भर्खरै :

कोरोना भाइरस ठगी गर्ने माध्यम !

नोबेल कोरोना भाइरस अर्थात् सार्स कोभ–२ को महामारीले सङ्क्रमित हुनेको सङ्ख्या झन्डै २० करोड पुगिसकेको छ र ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघिसकेको छ । कोभिड–१९ विश्वकै लागि एक त्रासदी बनिसकेको छ । वैज्ञानिक विधिबाट महामारीलाई नियन्त्रण गर्ने विश्वव्यापी प्रयास चालु नै छ । विभिन्न देश र कम्पनीहरूले कोरोनाविरोधी खोप निर्माण र उत्पादन गरिरहेका छन् तर ती खोप विश्वका धनी र शक्तिशाली देशहरूले कब्जा गरेका छन् । गरिब र विकासोन्मुख देशहरू भने खोपको अभावमा लाचारजस्तै छन् । गरिब र विकासोनमुख देशमा अब कोरोना उपचारको बहानामा सर्वसाधारण जनतालाई ठग्ने कार्य हुन थालेको छ ।
कोरोनाको उपचारका नाममा भारतका बदनाम योगगुरु रामदेवको कम्पनीले कोरोनिल नामक औषधि बजारमा ल्याएको थियो । तर, कोभिड–१९ सङ्क्रमितको उपचारमा त्यसको कुनै उपयोगिता सावित नभएको भारतीय चिकित्सक युनियनले केही हप्तापहिले जनाएको थियो । अहिले पनि नयाँ नयाँ औषधि र उपकरण बजारमा आइरहेका छन् । देशका ब्रोडशिटका समाचार पत्रहरूका पहिलो पृष्ठमा कोरोना गार्डको विज्ञापन छाएको छ । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गर्नुभएको हो । डा. अधिकारीका अनुसार विज्ञापनमा गरिएजस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ, अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *