भर्खरै :

प्रहरीको ज्यादती

घटना जेठ २९ को हो । एकजना तरकारी व्यापारी च्याह्मासिह चोकबाट करिब ३० मिटर पर भित्री सडकमा तरकारी बेच्न साँझ ५ बजेतिर निक्लेको मात्र के थियो, प्रहरीको भ्यान ठ्याक्कै त्यही रोकियो । तरकारी बेच्न ल्याएको किसानमाथि विना कुनै चेतावनी जथानाम गाली गरियो । छाडा र अश्लील शब्दको प्रयोग गरी गालीमात्रै गरिएन लछारपछार गर्दै तरकारी र ढक तराजु खोसेर प्रहरीले भ्यानमा राखे । यसै घटनाको हल्ला सुनेर निर्माणाधीन घरको दुई तलामाथि बसिरहेका एक स्थानीय व्यक्तिले सडकतिर आँखा लगाउँदा प्रहरीको ज्यादती र हर्कत देखेर आफ्नो मोबाइलबाट छटबाटै एक ‘क्लिक’ गरे । प्रहरी आफ्नो व्यवहारमाथि आफै सशङ्कित थिए । उनले घरीघरी दायाँ–बायाँ चारैतिर र घरी माथि हेर्दै थिए । यसै क्रममा सशङ्कित प्रहरीले दुई तला माथि छटबाट मोबाइलबाट फोटो खिचेको देख्नेबत्तिकै माथि चढेर मोबाइल खोसे । उनले पनि छाडा शब्द बोले । शिष्ट शैलीमा प्रहरीलाई अनुरोध गरिरहे पनि प्रहरीले अपहरण शैलीमा लछारपछार गरी सो व्यक्तिलाई भ्यानमा राख्यो । म छक्क परेँ देशमा शान्ति सुरक्षाका लागि खटिने प्रहरीको व्यवहार देखेर । कहीँ कतै निषेध र प्रतिबन्ध नगरिएको र सीसीटीभीसमेत जडान भएको त्यो घटनाको एक क्लिक (फोटो खिचाइ) लाई निहुँ बनाएर त्यस व्यक्तिलाई प्रहरीले गरेको त्यो व्यवहार र ज्यादतीको जति निन्दा गरे पनि कम हुन्छ ।
पछि एक फलफुल पसलेबाट थाहा भयो कि त्यही भ्यानमा स्थानीय तरकारी पसले र एक अर्को साधारण फलफुल व्यापारीको ढक–तराजु खोसेर जगाती प्रहरी चौकीमा लगेको रहेछ । भ्यानभित्र र चौकी पुगिसकेर पनि सबैलाई छाडा र अश्लील शब्दको प्रयोग गरी गालीगलौज, अदालतबाट प्रमाणित जघन्य अपराधीलाई भन्दा तल्लो स्तरको अमानवीय र छाडा व्यवहार गरेको रहेछ । ४ घण्टासम्म मानसिक यातना दिई अनावश्यकरूपमा प्रहरी चौकीको चार पर्खालभित्र प्रहरीहरूको घेरामा राखेको रहेछ । आफ्नै आँखाले देखेको र पीडितले सुनाएको यस प्रकारको प्रहरी कर्मचारीको ज्यादती, छाडा र अमानवीय व्यवहारका कारण समाजमा प्रहरी बर्दी र प्रहरी प्रशासनप्रति जनताको अविश्वास र नकारात्मक दृष्टिकोणको विकास भएको पाइन्छ । शान्ति सुरक्षा दिने प्रहरीबाटै गरिएको ज्यादती निन्दनीय छ । समयमै सम्बन्धित प्रहरी कर्मचारी, प्रहरी प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *