भर्खरै :

चिकपाका दुई महत्वपूर्ण जोड

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो १०० औं स्थापना दिवस मनाउँदै गर्दा धेरै विषयसँगै चीनको नेतृत्वले जोड दिएका दुई विषय हुन्– कम्युनिस्ट पार्टी स्थापनाकालका मूल लक्ष्यमा अडिग रहनु र युवा पुस्तामा पार्टी पुस्तान्तरण । चीनको राजनीतिक र आर्थिक प्रणालीबारे बदनियत वा सद्भावना दुवै कोणबाट अनेक प्रश्नहरू उठिरहँदा चिकपाले स्थापनाकालीन लक्ष्यमा इमानदार रहने प्रतिबद्धतालाई जोड दिएर दोहो¥याउनु अर्थपूर्ण बनेको छ । बिहीबार पेइचिङको तेन आनमेन चोकमा आयोजित स्थापना दिवस समारोहमा चिकपाका महासचिव सी चिनफिङले पनि यो मुद्दालाई जोड दिनुभयो ।
माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक जगमा स्थापना भएको चिकपाको लक्ष्य समाजवाद हुँदै साम्यवादी समाज व्यवस्था स्थापना गर्नु हो । माक्र्सले समाजवादी व्यवस्थालाई पुँजीवाद र साम्यवादबीचको लामो ऐतिहासिक युगको रूपमा व्याख्या गर्नुभएको छ । यो युगले अनेकन बान्की लिने संसारको कम्युनिस्ट आन्दोलनको आजसम्मको अनुभवले पनि देखाइसकेको छ । सन् १९४९ अक्टोबर १ मा चीनमा नयाँ जनवादी व्यवस्था घोषणा भयो । विशेषतः चिकपाले सन् १९७८ मा सुधार र खुलापनको नीति अँगीकार गरे पछि समाजवादप्रति चिनियाँ नेतृत्वको इमानदारिताबारे पुँजीवादी खेमाबाट मात्र होइन, संसारका कम्युनिस्ट पार्टीहरूले समेत आशङ्का र प्रश्न उठाउन थाले । चीन वास्तवमै समाजवादतिर अघि बढ्छ वा सोभियत सङ्घजस्तै विघटनको दिशामा जान्छ भन्ने कुरा प्रश्न लामो समय छलफलको विषय बन्यो ।
तर, सन् १९७८ लाई नै समय सीमा कोर्ने हो भने पनि चीनमा कम्युनिस्ट पार्टीको नेतृत्व बिसर्जनतिर भन्दा विकास र उन्नतितिर नै अघि बढिरहेको देखिन्छ । राजनीतिक व्यवस्थामा उतारचढाव आउनु स्वाभाविक कुरा हो । तर, चिकपाको नेतृत्वले समाजवाद स्थापनाको निम्ति दोहो¥याएको प्रतिबद्धताले उसप्रतिका सन्देहहरूलाई छ्याँसेको देखिन्छ । चीन पुँजीवाद र अझ साम्राज्यवादमै पतन हुने हो कि भन्ने आशङ्कालाई चिकपाले १०० औं स्थापना दिवसको सन्दर्भमा व्यक्त प्रतिबद्धताले खण्डन गरेको छ ।
चिकपाले धेरै अघिबाट पुस्तान्तरणलाई जोड दिंदै आएको छ । तर, यसअघि भन्दा यतिबेला पुस्तान्तरणलाई दिइएको जोड महत्वपूर्ण छ । चीनमा आजको युवा जनसङ्ख्यामा विशेषतः सन् १९९० दशकमा जन्मेका युवकहरूको अधिकता छ । सन् १९९० यता चीनले धेरै कोणबाट फड्को मारिसकेको छ । यो अवधिमा चीन पश्चिमा देशहरूसँग सबभन्दा बढी अन्तरघुलन भएको अवधि हो । त्यही आधारमा कतिपय विश्लेषकहरूले चीनको नयाँ पुस्ताले चिकपाको शासनविरूद्ध विद्रोह गर्ने विश्लेषण गरेका थिए । तर, आज चीनलाई गहिराइमा बुझ्ने जो कोहीले चिनियाँ युवाहरूमा कम्युनिस्ट पार्टीप्रतिको आकर्षणले धेरैलाई चकित बनाएको छ । चीनमा युवाहरूको लागि कम्युनिस्ट पार्टीको सदस्य बन्नु जीवनकै ठुलो सपना साकार हुनु हो । चीनका युवाहरू चिकपाको सदस्य बनेर चीनको सपना साकार बनाउनमात्र होइन, संसारकै समृद्धि र न्यायको निम्ति योगदान गर्न उत्साहित छन् । चिकपाको सङ्गठन विभागले जारी गरेको तथ्याङ्कअनुसार पार्टीका ५० प्रतिशतभन्दा बढी सदस्यहरू युवा उमेरका छन् । यसले चीनमा क्रान्तिको निरन्तरतालाई सङ्केत गरेको छ ।
चीन जति शक्तिशाली बन्दै जानेछ, उसमाथि अवरोधका पहाडहरू त्यत्ति नै बढ्दै जानेछ । संसारमा युगौंदेखि आफ्नो प्रभुत्व जमाएर बसेका शक्तिहरूले चीनलाई सजिलै अघि बढ्न दिनेछैन । संसारमा साना र विकासशील देशहरूमाथि दोहनमा आधारित भएर समृद्धिको स्वाङमा रमाइरहेका देशहरूले पक्कै पनि चीनलाई सजिलै न्यायको किरण छर्न दिनेछैन । प्रतिरोध र प्रतिवाद कडा हुने निश्चित छ । यद्यपि चिकपाको समाजवादप्रतिको कटिबद्धता र नयाँ पुस्ताप्रतिको विश्वासले चीनलाई कमजोर बनाउन पनि पश्चिमा शक्तिलाई सहज नभएको प्रस्ट छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *