क्युवाको पुनः कब्जा
- जेष्ठ २९, २०८३
(नन्दराज श्रेष्ठको पुस्तक ‘इन द नेम अफ डिभेलपमेन्टः अ रिफ्लेक्सन अन नेपाल’ बाट भावानुवाद ।)
सम्भ्रान्तहरूले स्वदेशको विकास नहुँदासम्म सादा जीवन अँगाल्न नसकेको हुँदा उपभोक्तावादी संस्कृतिमा टेवा पुगेको छ र भड्किलो जीवनशैली जनताको आदर्श बन्न पुगेको हो ।
फोहोरा दरबार नेपालको मध्ययुगीन सहर काठमाडाँैको छातीमा अवस्थित गजबको सानो अमेरिका हो । यो दरबार आधुनिकताको लहर फैलाउन रूचाउँछ । यस दरबारको हाताभित्र स्थापित सामाजिक माहोल पश्चिमा आधुनिकताको भव्य प्रतीक हो, अमेरिकी रचना हो । नेपालमा यो एक बलियो अमेरिकी गढ हो भन्नेमा कुनै विवाद छैन ।
फोहोरा दरबार इँटाको पर्खालले घेरेको पुरानो र भव्य राणा दरबार हो । हरेक हिसाबले यो एउटा किल्ला हो । किल्ला भएकैले यसले अमेरिकी सुरक्षाचेत र नेपालीहरूसँगको सामाजिक दूरी झल्काउँछ । यसको सामाजिक पाटोले मलाई भारतको पहाडी भेगमा बेलायतीहरूले बनाएको ‘आरामदायी ससानो बेलायत’ को सम्झना गराउँछ । अध्येता केनीको विचारमा यस्तै आनन्दलोकले सामाजिक र जातीय (racial) विभेद झल्काउँछ, विभेद मजबुत बनाउँछ तथा शासक र शासितहरूबीच प्राकृतिक रेखाजस्तो कोर्छ । यस्तै पहाडी आरामगृह वा हिलस्टेसनको सुरक्षा हातामा बसेर बेलायतीहरूले समथर भूभागमा बस्ने ‘असभ्य र नीच’ रैथाने भारतीयहरूबाट आफूलाई पर राख्थे । रैथानेहरूसँग सामाजिक दूरीमा बस्ने मामिलामा बेलायती साम्राज्य र आधुनिक अमेरिका उस्तै देखिन्छन् । नेपालमा बस्ने अमेरिकीहरूका लागि फोहोरा दरबारमा सुन्दर अमेरिका झल्काउने अनेक बिम्बहरू छन् । यो दरबार आफैमा अमेरिका बाहिरको ससानो अमेरिका थियो ।
दरबारको ढोकैमा कथित लडाकु जातिका अर्थात् गोर्खाली पहरेदारहरू सावधान मुद्रामा खटिएका हुन्छन् । मेरो विचारमा यी पहरेदारहरूमध्ये धेरैजना भारतीय वा बेलायती सेनाका अवकाश प्राप्त सैनिक हुन् । रैथानेहरूबाट यो सानो अमेरिकाको सुरक्षा गर्न तिनलाई काममा राखिएको हुन्छ । अनुहारमा मुस्कान चप्काएर तिनीहरू गेटमा बस्छन् । हाताभित्र पस्ने प्रत्येक गोरो अनुहारलाई सलाम ठोक्छन् । गोरो छाला देखेपछि तिनले उनीहरूको परिचय पत्र जाँच्ने झन्झट पनि गर्दैनन् । गोरो छाला नै उनीहरू वैध हुन् र उनीहरूले अमेरिकी शुद्धता बिटुल्याउँदैनन् र अमेरिकी सुरक्षामाथि विपत्ति निम्त्याउँदैनन् भन्ने प्रमाण बन्छ । यहाँ छालाको रङ बिक्छ र त्यसले व्यक्तिको चरित्र र मानवताको परिचय दिन्छ । ती पहरेदारहरूले अमेरिकीहरूको सेवा गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । आफ्नो नोकरीको बारेमा कुरा गर्दा जहिल्यै उनीहरूको अनुहार उज्यालो हुन्छ । त्यसमा खोक्रो आडम्बरको गन्ध हुन्छ ।
राजदरबारको अगाडि ठडिएको फोहोरा दरबार ससानो अमेरिकी बस्ती हो । त्यहाँ बस्नेहरूमा धेरैजसो कूटनीतिक र विकास कोर अनि तिनका जहानहरू हुन्छन् । यो बस्ती अमेरिकी सम्पन्नता, सांस्कृतिक रमझम र अन्य मूल्यमान्यताले झकिझकाउ छ । प्रवेशद्वारमा अमेरिकी तालुखुइले चिलको चिह्न झुन्ड्याइएको छैन । तैपनि, यो फुच्चे अमेरिकी बस्तीको पर्खाल नै हो भन्नेमा भ्रम हुन सक्दैन । किनभने, यहाँ सधैँ अमेरिकीहरू आउजाउ गरिरहेको दृश्य देखिन्छ । अमेरिकीहरूले नबोलाएसम्म, कुनै अनुमतिपत्र नपाएसम्म वा यहाँभित्र नोकरी नगर्दासम्म कुनै नेपालीलाई यहाँ पस्न दिइन्न । संरा अमेरिकामा खेलकुद, खाजाघरलगायतका सुविधासहितका आरामगृहहरू हुन्छन् । फोहोरा दरबार पस्नु भनेको त्यस्तै आरामगृह पस्नु हो । यहाँ ह्यामबर्गर, हट डग, पिज्जा, फ्रेन्च फ्राइ, आइस क्रिमजस्ता अमेरिकी परिकारहरू पाइन्छन् । अमेरिकीहरू खेल खेल्न, अमेरिकी परिकारको स्वाद लिन अनि मानिसहरूसँग हेलमेल र गफगाफ गर्न यस दरबारमा गइरहन्छन् । तिनीहरू चुटकिला सुन्ने र भन्ने गर्छन् । अक्सर नेपाली जनता र नेपाली संस्कृति तिनको चुटकिलाको निसानामा पर्छन् । दरबार बसिबियाँलो गर्ने गतिलो केन्द्र हो ¤ त्यसभित्र अमेरिकीहरूले घरमै भएजस्तो महसुस गर्छन् । अमेरिकी आनन्द र विलासको चमकधमकले फुलेल हुन्छन् । वास्तवमा अमेरिकामा भन्दा पनि बढी प्रसन्न, नम्र र आज्ञाकारी नेपाली सेवक वा नोकरले तिनको सेवा गर्छन् । औँला उठाउँदाबित्तिकै तिनले नेपाली सेवकलाई हाजिर पाउन सक्छन् । कुनै अधम अमेरिकीले जतिसुकै रुखो व्यवहार गरे पनि कुनै सेवकले गुनासो गरेको वा ‘झोँक’ (attitude) देखाएको मैले कहिल्यै भेटिन ।
त्यो सानो अमेरिकामा घुमघाम गर्नु अनि हुकुमी र अधिनस्थबीचको, अमेरिकी (विदेशी) र नेपाली (स्वदेशी) बीचको शक्ति सम्बन्धको सजीव नाटक हेर्नु काइदाको अनुभव हो । मैले कहिल्यै पश्चिमा उपनिवेशी शासनको क्रुरता, पाशविकता वा अभद्रता व्यक्तिगतरूपमा भोगेको त छैन, तैपनि त्यस दरबारभित्रको हुकुमी र आश्रितबीचको सम्बन्ध र उपनिवेशी शासनमा पाइने अनेक यस्ता सम्बन्धहरूबीच गजबको समानता भेटिन्छ । त्यस फुच्चे अमेरिकी उपनिवेशमा पस्दा प्रत्येकचोटि मैले यो रतुवा नाटक सजीव पाएँ । फोहोरा दरबारभित्रको त्यो फुच्चे अमेरिका अमेरिकी रोबरवाफको अग्लो स्मारकमात्र होइन, बरु नेपाल र नेपाली नागरिकमाथिको अमेरिकाको जातीय, सामाजिक र आर्थिक दबदबा पनि हो । यो अमेरिकी खेतखलियानमा देखिने उत्पीडनकारी मानसिकता र दृश्यको झलक हो ।
दरबारमा पस्दा मैले सधैँ नेपालीहरूका दुई समूह देखेँ । पहिलो कोटीका नेपालीहरू सेवकहरूको जत्था थियो । तिनीहरू शारीरिक कामकाज गर्थे र टेनिस बलजस्तै अरूको औँलाको इसारामा यतादेखि उतासम्म दौडिरहन्थे । दोस्रो कोटीका नेपालीहरू मुठ्ठीभर खेलाडीहरू थिए । तिनीहरू काठमाडाँैका अब्बल टेनिस खेलाडीहरू थिए । तिनलाई अमेरिकीहरूले टेनिस खेल्न वा आफ्ना छोराछोरीलाई टेनिस सिकाउन दरबारभित्र बोलाएका हुन्थे । ती खेलाडीहरूले अमेरिकी नागरिकताले विभूषित गरेझैँ इज्जत पाएका देखिन्थे भने सेवकहरूलाई अमेरिकीहरू र तिनका जहानले उति वास्ता गर्दैनथे । केही अमेरिकीहरू नेपाली सेवकहरूप्रति बडप्पनको भावना राख्थे । तिनलाई नोकरचाकरको झुन्डको रूपमा व्यवहार गर्थे । तैपनि, त्यस कोलोनीमा सेवक र खेलाडी गरी दुवैथरी नेपालीहरूले अलिकति अपमान र आक्रोश महसुस गरेझैँ लाग्थ्यो । आफ्नै माटोमा दोस्रो दर्जाको व्यवहार पाउँदा तिनीहरू चिढिए वा रिसाए पनि त्यो कुरा उनीहरूको अनुहारमा झल्किन्थेन । तिनीहरूले आफ्नो रिस प्रकट गर्दैनथे । अमेरिकीहरूको लागि वा उनीहरूको नजिक बसेर काम गर्ने लोभलाग्दो अवसर पाएकोमा तिनीहरू खुसी देखिन्थे, अरू नेपालीहरूभन्दा आफू माथि भएकोमा मख्ख पर्थे । तिनीहरू आफूले वरदान पाएझैँ ठान्थे । तिनले साधारण नेपाली घरेलु मजदुरले पाउनेभन्दा दोब्बर पारिश्रमिक पाउँथे । यो कहालीलाग्दो नाटक र उपनिवेशी संस्कृति र दबदबाको खुला प्रदर्शन देखेर मलाई अप्ठ्यारो लाग्थ्यो । तैपनि अपमान पचाउँदै र आफ्नो गरिमा र तिक्तता निल्दै म त्यस कोलोनीमा अमेरिकी साथीहरू भेट्न गइरहेँ । सन् १९७९ सेप्टेम्बरमा भेटेका ती साथीहरूले म नेपाल फर्केपछि मलाई त्यहाँ बोलाइरहन्थे । त्यो एउटा पेचिलो अनुभव थियो, विडम्बना र पाखण्डले भरिएको, रिसराग र लाजले भरिएको । त्यस दरबारबाट बाहिरिँदा मैले हरेकचोटि आफूलाई गुमाएको र अल्झिएको पाउँथेँ । नेपालमै जन्मेहुर्केको तर अमेरिकी जीवनशैलीमा अभ्यस्त हुनाले म वास्तवमा कहाँको हुँ, पर्खालभित्रको हुँ कि नेपालीजनसँगै बाहिरको हुँ भनी टुङ्गो लगाउन सक्दिनथेँ ।
कहिलेकाहीँ मलाई अबदेखि त्यस दरबारमा पस्दिन भन्ने झोँक चल्थ्यो । मलाई आफ्नो गरिमा र आत्मसम्मान निल्न साँच्चै गाह्रो हुन्थ्यो । सानैदेखि मैले कहिल्यै त्यसो गरेको थिइन । अरूको दया र दुव्र्यवहार भोग्नुभन्दा कैयौँ दिन भोकभोकै बस्न राम्रो लाग्थ्यो । अमेरिकी शक्तिको खेलमा ती सबै नेपालीले मजाले चाकरको भूमिका खेलिरहेको दृश्य नदेखेझैँ गर्न गा¥हो थियो । कुनै उपनिवेशका नोकर वा कमाराहरूसरह कुकुरलाई जस्तै व्यवहार गर्दा पनि मेरा नेपाली बन्धुहरूले सदा मुसुमुसु हाँसेको हेर्दा चित्त दुख्थ्यो । कसैले नबोलाएमा वा कुनै अमेरिकी साथ नलागेसम्म त्यस दरबारमा सजिलै पस्न पाउँदिन र आफ्नै देशको एक कुनामा मलाई स्वागत गरिन्न भन्ने कुराले गिरेको अनुभूति हुन्थ्यो । त्यो महाउपनिवेशी सांस्कृतिक नाटकको दर्शक र आज्ञाकारी अभिनेता बन्न धेरै चीज गुमाउनुपथ्र्यो । तर, त्यसको उत्तेजना र तेजलाई दबाउन सक्ने सामथ्र्य र साहसको ममा अभाव थियो । म ह्यामबर्गर र गिलासभर चिसो बियर पिउन त्यहाँ आफूखुसी जान्थेँ । अहिले पनि मलाई त्यसबारेमा लेख्न अप्ठ्यारो लागिरहेको छ किनभने म अहिले संरा अमेरिकाको बासिन्दा हुँ र त्यसले दिने भौतिक जीवनको म एक सेवाग्राही हुँ । म सामाजिक वास्तविकता र विकासका मुद्दाहरूको विद्यार्थी हुँ । यस मानेमा पाखण्ड र अनमेलहरूलाई एकातिर राखेर हेर्ने हो भने नेपाली र अमेरिकी सांस्कृतिक मूल्यमा आधाआधी डुबेको व्यक्तिको रूपमा मैले देखेभोगेका कुरालाई बेवास्ता गर्न सक्दिनँ । यी वास्तविकताबारे मेरो विचार र अनुभूतिलाई नपोखिरहन सक्दिनँ । तिनलाई नदेखेझैँ गरेँ भने मैले आफ्नै वैभव र अन्तरमनलाई धोका दिएझैँ हुनेछ, नेपाली मानवतालाई लत्याएझैँ हुनेछ । जे भए पनि यिनै वास्तविकताहरूले नेपालको भाग्य र भावी लेखा प्रतिबिम्बित गर्छन् ।
तीतोपिरो भोगे पनि धेरैचोटि फोहोरा दरबार घुम्ने मौका पाएकोमा म खुसी छु । किनभने त्यो अनुभवले मलाई आफूबारे, नेपालको विकासको परनिर्भरताको प्रकृतिबारे र अमेरिकी र अन्य पश्चिमाहरूसामु फतक्क हुने नेपाली सम्भ्रान्तहरूबारे मलाई धेरैथोक सिकायो । त्यसले मलाई विदेशी सहयोग र पश्चिमा जातिवादबीचको लगनगाँठो र रैथानेहरूबीच औपनिवेशिक मनोवृत्ति जन्माउन र जन्माइरहन त्यस गाँठोले खेल्ने भूमिकाबारे सिकायो ।
पर्खालभित्र र बाहिर कति फरक सामाजिक माहोल थियो, झन्डै दिन र रातजस्तो ¤ अमेरिका र नेपाल एक पाइलाको दूरीमा थिए । बीचमा खालि एउटा इँटाको पर्खाल थियो । दरबारभित्र को छ र बाहिर को छ भन्ने कुराले मात्र फरक पथ्र्यो । भित्र अमेरिका थियो, नाक फुलाउँदै अमेरिकीहरूले भन्ने गरेको ‘सभ्य संसार’ थियो । दरबारभन्दा एक पाइला बाहिर नेपाल थियो । फोहोरा दरबारको अमेरिकी चित्रणको कोणबाट असभ्य संसार थियो । अमेरिकालाई आफू जहाँ गए पनि ससानो अमेरिका कसरी बनाउने भन्ने थाहा छ । केही चुनिएका व्यक्तिबाहेक आफूलाई कसरी रैथानेहरूबाट अलग राख्ने भन्ने कुरा थाहा छ ।
सन् १९८० को एक दिन म अमेरिकी साथी पाउलसँगै फोहोरा दरबारमा थिएँ । ऊ ख्यालठट्टा गरिरहन्थ्यो र नेपालका गाउँले जनता र संस्कृतिमा गम्भीर चासो राख्थ्यो । तिनताक पाउलले नेपालको एउटा कलेजमा ग्रामीण विकास पढाइरहेको थियो । नजिकको साथी हो ऊ । उसको लगन र गम्भीर शैलीको म प्रशंसक हुँ । १९७९–८० तिर अनुसन्धान कार्यमा उसले मलाई सघाएको थियो । हामी दरबारमा बियर पिउँदै र अनेक विषयमा गफगाफ गर्दै थियौँ । त्यति नै बेला नेपालमा यूएसएड (USAID) विकास परियोजनाको प्रकृतिबारे उसले मलाई एउटा कथा सुनायो । रैथाने गाई र अमेरिकी साँढे यस कथाका पात्र हुन् ।
नेपाली गाईहरू सामान्यतया सानो जीउडालका हुन्छन् र थोरै दूध दिन्छन् । एक दिन एउटा दारूपानी पार्टीमा दुईचार यूएसएड विकास परामर्शदाताले नेपाली गाईहरूको दूध उत्पादन बढाउने विचार गरे । उनीहरूले अमेरिकी पशुविद्लाई स्थिति बुझ्न र राय दिन डाक्ने निधो गरे । दैनिक २५० डलर र काठमाडाँैको एउटा पाँचतारे होटलमा बस्ने सुविधा दिएर एकजना सल्लाहकारलाई झिकाइयो । अलिकति जाँचबुझ र नजिकैको गाउँको भ्रमणपछि विज्ञले युएसएडले स्थानीय गाईहरूसँग क्रस गराउन केही अमेरिकी साँढेहरू झिकाउनुपर्ने बतायो । उसको तार्किक निष्कर्षले ढुक्क भएपछि यूएसएड विकास सल्लाहकारहरूले अमेरिकी साँढेहरू आयात गर्ने आवश्यक तारतम्य मिलाए । छिट्टै नेपालमा पहिलो अमेरिकी साँढे आयो । त्यसलाई गाउँमा लगियो र आफ्ना गाईहरूलाई साँढे लगाउन गाउँलेहरूलाई निम्तो दिइयो । साँढे राखिएको एउटा तारबारभित्र गाईहरू जम्मा गरिए । गाउँलेहरू र अमेरिकीहरू वरपर बसेका थिए । पशुविद् पनि सँगै थियो । उनीहरू साँढे लागेको हेर्न उत्सुक थिए ।
तिनीहरूले पर्खेको पख्यै गरे । पाउलले भन्दै गयो । घण्टौँ बित्यो, तर केही भएन । साँढेले चूँ गरेन । भर्खर बनेको कोठीका गाईहरूमा उसले रूचि देखाएन । उसले स्याँसूँ केही गरेन । साँढेको झर्कोलाग्दो व्यवहार देखेर सल्लाहकारहरू आत्तिए । के गर्ने, उनीहरूले मेसो पाएनन् । विज्ञको अनुहार कालोनिलो भयो । समय घर्किँदै थियो र अमेरिकीहरू अधैर्य हुँदै थिए । घाम पश्चिम डाँडामाथि पुग्दै थियो । साँझ पर्दै थियो । वातावरणमा निराशा, विषाद् र अविश्वास फैलियो । गाउँलेहरूले खिज्याउँदै खित्का छोडिरहेका थिए । उनीहरूलाई पूरै प्रयोग फोस्रो लाग्दै थियो । भीड पातलिँदै गएपछि रमझम सेलाउँदै गयो । यस्तैमा एउटा गाउँलेले अमेरिकीहरूलाई गाउँमा पशुहरूसँग कुरा गर्नसक्ने जोगी छन् भन्यो । हौसिँदै अमेरिकीहरूले सोधे, ‘साँच्चै हो ?’ गाउँलेले निर्धक्क भन्यो, ‘सोह्रै आना हो सर ¤’ यो सूचना पाएपछि अमेरिकी सल्लाहकारहरूले तत्काल ती जोगीलाई बोलाउन त्यस गाउँलेलाई आदेश दिए । साँढेले किन आफ्नो काम गरेन भनी जोगीले कुरा गरेर रहस्य खोल्छन् कि भनेर उनलाई मैदानमा ल्याउन भने । उनीहरूले जोगीलाई परामर्शदाताको शुल्क पनि दिने बताए ।
पाउलले भन्यो, साँढेमा देखिएको वासनाको असामान्य अभाव र उसको लिँडे व्यवहारले दिक्दार भएका अमेरिकी सल्लाहकारहरू जस्तोसुकै उपाय लगाउन तयार थिए । उनीहरूले वैज्ञानिक ‘चेतना’ गुमाए । नेपालको परम्परागत मूल्यमान्यताको निन्दा गर्न उनीहरूले यही ‘चेतना’ को फुइँ झार्थे । एकाएक उनीहरूले मान्छे पशुसँग कुरा गर्नसक्छ भन्ने कुरा पत्याए । पाउलले भन्यो अरू बेला हुन्थ्यो भने उनीहरूले यस्तो व्यवहारको हाँसो उडाउने थिए । त्यस दिन त्यस्तो भएन ।
गाउँलेको अनुरोधमा जोगी मैदानमा आए र टक्क अडिएर साँढेसँग कुरा गर्न थाले । उत्तरमा साँढेले अचानक टाउको हल्लाउन थाल्यो र अलिकति झिजिएझैँ देखियो । जोगीले सकारमा मुन्टो हल्लाइरहे मानौँ उनले साँढेका कुरा राम्ररी बुझिरहेका थिए । व्याकुल र अधैर्य सल्लाहकारहरू साँढेले के भन्यो, जान्न चाहन्थे । धिर स्थीर देखिएका जोगीले बिस्तारै भने, ‘हेर्नुस्’ सरहरू, साँढे… साँढेले मलाई के भन्न भन्यो भने… । सल्लाहकारले कुरा काट्दै सोधे, ‘के भन्न ? साँढेले तिमीलाई के भन्यो ? भन भन । ‘अँ, साँढेले म काम गर्न नेपाल आएको हैन भन्यो, ऊ त यहाँ सल्लाह दिन आएको हो रे । जोगीका कुरा सुनेर अमेरिकी सल्लाहकारहरू रन्थनिए र ओँठ टाँसिएझैँ चुपचाप भए । पात खसे पनि सुनिने शान्ति छायो । उनीहरू आफ्नो गाडीतिर लम्किए र चूँ पनि नबोली हुइँकिए । उनीहरूले क्रसको प्रयोग गर्न मैदानमा निम्त्याएका गाउँलेहरूलाई बिदाइ पनि गरेनन् ।
यो कथा एउटा चुटकिला हुनुपर्छ । हलुका भए पनि यो अमेरिकी विकास सल्लाहकार र तिनको विकासे सोचको मूर्खताबारे चोटिलो प्यारोडी थियो । मौसमी अमेरिकी सल्लाहकारले शिकारुहरूलाई सुनाउने प्यारोडी थियो । नवआगन्तुकलाई अमेरिकी कर्तव्य पूरा गर्ने आशिषसहित तिनको जिम्मेवारी सम्झाउने कर्मकाण्डी मन्त्रजस्तो थियो । एसियाली देशहरूमा यस कथाका अनेक संस्करण पाइन्थे । पाउल र म मजाले हाँस्यौँ, तर त्यसलाई हाँसोमा डुबाउन सकिन्नथ्यो । त्यो चुटकिला धेरै हदसम्म सत्य थियो । त्यसमा विकासको सनकी प्रकृति र विकास सल्लाहकारहरूको कथा जोडिएको थियो । यसमा अमेरिकी र पश्चिमा विकास सल्लाहकारमात्र पर्दैनन्, बरु स्थानीय सल्लाहकार पनि पर्छन् ।
त्यो चुटकिला मैले पहिलोचोटि सुनेको थिएँ । तर, त्यसले मलाई बिथोल्यो । त्यसबारे जति घोत्लिँदै गयो, त्यति मैले त्यो अमेरिकी साँढे र असफल प्रयोगको कथामात्र होइन भनी बुझेँ । त्यसमा एउटा फराकिलो दृश्य गाँसिएको थियो । त्यो दृश्य हुँडल्ने खालको थियो । त्यसमा ‘आधुनिकीकरणको परियोजना’ वा ‘विकासको प्रयोग’ भताभुङ्ग हुने लक्षण थियो । तैपनि त्यसको कुनै अन्त्य छैन । बरु त्यस्तै खालका प्रयोगहरू विदेशी सहयोगको नाममा नेपालभरि चालू छन् । परियोजनाका अनेक रूपहरू समय र स्थानअनुसार भिन्न हुनसक्छन् । तर, तिनको प्रक्रिया र लक्ष्य उस्तै हुन्छ । भौतिक खोजीको अगस्ती पश्चिमा मोडलमा ढालिएको चालू विकास नीति फोस्रो साबित भइसकेको छ । तैपनि हामी गल्तीबाट सिक्दैनौँ, बरु तिनलाई दोहो¥याइरहन्छौँ ।
एकाध हप्तापछि पाउल र म रामपुर गयौँ । यो मध्य तराईस्थित चितवन जिल्लाको सानो गाउँ हो । यो जिल्ला नेपाल–भारत सीमातिर पर्छ । पाउलले रामपुरको पशु तथा कृषि विज्ञान क्याम्पसमा पढाउँथ्यो । ऊसँगै अरू चारजना अमेरिकीहरूले पनि त्यहीँ पढाउँथे । यसको खर्च युएसएडले बेहोथ्र्यो । म चितवनमा भइरहेको बसाइसराइबारे फिल्ड रिसर्च गर्न त्यहाँ गएको थिएँ । चितवनमा संरा अमेरिकी सहयोगमा सन् १९५० को दशकको मध्यतिर पहिलो योजनाबद्ध पुनर्बास परियोजना लागू गरिएको थियो । मेरो अनुसन्धानको खर्च फोर्ड र रकफेलर फाउन्डेसनले बेहोरेका थिए । त्यो अनुसन्धान रामपुरवरपरका गाउँहरूमा गरिएको थियो ।
प्रस्तुति : रमेश
Leave a Reply