भर्खरै :

एसियामा युद्धको सम्भावना चपेटामा पर्न सक्छ नेपाल

अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरू भन्छन्– दुई वटा विश्वयुद्ध झेलिसकेको पश्चिमा शक्ति अबको तेस्रो विश्वयुद्ध एसियामा थोपर्न खोजिरहेको छ । विश्व राजनीतिका पछिल्लो घटनाक्रमले यो विश्लेषणलाई प्रमाणित गर्न खोजिरहेको छ । सन् २००१ सेप्टेम्बर ११ मा संरा अमेरिकामाथि भएको हमलापछि दुई दशक ‘आतङ्कवादविरोधी युद्ध’ मा व्यतीत गरेको संरा अमेरिका भने अहिले संसारमा आफ्नो गुम्दै गएको प्रभुत्व पुनः बलियो बनाउने र सो क्रममा तगारो बन्न आउनसक्ने शक्तिलाई ठेगान लगाउने दौडमा लागेको देखिंदै छ । सोभियत सङ्घ विघटनपछि संरा अमेरिका नेतृत्वको पश्चिमा शक्तिले संसारमा एकछत्र राज ग¥यो । उनीहरूले इच्छाएअनुसार नै संसारको नक्सा कोरियो । तर, पश्चिमा शक्तिहरू मध्यपूर्व र उत्तर अफ्रिकामा ‘प्रजातन्त्र निर्यात’ गर्न व्यवस्था परिवर्तन र प्राकृतिक स्रोत कब्जाको दलदलमा फस्दै गर्दा एसियाली देशहरूले हासिल गरेको आर्थिक विकासबाट आज उनीहरू झस्केका छन् । युद्धको दौडमा लाग्दै गर्दा आफ्नो राजनीतिक, आर्थिक र सांस्कृतिक प्रभुत्व कमजोर बन्दै गएको देख्दा उनीहरूको निद्रा भङ्ग भएको छ ।
एसियाली देशहरूमध्ये चीनको उदय उनीहरूको लागि अस्वीकार्य बन्दै छ । पश्चिमा शक्तिभन्दा भिन्न राजनीतिक, सैद्धान्तिक र सांस्कृतिक मूल्य बोकेको देश चीन आफ्नो प्रतिस्पर्धामा आएको उनीहरूले स्वीकार्न सकेका छैनन् । त्यसकारण, उनीहरू अहिले आफ्नो सम्पूर्ण शक्ति एसिया, अझ विशेषतः चीन वरपर केन्द्रित गर्दै छन् । पश्चिमा देशहरूले चीन वरपर विभिन्न सुरक्षा र सैन्य रणनीति बनाएर चीनलाई घेराबन्दीको प्रयास गरिरहेका छन् । दक्षिण चीन सागर वरपरका देशहरूलाई चीनविरुद्ध भड्काएर त्यो क्षेत्रलाई चीनमाथि हान्ने आधार बनाउने प्रयास भइरहेको छ । पूर्वी एसियाली देशहरूलाई चीनविरुद्ध मोर्चाबन्दी गर्ने प्रयासस्वरूप क्वाड, अउकसजस्ता क्षेत्रीय सङ्गठनहरूमार्फत संरा अमेरिकाले सो क्षेत्रमा अस्थिरता निम्त्याएर चीनलाई द्वन्द्वमा फसाउने प्रयत्न लगातार गरिरहेको छ । एसियाली देशहरूलाई आपसमा भिडाएर आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न संरा अमेरिकाले भारत, नेपाललगायतका देशमा विभिन्न षड्यन्त्रका पासो फाल्ने क्रम जारी छ । भारत–चीन सीमा विवाद, भारत सरकारद्वारा चिनियाँ सामाजिक सञ्जालमाथिको रोक, चिनियाँ सामानमाथि कडाइ यसका उदाहरण हुन् भने नेपालमा पनि एमसीसी सम्झौता र उत्तरी सिमानामा कृत्रिम विवाद यही अन्तर्राष्ट्रिय जालझेलको विस्तारित रूप हो ।
अर्कोतिर चीनभित्रै उपद्रव निम्त्याएर अस्थिर परिस्थिति बनाउने जालसाजी पनि चालु छ । बेलायतले शताब्दी लामो शासन चलाएको हङकङ र मूलभूमि चीनमा कम्युनिस्ट पार्टी सत्तासीन भएपछि सुरक्षाको लागि भागेका चीनका पूर्वशासकहरूको आश्रयस्थल ताइवानलाई चीनमा अस्थिरता फैलाउने आधार बनाउने प्रयास पनि चालु छ । तिब्बत र सिन्च्याङबारे अनावश्यक र झूटा प्रचारबाजी गरेर उपद्रव र अस्थिरता जन्माउने पश्चिमा प्रयास पनि अझै उही गतिमा अघि बढिरहेको छ । चीनको आर्थिक उदयलाई रोक्ने विश्वशक्तिको यस्ता रणनीतिले अन्ततः संसारलाई अर्को ठूलो द्वन्द्वतिर धकेल्नेछ । प्राकृतिक विपत्तिले संसारभर पिरोलिरहेको अवस्थामा शक्ति देशहरूको यस्तो उपलब्धिहीन प्रतिस्पर्धाले मानव सभ्यतालाई अझ पछि धकेल्नेछ ।
नेपाल चीनको छिमेकी देश हो । चीनलाई लक्षित गरी भइरहेका साम्राज्यवादी जालझेलको प्रत्यक्ष प्रभाव नेपालले पनि भोग्नुपर्ने हुन्छ । युरोपमा भएको महायुद्धले त नेपाललाई प्रभावित बनायो भने दैलोमै हुने लडाइँले नेपाललाई ठूलो सङ्कटमा धकेल्नेछ । तसर्थ, नेपालले पश्चिमा साम्राज्यवादको हस्तक्षेपकारी गतिविधिको विरोधको गर्नुको अर्थ कुनै देशको पक्ष वा विपक्षमा लाग्नुभन्दा पनि मुख्यतः नेपाललाई शक्ति सङ्घर्षको चपेटाबाट जोगाउनु पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *