भर्खरै :

सिठिनखाः भित्रको विज्ञान

सिठिनखाः ज्येष्ठ शुक्ल षष्ठीमा पर्ने नेवारहरूको पर्व हो । विशेषतः ‘कुमार’ र ‘नाग देवता’को पुजा गरिने यस पर्व आएसँगै वातावरण संरक्षणको चर्चा चल्ने गर्छ । सिठिनखाःमा चटामारी र व (बारा) जस्ता परिकारहरू पकाएर खाने गरिन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको यस दिन गरिने पानीका स्रोतहरू मुख्यतः इनार, कुवा र ढुङ्गेधाराको सरसफाइ हो । सिठिनखाःको दिनलाई विश्व पानी दिवस, विश्व सिमसार दिवस र विश्व वातावरण दिवसजस्ता दिनहरूसँग तुलना गर्न सकिन्छ, जुन यी दिवसहरूभन्दा धेरै अघिबाटै मनाउँदै आएको हो । यस महत्वपूर्ण पर्वको वैज्ञानिक आधार पनि बलियो रहेको छ ।
सिठिनखाः मनसुन (पानी पर्ने मौसम) सुरू हुनुभन्दा अघि मनाइन्छ । यो समयमा इनारहरूमा वर्षभरिमध्ये कम पानी हुन्छ । इनारको मूल जमिनमुनिको पानी हो । मनसुनको समयमा पुनःभरण हुने यी पानीका स्रोतहरू वर्षको यो उतराद्र्धमा प्रयोगको चरम बिन्दुमा पुगेका हुन्छन् । तसर्थ, यो समय इनार सफा गर्न सहज र उपयुक्त समय मान्न सकिन्छ । साथै वर्षभरि एकै ठाउँ जमेको पानीमा थिग्रने आइरन र अन्य पदार्थहरूले गर्दा पानीको स्वाद र गुणस्तर परिवर्तन भएको हुन्छ । यस्तो अवस्थामा वर्षको एकपल्ट इनार सफा गर्नु आवश्यक र महत्वपूर्ण परम्पराको रूपमा लिन सकिन्छ ।
इनार सफा गर्नुअघि ‘नाग देवता’को पुजा गर्न इनारभित्र बत्ती अथवा टुकी बाल्ने चलन पनि रहिआएको छ । त्यसरी बालेको बत्ती निभेमा नागदेवता रिसाएको र इनार भित्र जान नहुने विश्वास गरिन्छ । विशेषतः गहिरो इनारमा अक्सिजनको कमी र कार्बनडाइ अक्साइड, कार्बनमोनो अक्साइडजस्ता ग्यास हुनसक्ने हुँदा तल पठाइएको बत्तीले अक्सिजनको मात्रा जाँच गरेको बुझ्न सकिन्छ । बत्ती निभ्दा अक्सिजनको अभाव रहेको बुझिने र यस्तो बेला इनारभित्र पसे मान्छेको ज्यान पनि जानसक्ने सम्भावना रहन्छ । यदाकदा यस्ता घटना भएको नसुनिएको पनि होइन ।
इनार सफा गरिसकेपछि ४–५ दिन पानी तान्न नहुने विश्वास रहेको छ । इनारलाई पूर्णरूपमा सफा गरिसकेको हुनाले केही समय पानी भरिन दिइएको भनी बुझ्न सकिन्छ । यसलाई पानी पुनःभरण (water recharging) भनी बुझ्न सकिन्छ । यो पुनःभरण समय इनारको क्षमता (water recharging capacity) अनुसार फरक हुनसक्छ । यो अभ्यासले इनारको दिगो उपयोग (sustainable yield) भएको बुझ्न सकिन्छ ।
नेवार समुदायले नाग देवतालाई पानीको स्रोतको संरक्षकको रूपमा पुज्ने गरेको छ । यो पर्वमा सोही विश्वासअनुरूप नागलाई पूजा गरिन्छ । जाडो मौसममा इनार सुक्न थालेसँगै नागले छोडेर जाने विश्वास भएकोले यो समय ‘नाग देवता’ लाई फेरि बोलाउने पर्वको रूपमा मनाइन्छ । तर, नाग इनारमा बस्छ भन्ने विश्वास वैज्ञानिक तथ्य होइन । यद्यपि सर्पहरू जमिनमुनि दुलोहरूमा जाने र बस्ने हुँदा यसले जमिनमुनि पानी बग्ने सजिला बाटाहरू बन्न सक्दछ । साथै जाडोमा सर्प शीतनिद्रामा जाने र गर्मीमा निस्किने गर्दछन् । ‘नाग देवता’ जाने र बोलाउने भन्ने चलनले सर्पहरूको यो व्यवहारलाई हाम्रा पुर्खाले बुझेको र बुझाउँदै आएको प्रस्ट हुन्छ । यसले सर्पको महत्व र संरक्षण गर्नुपर्छ भन्ने भावना दिएको हामी अनुभव गर्नसक्छौँ । हुन त पानीका स्रोतहरूको सरसफाइ र व्यवस्थापन आफैले जैविक विविधता संरक्षणमा टेवा पु¥याइरहेको हुन्छ । तसर्थ, यस पर्वले जैविक विविधता, यसको महत्व र संरक्षणलाई नजिकबाट बुझ्न सहयोग पु¥याएको अनुभूति हुन्छ ।
गर्मी याम सुरू भएसँगै पानीबाट सार्ने रोग र लामखुट्टे बढ्छ । लामखुट्टे पनि पानीमा नै हुर्कन्छ । पानीका मूलहरू सफा गर्दा यी रोग र लामखुट्टे नियन्त्रण गर्न सकिने हुँदा यो पर्वले रोपाइँको चटारोमा फैलिन सक्ने रोगब्याधिबाट बचाउने अनुमान गर्न गा¥हो नपर्ला ।
वातावरणीय सँगसँगै अन्य धेरै कोणबाट महत्वपूर्ण यो पर्व आजभोलि उतिकै हर्षाेउल्लासका साथ मनाइएको देखिँदैन । सिठिनखाःमा विभिन्न परिकार बनाएर खाने पर्वकोरूपमा मात्र स्थापित हुँदै जानु पक्कै पनि राम्रो सङ्केत होइन ।
सबैको आफ्नो व्यक्तिगत इनार र पानीको बन्दोबस्तले गर्दा सार्वजनिक इनार र धाराहरू सङ्कटमा परेका छन् । घर निर्माणको क्रममा भत्काइएका पुराना भूमिगत कुलोहरूले गर्दा इनार र धाराका मूलहरू सुकेका छन् । यी संरचनाहरू संरक्षण प्राथमिकता र जनचासोबाट हट्दै गएको अनुभव गर्न सकिन्छ । आफ्नो छुट्टै महत्व बोकेका यी इनार र ढुङ्गेधाराहरूको संरक्षण र संवद्र्धनमा सबै जना लाग्नु आवश्यक छ ।
(वातावरण विज्ञान विद्यार्थी, स्नातकोत्तर) किरण गोसाई र कमलराज गोसाई (वातावरण विज्ञान, अध्यापक, त्रिचन्द्र क्याम्पस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *