भर्खरै :

ऐक्यबद्धताको सम्बन्ध

स्वास्थ्य सामग्रीको अभावले देशैभरिका स्वास्थ्य संस्था पिरोलिएको अवस्थामा नेपाल मजदुर किसान पार्टीले मित्रराष्ट्र चीनबाट प्राप्त स्वास्थ्य सामग्री देशका विभिन्न जिल्लाका सरकारी एवम् सामुदायिक स्वास्थ्य संस्थामा वितरण गरिरहेको छ । महामारी नियन्त्रणमा अग्रमोर्चामा लागेका स्वास्थ्यकर्मीहरूलाई समेत आवश्यक स्वास्थ्य सामग्रीको अपुग हुँदा बिरामीको उपचारमा समस्या परिरहेको छ । नेपाल सरकारले अझै पनि दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा पुग्दो परिमाणमा स्वास्थ्य सामग्रीको आपूर्ति गर्न सकेको छैन । कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरले नेपालका ग्रामीण क्षेत्रलाई अझ प्रभावित बनाएको छ । यस्तो परिस्थितिमा स्वास्थ्य सामग्रीको अभावको कारण दुर्गम क्षेत्रको स्वास्थ्य सेवा अझ खराब बनेको छ ।
प्यास लागेको बेला थोपा पानीको पनि महत्त्व भएजस्तै स्वास्थ्य सामग्रीको अभावको कारण आपत्मा परेका दुर्गमका स्वास्थ्य संस्थाहरूलाई केही हजार थान मास्कको पनि ठुलो महत्व हुन्छ । त्योभन्दा महत्वपूर्ण कुरा, नेमकिपाका प्रतिनिधिहरू अस्पताल र स्वास्थ्य चौकीको दैलोमै पुग्नुले महामारीको प्रतिकूलता सामना गरिरहेका स्वास्थ्यकर्मीहरूको हौसला बढाएको छ । यसले बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीहरूको तत्परता अझ बढाएको छ ।
छिमेकी मित्र देश चीनले नेपाली जनतालाई हालसम्म अठार लाख कोभिडप्रतिरोधी खोप सहायता गरेर कोभिड–१९ विरूद्ध नेपाली जनताको लडाईमा अतुलनीय सहयोग गरेको छ । त्यसका साथै अक्सिजन सिलिन्डरको अभावको समयमा विभिन्न माध्यमबाट चीनले हजारौं वटा सिलिन्डर सहायता पठायो । भेन्टिलेर, आईसीयु, अक्सिजन प्लान्ट आदि सहयोग गरेर नेपाली जनताको असजिलोमा सद्भाव प्रकट ग¥यो । कोभिड–१९ को पहिलो चरणको महामारीमा नेपाली जनतालाई त्यसरी नै स्वास्थ्य सामग्री सहायता पठाएर चीनले असल मित्रको परिचय दिएको थियो ।
चीनको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीमार्फत् नेपालका बा¥ह वटा राजनीतिक दलहरूलाई पनि यसरी नै स्वास्थ्य सामग्री सहायता गरेको छ । जेठ १२ गते चिकपा र नेपालका राजनीतिक दलहरूको अनलाइन बैठक बसेर चिनियाँ नेताहरूले नेपाली जनताको आलो घाउमा मल्हम लगाउन सहायताको हात बढाएको थियो । त्यही बैठकको भावनाअनुसार प्राप्त सहायता सामग्री नेमकिपाले जस्तै अन्य राजनीतिक दलहरूले पनि आफूलाई प्राप्त स्वास्थ्य सामग्री जनताको हितमा लगाएको हुनुपर्छ ।
चीन आफै पनि महामारीसँग अझै लडिरहेको छ । क्वाङचाओमा पछिल्लो समय देखिएको भाइरसको सङ्क्रमणविरूद्ध चीन आफै सजगताका साथ लडिरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चीनविरूद्ध चौतर्फी घेराबन्दीबीच महामारीलाई पराजित गर्दै अघि बढिरहेको चीनले नेपाल र संसारका अधिकांश विकासशील देशलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आएको छ । चीनको यस्तो सद्भावपूर्ण व्यवहारको कारण विकासशील देशका जनता चीनप्रति सकारात्मक बन्दै गएका छन् । तर, चीनको कामलाई आफ्नो छात्तीमा गडेको काँडा ठान्ने संसारका विकसित भनिएका देशहरू भने चीनको सहायतालाई अनेक बहानाबाजी र कारणमा रोक्न प्रयत्न गरिरहेका छन् ।
मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त सामग्री नेपाली जनतासम्म पु¥याउने मित्रवत कर्तव्य नेमकिपाले पुरा गर्दैछ । यसले चीनको कम्युनिस्ट पार्टी र नेमकिपाको बीचको मैत्रीपूर्ण सम्बन्धले नेपाली जनताको सेवा गरिरहेको प्रष्ट हुन्छ । जनताको सेवालाई नै आफ्नो अन्तिम लक्ष्य मानेका दुई राजनीतिक दलको सद्भावपूर्ण सम्बन्धले जनताको हित हुने वास्तविकतालाई नेमकिपा र चिकपाबीचको सम्बन्धले उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *