अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भाइ–बहिनीहरू,
मेरा सबै पत्रहरू अध्ययन मनन गरेर हरेकले एक न एक समझदारी बनाएकै होलान् । ठीक बेठीक मनमा विभिन्न कुराहरू खेल्नु स्वाभाविक हो । आजको चिठीमा केही साथीहरूका विवाहपछिका दाम्पत्य जीवनका सारहरू अत्यन्त छोटोमा बताउँदै छु ।
मेरा एक जना साथी छन्– म उनलाई सधैँ डाक्टर जोशीको नामले बोलाउने गर्छु । उनी सा¥है हाजिरजवाफी र स्पष्ट वक्ता हुन् । उनी स्पष्ट वक्ता हुनुको कारणले कसै–कसैले उनलाई ‘खरो’ स्वभावका डाक्टर भन्ने गर्छ । तर, उनी खरोवक्ताभन्दा स्पष्टवक्ता, कुरा नलुकाउने र सत्य बोल्ने भन्नु उचित हुन्छ । एक दिन उनीसँग मैले के हेरेर वा सोचेर विवाह ग¥र्यौं र आज के अनुभव गर्दै छौ भाइ भनी सोधेँ ।
म दाइलाई सत्य कुरा भन्छु । एकदिन केटी हेर्न म उपत्यकाकै एक जात मिल्ने परिवारकोमा लगिएँ । घरको आँगन छुट्टै घरभित्र पस्नासाथै मेरो मनमा एक प्रकारको सकारात्मक भावना जाग्यो । पहिलो तला पनि सा¥है सफा देखेँ, भरेङ उक्लेर माथि कोठामा लगिएँ, कोठामा कुनै झिलिमिली थिएन बरु अत्यन्त सफा थियो । अर्को कोठामा लगिएँ, केटीले चिया ल्याइन् । एकै झलकमा मैले केटीमा सकारात्मकता देखेँ, त्यो हो सरलता, कोठा पनि सफा !
मेरा दुई–तीन जना दाजुभाइ छन्, दिदीबहिनी कोही छैन हाम्रो । घरको सबै काम आमाले नै गर्नुहुन्थ्यो, हामी केटाहरू घरको काममा आमालाई सघाउनुपर्छ भन्ने मनमा पनि थिएन । त्यसको मुख्य कारण हाम्रो पुरानो समाजमा केटाहरूले चुलोको काम गर्ने परम्परा नै नहुनु हो । अहिले म सम्झिरहन्छु आमाले कति दुःख गर्नुभयो होला हामी साना छँदा । हाम्रो घर छर–छिमेकीहरूको तुलनामा सफा नै रहन्थ्यो । सफा घरको उदाहरण टोलमा हाम्रै थियो ।
मलाई केटी पनि चित्त बुझ्यो, बिहा भयो, मैले सोचेजस्तै हाम्रो घर सफा–सुग्घर नै रह्यो । म त्यसबेला चुरोट पिउँथेँ र चुरोटको ठुटो चियाको गिलासमै निभाउँथेँ । भोलिपल्ट मैले कोठामा चुरोटको ठुटो निभाउने एस्ट्रे देखेँ । दुलहीले चिया टेबुलमा राखिन् र एकै मिनेटमा एस्ट्रे पनि चुरोटको बट्टासँगै राखिदिइन् । त्यस व्यवहारले म एकछिन स्तब्ध भएँ, मनमनै मैले अब चुरोट पिउन छोड्नु पर्ला भन्ने विचार गरेँ । केही महिनापछि मैले चुरोटको लत छोडेँ । परिवारका सबै सदस्य खुसी भए । मेरो घरको आँगन र कोठाहरू अहिले पनि सबै सफा छन् । म मेरो दाम्पत्य जीवनसँग सन्तुष्ट छु । उनी पनि एक्ली छोरी हुन् । अहिले मेरी सासू र ससुरालीका सबै घरका सदस्यहरू नै सुसंस्कृत भएको अनुभव गरेँ । मेरी पत्नी ठुलो स्वरले कराएको, ठुस्स परेको मलाई थाहा छैन– दुई छोराछोरीकी आमा भइन् ।
प्रिय भाइबहिनी,
मेरा अर्का मित्र इन्जिनियर हुन्– कर्माचार्य ¤ केटी हेर्न हामी बसेको नगरबाट १५–२० मिनेट हिँड्नु पर्ने ठाउँ थियो । आँगनमा कुखुरा, चल्ला, बाँधिएका केही चौपाया छोडिएका थिए, जताततै झारपात थियो । भरेङदेखि लगिएको कोठासम्मै एक प्रकारले सफा थिएन । आर्थिकरूपले राम्रै परिवार थियो । एकछिन म अलमलिएँ । चिया पिएर सामान्य भलाकुसारी गरी घरमा बा–आमासँग कुरा गरुँला भनी बिदा लिएँ ।
हेर्दा केटी राम्री र सुन्दरी थिइन् । फरियाको रङ्ग र कोठाभित्र पस्दा अलि ढङ्ग नपुगेको हो कि भन्ने मलाई लाग्यो । हुनसक्छ, त्यसबेला मेरो सोचमा पुरुष श्रेष्ठता वा अभिमानको खोलले काम ग¥यो कि भन्ने अनुमान गर्छु । मेरो मनमा त्यो ठाउँ गाउँले संस्कृति र ममा सहरी संस्कृतिको बडापन देखियो कि भन्ने अहिले अनुभव गर्छु ।
घर पुगेपछि बुबा–आमासँग भेट्नुभन्दा पहिले साथै गएको नातेदार वा लमिलाई मैले मेरो घर–कोठा अलि फोहर हुने हो कि दाइ भनेँ । उनले मेरो मनले कुरो बुझेर छोटकरीमै भने– सहरमा ठुलो चोक, वस्तु भाउ राख्ने बारी पनि त हुनुप¥यो नि ¤ म चुप लागेँ । कुरा ठिक्कै हो भनी स्वीकारेँ ।
दाम्पत्य जीवन ठिक्कै छ, बरु कहिलेकाहीँ श्रीमतीको ठुलो स्वरलाई मत्थर पार्नमा मलाई छोरा–छोरीको साथ रहन्छ । म के निष्कर्षमा पुगेँ भने शारीरिक सुन्दरता नै व्यक्तित्वको सौन्दर्य हुँदैन बरु सांस्कृतिक स्तर नै महिला वा पुरुषको व्यक्तित्वमा प्रभाव पार्ने एक महत्वपूर्ण पक्ष हुन्छ ।
साँचो कुरो के हो भने एकजना इन्जिनियरकहाँ आ–आफ्नो निर्माण कार्यमा सहयोग माग्न आउँदा, विवाह, भात खाने समय वा रात भनेको हुँदैन, त्यसबेला आएको साथी वा काम लिन आएको मानिससँग राम्रो व्यवहारबोली वचन महत्वपूर्ण हुन्छ भन्ने म ठान्छु । मेरो इन्जिनियर भाइले मनको कुरो बताए ।
XXX
शिक्षक पेशा र राम्रै लेखक वा साहित्यकार साथीको भनाइमा बिहान आफूले चिया नास्ताको बन्दोबस्त गर्दासम्ममा श्रीमतीले पत्र–पत्रिकाको मुख्य–मुख्य शीर्षकमा रातो चिह्न लगाउने, चियापछि दुवैको फुर्सतमा पत्रिकाका लेख–समाचार सुनाउने गर्छिन् । त्यसबाट परिवारको सांस्कृतिक स्तर पनि बढ्ने हुँदा मेरा गल्ती कमजोरीमा सहयोगसमेत पुग्ने गरेको छ ।
पुस्तक र पत्र–पत्रिका मिलाउने, कम्प्युटरमा टाइप र खेस्रा सारी तयारी लेख बनाउने भएपछि म त अति सन्तुष्ट छु । कहिलेकाहीँ सुरुमा माइती जाँदा अलि अप्ठेरो अनुभव गरेँ । अब उमेरको हिसाबले राम्रै दाम्पत्य जीवन चलेको छ ।
अर्को, रेडियो र टी.भी. का समाचार वाचक एक जना युवा साथीको भनाइमा आफ्नी श्रीमती राम्रो टिप्पणीकार भएको हुनाले आफूलाई सा¥है सहयोग पुगेको छ । दुवै पहिले शिक्षक थिए ।
मेरा एक राजनैतिक कार्यकर्ता साथीको भनाइमा आफू भान्साको काममा पनि सिपालु र घरबाहिर जिल्ला हुँदा आमा बुबाहरू कोही डेरामा नहुँदा परिवार नयाँ शैलीमा चालु छ । उनले मेरो कार्यक्रम बनाइदिने, आउने फोनको नोट गर्ने, पत्रहरू फाइलिङ गर्ने र घर आउने साथीहरू र आफन्तको सत्कार गर्ने र केटाकेटीको हेरचाह तिनीले गर्दा मैले बाहिरी काम गर्न सकिरहेको छु ।
एकजना कर्मचारी बहिनीको भनाइमा सासू भात पकाउनुहुन्छ, म समयमा कार्यालय पुग्छु, केटा–केटी सबै श्रीमान्ले हेर्नुहुन्छ र घरमा म श्रीमान्लाई सहयोग गर्छु ।
केही वर्षअगाडि महिला साथीहरूको परिचयको निम्ति गोदावरीमा वनभोजको कार्यक्रम थियो । त्यसमा लोग्ने मानिसहरूले खानपानको सबै बन्दोबस्त गर्ने र महिलाहरूलाई बैठकहरू गराउने योजनाअनुसार सुचारुरूपले काम अगाडि बढ्यो । बिहान ८ बजे खाजा, १२ बजे खाना र ५ बजे खानापछि महिलाहरूको अन्तिम बैठक बसेको थियो ।
मेरा प्यारा भाइ–बहिनीहरू,
महिला दिदी–बहिनीहरूको त्यस अनौपचारिक बैठकमा पालैपालो बोल्ने कार्यक्रममा एक ज्येष्ठ महिलाले भन्नुभयो, “लोग्ने मानिसहरूले हाम्रो दुःख बुझ्दैनन्, हामी माइती घर छोडेर लोग्नेको घरमा आउँदा पहिलोपटक सरकारी कार्यालयमा जाने मानिसलाई अप्ठेरो भएजस्तै को के हो र त्यस घरका मानिसहरूको आनीबानी केही थाहा हुन्नथ्यो । सासू–ससुरो, आमाजू, नन्द, देवर आदि कस्ता छन् र लोग्नेसँग कस्तो व्यवहार गर्ने हो केही मेसो पाएको हुन्नथ्यो । आफ्नै माइतीमा साना छँदा आमाहरूलाई गर्ने व्यवहार र भाउजूहरूले गर्ने व्यवहार सम्झेर हामीले गर्नुपर्ने हुन्छ । तर, अचेल सबै पढेलेखेका, पहिले नै चिनापर्ची भइसक्ने हुँदा धेरै सजिलो भयो ।”
भाउजू उमेरकी एक महिलाले गुनासो गरिन्, “लोग्ने मानिसको जात पनि के हो के हो ? केटाकेटीले फोहर गर्दा ‘ए’ ! तेरो बच्चाले फोहर ग¥यो, सफा गर, छिट्टै भन्छन् । मानौँ, बच्चा उसको आफ्नो होइन ।
अर्का भाउजूको गुनासो थियो, “तरकारी डढे पनि बोलाएर तरकारी डढ्यो भन्ने ! आफैले यसो चलाइ दिए पनि भइहाल्थ्यो नि होइन र !”
कान्छी आमाकी उमेरकी किसान महिलाले भनिन्, “म त लोग्नेसोग्ने भन्दिनँ, झगडै गर्छु ! लोग्नेलाई तह लगाएन भने सासू–ससुराले लोग्नेको दोष पनि आफैलाई दिन्छन् ! दुईजना बच्चाको आमा भएपछि लोग्नेसँग झगडा गर्न थालेपछि बल्ल ठीक भयो ।
एम.ए. पढेकी बहिनीले एकसँगको व्यवहारबारे भनिन्, “जहिले पनि एउटा केटाले बाटो छेक्दै ‘म तिमीलाई माया गर्छु’ के–के चाहिने नचाहिने कुरा गथ्र्यो ?”
एकदिन कलेजबाट फर्किरहँदा बाटोमा त्यही कुरा दोहो¥याएपछि मैले भनेँ, “तिमी को हौ, कसका छोरा हौ, तिम्रो नाम के हो, के पढ्दै छौ र तिम्रो जीवनको उद्देश्य के हो ? पहिले मलाई भन, तिमीले माया गरेर हुन्छ ? मैले पनि त तिमीलाई माया गर्नुप¥यो नि ! मुढोसँग कसैले माया गरेको र विवाह गरेको तिमीलाई थाहा छ ?”
एकछिन अकमकिएपछि उसले आफ्नो परिचय दियो “मेरो नाम श्याम हो, मैले एस.एल.सी. पास गरेर ११ मा ज्वाइन गर्दै छु ।”
मैले तत्काल उत्तर दिएँ, “म एमएकी छात्रा हुँ । तिम्रो उमेर के हो ? तिमी कुन जातका हौ, आमा–बाबु को हुन् भन्नुपर्दैन ? कसले पठायो तिमीलाई केटीसँग जिस्किन ?”
अलि डराएर उसले भन्यो, “होइन दिदी, म आफै आएको तपार्इँसँग माया गर्न । मेरो आमा–बाबु…, मेरो जात…। अहँ अहँ… प्रजातन्त्र र गणतन्त्रमा केको जात ?”
हप्काएको भाषामा मैले भनेँ, “प्रजातन्त्र र गणतन्त्रको अर्थ के ? जसलाई पायो उसलाई मनमा जे आयो त्यो भन्न पाइन्छ ? सबैलाई आदरपूर्वक बोल्नुपर्छ, सदाचार के हो, कोसँग के बोल्नुपर्छ भन्ने बुझ्नुपर्छ । त्यसैले तिमीसँग जात र आमा–बाबुबारे सोधेको हुँ ।”
उसले सिनेमाको शैलीमा भन्यो, “माया गर्ने र विवाह गर्ने त मैले हो, मेरा आमा–बाबुले होइन । मेरो जीवनको उद्देश्य देश–विदेश घुमेर गीत गाएर हिँड्ने हो आदि…बकबक गर्नथाल्यो र आफ्नो उमेर १७ वर्ष बतायो ।
मैले सम्झाउने भाषामा कडा ढङ्गले भनेँ, “हेर बाबू, तिमी अहिले मभन्दा बच्चा छौ, हुन त तिमीले मलाई दिदी भन्यौ, म २०–२२ नाघिसकेकी छु, तिमीभन्दा ठुला मेरा भाइहरू छन् । तिम्रो परिवार र तिम्रो विद्यालयले कोसँग कसरी कुरा गर्नुपर्छ सिकाएको रहेनछ । त्यसैले तिम्रो जात र आमाबाबूबारे सोधेकी हुँ । विवाहपछि देश–विदेश घुमीघुमी खान तिम्रो आम्दानीको स्रोत के हो, विदेश घुम्न पनि विदेशी भाषा जान्नुप¥यो नि ! मैले त एक वकिल बन्ने जीवनको उद्देश्य राखेकी छु र केटीहरूलाई दुव्र्यवहार गर्ने र महिलालाई हेला–होचो गर्ने, बुहारीलाई दुःख दिने लोग्ने र घरेलु हिंसा गर्ने अभिभावकको विरुद्ध अदालतमा मुद्दा गरी सेवा गर्ने मेरो जीवनको उद्देश्य हो ।
“केटा थरथर काँप्न थाल्यो । दिदी अब म पहिले धेरै पढ्छु” भनी सुइँकुच्चा ठोक्यो ।
खेलाडी बहिनीहरूले आ–आफ्ना अनुभव सुनाउने क्रममा मीरा बहिनीले भनिन्, “मेरै टोलमा ६ कक्षामा पढ्ने बहिनीलाई एक जना केटाले विद्यालयको छुट्टीपछि गल्लीमा सधैँ हात समाई तान्ने, चुल्ठो तान्ने गर्दागर्दा स्कूल जान छोडिन् र केही महिनापछि उनको विवाह भयो र पढाइ छुट्यो ।
‘केही दिनपछि टोलका दाइहरूको अनुरोधमा नगरपालिकाले केटीहरूलाई पनि जुडो, कराते र बक्सिङको तालिम दियो । केटीहरू तालिमबाट फर्किएपछि केटाहरूले जिस्क्याउँदै हाम्रो टोलसम्म आएर मनपरी बोेल्थे । दुई–चार महिनाको तालिमपछि दाइहरूसँग सोधेँ, “के हामीले ती केटाहरूलाई हानौँ ? दाजुहरूले हाँस्दै सोध्नुभयो, “सक्छौ तिमीहरू केटाहरूलाई दनक दिन ?”
साँच्चै २–४ दिनपछि साथीहरूसँग सल्लाह ग¥यौँ र आ–आफ्नै टोलसम्म आई जिस्क्याउने र दुव्र्यवहार गर्ने केटाहरूमाथि अचानक हमला गर्दा, ती केटाहरूमध्ये कसैको नाक फुट्यो, कसैको दाँत भाँचियो । त्यसपछि केटाहरूले हाम्रो पिछा गर्ने र जिस्क्याउने आँट गरेनन् ।”
भाइ–बहिनीहरू !
यी सबै घटिट घटनाहरू हुन् र भाइ–बहिनीहरूबाटै सुनेर तिमीहरूलाई यो पत्रमा लेख्दै छु । वनभोजपछि घर फर्किंदा एउटी महिला सा¥है खुसी देखिएकी थिइन् । ती महिलाको मुखमा टोल–छिमेकले कहिल्यै हाँसोको रेखा देखेका थिएनन् ¤ कसैले पेटको क्यान्सर होला भनी लख काट्थे, कसैले माइतीदेखि नै त्यस्तै होलिन् भन्ने सोच्थे । उनका पति पञ्चायत कालमा राजनैतिक कार्यकर्ता हुँदा रातिराति सङ्गठनमा जाने हुँदा आफ्नो लोग्ने नराम्रो काममा पो लागेको हो कि भन्ने डर थियो र सासू–ससुराले लोग्नेलाई तह नलगाएको भन्ने दोष खेप्नुपथ्र्यो । लोग्नेले राजनैतिक कुरो परिवारलाई नबताउने हुँदा ‘जीवनमा आफूलाई सा¥है दुःखी सम्झेकी थिइन् तिनीले । एक जना ‘भाउजूले आज तिमी सा¥है खुसी छौ’ भनी सोध्दा तिनीले उत्तर दिइन्, “म त मैलेमात्रै दुःख पाएको सम्झन्थँ, लोग्ने र सासू–ससुराको अदबमा बस्नुपर्ने अभागी सम्झेको थिएँ । त्यसो होइन महिलाहरूको दुःख एउटै रहेछ भनी आज थाहा पाएँ ।”
भाइ–बहिनीहरू, यसकारण विभिन्न वर्गीय सङ्गठनहरू, साहित्यिक संस्थाहरू र खेलकुदका क्लवहरूमा पनि आबद्ध भएमा हामीमा ठुलो उत्साह थपिनेछ, साथी सङ्गतले आ–आफ्नो मनोबल पनि बढ्नेछ । सबैको अनुभवबाट सिकेर दाम्पत्य जीवन सुखी हुने उपाय खोजौँ । सबै जोडीहरूले देश र जनताको हितमा विद्यार्थी र युवा बेला जसरी क्रान्तिकारी राजनैतिक सङ्घर्षमा आफूलाई समाहित गरेका थिए विवाहपछि पनि दुवै मिलेर पछि आउने पुस्तालाई पनि सोअनुसार तयार गर्नुपर्नेमा म सबै भाइ–बहिनीहरूको ध्यान आकर्षित गर्न चाहन्छु । तन, मन र धनले ठुलो उत्साहका साथ अगाडि बढ्ने तयारीमा लाग्न आह्वान गर्छु । बिदा ! धन्यवाद !
समाप्त
Leave a Reply