भर्खरै :

नाटो ! तिमीलाई एसियामा स्वागत छैन

प्रशान्त महासागरलाई एटलान्टिक मोर्चाको विध्वंसात्मक सैनिकवादी संस्कृतिको खाँचो छैन ।
केही साताअघि ब्रसेल्समा भएको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को बैठकमा केही खतरनाक कुरा भएका छन् । बैठकपछि जून १४ मा जारी वक्तव्यमा ‘मोर्चा(नाटो)को सुरक्षा’ को लागि चीन ‘प्रणालीगत खतरा’ भएको उल्लेख छ ।
वक्तव्यको अन्तरनिहीत सन्देश प्रस्ट छः नाटोले आफ्नो क्षेत्राधिकार एटलान्टिक महासागरबाट प्रशान्त महासागरसम्म विस्तार गर्न खोज्दै छ । प्रशान्त महासागर नजिक बस्ने विशेषतः हामी पूर्वी एसियालीहरूको निम्ति यो निकै चिन्ताको विषय भएको छ । यदि प्रशान्त महासागरमा नाटो आउनुको अर्थ हामी समस्यामा फस्नु हो । किन ? यसका तीन कारण छन् ।
पहिलो, नाटो भूराजनीतिमा आधारित सङ्गठन होइन । शीतयुद्धमा युरोपतिर सोभियत सङ्घको विस्तार रोकेर त्यसले बेजोड काम ग¥यो । शीतयुद्धमा नाटो सजग र सावधान थियो । त्यत्तिबेला सैनिक क्षेत्रको विस्तार गर्दै नाटोले प्रत्यक्ष सैनिक द्वन्द्व टार्न खोज्थ्यो ।
तीस वर्षअघि शीतयुद्ध समाप्त भयो । सिद्धान्ततः ‘आफ्नो लक्ष्य पूरा भएपछि’ नाटो खारेज हुनुपथ्र्यो । तर, व्यवहारमा उसले नयाँ–नयाँ लक्ष्यको खोजी गरिरहेको छ । नयाँ लक्ष्यको खोजी गर्ने क्रममा नाटोले युरोपमा अस्थिरता निम्त्याएको छ ।
यस सन्दर्भमा एउटा स्मरणीय कुरा के हो भने कुनै बेला रुस र नाटोको सम्बन्ध निकै राम्रो थियो । उनीहरूबीचको सम्बन्ध यति सुमधुर थियो कि सन् १९९४ मा नाटो, अन्य युरोपेली देश र पूर्व सोभियत देशहरूबीच आपसमा विश्वास बढाउने उद्देश्यसहित ‘शान्तिको लागि साझेदारी’ मा रुसले औपचारिकरूपमा हस्ताक्षर गरेको थियो । तर, पछि अवस्था बिग्रँदै गयो किनभने रुसले आफ्नो ‘करेसाबारी’ मा नयाँ सदस्य नबनाउन बारम्बार गरेको आग्रहलाई नाटोले अस्वीकार ग¥यो । सन् २००८ को अप्रिलमा बुचारेस्टमा आयोजित नाटो शिखर सम्मेलनमा जर्जिया र युक्रेनलाई नाटोको सदस्य दिएर उसले रुसको आग्रहलाई लत्यायो ।
संरा अमेरिकाका राजनीतिक टिप्पणीकार टम फ्रेडमानले भनेका थिए,“भविष्यका इतिहासकारहरूले एउटा कुरा पक्कै याद गर्नेछन् । त्यो कुरा हो–सन् १९९० दशकको उत्तर्राद्र्धमा संरा अमेरिकी विदेश नीतिमा कल्पनशीलताको चरम गरिबी । यो शताब्दीको सबभन्दा दूरगामी प्रभाव पार्ने घटना सन् १९८९ देखि १९९२ मा भएको उनीहरूले हेक्का राख्नेछन् । त्यो घटना थियो– सोभियत साम्राज्यको अन्त्य । धन्य, पश्चिमा सङ्कल्प र रुसी प्रजातन्त्रवादीहरूको हिम्मत । एउटा गोली पनि नचली सोभियत साम्राज्य ढल्यो, प्रजातान्त्रिक रुसको उदय भयो । पूर्व सोभियत गणराज्यहरू स्वतन्त्र भए । संरा अमेरिकासँग अभूतपूर्व हतियार नियन्त्रण सम्झौता भयो । तर, अमेरिकाको प्रतिक्रिया कस्ता रह्यो ? उसले रुसविरुद्ध नाटोका शीतयुद्धकालीन मोर्चालाई विस्तार गरेर रुसको सीमा नजिक ल्यायो ।”
परिणाम अवश्यम्भावी थियो । शीतयुद्ध समाप्त भएपछि रुसले नाटो देशहरूका साथी बन्ने प्रयास ग¥यो । रुसको यो प्रयासलाई नाटोको विस्तारवादले थप्पड हान्यो । धेरै पश्चिमा सञ्चारमाध्यमहरूले रुसलाई ‘आक्रामक र हिंस्रक खेलाडी’ को रूपमा चित्रण गर्ने गरेका छन् । नाटोका गतिविधिले पनि यस्तै प्रतिक्रया आउने कुरा उनीहरूले बिर्सेका छन् ।
खासमा खतरनाक घटना त सन् २०१४ मा सार्वजनिक भयो । युक्रेनमा रुसपक्षधर राष्ट्रपति भिक्टर यानुकोवीचलाई पश्चिमा समर्थक प्रदर्शनकारीहरूले विस्थापित गरेर नाटोले त्यहाँ अतिक्रमण गर्न खोज्यो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लागि त्यो (युक्रेन) सहाराको अन्तिम त्यान्द्रो थियो । त्यसपछि रुसले आफूले सांस्कृतिक केन्द्रभूमि मान्दै आएको क्रिमियामाथि कब्जा जमायो ।
युक्रेनमाथि पश्चिमा विस्तारवादको खतरा सर्वविदित थियो । डा. हेनरी केस्सिङ्गरले ‘युक्रेनियालीहरू जटिल इतिहास र बहुभाषिक बनोटमा बस्ने’ गर्छन् भनी औँल्याएका छन् । “स्तालिन र हिटलरको सम्बन्ध बिग्रेको परिस्थितिमा सन् १९३९ मा युक्रेनको पश्चिम खण्ड सोभियत सङ्घको मातहतमा समावेश गरियो । ६० प्रतिशत रुसीमूलका जनता बस्ने क्रिमिया सन् १९५४ मा युक्रेनको हिस्सा बन्यो । जन्मले युक्रेनी मूलका निकिता खु्रश्चेभले रुस र कज्जाकबीच सम्झौता भएको ३ सय वर्ष पुगेको अवसर पारेर क्रिमिया युक्रेनलाई उपहार दिए । युक्रेनको पश्चिम भागमा मुख्यतः क्याथोलिकहरू छन् । पूर्वी भाग रुसी अर्थोडक्स धर्मावलम्बी छन् । पश्चिमका अधिकांश जनता युक्रेनी भाषा बोल्छन् भने पूर्वमा अधिकांश जनता रुसी भाषा बोल्छन् । युक्रेनभित्रका विभिन्न भागको कुनै एउटा पक्षले अर्को पक्षमाथि दमन गर्ने प्रयास भए त्यसको परिणाम गृहयुद्ध वा विखण्डन हुनेछ । युक्रेनका पूर्व–पश्चिमबीच द्वन्द्वको हिस्साको रूपमा युक्रेनलाई लिँदा दशकौँसम्म रुस र पश्चिम विशेषतः रुस र युरोपलाई सहकार्यको अन्तर्राष्ट्रिय प्रणालीमा ल्याउने सम्भावना पछि धकेलिन्छ ।”
दुःखद कुरा, सन् २०१४ यता युक्रेन विभाजित भयो । यदि नाटोले ठुलो भूराजनीतिक संयम देखाएको भए यो समस्या टार्न सकिन्थ्यो ।
शीतयुद्धपछि नाटोको दोस्रो प्रमुख कमजोरीलाई जनाउन एउटा पुरानो उखान सम्झौँ–यदि तिमीसँग हथौडा छ भने सबै समस्याको समाधान तिमीले किल्लामा देख्न थाल्नेछौ ।
रोचक कुरा के हो भने शीतयुद्धको समयमा नाटोले विदेशी देशहरूमा निकै थोरै बम खसाल्यो भने शीतयुद्धको अन्त्ययता नाटोले धेरै देशमा ठुलो परिमाणमा बम खसाल्यो । सन् १९९९ को मार्चदेखि जूनसम्ममा नाटोले पूर्व युगोस्लाभियामा गरेको वमबारीको कारण ५ सय सर्वसाधारणले ज्यान गुमाएको बताइन्छ । सन् २०१० को ‘थुङ्गा हतियार सन्धि सम्झौता’ (कन्भेन्सन अन क्लस्टर म्युनिसन ट्रिटी) अनुसार हतियार थुङ्गा बनाएर प्रयोग गर्नु अवैध भए पनि नाटोले हजारौँ थुङ्गा बम हमला गरेको थियो ।
सन् २०११ मा लिवियामाथि नाटोले हवाई हमला ग¥यो । नाटोले त्यहाँ ७ हजार ७ सय बम हमला ग¥यो । ७० जनाभन्दा बढी सर्वसाधारणको हत्या भयो ।
अन्तर्राष्ट्रिय कानुनअनुसार ती अधिकांश बमबारी गैरकानुनी थिए । सन् १९९९ मा म ओटावामा क्यानाडाका एकजना पूर्वकूटनीतिज्ञको घरमा रात्रीकालीन खाना खाँदै गर्दा नाटोले युगोस्लाभियाली सेनामाथि हमला गर्ने निर्णय गरेको म सम्झन्छु । मसँगै रहनुभएका क्यानाडाका पूर्वकूटनीतिज्ञ यो समाचार सुनेर निकै चिन्तित बन्नुभएको थियो । सैनिक हमला न त आत्मरक्षाको लागि थियो न संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को अनुमति प्राप्त थियो । यो पूर्णतः अन्तर्राष्ट्रिय कानुनअनुसार अवैध थियो ।
युगोस्लाभियाको लागि अन्तर्राष्ट्रिय अपराधिक अदालतका पूर्व विशेष न्यायाधीश कार्ला डेल पोन्टेले पूर्वी युगोस्लाभियामा नाटोले युद्ध अपराध गरेको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान गर्न चाहेका थिए । युगोस्लाभियामाथिको हमला अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको अधिकांश नाटो देशहरूलाई थाहा भएर पनि डेल पोन्टेमाथि उनीहरूले यति राजनीतिक दबाब दिए, उनले त्यो अनुसन्धान अघि बढाउन नै सकेनन् ।
सबभन्दा खराब कुरा त के हो भने नाटोले प्रायशः सैनिक हमला थाल्ने गर्छ तर त्यो हमलाले पारेका विध्वंसकारी परिणामबाट भने ऊ भाग्ने गर्छ । यसको सबभन्दा ज्वलन्त उदाहरण हो–लिविया । मुअम्मर गद्दाफीलाई लिवियाबाट सत्ताच्युत गरेपछि नाटो देशहरू खुसीले गद्गद् भए । तथापि, समयान्तरमा लिविया विभाजित बन्यो र गृहयुद्धमा फस्यो । नाटो भने त्यही बेला त्यहाँबाट खुसुक्क निस्कियो । धेरै वर्षअघि संरा अमेरिकाका विवेकवान पूर्व विदेश सचिव कोलेन पावलले काँचको पसलमा प्रायशः सुनिने चेतावनी– ‘केही फुटे त्यसको जिम्मेवारी तिम्रो हुनेछ’ कै शैलीमा नाटोलाई त्यस्ता सैनिक हस्तक्षेप नगर्न चेतावनी दिएका थिए । नाटो भने त्यो जिम्मेवारी बहन गर्नबाट च्युत भयो ।
यसबाट अर्को तेस्रो खतरा निम्त्याएको छः आसियानको सहायतामा पूर्वी एसियाले निकै सजगतापूर्वक र गतिशील भूराजनीतिक संस्कृतिको विकास गरेको छ । शीतयुद्ध समाप्त भएको ३० वर्षमा नाटोले धेरै देशमा हजारौँ बमवारी गरेको छ । त्यही समयमा पूर्वी एसियाको कुनै पनि देशमा भने एउटा पनि बम खसेको छैन ।
त्यही भएर नाटोलाई प्रशान्त क्षेत्रबाट एटलान्टिक क्षेत्रमा विस्तार गर्ने कुरा हाम्रो लागि ठुलो खतराको विषय बनेको छ । नाटोको क्षेत्र विस्तार गर्ने योजनाले पूर्वी एसियाको तुलनात्मकरूपमा शान्तिपूर्ण वातावरणमा विध्वंसकारी सैनिक संस्कृति निर्यात हुनसक्ने सम्भावना बढेको छ ।
खासमा नाटो विवेकवान, चिन्तनशील र सिक्न उत्सुक सङ्गठन भए उसले पूर्वी एसियाका तथ्याङ्क र अवस्थाबारे अध्ययन गर्नुपर्छ । विशेषतः शान्तिको संरक्षणको निम्ति आसियानले गरेका कामबारे उसले ध्यान पु¥याउनुपर्छ । अनि त्यसबाट पाठ सिक्नुपर्छ । तर, नाटोले भने गर्नुपर्ने कामभन्दा ठीकविपरीत काम गरिरहेको छ । फलतः पूर्वी एसियामा खतराको घण्टी बजेको छ ।
नाटोको सम्भावित विस्तारवादी संस्कृतिमार्फत पूर्वी एसियामा जोखिमलाई नियाल्दा सम्पूर्ण पूर्वी एसियाले एकै स्वरमा बोल्ने बेला भएको छ–नाटो ! हामीलाई तिम्रो कुनै खाँचो छैन ।
(लेखक सिङ्गापुर विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः द स्ट्रेट टाइम्स
नेपाली अनुवादः सुमन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *