भर्खरै :

स्वाजिल्यान्डः एड्स रोग बढी भएको देश !

भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै ३८ जना पत्नी भएका एक गाउँ निवासी जियोना चानाको निधन भएको खबर पत्रपत्रिकामा छाप्यो र सञ्चार माध्यमले सूचना प्रवाह ग¥यो । ८९ जना छोराछोरी, १४ बुहारी, ३३ जना नाति नातिनी भएका घरमुली चानाको विश्वकै सबैभन्दा ठूलो परिवार रहेको एजेन्सीले जनाएको छ । १७४ जना सदस्य रहेको सो परिवारको घर कति ठूलो होला, एक दिनको लागि कति खानेकुराको आवश्यकता होला, अन्य दैनिकी खर्च कति होला भन्ने कुरा यकिन गर्न नसके पनि हरेक दिनको खानपिन कुनै बिहे, व्रतबन्ध उत्सव, मेलामा खाएसरि हुने अनुमान जो कसैले गर्नसक्छन् ।
त्यो गाउँमा चाना एकजनाको मात्रै दर्जनौँ पत्नी भएको हो कि अन्य परिवारका सदस्यहरूको पनि त्यस्तै पत्नी छ ? तीन दर्जनभन्दा बढी पत्नी पाल्ने त्यो परिवारलाई स्थानीय निकाय र स्थानीय जनताले कसरी हेरिरहेका छन् ? त्यो अर्को सोचनीय विषय छ । त्यति पत्नी पाल्ने र हुर्काउने व्यवस्था या ऐन कानुन के स्थानीय निकायले गरेको छ ? छैन भने स्थानीय निकाय के हेरेर बसेको होला ? के जसले जे गरे पनि छुट हुन्छ ? तीन दर्जनभन्दा बढी पत्नी रहेको त्यस घरमुलीलाई कुनै कानुन लाग्दैन ? कसैले उजुरी राखेको छैन ? के त्यो घरमुली गाउँका जमिनदार, सामन्त, शोषक भएकोले कसैले केही बोल्न नसकेको हो ? स्थानीय निकाय मौन बसेको हो ?
त्यसो त स्वाजिल्यान्ड भन्ने राजतन्त्रात्मक देशमा राजाको धेरै पत्नी हुन्थ्यो । केही वर्ष पहिले बितेको एक राजाको चार दर्जनभन्दा बढी पत्नी भएको खबर प्रकाशमा आएको थियो । त्यो देशमा प्रत्येक वर्ष स्वास्नी भित्र्याउने राजाको खुला उत्सव नै हुन्थ्यो । राजाले स्वास्नी भित्र्याउनका निम्ति कुनै खुला ठाउँमा सार्वजनिक सूचना जारी गरेर नै अर्धनग्न युवतीहरूको भेला गराउँथे । त्यो दिन राजा पनि उपस्थिति हुन्थे । राजाको अगाडि अर्धनग्न युवतीहरू पालैपालो नाच्थिन् । राजाको मन जित्ने या विश्वास दिलाउने युवतीलाई राजाले आफ्नी रानी बनाएर भित्र्याउने चलन गएको वर्षसम्म थियो । यसरी बहुपत्नी राख्ने देश भएकोले संसारकै सबभन्दा बढी एड्स भएको देशको रूपमा स्वाजिल्यान्ड परिचित छ । हाल उक्त व्यवस्थाको विरोध जनताले गर्न थालेका छन्, जनताले राजतन्त्रको विरोध गर्न थालेका छन् ।
प्रत्येक वर्ष राजाले एकएक जना रानी भित्र्याउने स्वाजिल्यान्डमा अरू कुनै शोषक, सामन्त, जमिनदारले पनि त्यसरी नै पत्नी राख्ने गरेको समाचार नयाँ होइन । तर, त्यो बन्दोबस्त ठीक छैन । त्यस्तो बन्दोबस्त हटाउनुपर्छ, हटाउन जनता लाग्नेछन् । भारतको मिजोरम प्रान्तको एक ठाउँमा ३८ जना पत्नी पाल्ने जियोना चानाको प्रवृत्तिको पनि विरोध गर्नुपर्छ, त्यस्तोे कार्य हटाउन स्थानीय सरकार र जनता सचेत र सङ्गठित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *