भर्खरै :

सिद्धान्त र विचार कुल्चेर सत्तामोह !

शासक दल र ठुला राजनीतिक दलका नेताहरू सिद्धान्त र विचारमा अडिग छैनन् । सिद्धान्त र विचारमाथि कुल्चेर सत्तामोहमा पल्केका र सत्तामोहका निम्ति जे पनि गर्न तयार ती नेताहरूको अभिव्यक्ति, गतिविधि या विचार सुन्दा घृणा लाग्छ, आत्मग्लानी हुन्छ र मनमनै धिक्कार्न मन लाग्छ । ती दलका नेताहरू आफूलाई पुराना, अनुभवी, लामो समयसम्म राजनीति गरेका राजनीतिज्ञ ठान्छन् । तर, तिनीहरूको चिन्तन र विचारमा त्यत्तिकै खोक्रो देखिन्छ । त्यस्ता व्यक्तिहरूको भरमा देश चलिरहेको छ । जनता थुक निल्दै सहन बाध्य छन् ।
ती दलका नेताहरू पार्टीको उद्देश्य र मार्गदर्शनबारे कहिल्यै बखान गर्दैनन् । दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्नु नै ती नेताहरूको जीवनचर्याजस्तै बनेको छ । जसरी भए पनि दल ठुलो बनाउने र सरकारको नेतृत्व गरेर राजस्वमा दाइँ गर्नु नै उनीहरूको ध्येय रहेको छ । दल ठूलो भएपछि र सरकार हाँक्न पाएपछि उनीहरूलाई पार्टीको सिद्धान्त, विचार, नैतिकता, चरित्र, नीति र नियमको कुनै परवाह हुँदैन । उनीहरू आफूलाई देशकै नायक ठान्छन्, देश हाँक्न सकिने कमान्डर ठान्छन्, आफूबाहेक अरू कसैले दल र देश हाँक्न नसक्ने ठोकुवा गर्छन् तर आफ्नो इज्जत, प्रतिष्ठा, सिद्धान्त, विचार र दर्शनको ख्याल गर्दैनन्, अझ भुल्छन् ।
नेताहरूको यो चर्तिकला पञ्चायतकालदेखि हालसम्म कायम छ । सरकार परिवर्तनको प्रसङ्ग उठ्यो कि दलका नेताहरू सत्तामा जान र ढाल्न तँछाडमछाड गर्छन्, एकले अर्का दलका नेता, सांसदहरू तान्न रात–दिन जुट्छन् । एमालेको सरकार ढाल्न अन्य दलका नेता तथा सांसदहरू त्यसरी नै जुटे ।
सरकारमा रहेका र सरकारमा जान चाहेका दलका नेताहरू अहिले पनि सत्ताको हानथापमा लागिरहेका छन् । यस क्रममा एकले अर्कालाई लगाएका आरोप–प्रत्यारोपहरू हेर्दा उनीहरूमध्ये कुनै योग्य, सक्षम र सबल छैनन् । एमालेकै शीर्ष नेताहरू एकले अर्कालाई कम्युनिस्ट पार्टी र आन्दोलन भाँड्ने संज्ञा दिन्छन्, कम्युनिस्टको कुनै चरित्र नै नभएको दाबी गर्छन् । अर्काथरी नेताहरू सरकार ढाल्न शत्रु र मित्र भन्दैनन्, कम्युनिस्ट र काङ्ग्रेस भन्दैनन्, देश भड्काउने, साम्प्रदायिक भावना फैलाउने दल भन्दैनन् । नेताहरूको यस्तो गैरजिम्मेवारी तथा देश र जनताप्रतिको बेवास्ता जनताले कहिलेसम्म सहेर बस्ने ? यस्ता निन्दनीय कार्य जनतासामु ल्याउन, जनतालाई सुसूचित पार्न र सरकारमा रहेर अरूको कुनै वास्ता नगर्ने दल र दलका नेताहरूलाई खबरदारी गर्न पनि निर्वाचन आवश्यक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *