भर्खरै :

स्वास्थ्य बिगार्ने अस्वस्थ विज्ञापन !

टेलिभिजन, रेडियोहरूमा विज्ञापन बज्छन् – ‘मुटुलाई स्वस्थ राख्ने तेल !’, ‘भिटामिन र रेसादार पदार्थ मिसाइएको तयारी चाउचाउ !’, ‘एक गिलास दूध बराबरको क्याल्सियम भएको बिस्कुट !’ आदि आदि । वास्तवमा, भोजन र पेयपदार्थका बारेमा आउने धेरैजसो विज्ञापनमा यस्तै गलत र भ्रमपूर्ण जानकारी दिइएको हुन्छ । उपभोक्ताहरू पनि त्यसरी दिइने जानकारी त ठीक नै होला भनेर विज्ञापनमा देखाइएका वस्तु किनिहाल्छन् । आफू ठगिएको थाहा नै पाउँदैनन्, त्यसैले उनीहरूले आवाज पनि उठाउँदैनन् ।
हाम्रो पेटको क्षमता सीमित हुन्छ । त्यसैले जब हामी चाउचाउ, बिस्कुट र नून या चिनीयुक्त खाना धेरै खान्छौँ त्यसबेला प्रोटिन, भिटामिनयुक्त खानाको लागि पेटमा ठाउँ रहँदैन । फेरि चिनीयुक्त खानामा स्वाद बस्न जाँदा अरू खानाप्रति कम रुचि हुन्छ ।
मिठाइ, सिरप, चकलेट, आइसक्रिम खान खोज्नेले दालभात, फलफूल, सलाद नखाने वा कम खान्छन् । अनि, चिनी र नुन बढी तथा रेसादार पदार्थ कम हुने चाउचाउ, बिस्कुट जस्ता खानाको उपयोग जति बढ्छ, उति नै मुटुको समस्या थपिँदै जान्छ ।
नेपालगञ्जको एक स्कूलमा १४–१७ वर्ष उमेर समूहका किशोरीलाई प्रजनन स्वास्थ्य र पोषणका बारे जानकारी दिन आयोजित कार्यक्रममा सहभागी हुने मौका मिल्यो । करिब ४० जना किशोरीसँग लामो कुराकानी गर्दा उनीहरूको कुपोषणको कारण के रहेछ भन्ने स्पष्ट भयो ।
सरकारी स्कूलको ८ देखि १० कक्षामा पढ्ने यी किशोरी आर्थिक हिसाबले निम्न र मध्यम वर्गका थिए । खाजामा के–के खान्छौ भनेर प्रश्न गर्दा धेरैले चाउचाउ, बिस्कुट, पानीपुरी भने । “यस्तो अस्वस्थकर र महँगो खाजा खाने पैसा तिमीहरूले कहाँबाट पाउँछौ ?” भन्ने अर्को प्रश्नको जवाफमा उनीहरूले भने “चाउचाउ त स्वस्थकर खाना हो नि !” हुन पनि, भ्रमपूर्ण विज्ञापनले गर्दा प्रायः सबै बालबालिकाको मस्तिष्कमा चाउचाउ सस्तो र स्वस्थकर खाजा हो भन्ने छाप परेको छ । मैले तयारी चाउचाउ र बिस्कुट कसरी शून्य पोषण भएका खानेकुरा हुन् यिनले मानिसलाई कसरी अस्वस्थ बनाउँछन् ? कसरी दाँत बिगार्छन् ? प्रोटिन र क्याल्सियमको कमी गराएर कसरी प्रजनन स्वास्थ्यलाई पनि खराब तुल्याउँछन् भनेर फोटोसहित देखाउँदा किशोरीहरू छक्क परेका थिए । “१०० ग्राम भटमासको रू. १०–१२ पर्छ । भुटेर, पकाएर, उसिनेर वा जसरी खाए पनि त्यसमा झन्डै ४३ ग्राम प्रोटिन पाइन्छ । तर रू. २० पर्ने चाउचाउमा २ ग्राम मात्र प्रोटिन पाइन्छ र यसमा भएको नुन, मैदा र रसायनले बढ्दो उमेरका केटाकेटीको स्वास्थ्यमा असर पार्छ, उच्च रक्तचाप र मोटोपन बढाएर रोगसमेत लाग्छ” भन्ने जानकारी पनि मैले उनीहरूलाई दिएँ ।
त्यो कक्षामा किशोरीहरूसँगै तिनका शिक्षक पनि उपस्थित थिए । शिक्षकहरूले समेत आश्चर्य मान्दै भने “चाउचाउ महँगो र अस्वस्थकर भन्ने त हामीलाई थाहा नै थिएन । घरको खाना जस्तो राम्रो हुँदैन भन्ने त थाहा थियो तर के गर्ने हामीलाई त घरबाट खाजा ल्याउन अल्छी लाग्छ । फेरि घरमा यति काम हुन्छ कि खाजा बनाइदेऊ भनेर कसलाई भन्नु ?”
मैले विशेषतः त्यहाँ उपस्थित शिक्षकहरूलाई लक्षित गरेर भनेँ, “अहिले तपाईंहरू समय छैन भन्नुहुन्छ तर यसरी प्याकेटका खानेकुरा खाँदा तपाईँको मुटु, कलेजो, पेट क्रमशः खराब हुन्छ र पछि गएर मुटुरोग, चिनी रोेग, उच्च रक्तचाप हुन्छ । यसतर्फ विचार गर्नुभएको छ ? अहिले एकछिन स्वस्थकर खाजा पकाउन अल्छी लाग्यो भनेर चाउचाउ खाँदा पछि बिरामी भएर अस्पताल र औषधिको चक्करमा पर्दा चाहिँ समयको अभाव हुँदैन र ?” मेरो कुरा केही शिक्षकलाई घत लागेछ ! उनीहरूले छात्राहरूतिर फर्केर भने “लुः अबदेखि हामी यस्तो प्याकेटको खानेकुरा नखाने है !”
त्यो दिन दिउँसोको खाजामा उसिनेको अण्डा र भुटेको चना दिइयो । ‘स्वस्थकर खाजाको सुरुआत त आजबाटै भएछ” मैले शिक्षकहरूतिर फर्किएर भनेँ ।
त्यो एक दिनको छलफलले नै ती शिक्षक छात्राहरूको अस्वस्थकर खाजा खाने बानी छुट्यो होला भन्ने विश्वास लाग्दैन । तर, ती छात्राहरूलाई त्यसपछि पनि बारम्बार स्कूलमा, घरमा रेडियो, टिभी आदिबाट यस्तो अस्वस्थकर खाना खानुहुँदैन भनेर सन्देश दिइरहन सक्ने हो भने उनीहरूको बानीमा केही न केही सुधार अवश्य हुनेछ ।

(लेखकको फेसबुक पेजबाट)

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *