भर्खरै :

‘वेस्टमिनिस्टर प्रणाली’ नेपाल प्रतिकूल

हेटौँडा, १८ असार । बाग्मती प्रदेशसभाको बैठक शुक्रबार पनि भयो । बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज गोसाईले हरेक विपत्मा सहयोग पु¥याउँदै आएको चीनले जुलाई १ को दिन विश्वभरी नयाँ सन्देश दिएको चर्चा गर्नुभयो ।
नेपाली कामदार जनताको तर्फबाट सतवार्षिकी मनाइरहेको चिनियाँ कम्युनिस्ट पार्टीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले चीनले गरिबी उन्मूलन गरी मध्यमस्तरको आय भएको देशमा रूपान्तरण गर्न सफल हुनु उल्लेख्य उपलब्धि भएको विचार व्यक्त गर्नुभयो ।
सभासद् गोसाईले भन्नुभयो, “आजभन्दा तीस वर्ष अगाडि पुँजीपति वर्गले समाजवादी युग सदाका निम्ति अन्त्य भएको घोषणा गर्दै हर्षोल्लास मनाए पनि आज चीन र चिकपाले समाजवाद अझ नयाँ तयारीका साथ अगाडि बढेको सन्देश दिनु सबैका निम्ति उत्साहको विषय भएको छ ।”
संसारले यतिखेर शोषणमा आधारित पुँजीवादी व्यवस्थाको विकल्प खोज्दै छ भन्दै प्रदेश सभासद् गोसाईले ‘वेस्टमिनिस्टर प्रणाली’ व्यापक जनताको पक्षमा नभएको बरू चीनले अवलम्बन गरेको राजनीतिक प्रणाली उपयुक्त भएको पुष्टि हुँदै गएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “चीनले समाजवादको रक्षा गर्दै समाजवादमा जनताको भविष्य उज्ज्वल हुन्छ भन्ने सन्देश विश्वलाई दिँदै छ । चीनको सफलता तथा उपलब्धि नेपाली र विश्वका कामदार जनताका निम्ति गौरवको विषय हो ।”
बाग्मती प्रदेशका विभिन्न जिल्लामा देखिएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबारे धारणा राख्दै प्रदेश सभासद् गोसाईले भन्नुभयो, “कोभिड महामारीले आक्रान्त जनता खोप नपाएर आत्तिएका जनता फेरि अर्को विपत्तिको चपेटामा परेका छन् । यस्तो विपत्तिमा नै सरकार आवश्यक हुन्छ । अरू सामान्य अवस्थामा साधारण जनता आफ्नो निम्ति आफै केही गर्न तयार छन् ।”
उहाँले अगाडि भन्नुभयो, “बस्ती बसाल्दा, सडक निर्माण या कुनै पनि भौतिक निर्माण गर्दा भूगर्भविद् तथा प्राविधिकहरूसँग आवश्यक छलफल तथा सहयोग लिएरमात्र गर्नुपर्ने शिक्षा लिन नसके मेलम्चीजस्ता घटना दोहोरिनेछन् ।”
उहाँले जोड दिँदै भन्नुभयो, “विपत्तिमा सरकारको उपस्थिति आवश्यक छ । प्रदेश सरकार हेटौँडामा सुती बस्ने होइन हेलम्बु छिट्टै पुगोस् ।”
बाग्मती प्रदेशसभामा सरकारको बजेट वक्तव्यमाथि छलफल चालु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *