भर्खरै :

बलराज साहनीको ‘गरम हवा’

भारतीय चलचित्रका कलाकारहरूमध्ये विश्वविद्यालयमा दिक्षान्त मन्तव्य दिने ऐतिहासिक पहिलो नायकको नाम हो – बलराज साहनी । अन्तर्राष्ट्रिय सिने क्षेत्रमा भारतीय चलचित्र स्थापित गराउन सफल ‘दो विघा जमिन’ लगायत फिल्मका नायक बलराज साहनी २५ औँ भारतीय स्वतन्त्रता वर्षमा आयोजित विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख वक्ता बनाइएका थिए । बेलायती साम्राज्यवादको ‘उपनिवेशबाट मुक्त’ भएको २५ वर्षपछि पनि शासक वर्गमा उपनिवेशवादी चिन्तन कायम रहेको, आफ्नो देशको कला–संस्कृति र उच्चतम प्रतिभाहरूको कदर गर्न पनि बेलायतीहरूले मान्यता दिएपछि मात्र गौरवबोध गर्ने गरेको अनि ‘स्वतन्त्र’ भारतका कामदार जनताको जीवनमा कुनै आसलाग्दो परिवर्तन नआएको विषयमा बलराज साहनीले तथ्यपूर्ण जोडदार मन्तव्य दिएका थिए ।
बलराज साहनी आफै दोस्रो विश्वयुद्ध कालमा चार वर्ष बेलायतमा बसेका थिए । बेलायती समाचार संस्था बिबिसी हिन्दी सेवाको लागि महात्मा गान्धीको सल्लाहअनुसार साहनी सन् १९४० मा बेलायत गएका थिए । जुन दिन साहनी लण्डन पुगे, त्यही दिन हिटलरको पहिलो बम बेलायतमा खसेको थियो । सूचनाको केन्द्र बिबिसीमा बसेर साहनीले संसारभरि भएका विभत्स र अमानवीय विश्वयुद्धका ज्वालाहरू हेरे । मानवताविरुद्धको दोस्रो विश्वयुद्धमा मानव सभ्यता जोगाउन सोभियत नेता स्टालिनले निर्वाह गर्नु भएको भूमिकाबाट साहनी अत्यन्त प्रभावित भए । बेलायत बसाईंको क्रममा साहनीले माक्र्सवादको गहिरो अध्ययन गरे । बेलायत जानुअघि नै साहनीले आफ्ना गुरु तथा जेठान अर्थात श्रीमती दयमन्ती रायका दाजु जसवन्त रायबाट माक्र्सवादी दृष्टिकोण र आलोचनात्मक चिन्तनबारे बुझ्ने अवसर पाएका थिए ।
साम्राज्यवादी बेलायतको सञ्चार संस्थामा सेवा गर्न गएका साहनी घोर साम्राज्यवादविरोधी र व्यापक कामदार जनताप्रति समर्पित भएर फर्के । बेलायतबाट फर्केपछि साहनीलाई भेट्न आउने पाहुनाहरूको लर्को लागेको थियो । पाहुनाहरूलाई सत्कार गर्न साहनीकी आमाले लडू बनाएकी थिइन् । जरुर पनि साहनीले बेलायती साम्राज्यवादको अत्याचार र भारतीय जनताको स्वाधिनताबारे गम्भीर चर्चा गर्थे । तर बेलायतको सराहना गर्ने एक जना पाहुनाले साहनीका बुबा हरवंशलालले खान दिएको लडू अस्वीकार ग¥यो । साहनीले भारतीय स्वतन्त्रता आन्दोलनबारे चर्चा गर्न खोज्दा काँग्रेसी कुरा भन्दै ती पाहुना हेपेर बोल्यो । साहनीलाई सह्य भएन । साहनी पाहुनालाई सत्कार गर्न छोडेर घरबाट निस्के ।
भारतीय कामदार जनताको जीवनमा आमूल परिवर्तन ल्याउन साहनीले कलाकारिताको मोर्चा रोजे । अध्ययन, लेखन र प्रकाशनमा सक्रिय साहनी भारतीय जननाट्य संस्था (इप्टा) मा आबद्ध भए । नाटक लेखन, अभिनय र निर्देशनसँगसँगै साहनी धार्मिक दङ्गाबाट पीडित जनताको उद्धार गर्न वा खडेरीबाट आक्रान्त किसानहरूको लागि राहत उठाउन आफै प्रभावित क्षेत्रमा खटेर लाग्थे । बेलायती साम्राज्यवादले भारतीय जनताको एकता भङ्ग गर्न हिन्दु र मुसलमानबीच धार्मिक आगो झोसेको थियो । हिन्दू तथा मुसलमान अतिवादीहरूले बेलायतीहरूकै उक्साइमा धार्मिक द्वन्द्व चर्काएको थियो । भारतीय समाजलाई सङ्गठित हुन नदिने र परिवर्तनलाई रोक्ने धार्मिक द्वेष अन्त्य गर्न साहनीले जीवनपर्यन्त अथक मिहिनेत गरे । ‘फुटाऊ र राज गर’ घृणित सोच भएका साम्राज्यवादीहरूको योजनानुसार उर्दू भाषालाई अल्पसख्यक मुस्लिम धार्मिक भाषा भनी करार गर्न भाषा सम्मेलन हुँदै गर्दा साहनीले उर्दू भाषा मुस्लिमले मात्र बोल्ने धार्मिक भाषा होइन भन्ने तथ्य–प्रमाण जुटाएर प्रस्ट पारे । भारतमा धार्मिक र सामाजिक सद्भाव भड्किन नदिन साहनी अत्यन्त सम्वेदनशील थिए ।
भारतीय स्वतन्त्रता आन्दोलनमा भन्दा धेरै धार्मिक आधारमा देश विभाजन गर्दा लाखौँलाख निर्दोष भारतीय जनताले ज्यान गुमाए । हिन्दुस्तानबाट पाकिस्तान र पाकिस्तानबाट हिन्दुस्तान आउने जाने क्रममा रेलका डिब्बाहरू लासैलासले भरिएका हुन्थे । साहनीको परिवार स्वयम् पनि पाकिस्तानमा परेको रावलपिन्डीबाट दिल्ली आएको थियो । सुरक्षित बासस्थानको खोजीमा हिँड्ने हिन्दु–मुस्लिमको मात्र जीवन मात्रै सङ्कटमा परेको थिएन । आफ्नै जन्मभूमिको मायाले हिन्दुस्तानी क्षेत्रमा बस्ने मुस्लिम र पाकिस्तानी क्षेत्रमा बस्ने हिन्दूहरूको जीवन पनि अकथनीय सकसपूर्ण बनेको थियो । भारतको स्वतन्त्रता वा विभाजनपछि भारतमै बस्ने मुस्लिम परिवारको यही कष्टसाध्य जीवनबारे सुक्ष्म–यथार्थ चित्रण गरिएको एक चलचित्रको हो – बलराज साहनीको ‘गरम हवा’ ।
उर्दूका लेखक ईस्मात चौघटाई (Ismat Chughati) को छोटो कथामा आधारित भएर कैफी आजमी (Kaifi Azmi) र शमा जैदी (Shama Zaidi) द्वारा पटकथा लेखिएको ‘गरम हवा’ चलचित्रको निर्देशन बलराज साहनीसँगै एम. एस. साथ्यु (M.S. Sathyu) ले गरेका हुन् । सन् १९४७ मा भारतको विभाजनपछि भारतमा मुस्लिम परिवारको जटिल जीवनबारे सरल भाषाशैलीमा बनाइएको चलचित्र ‘गरम हवा’ सन् १९७४ मा पहिलो प्रदर्शन गरिएको थियो । जुनबेला ‘गरम हवा’ चलचित्रका नायक बलराज साहनीको देहावशान भइसकेको थियो । त्यसैले ‘गरम हवा’ चलचित्र नै नायक बलराज साहनीको अन्तिम चलचित्र बन्न गयो । सन् २०१८ अप्रिल २६ गते युट्युबमा अपलोड गरेपछि मात्रै पनि ‘गरम हवा’ चलचित्र लाखौँ नयाँ पुस्ताले हेरिसकेका छन् र हजारौँले मनपराइसकेका छन् ।
‘गरम हवा’ चलचित्र एउटा सायरीबाट सुरु गरिएको छ । त्योभन्दा अघि गान्धी माहात्माको मुखाकृतिको तस्बीर ढलेको दृश्य देखाइएको छ । सायरीमा भनिएको छ, “विभाजन भयो देश – मुटु भयो टुक्रा
हरेकको मनमा आँधी छ – यता पनि छ उता पनि
हरेक घरमा चिता जलिरहेको छ – उडिरहेको छ धुँवा पहाडभन्दा अग्लो
हरेक शहर मसान बनेको छ – यता पनि छ उता पनि
गीतालाई न कसैले सुन्छ न सुन्छ कुरान – सदभावको अर्थ हराइरहेको छ यता पनि उता पनि”
‘गरम हवा’ चलचित्रको कथावस्तु सलल बगेको छ । ‘गरम हवा’ कथाका पात्रहरूको जीवनमा भने पाइला पाइलामा ठक्कर खानु परेको छ । सन् १९४७ अगष्ट १४ मा पाकिस्तान स्वतन्त्र भयो र १५ अगष्टमा भारत स्वतन्त्र भएको घोषणा गरियो । बेलायती साम्राज्यवादले भारत छोड्नुअघि नै भारत पाकिस्तान विभाजन गरिएको थियो । धार्मिक आस्थाअनुसार पूर्वी र पश्चिम पाकिस्तानी भूमिमा रहेका हिन्दूहरू हिन्दूस्तानमा र हिन्दूस्तानी भूमिमा रहेका मुस्लिमहरू पूर्वी र पश्चिम पाकिस्तानमा जान मिल्ने व्यवस्था गरिएको थियो । तर धार्मिक द्वेषको उग्रताबाट हिंसा भड्कियो । मुस्लिम वस्तीबाट हिडेको रेल हिन्दू वस्तीमा पुग्दा मुस्लिमहरू मारिने र हिन्दू वस्तीबाट हिँडेको रेल मुस्लिम वस्तीमा पुग्दा हिन्दूहरू मारिने विभत्स दृश्य देखियो । भारतीय राजनीतिक नेतृत्वले साम्रदायिक सदभाव जोगाउन नसकेकै कारण गान्धी महात्माकै पनि हत्या भयो ।
देश विभाजन र गान्धी महात्माको हत्यापछि पनि एउटा मुस्लिम मिर्जा परिवार भारतको उत्तर प्रदेशमै बसिरहेको थियो । नायक बलराज साहनी ‘गरम हवा’ मा सलिम मिर्जाको भूमिकामा छन् । सलिम मिर्जा आफ्नी आमा र भाइ हलिम मिर्जासँगै परिवारमा बस्थे । मिर्जाकै परिवारका सदस्यहरू पनि बिस्तारै हिन्दूस्तान छोडेर पाकिस्तान जान थालेका थिए । भाइ हलिम मिर्जा सार्वजनिक मञ्चहरूमा हिन्दूस्तानबाट सबै मुस्लिम पाकिस्तान गए पनि एक, सिर्फ एक जना मुस्लिम भए पनि आफ्नो जन्मभूमिमा लडेर बस्ने अठोट गर्थे । हिन्दूस्तान बस्ने त्यो एक्लो मुस्लिम आफू नै हुने दाबी गर्थे । अरु सबै मुस्लिम नेताहरू पाकिस्तान गइसकेकोले आफू नै एक मात्र मुस्लिमहरूको नेता भन्थे । तर घरको ‘डिनर मिटिङ’ मा भने हलिम मिर्जा पाकिस्तान जानुपर्नेमा जोड दिन्थे । घर र कारखाना सबै बेचेर पाकिस्तानमा सिन्धिया र पञ्जाबीहरूले छोडेर आएका कारखानाहरू छिट्टै कब्जा गर्न जाने विचार गर्थे । घर छोडेर जान लागेकोमा कान राम्रो नसुन्ने आमा गाली गर्थिन, “यहाँ तेरो बाउको हडी गाडेको छ । कसले लखेट्छ हामीलाई ?”
सलिम मिर्जा (बलराज साहनी) हिन्दूस्तानमै बस्न चाहन्थे । बारम्बार भन्थे, “गान्धीजीको बलिदानपछि चार दिनको भित्रभित्रै सबै शान्त हुनेछ ।” भारतमा पहिला पनि हिन्दू मुस्लिम दङ्गा हुन्थ्यो तर कोही पनि आफ्नो जन्मभूमि छोडेर जान्थेन । यसपाली देश नै विभाजन भएको थियो । धेरै मुस्लिमहरू रातारात पाकिस्तान भागे । मुस्लिम व्यवसायीहरू पाकिस्तान पलायन भएको बहानामा हिन्दूस्तान बसेका मुस्लिमहरूले बैङ्कबाट ऋणसमेत पाउन छोडे । बैङ्कका कर्मचारीले सलिमलाई भने, “हाम्रो जमानामा भएको भए यति जाबो ऋण म आफै निर्णय गरेर दिन सक्थेँ तर अहिले बैङ्कको सञ्चालक समितिमा पेश नगरी दिन ऋण दिन मिल्दैन ।”
“अरे भाइ ! बैङ्क यही, ऋण दिने कर्मचारी तपाईँ नै, ऋण लिने म नै अनि के जमाना फेरियो र ?”
“देख्नु भएन ? मुस्लिमहरू रातारात पाकिस्तान भागिरहेका छन् । सारा बैंक डुब्न लागिसक्यो ।”
“पाकिस्तान भागेका मुस्लिमहरूको सजाय ती मुसलमानलाई किन दिने ? जो मुसलमान भागेका छैनन् र जन्मभूमि छोडेर जान चाहँदैनन” सलिमले जवाफ दिए ।
सलिम पुरानो र गहिरो व्यावसायिक सम्बन्ध भएका लालचन्द साहुकहाँ पनि ऋण लिन गए । ऋण दिन कुनै गाह्रो नभएको तर मुस्लिमलाई ऋण दिएको थाहा पाएमा परिवारभित्रै झगडा हुने लालचन्दले बताए । सलिम आफ्नो कारण लालचन्दको परिवारमा कलह मच्चाउन चाहन्थेन । यसरी सलिमको कारखाना जुत्ताको अर्डर आए पनि लगानी गर्ने ऋण नपाएर सङ्कटमा प¥यो ।
बुबाले आफ्नो शेषपछि कारखाना सलिमको नाममा र हवेली (बीचमा चोक भएको घर) हलिमको नाममा गरिदिएका थिए । हलिम पाकिस्तान भागेको थाहा पाएपछि सरकारले घर खाली गर्न उर्दी दियो । सलिमकी आमा भन्थिन्, “मैले त दुइटै मात्र छोरा जन्माएको थिएँ । फेरि को आयो ? मेरो हवेलीको हक दाबी गर्न आउने ?” मुस्लिम भएकै कारण डेरा पाउन मुस्किल प¥यो । ‘मुस्लिमहरू भाडा नतिरी भाग्छन्’ भनियो । सलिमले बल्ल बल्ल तीन तीन महिनाको भाडा पेश्की दिने गरेर एउटा घरमा डेरा पाए । डेरा सर्नेबेला बुढी आमा हराइन् । हवेलीभित्र सबैले खोजे, भेटिएनन् । अन्तिममा दाउरा राख्ने कोठाको कुनामा लुकेर बसेकी भेटियो । सलिमको जेठो छोराले हजुरआमालाई काखमा बोकेर टाँगामा राख्यो । डेरामा बृद्ध आमा बिरामी परिन् । जति औषधि गरे पनि सञ्चो भइनन् न त बुढीको प्राणले नै छोड्यो । डाक्टरकै सल्लाहबमोजिम पुरानो घरमा लगेपछि बुढी आमाले त्यही प्राण त्यागिन् ।
सलिमका दुई छोरा थिए । जेठो बाकर एउटा बच्चाको बाबु बनिसकेको थियो भने कारोबारमा सलिमलाई सघाउँथ्यो । व्यवसायको लागि अधिकारीहरूलाई घुस खुवाएर भए पनि काम हात पार्न खोज्ने बाकर दुईटा रोटी कमाएर खान पाए हिन्दूस्तान, पाकिस्तान, अफगानीस्तान, युरोप, अफ्रिका जता गए पनि फरक नपर्ने विचार राख्थे । बेइमानी नगरी व्यवसाय गर्ने सलिम मिर्जाको निष्ठाको कारण पनि, हिन्दूस्तानमा बाँकी रहेका स्वयम् मुस्लिमहरूको छलकपटकै कारण पनि सलिमको जुत्ता कारखाना चलाउनै नसक्ने अवस्थामा पुग्यो । स्वयम् सलिम मिर्जा हाटबजारमा जुत्ता बेच्न हिँड्नु प¥यो । हिन्दूस्तानी मुस्लिमप्रतिको असहिष्णु व्यवसायी, कर्मचारी–प्रशासन र समाजबाटै आजित बाकरलाई सलिमले थाकिसकेको हो ? भनी सोधेका थिए । आफ्नो जन्मभूमि हिन्दूस्तान (उत्तर प्रदेश) मै बस्न अविचलित भई सङ्घर्ष गरिरहेका सलिम मिर्जाले आफ्नै मुटुको टुक्रा जेठो छोरा बाकर मिर्जालाई पनि पाकिस्तानको लागि बिदा गरे ।
कान्छो सिकन्दर क्याम्पस पढ्दै थियो र रोजगारीको लागि भौतारिरहेको थियो । (सिकन्दरको भूमिकामा रहेका नायक फारुक शेखको ‘गरम हवा’ पहिलो चलचित्र हो ।) सिकन्दरजस्तै शिक्षित बेरोजगारहरू पहेलमानको चिया पसलमा जम्मा हुन्थे । स्वतन्त्रता आन्दोलनको सत्याग्रहमा पहेलमान जेल गएका थिए, खुट्टा भाँचिएको थियो । भारतको ‘स्वतन्त्रता’ पछि पहेलमानहरूलाई कुकुर ठानिएकोमा पहेलमानभित्र असन्तुष्टिको आगो थियो । पहेलमान बेरोजगार युवाहरूलाई जागिर खाएपछि मात्र चियाको पैसा तिरे पनि हुने भनी हसाउँथ्यो । पहेलमानको चिया पसलमा समसामयिक देशको अवस्थाबारेमा गरमागरम बहस हुन्थ्यो । बेरोजगारहरू युवाहरू विभिन्न बहानामा रोजगारदाताहरूले रोजगारी नदिएकोबारे आ–आफ्नो अनुभव सुनाउँथे । कोही कोही फरक जातीयता र धार्मिक आस्थाका कारण रोजगारी नपाएको आक्रोश पोख्थे । सिकन्दरलाई मुस्लिम भएको कारण हिन्दू अधिकारीहरूले मात्र होइन स्वयम् मुस्लिम अधिकारीले पनि जागिर दिन इन्कार गरेको थियो । हिन्दूस्तानमा युवाहरूले योग्यता अनुसार रोजगारी नपाउनुको मूल कारण अधिकारीहरूको नातावाद र घूसखोरी रहेको सचेत युवाहरू स्पष्ट धारणा राख्थे । त्यसैले तिनीहरू भन्थे, “अङ्ग्रेजले छोडेर गयो, अङ्ग्रेजका सन्तान बाँकी नै छ ।” रोजगारीको लागि पाकिस्तान जान गाली गर्नेहरूसँग सिकन्दर शिष्टतापूर्वक प्रतिवाद गर्थे र शासकहरूको गलत प्रवृत्तिविरुद्ध आवाज उठाउनुपर्ने सुझाव राख्थे ।
सलिमकी छोरी आमिना र भाइ हलिमको छोरा काजिम एक अर्कालाई प्रेम गर्थे । परिवारका सबैलाई थाहा थियो । काजिमले जागिर नखाएसम्म छोराको विवाह गराउन हलिम चाहँथेन । बिए – एमए पास गरेको भए पनि मुस्लिम केटालाई हिन्दूस्तानमा जागिर नपाइने बताउँथे । पाकिस्तान गएपछि हरेक कुरामा नाफा खोज्ने हलिमले काजिमको विवाह एक मन्त्रीको छोरीसित गराउन खोजे । काजिम भागेर हिन्दूस्तान आयो । विवाहको धुमधाम तयारी भयो । विवाह हुनु चार दिनअघि प्रवेशाज्ञा नभएको र पुलिस चौकीमा पनि खबर नगरेको आरोपमा काजिम पक्राउ प¥यो । सलिमले जमानत बुझाएपछि भतिजा काजिमलाई प्रहरीले सिधै पाकिस्तान पठायो । आमिनालाई फूपुको छोरा सम्सादले पनि मनपराउँथ्यो । आमिनालाई जिस्काइरहन्थ्यो । सम्सादकी दिदी अमिनाकी भाउजू थिइन् । काजिमले पाकिस्तानमै बिहे गरेपछि भाउजूले सम्सादसँग बिहे गर्न सुझाइन् । विवाह नगर्ने भन्दै जिद्दी गरेर बसेकी अमिना अन्ततः सम्सादसँग विवाह गर्न राजी भइन् । अमिनाकी फुपु अर्थात् सम्सादकी आमा पाकिस्तानबाट सम्सादको विहेको लागि किनमेल गर्न आइन् । आमिनालगायत सलिमका परिवारमा खुशीयाली छायो । दुलहीको पोशाक अमिनालाई लगाउन लगाएर फुपुले ‘दुलहीलाई साह्रै सुहाउँछ होला’ भनेपछि आमिनाकी आमाले सम्सादको बिहे अर्कैसँग हुन लागेको मेसो पाइन् । अमिना मर्माहित भइन् । अमिनाले नाडीको नसा काटेर आत्महत्या गरिन् । (भनिन्छ, अमिनाको मृत्युको दृश्य सुटिङ गर्नेबेलामा सलिमको भूमिकामा रहेका बलराज साहनीको अन्तरहृदयबाट नै आँसु बगेको थियो किनभने साहनीकी विवाहित छोरीको पनि पारिवारिक सम्बन्ध सहज नहुँदा अकालमा मृत्यु भएको थियो ।)
अमिनाको भौतिक शरीरमाथि माटो राख्न सलिम मिर्जाको साथमा सिकन्दर मात्र बाँकी थियो । सलिमको सबै भरोसा टुटिसकेको थियो । त्यसमाथि सलिममाथि पाकिस्तानी जासुसको आरोप लाग्यो । सहने सबै सीमा नाघिसकेपछि हिन्दूस्तानमा टिक्न नसक्ने भन्दै सलिम मिर्जा पाकिस्तान जाने निष्कर्षमा पुगे । सलिमकी श्रीमतीले पहिल्यै पाकिस्तान जाऔँ भन्दा नमानेको भन्दै थिइन् । तर, कान्छो छोरा सिकन्दरले पाकिस्तानमा पलायन हुने होइन बरु आम मानिसजस्तै हिन्दूस्तानमै व्यापक जनताको काँधमा काँध मिलाएर सङ्घर्ष गर्नुपर्नेमा जोड दियो । पाकिस्तान जाने रेलवे स्टेसन जाँदै गर्दा अर्को बाटोमा आएको जुलुसले टाँगा रोकियो । इन्क्लाब – जिन्दावाद, काम पाउनु – मूल अधिकार मानियोस्, हरेक व्यक्तिलाई – बेरोजगारी भत्ता दे, रोटी दे – रोटी दे लगायत नारा लगाउँदै अगाडि बढेको जुलुसमा सहभागी एक जनाले सिकन्दरलाई कहाँ जान लागेको भनी सोधे । सिकन्दर पनि जुलुसमा जान खोज्यो । सलिमले अब सही लागेको विचारमा अघि बढ्न नरोक्ने भनेपछि सिकन्दर जुलुसमा मिसियो । जुलुस लामो थियो । एक्लै सङ्घर्ष गर्दा गर्दा दिक्क मानिसकेका सलिम मिर्जा पनि श्रीमतीलाई डेराको साँचो बुझाएर, टाँगावालालाई फर्काउन भन्दै आफू जुलुसमा भाग लिन गए । सलिम मिर्जा जुलुसमा आवद्ध भएपछि ‘गरम हवा’ सिनेमा अन्त्य हुन्छ । सिनेमाको अन्त्यमा फेरि सायरी आउँछ, “जो टाढाबाट आँधीलाई देख्छ – उसको लागि आँधी यहाँ पनि छ त्यहाँ पनि प्रवाहमा मिल्न जान्छौ, जब बन्छ प्रवाह – यो समयको आह्वान यहाँ पनि छ त्यहाँ पनि ।”
‘गरम हवा’ चलचित्र पारिवारिक–सामजिक चलचित्र हो । यद्यपि ‘गरम हवा’ले तत्कालीन राजनीतिक, आर्थिक र सांस्कृतिक स्थितिलाई उजागर गरेको छ । शासन व्यवस्थामा आएको परिवर्तनसँगै आफ्नो फाइदाको निम्ति जायज–नाजायज काम गर्ने अवसरवादी तथा आफ्नो इमान र निष्ठामा दृढ भएर पनि समाजमा आएको भिन्नता वास्ता नगरी बस्ने सामान्य नागरिक अनि जस्तै सङ्कट सामना गर्नुपरे पनि व्यापक जनताको हितलाई ध्यान दिने परिवर्तनकारीहरूको फरक–फरक चरित्र प्रस्तुतिले ‘गरम हवा’ लाई जिवन्त बनाएको छ । भारत ‘स्वतन्त्र’ भए पनि भारतीय जनतामा कुनै सुखको दिन आएन । त्यसमाथि हिन्दू–मुस्लिमको अन्तहीन द्वन्द्वले भारतीय जनतालाई थप आक्रान्त बनाएको छ । त्यसैले भारतीय जनताको जीवनलाई उँभो लगाउन कामदार जनता एकजुट हुनुपर्ने र वर्गसङ्घर्षलाई नै अगाडि बढाउनुपर्ने ‘गरम हवा’ चलचित्रले आह्वान गरेको छ । जीवनको अन्तिममा पाकिस्तान पलायन हुन लागेका सलिम मिर्जा देशभित्रकै आन्दोलनमा सहभागी भएको देखाउनुले ‘गरम हवा’ चलचित्रले पलायन होइन, सङ्घर्ष नै समस्याको समाधान हो भन्ने सन्देश दिएको छ । ‘गरम हवा’ चलचित्र नायक बलराज साहनीको अन्तिम चलचित्र मात्र होइन, साहनीको जीवन दर्शन पनि हो, बलराज साहनीको जीवनको उद्देश्यको सार पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *