भर्खरै :

जनशक्ति अभावको पीडामा पिल्सिएको राष्ट्रिय अभिलेखालय

काठमाडौँ, १७ असोज । सरकारले विभागस्तरमा स्तरोन्नति गरे पनि राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्तिको अझै पूर्ति हुनसकेको छैन । विभागस्तरमा स्तरोन्नति भएको तीन वर्षमा पनि अभिलेखालय ३० जनाको दरबन्दीमा चलेको आज आयोजित ५४ औँ स्थापना दिवसमा जानकारी गराइएको छ । त्यसमध्ये हाल अभिलेखालयमा २० जनामात्र कार्यरत छन् ।
दश पद रिक्त छ । जनशक्ति अभावमा सरकारको लक्ष्य र उद्देश्यअनुरूपको काम गर्न नसकिएको अभिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्ग बताउनुहुन्छ । वि.सं. १८६७ सम्म हनुमानढोका दरबारको एक कोठामा राखिएका सरकारी कागज सङ्कलन गरी चिताइ तहबिल तथा वीर पुस्तकालय हुँदै २०२४ सालमा राष्ट्रिय अभिलेखालय स्थापना भएको हो । यहाँ सङ्कलित ग्रन्थ एवं वस्तुको अनुसन्धान गर्न विश्वका महत्वपूर्ण संस्था एवं व्यक्ति अभिलेखालयमा आउँछन् ।
अभिलेखालय भवन पुरातात्विक महत्वका सामग्री राख्न वातानुकूलित स्वरूपमा निर्माण गरिएको छ । विसं २०२४ मा भारत सरकारको सहयोगमा अभिलेखालय भवन निर्माण भएको हो । सातौँ शताब्दीदेखि हस्तलिखितलगायत अन्य महत्वपूर्ण तथा दुर्लभ ग्रन्थ यहाँ सङ्ग्रह गरी राखिएको छ ।

पुस्तक तथा तस्बिर अवलोकन राष्ट्रिय अभिलेखालयको ५४ औँ स्थापना दिवसको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा राखिएका पुस्तक तथा तस्बिर अवलोकन गरिँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस


नेपालको इतिहास र संस्कृतिको अकाट्य स्रोतका रूपमा रहेका कैयौँ विधासँग सम्बन्धित अभिलेख यहाँ छन् । सातौँ–आठौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका विभिन्न भाषा, लिपि र विषयसँग सम्बन्धित ग्रन्थ ताडपत्र, भोजपत्र, नीलपत्र, नेपाली कागज, थ्यासफु आदि अभिलेख यहाँ सङ्कलित छन् ।
अभिलेखालयमा पाँचौँ शताब्दीका दश भूमिश्वर, सन् ८१० को उत्तरलिच्छवी लिपिमा लेखिएको स्कन्दपुराण, आठौँ शताब्दीकै ताडपत्रमा लेखिएकोे सद्धर्मपुण्डरिका सूत्र, ११ औँ शताब्दीको ताडपत्रमा लेखिएको विनयपिटक, १२ औँ शताब्दीको कारण्यव्यूहसूत्र, सन् १३८० को जयस्थिति मल्लको वैधानिक कानुन ‘न्यायविकासिनि’, नेपाल संवत् २८ को आयुर्वेदसम्बन्धी ग्रन्थ लङ्कावतार, युनेस्कोको ‘मेमोरी अफ द वल्र्ड रजिष्टर’ मा सूचिकृत नवौँ शताब्दीको शैवतन्त्रसम्बन्धी ग्रन्थ निश्वासतत्वसंहिता आदि विश्वमै प्रसिद्धी कमाएका ग्रन्थ हुन् । संसारले नै गौरव गरेका र अमूल्य सम्पत्ति अभिलेखालयमा सुरक्षित रहेको निमित्त प्रमुख प्रधानाङ्गले बताउनुभयो ।
अभिलेखालयमा करिब ३२ हजार हस्तलिखित ग्रन्थका मूलप्रति, करिब २० हजार अभिलेख, १० हजार तिब्बती ग्रन्थ, दुई लाख ग्रन्थका माइक्रोफिल्मका प्रति र लाखौँको सङ्ख्यामा अन्य दस्तावेज सङ्कलित रहेको उहाँले जानकारी दिनुभयो । कुमारीचोकको भूमिसम्बन्धी कागजात, पृथ्वीनारायण शाहको दिव्योपदेशको सक्कलप्रति, भूमिसम्बन्धी पुराना तमसुकलगायत सामग्री पनि अभिलेखालयमा सुरक्षित छन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वका ग्रन्थ प्रशस्त भए पनि पछिल्लो समय सरकारी कार्यालयकै दस्तावेज आउन नसकेको बताउनुहुन्छ । सरकारका सबै दस्तावेज अभिलेखालयमा नआउँदा ओझेलमा परेको उहाँले सुनाउनुभयो । सबै कार्यालयले २५ वर्ष पुराना दस्तावेज अनिवार्यरूपमा अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गराउन लाग्ने मन्त्रालयले जनाएको छ ।
अभिलेखालयमा अध्ययनका लागि अनुसन्धानकर्ता तथा विद्यार्थी आउने र प्रतिलिपि माग गर्ने गरेका छन् । यसरी प्रतिलिपि माग गर्नेको सङ्ख्या प्रत्येक दिन वृद्धि भएको छ । अभिलेख संरक्षण ऐन, २०४६ र नियमावली, २०६३ ले राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखका रूपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्ने कानुनी अधिकार प्राप्त एकमात्र सरकारी निकाय अभिलेखालय हो भनेको छ ।
कार्यान्वयन भएन कानूनी व्यवस्था
ऐनअनुसार सरकारअन्तर्गत कार्यालयमा सिर्जना भएका २५ वर्ष पुगेका राष्ट्रिय महत्वका कागजात अभिलेखालयमा पठाउनुपर्ने प्रावधान छ । यो कानुनी व्यवस्थाको ज्ञान नहुँदा वा ध्यान नदिँदा ती कागजपत्र नगन्य मात्रामा आउने गरेको अभिलेखालयकी अनुसन्धान अधिकृत मनिता न्यौपाने बताउनुहुन्छ ।
प्राप्त भएका अभिलेख पनि निकै जीर्ण र अव्यवस्थितरूपमा आउने गरेको उहाँको भनाइ छ । अभिलेखालयमा अभिलेख आउनुपूर्व सुरक्षित र संरक्षण होस् भन्ने उद्देश्यले महत्वपूर्ण कागजात धेरै हुने मन्त्रालय, विभाग र कार्यालयसँग समन्वय गरी ती निकायका प्रतिनिधिलाई सहभागी गराएर अभिलेख अध्ययन तथा व्यवस्थापनसम्बन्धी गोष्ठी तथा तालिम सञ्चालन गर्ने गरिएको छ ।
अभिलेखालयले व्यक्तिगत सङ्कलनमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, आर्थिक वा अन्य दृष्टिकोणले राष्ट्रिय महत्वका कागजात सङ्ग्रहमा वृद्धि गर्ने उद्देश्यले विभिन्न स्थानमा गएर अभिलेख जम्मा गरी दातालाई प्रोत्साहन र कदरस्वरूप प्रशंसापत्र दिने गरेको छ ।
अभिलेखालयले स्वदेश तथा विदेशमा रहेका नेपालसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका अभिलेख सङ्कलन गरी अन्तर्राष्ट्रिय सङ्कलन केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । महत्वपूर्ण ऐतिहासिक महत्वका केही अभिलेख विभिन्न देशका अभिलेखालय तथा सङ्ग्रहालयको सङ्कलनमा छ । त्यस्ता अभिलेख सम्भव भएसम्म फर्काउने र नभए प्रतिलिपि ल्याउने प्रयास भइरहेको निमित्त प्रमुख प्रधानाङ्गले बताउनुभयो ।
हाल जर्मनी, अमेरिका, जापान, कोरिया, थाइल्यान्ड, चीन, भारत र बङ्गलादेशलगायत विभिन्न देशबाट अभिलेख अध्ययन तथा अनुसन्धानको माग हुँदै आएको छ । यस्ता अनुसन्धानदातालाई प्रोत्साहित गर्न सेवा प्रवाहको स्तरमा अझ व्यापक सुधार गरी अभिलेखालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आवश्यक देखिएको अभिलेखालयले जनाएको छ ।
जीर्ण अभिलेख संरक्षण गरी सेवाग्राहीको मागअनुसार अभिलेखमा भएका भाषा तथा लिपिको अध्ययन गरी भाषान्तर र लिप्यान्तर गर्ने काम निरन्तररूपमा भइरहेको बताइएको छ । आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्था गरी यसलाई अभिलेखको संरक्षणका अतिरिक्त यसै क्षेत्रको एक तालिम केन्द्रको रूपमा पनि विकास गर्न सकिने सम्भावना देखिन्छ ।
सङ्ग्रहित मूल दस्तावेजलाई सुरक्षित गरी देशका विभिन्न क्षेत्रको अध्ययन अनुसन्धान तथा सरोकार भएका निकायको सहज पहुँच पु¥याउन अभिलेखलाई विद्युतीय प्रतिमा लैजाने काम सुरु भएको छ । समयसँगै अभिलेखालयलाई श्रव्यदृश्य तथा विद्युतीय अभिलेख केन्द्रका रूपमा विकास गर्ने सोच रहेको अभिलेखालयको भनाइ छ ।
यो भवनसँगै पुराना कागजातको माइक्रोफिल्म गरेर सुरक्षित राख्ने अर्काे भवन छ । यो भवन वि.सं. २०५१ मा जर्मन सरकारको सहयोगमा निर्माण भएको हो । हाल पुरातत्व विभाग रहेको भवनसमेत अभिलेखालयकै हो । वि.सं. २०३० मा आगलागी भएपछि विभाग अभिलेखालयको नयाँ भवनमा सारिएको हो । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यसै वर्ष मदन पुरस्कार पाएको लिम्बुवानको इतिहाससम्बन्धी पुस्तक पनि अभिलेखालयकै स्रोतमा आधारित भएर लेखिएको बताउनुभयो । अभिलेखालयमा विश्व सम्पदामा राख्न लायक पुस्तक रहेको उहाँले सुनाउनुभयो ।
सो अवसरमा संस्कृतिविद् हरिराम जोशीलाई सम्मान गरिएको थियो । उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभएका निरणकुमार राजवंशी र वसन्तहरि श्रेष्ठलाई बिदाइ गरियो । अभिलेखालयले प्रकाशन गरेको ‘वैद्यजीवनम्’ र ‘पथ्यापथ्यसङ्ग्रह’ पुस्तक कार्यक्रममा विमोचन गरिएको थियो । पुस्तकका विषयमा समीक्षा गर्दै आयुर्वेदका विज्ञ काशीराज सुवेदीले कोरोना महामारीजस्ता रोगबाट बच्न आयुर्वेदिक जीवनशैली बिताउनुपर्नेमा जोड दिनुभयो ।
सम्मानित व्यक्तित्व जोशी, पूर्वमन्त्री ऋद्धिबाबा प्रधानलगायतले अभिलेख संरक्षणसम्बन्धी काम प्राविधिक भएकोले दक्ष कर्मचारी आवश्यक पर्नेमा जोड दिनुभयो । अभिलेखालयको ५४ औँ स्थापना दिवसको अवसरमा कार्यालयबाट प्रकाशित ९० भन्दा बढी प्रकाशन प्रदर्शनीमा राखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *