जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
संयुक्त राज्य अमेरिका आक्रामक देश हो, विश्वलाई आतङ्कित पार्ने देश हो । संयुक्त राज्य अमेरिका र उसको नेतृत्वमा धेरै देशमा आक्रमण गरिसकेको छ । सहर र गाउँ ध्वस्त पारेर लाखौँ मानिसको धनजनको क्षति बनाइएको छ, अन्ध अपाङ्ग बनाइएको छ । कैयौँ कलकारखाना, उद्योग, सरकारी तथा गैरसरकारी कार्यालय, पुल, सडक आदि खरानी पारिसकेको छ । अरू देशका राष्ट्रप्रमुखलाई विदेश धपाउने, फाँसी दिने, सत्ताच्युत गराउने काम साम्राज्यवादी अमेरिकाले गरिरहेको छ । आर्थिक नाकाबन्दी गरेर, कालोसूचीमा राखेर विभिन्न स्वाधीन र सार्वभौम देशलाई सङ्कट पार्ने, जनजीवनलाई समस्या पार्ने काम अमेरिकाले गरिरहेको छ । के यो संसारकै सबभन्दा शक्तिशाली, धनी, अस्त्रशस्त्रको भण्डार भएको ठान्ने अमेरिकी सरकारको प्रजातान्त्रिक कदम हो ?
प्रजातान्त्रिक देश ठान्ने, मानव अधिकारको वकालत गर्ने अमेरिका आफूभन्दा भिन्न विचारको प्रतिनिधित्व गर्ने, साम्राज्यवादी नीतिको विरोध गर्ने स–साना स्वाधीन देशमाथि हस्तक्षेप गरेर, आक्रमण गरेर किन दादागिरी देखाइरहेको हो ? अरू देशले गरेको प्रगति हेर्न नचाहने, प्रगति रोक्न दशकौँ वर्षदेखि नाकाबन्दी गर्ने, आफ्नो उठबसमा राख्न सेना र हतियार तैनाथ गर्ने अमेरिका संसारमा शान्ति छर्न, शान्ति कायम गर्न होइन आतङ्कित पार्दै छ, हमला गर्ने चेतावनी दिँदै छ । यसकारण, संयुक्त राज्य अमेरिका आतङ्ककारी देश हो ।
आफू बलवान, शक्तिशाली र सम्पन्न देशको रवाफ देखाएर अरू देशमा नाकाबन्दी गर्न पाइन्छ ? अरू देशलाई कालोसूचीमा राखेर उत्पादित सामानमा आयात निर्यात रोक्न पाइन्छ ? अमेरिकी सरकार संसारमा शान्ति चाहन्छ, मानव अधिकारको वकालत गर्न चाहन्छ, विकास गर्न चाहन्छ भने विभिन्न देशहरूमा तैनाथ गरिएका सेना या फौज फिर्ता लिनुपर्छ । अरू देशमाथि लगाइरहेको नाकाबन्दी फिर्ता लिनुपर्छ । आफूले आतङ्क मच्चाएर अरू देशमाथि लगाइएको आतङ्कारी आरोप र कालोसूची फिर्ता लिनुपर्छ । अरू देशको उत्पादित सामानमा रोक लगाउने, आयात–निर्यातमा बन्देज गर्ने काम रोक्नुपर्छ । अरू देशको विकास र जनजीवनमा असर पार्ने यस्ता गतिविधि नरोेकेसम्म अमेरिकालाई विश्वले एक्लो बनाउनुपर्छ, बेलायत, फ्रान्स, जापान, भारतजस्ता देशको साथ छोड्नुपर्छ ।
अमेरिकाले विश्वका मुलुकमा तनाव थोपर्ने होइन । विश्वमा आफ्नो देशलाई प्रजातान्त्रिक, मानव अधिकारवादी देशको रूपमा चिनाउने काम गर्ने हो । अमेरिकाको यस्तै दादागिरी र आतङ्कित पार्ने कामबाट विश्वमा शान्तिकामी र न्यायप्रेमी जनता चिढिएका हुन्, अमेरिकी शासक र मुलुकप्रतिको विश्वास र समर्थन कम हुँदै गएको हो । विश्वमा उदय भइरहेको चीनलाई घेर्ने, देश देशबीच जुधाएर चीनको विकास र प्रगति रोक्ने काम अमेरिकाले गरिरहेको छ । चीन विश्वको शक्तिशाली, सम्पन्न देश बने पनि अमेरिकाले झैँ संसारका स–साना देशलाई आतङ्कित पार्नेछैन, आक्रमण गर्नेछैन । बरु, चीनले अरू देशको विकास गर्न सहयोग गर्नेछ, साथ दिनेछ । चीनले गरिरहेको यो यथार्थ हो । अहिले विश्वका मुलुक र जनता सामन्त र पुँजीवादको विरोधमा समाजवादको पक्षमा लागिरहेका छन् । यो विश्वको लागि सकारात्मक पक्ष हो ।
Leave a Reply