भर्खरै :

सञ्चारमाध्यमहरूमा चुरोट, खैनी, सुर्ती र मदिराको विज्ञापन प्रकाशन र प्रशारण गर्नु गलत

आजको युगमा सबैलाई जानकारी छ – सिगार, चुरोट, बिँडी, खैनी, सुर्ती तथा मदिराहरू र बियरले स्वास्थ्यमा विषाक्त असर पार्दछ । कसैलाई ढाँट्न पनि सकिंदैन । तैपनि, गलत कुरालाई सय पटक दोहो¥याएपछि झूट सत्य बन्छ भनी विश्वास गर्ने पुँजीवादी सञ्चारमाध्यमहरू र नाफाको निम्ति जे पनि गर्ने पुँजीपति र व्यापारीहरू मिलेर सर्वसाधारण जनतालाई झूटा सन्देश दिने र गलत प्रचारमा भुलाउने दुष्प्रयास जारी छ । त्यसैले सञ्चारमाध्यमहरूमा चुरोट, खैनी, सुर्ती र मदिराको विज्ञापन राख्नु गलत छ भनी स्वास्थ्य क्षेत्रका जानकार र समाजसेवीहरूको जोडदार मागपछि सरकारले त्यस्तोखाले प्रतिबन्ध घोषणा गरेको थियो । अहिले पुनः ती पुँजीपति र व्यापारीहरू उक्त प्रतिबन्ध खुला हुनुपर्छ भनी सल्बलाउन थालेका छन् र त्यसमा पैसा पाएपछि विष पनि खाने प्रवृत्तिका सञ्चारमाध्यमका मालिकहरूले साथ दिएको देखिन थालेको छ ।
चुरोट, खैनी, सुर्ती र मदिरा प्रयोगले स्वास्थ्यमा हानि गर्ने, अनेक रोग ल्याउने र मृत्युको नजिक छिट्टै पु¥याउने कुरा थाहा हुँदाहुँदै पनि धेरै मानिस जानी नजानी तिनको लतमा फस्ने गर्छन् । त्यसबाट एकातिर आम्दानीको अपव्यय भइरहेको हुन्छ भने अर्कोतिर निकट भविष्यमै क्यान्सरजस्ता रोग र अनेकौं बिमारी निम्तेर उपचार खर्चमा सम्पत्ति नै सिध्याउनुपर्ने अवस्था निम्तिन्छ । जानी जानी कुलतमा रमाउनेलाई त – भीरबाट लडेको गोरुलाई राम राममात्र भन्न सकिएला तर युवा पुस्ता र अबोध किशोर किशोरीहरूलाई भ्रमको सिकार बनाएर नयाँ कुलतीहरू जन्माउने दुष्प्रयासलाई कदापि बढावा दिन मिल्दैन । लाखौँ घरपरिवारमा अँध्यारो हुने गरी केही व्यापारी र पुँजीपतिहरूलाई पोस्नको लागि सञ्चारमाध्यमहरूमा चुरोट, खैनी, सुर्ती र मदिराको विज्ञापन प्रकाशन र प्रशारणको छुट दिनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *