भर्खरै :

पुँजीवादी बजारशास्त्र र मानव स्वास्थ्य

 रोनाल्डोले कोकाकोला हटाएपछि
१४ जून २०२१ को एक पत्रकार सम्मेलनमा पोर्चुगलका फुटबल ॅस्टार’ क्रिस्टियानो रोनाल्डोले कार्बोनेटेड पेय पदार्थभन्दा पानी स्वास्थ्यबद्र्धक हुन्छ भन्ने सन्देश दिने गरी आफ्नोअगाडि राखिएको कोकको बोतल हटाएर पानीको बोतल उठाएपछि कोकाकोला कम्पनीको बजार मूल्यमा चार अर्ब डलरले ह्रास आयो । त्यसो त रोनाल्डोले उठाएर देखाएको पानीको बोतल पनि कोकाकोला निर्माता कम्पनीले नै बनाएको रहेछ । फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा रोनाल्डोका ५५ करोड फलोअर रहेको ॅद गार्जियन’ पत्रिकाले लेखेको छ । रोनाल्डोले सो व्यापारिक ब्रान्डका मालिकले के ठान्लान् भन्ने केही नसोची स्वास्थ्य सचेतना फैलाउन गरेको यो कदमबारे सकारात्मक टिप्पणी आएका छन्, त्यस पश्चात् स्वास्थ्य र खानपानको सम्बन्धबारे छलफल अगाडि बढेको छ, बहुप्रचारित यस्ता ॅपत्रु’ खानाबाट भइरहेको हानीबारे पनि बहस सघन हुन थालेको छ । नाफाको निम्ति मरिहत्ते गर्ने पुँजीवादी व्यापार नीतिको आलोचना छताछुल्ल भएर सतहमा आएको छ । कोकाकोलालगायत सयौँ बहुराष्ट्रिय कम्पनीहरूले विज्ञापनमार्फत कसरी मानिसको दिमाग ॅभुट्ने’ काम गरिरहेका छन् भन्ने कुराले पनि अर्थपूणर् स्थान पाएको छ । मानव स्वास्थ्यको निम्ति समर्पित यो सन्देश विश्वभरि फैलियोस् !
पुँजीवादी व्यापारशास्त्र
कोकाकोलाले अन्तर्राष्ट्रियस्तरका खेलकुदको प्रायोजक हुन करोडौँ डलर तिर्छ । सन् १८८६ मा स्थापना भएको कोकाकोलाले क्युवा र उत्तर कोरियाबाहेक विश्वका २ सत्र्न्दा बढी देशमा उत्पादन तथा बिक्री गरिरहेको छ । चार दशकअगाडि नेपालमा स्थापना गरिएको बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले २०७७ को दसैँंअघिका तीन महिनामा ४ अर्ब ४६ करोड रुपैयाँको कोकाकोला बिक्री गरे । कोभिडका कारण २०७६ मा भन्दा बिक्री घटे पनि बोटलर्स नेपाल बालाजुको नाफा बढेको रहेछ । बोटलर्स नेपाल लिमिटेडले ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच गरेको गत फागुनमा समाचार आएको हो । नेपालमा कोकको वार्षिक २० करोड अधिकको विज्ञापन कारोबार भएको र नेपाल बाहिरैबाट भुक्तानी भएको समाचार पनि सुनिएकै हो ।
आजभन्दा २ हजार वर्षअगाडि ग्रिक दार्शनिक एरिस्टटलले कसैलाई कुनै कुरामा राजी गराउन तीनवटा उपाय भएको उल्लेख गरेका थिए – इथोज, लोगोज र प्याथोज । यसलाई पुँजीवादी विश्वमा अलङ्कारशास्त्रअन्तर्गत पढाइँदो रहेछ । ॅइथोज’ लाई विश्वसनीयता जगाउन प्रयास गर्ने शैली भनिँदो रहेछ † बोल्ने, भन्ने, प्रस्तुत गर्ने, लेख्ने मान्छेको व्यक्तित्वबाट अरूलाई प्रभावित बनाउने कुरा सिकाइँदो रहेछ । यसलाई आफ्नो प्रचारलाई नैतिक बनाउने प्रयास गर्ने भनिँदो रहेछ । ॅप्याथोज’ को अर्थ मानिसको भावना (इमोसन) को माध्यमबाट प्रभावित पार्ने प्रयास गर्ने भन्ने हुँदो रहेछ । विज्ञापनबाट ज्ञानेन्द्रीय, स्मृति, स्मृतिदंश (नस्टाल्जिया) वा साझा अनुभवलाई सम्बोधन गर्न खोजिँदो रहेछ । त्यस्तै, ॅलोगोज’ को प्रयोग गरेर कारण र तर्कबाट वशीभूत गर भन्दो रहेछ । तथ्याङ्क, तथ्य, चार्ट वा ग्राफको माध्यमबाट मानिसलाई प्रभावमा पार्ने कुरा यसअन्र्तगत पर्छ नै । यिनै तीन कुरामा अडिएको पाइन्छ कुनै पनि पुँजीवादी उत्पादकको व्यापारको विस्तार ।
एक भारतीय टुथपेस्ट कम्पनीको विज्ञापनमा सो टुथपेस्ट ९० प्रतिशत दन्तचिकित्सकको सल्लाह रहेको उद्धृत गरिएको छ (इथोज), फ्लोरिनयुक्त भएकोले दाँत किराले खाँदैन (लोगोज) र देशको कच्चा पदार्थको प्रयोग गरिएको भन्ने (प्याथोज) प्रयोग गरिएको हुन्छ । नेपालमा पनि ॅसिलेब्रिटी’ हरू विज्ञापनमा छाइरहेका हुन्छन् । कुनै कम्पनीको उत्पादनको बजारीकरणमा ॅमिस नेपाल’ हरू पनि प्रयोग भएकै छन् । यसमा ध्यानाकर्षण गर्ने र विश्वसनीयता देखाउने उद्देश्य लुकेको हुन्छ । यहाँनिर डा. अरुणा उप्रेतीको ॅखाना खानु भो ?’ पुस्तकमा दन्त विशेषज्ञ डा. सुशील कोइरालालाई उद्धृत गर्दै लेखिएको एउटा अंश साभार गरौँ – “हामीले करिब दुई वर्षअघि विभिन्न किसिमका दाँत माझ्ने मञ्जनहरूको जाँच गरेर त्यसमा के के कुरा छन् भन्ने अध्ययन गरेर हेरेका थियाँै । त्यस अध्ययनअनुसार विभिन्न मन्जन उत्पादकहरूले आफ्नो उत्पादनमा समावेश गरिएको भनेर विभिन्न तत्वहरूका बारेमा उल्लेख गरिएको कुरा बढाइचढाइ गरेर लेखिएको पत्ता लागेको थियो ।”
नेपालका टेलिभिजनहरूमा छाएको अर्को विज्ञापन यस्तो छ – माउन्टेन ड्युको एउटा विज्ञापनमा सगरमाथाको अन्तिम चढाइमा पुगेका एकजना आरोहीले एउटा पुल भाँचिएको कारण आरोहण परित्याग गर्न खोज्दा अर्को आरोही माउन्टेन ड्यु पिउँछन् र आरोहणको लागि चाहिने एउटा पिक लिएर वारिबाट पारि हाम फाल्छन् । विज्ञापनको ॅथिम’ हो – ॅरिस्क लिएपछि नाम कमाइन्छ’ । हिमालमा बसेर चिसो पेय पदार्थ खानुजतिको अस्वाभाविक काम अरू के होला ¤ त्यस्तो चिसो पेय पदार्थ खाएपछि खतरा मोल्नसक्ने एनर्जी आउने हो र ? यस्ता काल्पनिक र हास्यास्पद दृश्यलाई इथोज, प्याथोज वा लोगोज केही पनि मान्न सकिँदैन ।
कोकाकोलाकै कुरा गर्दा ॅचिसो भनेकै कोकाकोला’ हो भन्ने दिमागमा पार्ने (माइन्डसेट) बनाउने काम विज्ञापनले गर्दछ । कुनै बेला काठमाडौँ महानगरपालिकासमेत कोकाकोलाको प्रायोजनमा ॅमेरो पौरख मेरो गौरव मेरो काठमाडौँ’ लेखिएको बोर्डमा कोकाकोला लेखेर प्रचार गर्दथ्यो । चुरोट खाएपछि छुट्टै आँट आउने दृश्य देखाएर उपभोक्तालाई अलमल्याउने काम पनि भयो । नशालु पदार्थको विज्ञापनमा पनि त्यस्तै उरन्ठेउला कुरा गरिएको हुन्छ । उपभोक्तालाई मूर्ख बनाएर नाफा कमाउने पुँजीवादी कम्पनीको विज्ञापन नीतिबारे धेरै जनता अनभिज्ञ नै छन् ।
कोकाकोलाको दुष्प्रभाव
प्राणीशास्त्रको स्नातकोत्तर तेस्रो वर्षका विद्यार्थीले पोषण विज्ञानका केही पाठ पढ्नुपर्छ । पोषण विज्ञानका ती पाठबारे छलफल थाल्नुका केही घण्टा अघि सामान्यत नेपाली संस्कृतिमा खानपान र आधुनिकताका नाममा आएका विकृतिबारे परिचर्चा गरिन्छ । ती कक्षाहरूमा खानपानबारेका अन्धधारणाबारे पनि छलफल हुन्छ । जङ्क फुडबारे प्रश्न सोध्दा विद्यार्थी पत्रु खाना ठिक नभएको तर खान मन लागिहाल्छ भन्छन् । चाउचाउ, बिस्कुट, कोल्ड ड्रिङ्क्स नियमित खाने विद्यार्थी पनि हुन्छन्, कारण अनेक हुनसक्छन् ।
कोकाकोला वा अन्य सफ्ट ड्रिङ्क्सकै कुरा गरौँ ¤ विभिन्न नामका यस्ता ॅचिसो पेय पदार्थ’ बजारमा प्रशस्त पाइन्छन् । नेपालमा गर्मी मौसममा यसको अत्यधिक प्रयोग भएको पाइन्छ । हरेक महिनामा अनेक चाडपर्व मनाउने नेवारहरूको घरमा जाँडरक्सी बनाउन छोडियो (यो राम्रो कुरा हो, जाँडरक्सीको लत ठिक होइन) तर यसको ठाउँ कार्बोनेटेड पेय पदार्थले लिन थालेको छ । प्रेसर, सुगर वा मुटुका रोगीलाई यस्ता खानेकुरा विष बराबर नै हुन्छन्, चाडपर्वकै बेला अस्पताल जानुपर्ने कारण पनि यस्तै हुन्छ ।
२५० एमएलको चिसो पेय पदार्थमा ३० ग्राम वा ६ चिया चम्चा बराबरको ऊर्जा हुँदो रहेछ । यस्ता पेय पदार्थ कार्बोनेटेड हुने भएकोले धेरै गुलियो अनुभव हुँदैन । ६ चिया चम्चा चिनीमा १०० क्यालोरी ऊर्जा हुँदो रहेछ र यति ऊर्जाले मानिसलाई डेढ किमी हिँड्न पुग्दो रहेछ । यस्ता पेय पदार्थ खाएको केही समयमै रगतमा ग्लुकोजको मात्रा बढ्छ । यसले गर्दा इन्सुलिन हर्मोन उत्पादनको निम्ति प्याङ्क्रियाजमाथि दबाब पर्न जान्छ । प्राकृतिक खानेकुरा खाँदा भने पाचनको क्रममा बिस्तारै मात्र रगतमा ग्लुकोज मिसिन जाने हुँदा प्यान्क्रियाजमाथि त्यस्तो दबाब पर्दैन । मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार इन्सुलिन उत्पादनमा दबाब पर्न जाँदा इन्सुलिन रेजिस्टेन्स सिन्ड्रोम देखापर्छ र भविष्यमा मेटाबोलिक सिन्ड्रोमको समस्या हुन्छ । यसबाट प्रेसर, सुगर, कलेस्टरलको समस्या आउँछ । प्रत्येक दिन यस्तो पेय पदार्थ खाने व्यक्तिमा यस्ता समस्या देखिने सम्भावना ५० प्रतिशतले बढी हुन्छ । विश्वभर मोटोपनको समस्याको कारण पनि यस्तै खानेकुरा भएको तथ्य विभिन्न अनुसन्धानबाट ज्ञात भएको छ ।
तेल पनि विष हुनसक्छ !
हिजोआज धेरैको चासोको विषय खाने तेल पनि भइरहेको छ । सञ्चारमाध्यममा तोरीका तेलका अनेक विज्ञापन आउँछन् । सेतो कोट लगाएका डाक्टरजस्ता मानिसले सिफारिस गरेको तेलको ब्रान्डको खोजी गर्ने नेपालीमा नयाँ चलन विकास भइरहेको छ । स्वास्थ्यको लागि कुन तेल उपयुक्त हुन्छ भन्नेबारे उपभोक्ताहरू पर्याप्त सचेत भएको देखिँदैन । तेलको आधारभूत विज्ञान नबुझ्दा पनि यस्तो अलमल भइरहेको छ ।
शरीरको निम्ति घिउतेल आवश्यक छ तर निश्चित मात्रामा । घिउतेल शरीरको चाहिने कलेस्टरलको स्रोत पनि हो । कलेस्टरलले शरीरका विभिन्न कोष निर्माणमा सहयोग गर्छ । घिउतेल आवश्यकताभन्दा बढी भयो भने मोटोपन बढ्छ । कलेस्टरल बढी भयो भने रक्तनलीको भित्तामा टाँसिएर रक्तचाप बढाउन सक्छ र हार्टअट्याक हुनसक्छ । धेरै चिल्लो खानेकुराले ग्य्रास्ट्राइटिस पनि गराउन सक्छ । घिउतेलमा विशेषतः दुई प्रकार हुन्छन् ः स्याच्युरेटेड र अनस्याच्युरेटेड । घिउ तथा बोसो स्याच्युरेटेडमा पर्छन् भने वनस्पतिका तेल अनस्याच्युरेटेडमा पर्छन् र यसलाई गुड कलेस्टरलको कोटीमा राखिन्छ । घिउतेलले शरीरलाई कार्वोहाइड्रेट (भात, रोटी, आलु आदि) भन्दा बढी क्यालोरी पनि दिन्छ । तेल धेरै तताउँदा विभिन्न रसायनिक परिवर्तन आई शरीरको निम्ति विष बन्न जान्छ । तेल डढेर धुवाँ आउने हुँदा (स्मोक प्वाइन्टमा पुग्दा) त्यसबाट अनेक विष (टक्सिन) निस्किन्छन् । तारेका खानेकुरा स्वास्थ्यको लागि ठिक हुँदैनन् । होटेल तथा खाजा पसलमा तेल पटकपटक तताई खानेकुरा बनाउने गरेको पाइन्छ, त्यो पनि हानिकारक छ । यसबाट क्यान्सरसमेत हुनसक्छ भनेर विशेषज्ञहरूले सावधान गराइरहेका छन् ।
आजकल किसानले पनि तोरी खेती गर्न छोडे । पहिले किसानका घरघरमा तोरी हुन्थ्यो, मिलमा गई तोरी पेलेर तेल ल्याई खाना पकाइन्थ्यो । प्याकेटको तेल चल्ती हुन थालेको दुईतीन दशकअगाडिदेखि मात्रै हो । तेलको प्रयोग कमै हुन्थ्यो । तरकारी वा मासु तेलमा झानेको सम्झना यो लेखकमा पनि ताजै छ । तोरीको तेलमा ओमेगा ३ नामको रसायन हुन्छ र यसको स्मोक प्वाइन्ट पनि बढी भएकोले खानको निम्ति राम्रो मानिन्छ । मुटुरोग विशेषज्ञहरू भन्छन् – “हिजोको अभ्यास नै राम्रो थियो । हिजोआज तेलको अत्यधिक प्रयोग वा दुरुपयोग भएको कारणले प्रेसर एवम् मुटुरोग बढेको हो ।”
विज्ञापनको जालमा केटाकेटी !
ॅहर्लिक्स मिलाएर बच्चालाई दिनुस् र बालबालिकाको बुद्धि बढाउछ ¤’ र ॅहर्लिक्स खुवाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ ¤’ भन्ने कुरा भ्रमको खेती नै हो । ॅबुस्ट इज आवर एनर्जी ¤’, बोर्नभिटाको विज्ञापनमा ॅतयारी जितको ¤’ भन्दै बोर्नभिटा खाँदा विजयी भइन्छ भ्रम छरिएको छ । चाउचाउ, कुरमुरे, लेजजस्ता पत्रु खानाले बालबालिकाको शारीरिक तथा मानसिक वृद्धिमा समेत नकारात्मक असर परिरहेको छ । तर, हामीले यही भ्रमलाई चिर्न नसकेर सालिन्दा करोडौँ रुपैयाँ बराबरका विदेशी खानेकुरा आयात गरेर खाइरहेका छौँ ।
डा. अरुणा उप्रेतीको ॅखाना खानु भो ?’ भन्ने पुस्तकमा यस्ता धेरै विषय समेटिएका छन् । “फलफुलको बास्ना र चिनी मिसाएर बनाएको रसलाई हामी साँच्चिकै फलफुलको रस भनेर पत्याउँछौँ, फलफुलकै रस हुन्थ्यो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफुलको रस ॅताजा’ रहिरहन सक्छ ?” डा. उप्रेतीले १०० ग्राम हर्लिक्समा पाइने कुनै तत्वलाई रु. ५० तिर्नुपर्छ तर यिनै तत्व पाइने खाद्य पदार्थ हामी रु.४ मा नै पाउन सक्छौँ भनी लेख्न थालेको करिब दुई दशक बितिसकेको छ तर उहाँको आवाज अझै दमित छ । यो शिक्षा चुलोचुलोमा पुग्न सकेको छैन । या भनौँ, जुन मात्रामा सञ्चारमाध्यमले एरिस्टटलको बुद्धि बेचिरहेका छन्, जति आक्रामक शैलीमा प्रचार भइरहेको छ, उप्रेतीहरूको आवाज भने त्यहीँ कतै हराइरहेको छ । सञ्चारमाध्यमहरूमा आक्कलझुक्कल आउने उहाँजस्ताका विचार तथा तर्क ओझेलमा परे पनि । अँध्यारोमा एउटै बत्तीको महत्व पनि कहिल्यै कम हुँदैन ।
अन्तमा,
अठारौँ शताब्दीको अन्त्यमा दासमोचन आन्दोलन चलेको बेलामा बेलायती नागरिकलाई दासले उत्पादन गरेका सामानहरू खरिद नगर्न प्रोत्साहन गरिएको थियो । लगभग तीन लाख मानिसले चिनी किन्न छाडेपछि दासप्र्रथा उन्मूलनका लागि सघन दबाब परेको थियो । हामीले अब त्यो किन नगर्ने ? रु राकस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *