भर्खरै :

विद्यार्थीहरूको मूल्याङ्कन सही होस्

गत वर्षझैँ यो वर्ष पनि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा एसईईको परीक्षाको नतिजा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको निर्णयअनुसार कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १५ गतेभित्र हुनेछ । विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको एक मूल्याङ्कन समिति गठन गरिनेछ । यो व्यवस्थापनबाट विद्यालयले जिम्मेवारी बोध गरेर विद्यार्थीहरूको वास्तविक मूल्याङ्कन गर्ने विश्वास परीक्षा बोर्डको रहेको छ । अघिल्लो वर्षको कक्षा १० को मूल्याङ्कन हचुवा ढङ्गले भएको गुनासो थियो ।
विद्यार्थीहरूको मूल्याङ्कन परीक्षाबाटै हुन्छ । मूल्याङ्कन उनीहरूको योग्यता या क्षमताको परिचय हो । विद्यार्थीहरूको मूल्याङ्कन सही हुनुपर्छ, यथार्थ हुनुपर्छ । कुनै विद्यालयको आफूखुसी या माया ममताको आधारमा परीक्षार्थीको अङ्क थपघट गर्नु हुँदैन । त्यस्तो मूल्याङ्कन यथार्थ हुँदैन । नपढेका, नजानेका या कमजोर विद्यार्थीहरूको अङ्क बढाएर नतिजा निकाल्दा विद्यालयको शैक्षिक स्तर प्रगति भएको देखिए पनि विद्यार्थीहरूको प्रगति हुँदैन । प्राप्त अङ्कको आधारमा कलेजमा अध्ययन गरे पनि कलेजको नतिजा राम्रो हुनेछैन । त्यस्ता विद्यार्थीहरू एउटै कक्षामा बारम्बार अनुत्तीर्ण भइरहनेछन् । यसको कारण कति विद्यार्थीले उच्च शिक्षा अध्ययन छोड्नुपर्ने हुन्छ । अन्ततः विद्यार्थीलाई नै मर्का पर्छ र यसले अभिभावकमा असर पर्छ ।
शिक्षाको स्तर नभइकन या पढ्दै नपढिकन अङ्क बढाएर दिने काम ठीक होइन । हो, अङ्क बढ्दा या बढाएर दिँदा विद्यार्थी र अभिभावकहरू खुसी हुन्छन् । साथीभाइमार्फत बधाई पाउँछन् । दङ्ग हुन्छन्, खुसी बाँडचुँड गर्छन् । तर, आखिरी शैक्षिक नतिजा राम्रो हुनेछैन । यसले उल्टो आफ्नो शैक्षिक स्तर झन् गिर्छ, पछि निरास बनाउँछ । यसकारण, विद्यालयका जिम्मेवार शिक्षकहरूको या अब गठन हुने मूल्याङ्कन समितिको यस कुरामा ध्यान पुग्नुपर्छ ।
शिक्षकहरू पढेलेखेका छन् । उनीहरू बुद्धिजीवी वर्गमा पर्छन् । पढेलेखेका शिक्षितहरूलाई कुनै विद्यार्थी या अभिभावकको दबाबमा यथार्थभन्दा बढी अङ्क बढाउने काम कुनै हालतमा सुहाउँदैन । जुन विद्यार्थीको जस्तो क्षमता छ त्यसैको आधारमा मूल्याङ्कन हुनुपर्छ । मूल्याङ्कन समितिमा रहेका शिक्षकहरू यसमा चुक्नु हुँदैन । परीक्षा बोर्डको विश्वासमा आघात पु¥याउनु हुँदैन । आ–आफ्नो विवेकलाई बन्धक राख्नु हुँदैन । आफूले पाएको अधिकार दुरूपयोग गर्नु हुँदैन । पदको दुरूपयोग गरेर आफूखुसी अङ्क चढाउने काम कुनै पनि गठित मूल्याङ्कन समितिले नगरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *