बिहान ८ बजेको थियो । अनन्त, कान्छा दाइ, जुनुु र केशरी चारैतिर बसेर बिहानको खाजा र चिया खाँदै थिए । कान्छा दाइ सा¥है कम बोल्ने तर टोल–छिमेकमा सबैसँग मेलजोल राख्ने, आँखामा राखे पनि नबिझाउने सरल स्वभावका कर्मचारी थिए । कार्यालयमा पनि सबैसँग मिली काम गर्ने हुँदा सानाको ‘दाइ’ र ज्येष्ठ र हाकिमहरूका कान्छा भाइ थिए । दुई दिन अगाडिको रातको छलफलले जुनु र केशरीमात्रै होइन, अनन्त पनि दङ्गै परेका थिए । देश–विदेश र अनेक राजनैतिक दल र सङ्गठनबारे अलिअलि जानकारी भएको कारण पनि उनको मिलनसारिताले थप ग्राह्यता पाउने नै गरेको थियो ।
त्यस रातको बाँकी–बक्यौतालाई कोट्याउँदै केशरीले आमा र ससुरा बालाई हेरेर सङ्केत गरी जिज्ञासा राख्ने अनुमति मागिन् । सङ्केत पाएर केशरीले अनन्तसँग जिज्ञासा राखिन्, “हजुरको अनुभव सुन्दा साथीहरू छुट्दै जाने देखियो, के सत्य त्यही हो ?”
अनन्तले आमा र बुबाको मुखतिर हेरिसकेपछि आफ्नो श्रीमतीतिर उपर्युक्त जिज्ञासाको उत्तर दियो, “सत्य त्यो होइन । सत्य मानिसहरूको सामाजिक, आर्थिक, सांस्कृतिक आदि परिस्थिति र उद्देश्यमा धेरै भर पर्छ । उदाहरणको निम्ति, मेरा आफ्नै साथीहरू घरको परिस्थितिले नोकरी र व्यापारमा लागे, केही फुपू र मामाघर बस्न गए, केही विदेश लागे, कोही टाढा जिल्लामा शिक्षक भए, कोही आफ्नो परिवार र सङ्गतले पुँजीवादी दलमा पुगे । उमेर र फरक विषयवस्तुको अध्ययनले मानिस विचारशील प्राणी हुँदा एउटै कक्षाका २० जना सहपाठीहरूलाई २० ठाउँमा पु¥याउने देखियो । साङ्गठनिक कक्षा सञ्चालनले मात्र एकरूपता ल्याउन सकिने अनुभवले बताउँछ ।”
केशरीले आफ्नो कक्षाका साथीहरूसँग सम्पर्क घट्दै गएको, कलेज पुगेपछि टाढा–टाढाका साथीहरू सहपाठी बनेको र विश्वविद्यालयमा अन्य जिल्लाका मात्रै साथीहरू भएको स्मरण गरिन् । एउटै विषयका साथीहरू कोही बैङ्क र व्यापारमा, कोही विद्यालय र महाविद्यालयमा, कोही प्रशासन र आर्थिक सल्लाहकार, सहकारी संस्था र विदेशमा पुगे– विद्यावारिधी गर्न । कोहीले आ–आफ्नै जिल्ला र घरमा फर्की विवाह गरी घरजम गरे ।
जुनुले के टोलाएर बसेकी बुहारी भनी सोध्दा उनले आफ्नै विद्यार्थीकालको सम्झना गर्दै छु भनिन् ।
कान्छा दाइले अनन्तको बारेमा जानकारी दिने उद्देश्यले बुहारीलाई भने, “हेर केशरी, अनन्त माध्यमिक विद्यालयदेखि नै साथीहरूसँग अनेक खेलहरू खेल्ने, साहित्य गोष्ठी र सांस्कृतिक गतिविधि अर्थात् नाचगानमा लाग्थे, साथीहरू बिरामी हुँदा अस्पताल र घरमा गई हेरविचार गर्थे, घरकै थरमस, थर्मोमिटर, तातो पानी राख्ने रबरको थैलो र क्यारम बोर्ड लिएर जान्थे, पिकनिक तथा कार्यक्रमहरूको निम्ति घर–घर जान्थे । त्यसैले यसका धेरै साथीहरू थिए । साथीसङ्गतकै कारण अनन्तले चुरोट पनि तान्थे, पछि डाक्टरले सम्झाएपछि बल्ल चुरोटको लत छोडे ।”
“आमालाई दुःख पनि धेरै दिनुहुन्थ्यो होला, होइन बा ?” हाँस्दै सासूसँग केशरीले सोधिन् ।
“दुःख त के दिनु, समयमा खाना खान नआउने, कहिलेकाहीँ एकछिन साथीहरूकहाँ गएर आउँछु भनी गएको दुई–चार दिनपछि मात्रै घर फर्कने गर्थे, त्यो पनि आजको जस्तो फोन र मोबाइल कहाँ थियो र ! पिर त पर्ने नै भयो नि !”, जुनुले जवाफ दिइन् ।
“घर–छिमेकका युवाहरूसँग पनि ‘गोबर’ र ‘खरानी’ भनी झगडा पनि गर्नुहुन्छ होला होइन बा !”– केशरीले उत्सुकता देखाइन् ।
कान्छा दाइले अनन्तको मुख हेर्दै र हाँस्दै केशरीलाई सम्झाउने ढङ्गले भने, “विराटनगरमा जस्तो यहाँ ‘गोबर’ र ‘खरानी’ को झगडा हुँदैनथ्यो । बरु, स–साना हस्तलिखित साहित्यिक पत्रिका र पछि–पछि छापाखानाबाट साहित्यिक पत्रिकाहरू प्रकाशित गरी छलफल चलाउँथे ।” एकछिन केही सम्झिँदै सोधे, “साथी हरिबहादुर र डाक्टर भन्ने देख्नै छोडे नि किन बाबू ?”
“बुबा, हरिबहादुर त किसानका छोरा हुन् । हामी कलेजमा छँदै उनी मलाई त भियतनामी उपन्यास ‘अजम्बरी गाउँ’ को ‘नूप’ भन्ने हिरो बनी बन्दुक बोक्न मन लाग्छ, अहिले पनि दुई तोलाको कलमभन्दा दुई धार्नीको कोदाली मन लाग्छ भन्थे– बुबा ¤ डाक्टर भन्ने एक जना साथी तराईको एक जिल्लाको अस्पतालमा काम गर्थे, अफसोच ¤ उनी मरेको दुई वर्षपछि मात्र थाहा भयो । उनको एकजना छोरा काठमाडौँको एक नयाँ र सानो क्याम्पसमा प्रिन्सिपल छन् ।
“बाबू, तिम्रो रात्रि कक्षाका किसान साथीहरू कता गए त, तिनीहरूलाई हामी त चिन्दा पनि चिन्दैनौँ ?”, कान्छा दाइले थप जिज्ञासा राखे ।
एकछिन सम्झने कोसिस गर्दै लाचारी भावनाले अनन्तले भन्यो, “बुबा, रात्रि कक्षाका किसान साथीहरू मभन्दा बढी उमेरका पनि थिए, तिनीहरूमध्ये कोही उमेर र रोगले मरे, केही धेरै वर्षको कारागारको यातनापछि बिते । केही सिकर्मी, फर्निचर कारखाना, इँटाभट्टा र घर–जग्गा तथा बाटो बदलेकाहरू ठेकेदारी र घर–जग्गा व्यापारमा छन् । केही लोकप्रिय भई निर्वाचित पदहरूमा पनि सेवा गरी बिते । आर्थिकरूपले अलि सजिलो जीवन बिताउने पुराना साथीहरूले आ–आफ्नो घरमा विवाह–व्रतबन्धजस्ता सामाजिक कार्यक्रममा कार्ड, पत्र र साथीहरू पठाएर निमन्त्रणा गर्छन् । कोही सङ्गठनलाई आ–आफ्नो गच्छेअनुसार मासिक र सामयिक चन्दा दिन्छन् भनी साथीहरू सुनाउँछन् । तर, एक जना साथी माध्यमिक विद्यालयका प्रिन्सिपल भएछन्, तिनका बारे धेरै कुरा सुनिन्थ्यो पहिले । आफ्नै विद्यालयको मेच, टेबुल, कौच, कापी–कलम, मसलन्द र प्रश्नपत्र छपाइ आदिमा समेत भ्रष्टाचार गर्दा शिक्षकहरूको विरोधपछि उनी एक शासक दलका सदस्य भई साथीहरू र सङ्गठनसँग विमति राखेको सुनेँ, तर मसँग भेटघाट छैन– बुबा । त्यसो भनेर सबै कार्यकर्ता खराब हुँदैनन्, अत्यन्त बहुमत कार्यकर्ताहरू राम्रा र इमानदार छन् ।” एकछिन रोकेर, “अँ कोही आफ्नो इँटाभट्टा, कारखाना, बस, ट्रक र वाहन सेवाको कारोबार मिलाउन र ठेकेदारी बचाउन वा बढी नाफा लिन शासक दलका नेता, मन्त्री र कार्यकर्तालाई ‘पान–सुपारी’ को नाममा ‘पूजा–पाठ’ गरी समाजको आँखा बचाउँछन् । तर, ‘जनताको आँखा दूरविनजस्तो हुन्छ’ भन्ने उखानअनुसार जनताले थाहा पाइहालेका हुन्छन्– प्रहरीदेखि मन्त्री र मेयरदेखि सभामुखसम्मलाई सुटकेशमा ‘प्रेम पत्र’ पु¥याएको हल्ला चलेको बताइएको थियो ।”
“अहो बाबू ! यो राजनीति भनेको त बुझ्नै गा¥हो रहेछ, कसरी के–के थाहा पाउनुपर्ने यो सबै !”, जुनुले आश्चर्य मिश्रित भावमा बताइन् ।
अनन्तले आमालाई सम्झायो, “होइन आमा, मानिस पानीमा बाँच्दैन, तर माछालाई पानी नभई हुँदैन । त्यस्तै सरकारमा बस्ने मन्त्री, ठुल्ठुला कर्मचारी र हाकिमहरूलाई लाख लाख, करोड–करोड नभई हुन्न । त्यसैमा उनीहरू बाँच्छन्, चङ्गा र चराहरू हावामै उड्छन् भने ठुल्ठुला व्यापारी र उद्योगपतिहरू हवाइजहाजमा उड्छन् । त्यस्तै ठुल–ठुलै अङ्कको नाफा खान्छन् । स–साना बालबालिकालाई वियर र रक्सी मुखमा चखाउँदा मुख रातो हुन्छ र रुन्छन् । तर, सरकारमा बस्ने अधिकांश ठुलाबडा रक्सी नखाई न कुरा निकाल्छन् न सुत्न सक्छन् । कामअनुसारको फल त सबैले भोग्नैपर्छ, आमा ¤ राजनीति गर्नु भनेको राजकाजको काम सिक्नु र देश र जनताको भलो गर्नु हो । विद्यालय खोल्नु, अस्पताल खोल्नु, पुस्तकालय खोल्नु, खानेपानी जनताको घर–घरमा पु¥याउनु, कसैले कसैलाई दुःख दिएमा रोक्नु, सम्झाउनु, बुझाउनु आदि सेवाकै काम हुन् । यो बुझ्न सजिलो छ, बरु यस्ता राम्रो काममा नाफा नहुने हुँदा, ठुलाबडा, हाकिम, मन्त्री, धेरै–धेरै धनीमानीहरू जनता कोरोनाले मरे पनि औषधिमा तेब्बर नाफा नलिई बेच्दैनन्, अक्सिजन छैन भनी हल्ला गराउँछन्, भित्रभित्र दस दोब्बर लिएर बेच्छन् । त्यस्ता व्यापारी र उद्योगपतिले विरोध गर्दा प्रहरी र सेना पठाएर सरकारले जोगाउँछ । यो अलि बुझ्न गा¥हो हुन्छ– आमा ! तर बिस्तारै यी सबै कुरा बुझ्दै जानुहुनेछ ।”, अनन्तले बिस्तारै आफ्नो भनाइ टुङ्ग्यायो ।
कान्छा दाइले सन्तोषको सास फेर्दै जुनु र केशरीपट्टि हेर्दै ‘थप केही कुरा सोध्नु छ कि’ भन्ने प्रश्नको उत्तरमा बुहारीले बिस्तारै जिज्ञासा राखिन्, “आधाभन्दा बढी जनसङ्ख्या भएका स्वास्नीमानिसहरूको विषयमा त कम कुरा गर्नुभयो । त्यसो भए, के आइमाईहरूको कुनै समस्या छैन ?”
निश्चय पनि समाज, देश र परिवारको समस्या नै नारी, महिला र आइमाईक समस्या हुन् । त्यस्तै आमा र दिदीबहिनीहरूको समस्या पनि समाज र देशकै समस्या हुन् । अब यी गम्भीर र ठुला समस्याको पूर्ण समाधानमा नयाँ पुस्ताले हात हाल्नेछ । आज आँप रोपेर भोलि नै आँप फल्दैन । त्यस्तै सयौँ वर्षदेखिको समाज र महिलाको समस्या एउटै पुस्ताले सकिँदैन, नयाँ पुस्ताले समाल्नेछ । नयाँ पुस्ताको लालनपालन पनि आमाहरूकै हातमा छ, तिनीहरूको शिक्षा र स्वास्थ्यसमेत आमाहरूको हातमा छ । अहिले नयाँ पुस्ताकै हातमा विद्यालय र महाविद्यालय, साहित्य, पत्रकारिता र नयाँ विचारहरू फस्टाउँदै छन् । निश्चय छ, हिजोको इतिहासबाट सिकेर नयाँ पुस्ताले नयाँ समाजको निर्माण गर्नेछ । त्यसमा आमा र दिदीबहिनीहरूको महत्वपूर्ण हात हुनेछ । अर्थात्, अब नेपाली समाजमा महिलाहरू नै अगाडि आउने परिस्थिति बन्दै छ । त्यस परिस्थितिले सुहाउँदो र समाजमा आमूल परिवर्तन अवश्यम्भावी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *