लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
भक्तपुरको विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा पानी ट्याङ्की बनाउन खाल्डो खन्दा पुरातात्विक महत्वका विभिन्न अवशेष फेला परेको समाचारले सम्पदाप्रेमी र इतिहासकारहरूलाई उत्साहित बनाएको छ । त्यसो त भक्तपुर दरबार क्षेत्र वरपरका विद्यार्थी निकेतन, पद्म र शारदा माध्यमिक विद्यालयहरू मल्लकालीन राजदरबारका हिस्सा थिए भन्ने इतिहासकारहरूको दाबी नयाँ होइन । अहिले फेला परेका भग्नावशेष लिच्छवीकाल र मल्लकालको मध्य अवधिका भौतिक संरचना हुनसक्ने सम्पदाविद्हरूले अनुमान गरेका छन् । तत्कालीन समयको युथिनिमम राजदरबारको हिस्सा नै अहिले फेला परेको हुनसक्ने इतिहास अध्येताहरूको दाबी छ । हाल विद्यार्थी निकेतन माविनेर मल्लकालमा पुस्तकालय भएको सो ठाउँलाई सफु कुथी अर्थात् पुस्तक कोठा भन्ने नाम हुुनुबाट पनि पुष्टि हुने अध्येताहरूले उल्लेख गरेका छन् । त्यही क्षेत्रको हालको अरनिको सभा भवन क्षेत्रमा समेत उत्खनन गर्दा पुरातात्विक महत्वका धेरै भग्नावशेष फेला परेको थियो । त्यस आधारमा भक्तपुर दरबार क्षेत्र वरपर अझै इतिहासका धेरै पहलु भूमिगत अवस्थामा नै छन् ।
मल्लकालीन राजधानी भक्तपुर आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिकरूपमा निकै समृद्ध सहर रहेको छ । लिच्छवीकालदेखि नै मौलिक सभ्यताको केन्द्र बन्दै आएको भक्तपुर सहरको इतिहासले नेपालको प्राचीन इतिहासका धेरै पक्ष गर्भमा बोकेको छ । भक्तपुरको इतिहासको वैज्ञानिक अध्ययन गर्नु नेपालकै इतिहास अध्ययनको अभिन्न पक्ष हो । त्यो इतिहास अध्ययनको निम्ति आफ्नो गर्भमा इतिहास बोकेको क्षेत्रको संरक्षण गर्नु राज्य र जिम्मेवार सबै नागरिकको दायित्व हो ।
विद्यार्थी निकेतन माविमा फेला परेको पुरातात्विक महत्वका भग्नावशेषले तत्कालीन समाज अध्ययनको एउटा नयाँ अध्याय आरम्भ हुने आशा जगाएको छ ।
सम्पदा संरक्षणमा उदाहरण बन्दै आएको भक्तपुर नगरपालिकाले अहिले फेला परेका अवशेषलाई सम्पदालाई पुनः जीवन दिने थप ऊर्जाको रूपमा लिने विश्वास गरौँ ।
सम्पदा संरक्षणको निम्ति राज्यका जिम्मेवार निकायहरूसँगको सहकार्यमा विज्ञ व्यक्तिहरूसमेतको संलग्नतामा जमिनमुनिको इतिहासको उत्खनन र अध्ययन गर्न जरुरी छ । त्यसको निम्ति हतार गर्नु उचित नहोला । न त यसलाई कसैले आफ्नो व्यक्तिगत छवि वा प्रतिष्ठा बढाउने अभियोजनमा लगाउन उचित होला । बरु विभिन्न सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरू, स्थानीय बुढापाकाहरूसमेतको संलग्नतामा आजका वैज्ञानिक पद्धतिको प्रयोगबाट त्यहाँको अनुसन्धान हुन जरुरी छ । भक्तपुर नगरपालिकासँग यसरी बहुविषयका विज्ञहरूको संलग्नतामा मासिन लागेका सम्पदाको संरक्षण गरेका विगतका अनुभव पनि छन् । पचपन्न झ्याले दरबारभित्रको भित्तेचित्र संरक्षणको निम्ति भक्तपुर नगरपालिकाले गरेको प्रयास यसको उदाहरण हो । अहिले विद्यार्थी निकेतनमा भेटिएको र अझ खोज्न बाँकी इतिहासका पुलिन्दाहरूको उत्खननमा पनि यस्तै र अझ परिमार्जित प्रयास गर्दै जानु उपयुक्त हुन्छ ।
इतिहासको खोजीमा सबैले सहयोग गर्न जरुरी छ । कसले ग¥यो भन्ने सङ्कीर्णतामा फसेर कसैले पनि यसलाई अवरोध गर्नु उचित होइन किनभने अहिले खोजिने इतिहास सबैको साझा इतिहास हो । यसले भक्तपुर, नेपाल र सिङ्गो विश्वकै लागि सभ्यताको नयाँ आयाम उजागर हुने हो । त्यसकारण यो प्रयासमा सबैको हँसेमा हैँसे हुन आवश्यक छ ।
Leave a Reply