भर्खरै :

भक्तपुर नपाको ध्यानाकर्षण होस्

‘ल हेर तिम्रो नपाको चिट्ठी’ भन्दै एक परिचितले केही दिन अगाडि एक पत्र तेस्र्याए ।
‘किन, नपा तिम्रो होइन ? नपा त सबैको साझा स्थानीय सरकार हो नि !’ भन्दै चिट्ठी लिएर हेरेँ ।
पत्रमा नपाले एक भेलाको लागि निमन्त्रणा गरेको रहेछ । तर, केही शब्द र वाक्य अमिल्दो थियो ।
पत्र पढेपछि नौ धार्नी चाकु खाएर पनि चाकुको स्वाद थाहा नपाएको उखान सम्झेँ । चिट्ठी टाइप गर्दा गर्दै धेरै वर्ष पार गरिसके पनि नपाका केही कर्मचारीले आफूलाई योग्य नबनाएको बुझ्न गाह्रो भएन । अशुद्ध र अमिल्दो टाइपमात्र गर्दै रिटायर्ड हुने उमेरमा पुगे पनि सिकारु टाइपिस्टकै स्तरमा हुनु अलि पचाउन गाह्रै कुरा हो ।
भक्तपुर नपाले सबै क्षेत्रमा राम्रै गरिरहेको छ । ज्ञानबहादुर दाइदेखि सुनिल दाइसम्म आइपुग्दा नपा र नगरवासी भेरै लाभान्वित भएका छन् । स्थानीय सरकार भनेको यस्तो हुनुपर्छ भनी प्रशंसा पनि गरेका छन् । तर पनि मनमा लागेका केही कुरा पोख्न मन लागेको छ ।
ढुङ्गा छपाइ
अहिले नपाले जताततै बाटोमा ढुङ्गा छाप्न लागेको छ । थप सफा देखिएको छ । तर, बटुवालाई हिँड्न अप्ठ्यारो बढेको छ । हिजो इँटा छाप्दा पानी पासमा पनि हिँड्न सकिन्थ्यो । अहिले पानी पासको गहिराइ बढाउँदा सतह धेरै मिलेन, पानी पासको ढलोमा चिप्लिएर हिँड्न गाह्रो भयो । मोटर आउँदा छेउ लाग्न पनि पसलको पेटी चढ्नुपर्ने अवस्था आयो । पसलेले पेटीमा सामान राख्न नछोड्दा बटुवालाई परेको मर्कातर्फ नपाको ध्यान पुगेन कि ¤
यसबाहेक सबैतिर ढुङ्गा छाप्दा जमिनले पानी सोस्न पाउँदैन र भूमिगत पानीको सतह अझैँ घट्न सक्छ । अनि मेलम्ची सम्झँदै झन् काकाकुल बन्ने हो कि ¤
मर्निङ्वाक
सिद्ध,कमल र भाज्या पोखरीमा मर्निङ वाक गर्नेहरूको ताँती छ । तर, सिद्ध र कमलपोखरी जति सफा छ भाज्या पोखरी त्यतिकै फोहोर छ । रानीपोखरीको पुनः निर्माण गरिरहेको छ, भाज्या पोखरी पनि । लाखौँ लाख रकम लगानी भइरहेको भाज्या पोखरमिा ५–७ जना ज्यामी लगाएर इँटा बिछ्याइएको पेटी र डील सफा नगराउनुु, हिलोको आहालमा घाँस उमार्नुको तात्पर्य पटक्कै बुझिएन । के झारपात उमार्न पनि इँटा बिछ्याउनुपर्छ ?
शौचालय
नपाले ठाउँठाउँमा शौचालयहरू बनाएर धेरै राम्रो काम गरेको छ । तर, निषेधाज्ञाको बेला सबै शौचालयहरूमा तालाबन्दी हुँदा विशेषगरी पिसाबका रोगीहरूले खानु सास्ती खाए । निषेधाज्ञामा ‘शौच निषेध’ पनि भनिएको थियो र ?
लेखा फाँट
नपाको लेखाफाँट धेरै गुनासो हुनेमध्यको एक शाखा हो । नपाको बजेट ५०–६० करोडबाट बढ्दै झन्डै दुई अर्ब पुग्यो । तर, त्यति धेरै रकम खर्च गर्ने सक्षम कर्मचारीको अभाव देखिन्छ । त्यसैले प्रक्रिया मिलेको खर्चको भुक्तानी गर्न पनि हप्तौँ हप्ता लाग्छ । यसले योग्यता पुगेको भए पनि क्षमता नपुगेका कर्मचारीको कारण बढी गुनासो आएको हुनुपर्छ । नपाबाट भुक्तानीको काम पनि तदारुकताका साथ हुनुपर्ने देखिन्छ ।
‘सिस्टमले लिँदैन’
नपाका धेरै काम अहिले कम्प्युटराइज्ड भएको छ । समयानुकूल त्यस बन्दोबस्तले सेवा प्रदायक र सेवाग्राहीलाई सहजतामा, छिटोछरितोमा धेरै सरल भएको छ । तर, कतिपय वडा सचिवहरू आफूले नबुझ्दा, ज्ञान नहुँदा, नजान्दा सजिलै ‘सिस्टमले लिँदैन’ भनेर काम पन्छाउने गर्छन् । आफ्नो अयोग्यता र अक्षमतालाई विचरा ‘इमानदार नोकर’ (कम्प्युटर) लाई दोषभागी बनाउँछन् । सिस्टम चलाउन सिस्टम बुझ्न सक्षम व्यक्ति पनि आवश्यक हुन्छ तब जनताको सेवा पर्फेक्ट ढङ्गले हुन्छ ।
जाँचकी
अल्छी जाँचकी र मापाको कानुनी शाखाको तालमेलले हजारौँ घर बनाउनेहरू पीडित छन् । पास भएको नक्साअनुसार घर बनाउन चाहनेमध्ये धेरैलाई घर बनाउने ठेकेदार र डकर्मीहरूले अप्ठ्यारोमा पारेका छन् । ठेकेदार वा डकर्मीले नक्साभन्दा यो फरक पारे घर बलियो हुन्छ, राम्रो हुन्छ भन्छन् र घरधनी फस्छन् । यदि जाँचकीहरू निरन्तर अनुगमनमा आए सोध्न पनि मिल्थ्यो, उसले पनि देख्थ्यो र निर्माणकार्य सहीरूपमा अगाडि बढ्थ्यो । तर, घर बनाउञ्जेल नाक मुख नदेखिने जाँचकी धुरी राख्ने बेला आएर यो मिलेन, त्यो मिलेन भन्दै प्रतिवेदन दिन्छ र कानुनी शाखाले जरिवाना गर्छ । नमिलेको भनिएको कुरा भत्काएर बनाउन सम्भव नभएपछि जरिवाना तिर्नुको विकल्प नै भएन । यस्तोमा ‘सांस्कृतिक नगर’को कुरा भाषणको विषयमात्र हुन्छ । त्यसैले, निर्माणाधीन घरलाई आइसीयू र भेन्टिलेटरमा राखिएको बिरामीलाई झैँ जाँचकीहरूलाई सघनरूपमा निरीक्षण गराउनुपर्छ तबमात्र नक्साभन्दा फरक निर्माण हुँदैन वा साह्रै कम हुन्छ ।
कर्मचारी
बेलाबखत नपा कार्यालयमा जाँदा विभिन्न शाखाबाट सेवाग्राहीहरू भुतभुताउँदै, जङ्गिँदै, सराप्दै निस्केको धेरैले अनुभव गरेका छन् । त्यहाँका कर्मचारीले सेवाग्राहीलाई अनाहकमा दुःख दिएको तिनीहरूको गुनासो छ । कर्मचारीले दुःख दिएको हो वा सेवाग्राहीलाई कुरा बुझाउन नसकेको हो अथवा सेवाग्राहीले गलत काम गराउन नसकेकोले रिसाएको हो थाहा नभए पनि सेवाग्राहीप्रति कर्मचारीको व्यवहार सुशासन अनुकूल नभएको गुनासो धेरै सुनिन्छ । परन्तु, भक्तपुर नपाको कोभिड युनिटका कर्मचारीको व्यवहार र सन्तुलित भएकोमा प्रशंसाबाहेक अन्य पढ्न पाइएको छैन । यसलाई धेरैले एउटै नपाको दुईथरीका कर्मचारी भन्न थालेका छन् । सबै कर्मचारी प्रशंसायोग्य बनोस् र बनाओस्– यही अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *