‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
सोभियत सङ्घको खार्कोभ सहरबाट मस्को हुँदै हामी चार जनाको परिवार सीधा काठमाडौँ झ¥यौँ । प्रायः सोभियत सङ्घ पढ्न गएका विद्यार्थीहरू आफ्नो पढाइसकेपछि आफ्नो डिग्री सर्टिफिकेट, एक बाकस आफ्नो निजी लुगाफाटो र सके केही उपहारका सामानहरू एउटा सुटकेसमा राखेर फर्कन्थे । तर, मेरो चार जनाको परिवार नेपालमा विदेशी श्रीमती र दुई साना छोराहरू धान्नुपर्ने हुँदा आफूलाई चाहिने सामान मस्कोमा किनेर हामीले कार्गोमार्फत पठाएका थियौँ ।
साँखुमा इलेक्ट्रिक वासिङ्ग मेसिन सायद सबभन्दा पहिले हामीले ल्याएको होला । त्यस्तै रेफ्रिजेरेटर र कोठा बढार्ने भ्याकुम क्लिनर पनि मेरो गाउँ साँखुमा नौलो थियो । त्यसकारण, टोलभरका छिमेकी र केटाकेटीहरू हुलका हुल हाम्रो घरमा आएर गोरी अनुहारकी मेरी श्रीमती र विदेशीजस्ता देखिने दुई छोराहरूलाई हेर्न र कुरा गर्न आउँथे । श्रीमती भालेन्टिना एक शिक्षित र गुणी महिला थिइन् । उनको हृदय कोमल र खुला थियो । केही मनमा लोभलालच थिएन । उनी सुखसयलमा बस्नुपर्छ भन्ने मान्यता राख्दैनथे । हाम्रो साँखुको सयौँ वर्ष पुरानो नेवार शैलीको घरमा उनी रहरले बसिन् । उठ्दा उनलाई हाम्रो कोठा बुइँगलमा टाउको निहुराउनुपथ्र्यो । किनकि, उनी हामीभन्दा अलि अग्ली र हाम्रा कोठाका सिलिङ्गहरू होचा थिए ।
हाम्रो साधारण खाना दाल, भात, तरकारी र अचार पनि उनी मीठो मानेर खान्थिन् । हाम्रो घरमा बनाएको चामल र गहुँको जाँड पनि मीठो मानेर खान्थिन् । बच्चाहरू पनि यहाँको वातावरणमा सहजै हुर्के । ठूलो छोरा अलेक्जेन्डर ४ वर्षको थियो । त्यसकारण, ऊनी बाहिर गएर खेल्न सक्थ्यो । उसले टोलका साथीहरू बनायो । ऊ दिनभरि साथीहरूसँग टोलमा खेल्थ्यो, खेतबारी हेर्न जान्थ्यो, खोलामा नुहाउन जान्थ्यो । त्यसबेलासम्म हाम्रो साँखुमा बग्ने राजकुलो धेरै सफा सुग्घर थियो, स्वच्छ पानी बग्थ्यो । हामी सानो हुँदा त्यो कुलोको पानी मज्जाले खान्थ्यौँ र त्यहाँ नुहाउन पनि सकिन्थ्यो । तर, आजकाल त्यो ऐतिहासिक राजकुलो धेरै बिग्रिएको छ, जसले साँखुको हरेक टोल टोलको घरघरमा पानी पु¥याइदिन्थ्यो । त्यही कुलोमा बगेको पानी ‘नी लः’ (पवित्र पानी) भनेर घरमा ल्याई देउता पूजा गर्दथ्यौँ । त्यही कुलोमा नुहाउँथ्यौँ, लुगा धुन्थ्यौँ र त्यही कुलोको पानी लगेर घरघरमा चाडपर्वको लागि आवश्यक जाँड, रक्सी बनाउँथ्यौँ । त्यही कुलोको पानीले साँखुवासी आफ्ना प्रत्येक घरपछाडिको बारी बगैँचामा सिँचाइ गर्थे । तर, अहिले यी सबै कुरा इतिहास बने । कुलोमा एक त पानी बग्दैन र कहिलेकाहीँ बेला मौकामा कुलो सफा गरेर पानी ल्याए पनि खानयोग्य र नुहाउनयोग्य हुँदैन ।
हालसालै शंखरापुर नगरपालिकाले यस ऐतिहासिक कुलो मर्मत गर्न झन्डै साढे तीन करोडको बजेट छुट्याएको छ । यो एक राम्रो र सकारात्मक काम हो । २०७२ मा गएको महाभूकम्पपछि शंखरापुरमा अहिले जोडतोडका साथ निर्माण कार्य भइरहेको छ ।
सक्वमा चार ढोका बाहिर प्रसिद्ध शाली नदी बगेको छ । यो पवित्र नदी पनि ठाउँ–ठाउँमा पहिलेभन्दा अहिले धेरै साँगुरिएको छ । राजकुलो र शाली नदी मानव बस्ती बढ्दै गएपछि र विकासको नयाँ जीवन शैलीले गर्दा विस्तारै प्रदूषित हुँदै छ ।
आजकल घर–घरमा चर्पी बनाउने चलन आएको छ । त्यो राम्रो कुरा हो । शंखरापुरलाई खुला दिसामुक्त सहर घोषणा गरिएको छ । तर, ढल निकासको राम्रो र उचित व्यवस्था नभएको कारण धेरै घरधनीहरूले शौचालयको निकास उक्त राजकुलो र शाली नदीमा जोडेर फोहोर गर्न थालेका छन् । यो शंखरापुर नगरमा भइरहेको नराम्रो पक्ष नै भन्नुपर्छ । यसबाहेक शंखरापुर सहरको वरिपरिका पाखा पर्वतहरूमा जग्गा किनबेच तीव्रगतिमा भइरहेको छ । अन्नबाली राम्ररी नउब्जने पाखा पर्वतहरूमा सस्तोमा जग्गा किन्दै प्लटिङ्ग गर्दै गर्दा हरिया वन जङ्गलहरू मास्दै बालुवा माटो उत्खनन गर्दै साँखुको पुरानो अनुहार अहिले दिन प्रतिदिन कुरूप हुँदै गइरहेको छ । यो विडम्बनाको कुरा हो । स्थानीय जनताले यसको रोकथाम गर्न केही गर्न सकेका छैनन् । आगामी दस÷बीस वर्ष यसै तरिकाले साँखु वरिपरिका वन जङ्गल विनास गर्दै बालुवा गिट्टी झिक्दै जाने हो भने कुनै दिन शंखरापुर सक्वमा ठुलो प्राकृतिक प्रकोप नआउला भन्न सकिँदैन । यस्तो प्रकोप शंखरापुरको शिरमा रहेको हेलम्बु, मेलम्ची, तारामाराङ्ग आदि ठाउँमा भइरहेको छ ।
४०–४५ वर्षअघि हामी सोभियत सङ्घबाट फर्किँदा साँखुको अनुहार धेरै राम्रो थियो । चारैतिर हरियाली पाखा–पर्वत, हरिया राम्रा खेतबारी फाँटका फाँट थिए ।
विश्वका ठुलठुला सहरहरूमध्ये जनघनत्वले भरिएको एक प्रख्यात मस्को सहरबाट आएको भालेन्टिनालाई साँखुको खुला आकाश, वर्षै दिन घाम लाग्ने मौसम, चारैतिर हरियाली डाँडा, पाखा र प्रशस्त खुला नदीनाला अनि चारैतिर हरिया खेतबारी र साँखुको शिरमा रहेको बज्रयोगिनीको कलात्मक ऐतिहासिक मन्दिर र मन्दिर वरिपरि सल्लाका रुखले भरिएको वन जङ्गल धेरै रमाइलो लाग्थ्यो ।
बिहानभरि उनी मेरी दिदीबहिनीहरू र आमासँग मिलेर घरको काम गर्थिन् । आफूले रुसबाट ल्याएको इलेक्ट्रिक भ्याकुम क्लिनर प्रयोग गर्दै घरको सबै कोठा सफा गर्थिन् । कोठाका कुना काप्चामा रहेको धुलो र माकुराका जालोसमेत मेसिनले तानेर कोठा सफा गरेको देख्दा मेरा घरका परिवारमात्र होइन छिमेकीहरू पनि अचम्म मानेर हेर्न आउँथे । छिमेकी महिलाहरू ‘हाम्रो सक्व देश बांला ला ?’ भन्दै आधा नेपाली, आधा नेपालभाषा मिसाएर भालेन्टिनासँग जिस्किन्थिन् । भालेन्टिना आफूले सबै कुरा बुझेको जस्तै गरी ‘बांला बांला’ भन्थिन् । यस्तै तरिकाले स्थानीय महिलाहरूसँग र मेरै घरका दिदी बहिनी र आमाहरूसँग कुरा गर्दा गर्दै एक वर्षमा उनले राम्ररी नेवाः भाषा बोल्न सिकिन् । एकदिन म उनीसँग काठमाडौँ असनमा किनमेल गर्दै गर्दा एउटा पसलमा गएर उनले भनिन्, “साहुजी मुलु सुका दुला ?” पसले मेरो श्रीमतीको मुख हेरेर ट्वाल्ल पर्थे ।
Leave a Reply