भर्खरै :

स्तनपान : प्राकृतिक खोप

सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु स्तनपान हो । शिशुलाई जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउनुपर्छ । यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्दछ र शिशुलाई ग्लुकोजको कमी हुनबाट बचाउँछ । साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता (एन्टिबडी) धेरै हुने भएकोले स्तनपानलाई शिशुको पहिलो खोप पनि भनिन्छ ।
आमा भएपछि मैले मेरो सन्तानलाई स्तनपान गराउन सक्छु भन्ने आत्मबल राख्नुपर्छ । स्तनपान गराउनु कुशल आमाको जिम्मेवारीमा पर्छ । स्तनपान समाजको साझा जिम्मेवारी ठानिएमात्र पेशाकर्मी महिलाले सफलरूपमा स्तनपान गराउन सकिन्छ ।
सरकारले स्तनपानसम्बन्धी ऐन कानुनहरू बनाएको छ । जसमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १३ मा प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणको लागि ९८ दिनको पूर्ण तलबी बिदा व्यवस्था गरिएको छ । आवश्यक परेमा चिकित्सकको राय–सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरिएको छ । यति हुँदाहुँदै पनि यो अवधि बच्चालाई पूर्ण स्तनपान गराउने अवधि भन्ने होइन ।
मेरो आफ्नो कुरा गर्ने हो भने आमा हुँदाको त्यो क्षण तब अझै बढी आनन्दमय लाग्यो जब मेरो सानी नानीलाई हातमा लिएर ‘स्तनपान गराउनुहोस्’ भनियो । एक्कासि म त आमा पो भएँ भन्ने लाग्यो । म एक नर्स हुँ । हामीले नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउने, शिशुलाई ६ महिनासम्म आमाको दूधमात्रै खुवाउने, नवजात शिशुलाई २४ घण्टाभित्र प्रत्येक दुइरु÷दुई घण्टामा १० देखि १२ पटक दूध खुवाउनुपर्ने पढेका थियौँ । तर, व्यवहारमा लागू गर्न पेशाकर्मी महिलालाई गा¥हो हुन्छ । किनभने, पेशाकर्मी महिलाको काँधमा दैनिक थुप्रै जिम्मेवारी हुन्छ । कोभिड–१९ को महामारीको समयमा बच्चा पाएको कारण जन्मेको दुई महिनापछि आफू कार्यालय जानुपर्ने बाध्यता भयो, यसले गर्दा मनमा थुप्रै प्रश्नहरूको खोलो बग्यो । मनमा विभिन्न प्रश्न उठ्यो, यदि कुनै कारण बच्चालाई स्तनपान गराउनबाट वञ्चित गरियो भने मैले त्यो पेशा छोड्ने कि कुशल आमा भएर स्तनपानको जिम्मेवारी निभाउने ?
मेरो समस्यालाई ध्यानमा राखी मेरो विभागबाट मलाई दूध खुवाउन जाने समय मिलाइयो । सायद घर पायक जागीर भएको कारणले त्यो सम्भव भएको हो । मैले समयमै स्तनपान गराउने मौका पाएँ । कथंकदाचित मलाई यो सुविधा दिइएन भने मसँग दूध निकाली बोटलमा राख्ने र यसलाई चौबीस घण्टाभित्र खुवाउनेबाहेक विकल्प हुने थिएन ।
एक महिलाले स्तनपान गराउँदा उनको मातृत्व सार्थक हुन्छ । पेशाकर्मी आमाहरूलाई सबैको साथ र सहयोगको खाँचो हुन्छ । घर परिवारको साथ, आफूले काम गर्ने ठाउँको साथ र सहयोग पनि अति नै महत्वपूर्ण हुन्छ । केही गर्न नसके पनि मैले राम्रो गरिरहेकी छु र हामी तिम्रो साथमा छौँ भनिदिए पनि पेशाकर्मी महिलाहरूमा धेरै ऊर्जा थपिन्छ, आफ्नो पेशालाई अगाडि बढाउन सकिन्छ । त्यसैले सङ्घ–संस्थाहरूले स्तनपानलाई प्राकृतिकरूपमा सजिलै अँगालेमा महिलाले सजिलै आफ्नो कार्यालयमा व्यस्त रहँदा रहँदै पनि स्तनपान गराउन सम्भव छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *