भर्खरै :

केरालामा अहिले किन बढ्यो सङ्क्रमण ?

केराला, २८ अगस्ट । भारतको केराला राज्यमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको सन्दर्भमा त्यहाँका मुख्यमन्त्री तथा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का नेता पिनारायी विजयनले महामारी व्यवस्थापनमा आफ्नो सरकारले गरिरहेका कामको प्रतिरक्षा गरेका छन् ।
“कोभिड रोकथाममा केराला मोडल गलत हो भने भन्नुस् हामीले कुन मोडल पछ्याउने ?”, भाकपा (माक्र्सवादी)को साप्ताहिक पत्रिका ‘चिन्था’ मा प्रकाशित लेखमा उनले भने, “केरालामा कोही पनि व्यक्ति अक्सिजनको अभावमा मर्नुपरेको छैन । कोही पनि व्यक्तिलाई चिकित्सकीय सहायता वा अस्पतालको शय्याबाट वञ्चित गरिएको छैन ।” केरालामा लगातार तीन दिन दैनिक तीस हजारको सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । शुक्रबारमात्र त्यहाँ २४ घण्टाको अन्तरालमा ३२ हजार ८०१ जना बढेको छ । त्यहाँ पोजिटिभ आउनेको दर १९.२२ प्रतिशत छ । हालसम्म कोरोनाको कारण त्यहाँ १७९ जनाको निधन भइसकेको छ ।
केरालाको अहिलेको सङ्क्रमण दर भारतका अन्य राज्यको तुलनामा सबभन्दा बढी छ । भारतको कुल सङ्क्रमणमध्ये केरालाको हिस्सेदारी हाल ६५ प्रतिशतभन्दा बढी छ ।
मुख्यमन्त्री विजयनले अन्य राज्यका जनताको तुलनामा केरालाका मानिसमा यसअघि कोरोना भइनसकेको हुनाले अहिले सङ्क्रमण दर बढेको बताए । “त्यही कारण अहिले धेरै मानिसलाई सङ्क्रमणको उच्च जोखिम छ”, उनले भने ।
“केराला सरकारको आलोचना गर्ने मानिसलाई के थाहा छैन भने भारतका अन्य ठाउँको तुलनामा केरालामा दोस्रो लहर तुलनात्मकरूपमा ढिलोमात्र फैलिएको थियो । सङ्क्रमण फैलिन सक्ने सम्भावना भएका मानिसहरू केरालामा बढी छन्”, उनले लेखेका छन् ।
उनले रगतमा जीवाणुको आधारमा गरिने मापन (सिरोप्रिभलेन्स) अध्ययनको आधारमा केरालामा भाइरसबाट सबभन्दा कम मानिसहरू सङ्क्रमित भएको बताए  ।
गत महिना भारतको काउन्सिल अफ मेडिकल रिसर्चले गरेको अध्ययनले केरालामा सबभन्दा न्यून सिरोप्रिभलेन्स पाइएको थियो । केरालाको सिरोप्रिभलेन्स ४४.४ प्रतिशतमात्र थियो ।
यस आधारमा केरालाका ५० प्रतिशतभन्दा बढी मानिस अझै पनि भाइरसबाट सङ्क्रमित हुनसक्ने देखिन्छ ।
विजयनले आफ्नो लेखमा कोभिड–१९ बाट जोगिने सबभन्दा प्रभावकारी माध्यम भनेको खोपको पूर्ण मात्रा लगाउनुभएको बताए । खोप पुग्दो मात्रामा उपलब्ध गराउने जिम्मेवारी केन्द्र सरकारको भएको उनको भनाइ छ ।
तर, केन्द्र सरकार सबै कुरा लुकाएर सर्वसाधारणमा भ्रम सिर्जना गर्न लागिपरेको छ । विजयनले भने, “महामारीविरूद्ध जनताले सरकारलाई गरेको मद्दतलाई न्यूनाड्ढन गर्ने प्रयास हो यो ।” यसैबीच केरालाका स्वास्थ्य मन्त्री वीणा जर्जले अझै पनि कोभिड–१९ व्यवस्थापनमा केराला उदाहरणीय राज्य भएको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *