भर्खरै :

‘खिचा ख्व गां’ बारे कौतुहल

भक्तपुर लाय्कु (दरबार क्षेत्र) को भ्रमण गरे आधा विश्वको भ्रमण बराबर हुन्छ भनी ई.ए. पावेलले भनेका थिए । त्यहाँका दरबार, विभिन्न शैलीका मन्दिर लगायतका वास्तुकला हेरेर त्यसो भनेको हुनुपर्छ । तर, कतिपय भक्तपुरे वा उपत्यकावासीलाई ‘नजिकको देउता हेला’ पनि भएको होला ।
भक्तपुर लाय्कुको नृत्य वत्सला मन्दिरमा एउटा घण्ट छ जसलाई ‘खिचा ख्व गां’ भनिन्छ । विभिन्न मन्दिरको छानामा स–साना घण्ट झुन्ड्याइन्छ जुन हावाको झोक्कोले मधुर ध्वनि उत्पन्न हुन्छ । हावाले बज्ने भएकोले ती घण्टको नाम नै ‘फय् गां’ रहन गयो । त्यस्तै सुनको ढोका अगाडिको घण्ट ठूलो भएकोले ‘तगो गां’ नामकरण भयो । यसैक्रममा नृत्य वत्सला मन्दिरको घण्ट बजाउँदा वरपरका कुकुर रुने भएकोले घण्टको नाम नै ‘खिचा ख्व गां’ रहन गयो । घण्टको नामकरण त बुझिन्छ तर कुकर किन रुन्छ ? यो भने कौतुहलका विषय हो । घण्ट धेरै ठाउँमा छन् र बजाइन्छ पनि तर, कतैको घण्ट बजाउँदा नरुने कुकुर त्यो घण्ट बजाउँदा मात्र किन रुन्छ ? यस विषयमा विभिन्न किंवदन्ती, लोक कथन होलान् परन्तु वैज्ञानिक कारण कतै पढ्न पाइएको छैन ।
हाम्रो परम्परा र संस्कृतिको वैज्ञानिक अध्ययन नहुँदा कतिपय अन्धविश्वासमा दरिन पुगेका छन् । हाम्रो पुर्खाले लेखेर नगए पनि हाम्रो परम्परा र संस्कृतिको वैज्ञानिक आधार खोज्नुपर्छ । त्यसले परम्परा र संस्कृतिको औचित्यमात्र पुष्टि हुँदैन त्यसको आवश्यकता र महत्व पनि प्रमाणित हुन्छ । अन्यथा, कुचो नचलाएको वा नपुगेको ठाउँको धु्रलो नबढारिएझैँ हाम्रो परम्परा र संस्कृतिको गरिमामा ग्रहण लागिरहनेछ ।
म विज्ञानको विद्यार्थी होइन यद्यपि मानिसले नसुन्ने तर लामखुट्टेले सुन्ने ध्वनि उत्पन्न गरेर लामखुट्टेबाट बच्ने गरेको सुनेको छु । त्यस्तै भूकम्प आउँदा मानिसले भन्दा विभिन्न जीवले पहिले चाल पाउने गरेको पनि पढेको छु । त्यसरी नै फरक वस्तुबाट फरक ध्वनि उत्पन्न हुने, ध्वनिको तीक्ष्णता वा तीखोपन फरक हुने, ध्वनिको आकृति अर्थात् फ्रिक्वेन्लीअनुसार तीक्ष्णता हुने आदि विद्यार्थी कालमा पढेको हो । हालै एउटा हिन्दी टेलिश्रृङ्खलामा कुकुरलाई उत्तेजित र आक्रोशित पार्ने ध्वनिबारे हेरेको थिएँ । त्यसमा मानिसको कानले सामान्य अवस्थामा नसुनिने तर कुकुरले सुन्ने ध्वनि उत्पन्न गरेर मालिकलाई मारेको विषय थियो । इन्फ्रासाउन्ड भनिएको त्यस्तो ध्वनि एउटा उपकरणबाट उत्पन्न गराइएको र शान्त रहेको कुकुर एकाएक भुक्ने र अरूलाई झम्टने देखाइएको थियो ।
के हाम्रो ‘खिचा ख्व गां’ बजाउँदा पनि त्यस्तो कुनै इन्फ्रासाउन्ड उत्पन्न हुन्छ कि ? त्यो घण्टको धातुमा त्यस्तो कुनै वस्तु मिसाइएको थियो कि ? यसबारे हाम्रा ध्वनि विशेषज्ञ वा वैज्ञानिकहरूले अध्ययन अनुसन्धान गरेर निचोड जनसमक्ष ल्याए कति जाती हुन्थ्यो, होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *