भर्खरै :

रानीपोखरी पुनः निर्माण अन्तिम चरणमा

भक्तपुर, ७ असार । ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित पोखरी पुनःनिर्माणको पाँचौं एवम् अन्तिम चरणको कार्यको लागि बजेट पारित भई केही दिनमै सुरु गरिन लागेको वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिनुभएको छ ।
“नयाँ आर्थिक वर्ष २०७८÷७९ मा पोखरीको उद्घाटन गर्ने गरी पुनःनिर्माणको कामलाई अघि बढाइरहेका छौं”, खत्रीले भन्नुभयो ।
रानीपोखरीको बीचमा गत शुक्रबार २५ केजीको पित्तलको नाग प्रतिस्थापन गरिएको छ । पोखरीको ऐतिहासिक स्वरूपको अध्ययनअनुसार पोखरीको बीचमा नागको प्रतिमा थियो । सोहीबमोजिम हाल सो ५ फिट अग्लो नागको प्रतिमा स्थापन गरिएको हो ।
“पहिलेको नाग कहिले कता हरायो, हामीलाई जानकारी भएन । प्राविधिक रिपोर्टअनुसार पोखरीको बीचमा नाग रहेको भनेपछि अहिले नाग स्थापना गरेका छौं”, वडाध्यक्ष खत्रीले भन्नुभयो ।
पोखरीको बीचमा कायम रहेको चार फिटको काठको लथाममा १४¾१४ फिटको ८ फिटको काठको ठाममाथि सो नाग जडान गरिएको छ । पाटनमा बनाइएको नागको प्रतिमाको मूल्य १ लाख ५० हजार रूपैंया परेको खत्रीले बताउनुभयो ।
नागको जडानसँग पोखरी पुनःनिर्माणको चौथो चरण सकिएको छ । पुनःनिर्माणको पहिलो चरणअन्तर्गत घास उखेल्ने र पोखरीको वरपर सरसफाई गरिएको थियो । दोस्रो चरणमा पोखरीको चारैतिर पर्खाल र सबभन्दा माथिको पेटी निर्माण गरिएको थियो । तेस्रो चरणअन्तर्गत तल्लो डिलमा माटो भरिएको थियो । चौथौ चरणमा स्लोप पर्खालको निर्माण कार्य सम्पन्न भइसकेको छ ।
कुल एक करोड ६३ लाख ९३ हजार ३२१ रूपैंया ६० पैसा लागतमा बन्दै गरेको रानीपोखरी यसअघि लामो समयसम्म सैनिक विद्यालयको संरक्षणमा थियो । ऐतिहासिक महत्वको पोखरीमा भक्तपुरका धेरै स्थानीय बासिन्दाको कुल पुजा गर्ने परम्परा छ । काठमाडौंमा राजा प्रताप मल्लले बनाएको रानीपोखरीभन्दा उमेरले पुरानो भक्तपुरको रानीपोखरी यसअघि सर्वसाधारणको लागि बन्द थियो ।
नगरपालिकाले संरक्षण गरेसँगै सर्वसाधारण रानीपोखरीमा जान सक्ने बताइएको छ ।
रानीपोखरीसँग जोडिएको ऐतिहासिक होँहोँ पाटी पनि भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्ने भएको छ । मल्लकालमा परदेशबाट आएका पाहुनालाई नगरभित्र पस्न दिनुअघि राखिने पाटी भनी चर्चित पाटीमा गोरखाका राजकुमार पृथ्वीनारायण शाह भक्तपुर आउँदा नगर प्रवेश गर्नुअघि राखिएको इतिहासकारहरूले बताएका छन् । पाटी पुनःनिर्माणको लागि राजन कोजूको संयोजकत्वमा उपभोक्ता समिति गठन भएको छ । कुल ६५ लाखमा सो पाटी पुनःनिर्माण गर्न लागिएको हो । रानीपोखरीसँगै होँहोँ पाटीको पनि उद्घाटन गर्ने योजना रहेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *