भर्खरै :

ओमिक्रोन भाइरसको प्रतिरोधको तयारी गर्न विलम्ब नगरौँ

कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोन संसारका विभिन्न देशमा देखिन थालेपछि विश्वभर फेरि पनि कोभिड–१९ को नयाँ लहर फैलिने सम्भावना बढेको छ । दक्षिण अफ्रिकामा पहिलो पटक गत नोभेम्बर १४ मा देखिएको यो भाइरस हालसम्म युरोप, अफ्रिका, अस्टे«लिया र केही एसियाली देशहरूमा देखापरेको छ । यसअघि सबभन्दा घातक मानिएको डेल्टा भेरियन्टको तुलनामा यो प्रजाति अझ बढी सङ्क्रामक र नयाँ खालको भएकोले संसारभर यसको प्रतिरोधको तयारी तीव्र बनाइएको छ । विभिन्न देशले विशेषतः सङ्क्रमित फेला परेका देशहरूबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरी क्वारेन्टिनमा राख्नेदेखि हवाई सेवा नै बन्द गर्ने निर्णय गरेका छन् । यसअघि फेला परेका प्रजातिको तुलनामा ओमिक्रोन नयाँ खालको भएकोले हाल संसारभर प्रयोग गरिएको खोपले यसको प्रतिरोध गर्ने हो वा होइन, वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले डेल्टा भेरियन्ट फैलिनुअघि कोभिड–१९ को खोपले ६० प्रतिशत प्रभावकारिता देखाएकोमा भारतमा पहिलो पटक फेला परेको उत्परिवर्तित डेल्टा भेरियन्ट फेला परेपछि प्रभावकारिता दर ४० प्रतिशतमा झरेको थियो । एकातिर संसारका केही धनी देशहरूबाहेक गरिब र विकासशील देशमा खोप लगाउने जनसङ्ख्याको दर निकै न्यून छ । खोप किन्न नसकेर वा उपलब्ध नै नभएर ती देशहरूले खोप लगाउन पाइरहेका छैनन् । अर्कोतिर अहिले प्रयोग भइरहेको खोपले ओमिक्रोनजस्तो प्रजातिको प्रतिरोध हुने हो वा होइन, निश्चित नहुँदा महामारीको कोपभाजनमा फेरि पनि गरिब तथा विपन्न देशका गरिब जनताले नै पर्ने देखिएको छ ।
अफसोचको कुरा, यो पटक ओमिक्रोन भाइरसको प्रादुर्भाव नै सबभन्दा न्यून सङ्ख्यामा खोप लगाएका मानिसहरूको महादेश अफ्रिकाबाट भएको छ । अफ्रिकाका अधिकांश देशमा खोप लगाउने मानिसको दर १० प्रतिशत पनि पुगेको छैन । त्यसै त आधारभूत स्वास्थ्य पूर्वाधारको अभाव भएको अफ्रिकामा यस्तो घातक भाइरसको सङ्क्रमणले आगामी दिन अफ्रिकाको निम्ति थप चुनौतीपूर्ण हुने देखिन्छ । तर, कोभिड–१९ को महामारीको कुनै सीमा छैन । कुनै पनि देशमा डढेलोजस्तै महामारी फैलिन सक्ने अनुभव संसारसँग छ । त्यसकारण, विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई दैलोमा आइसकेको खतराको सामनाको निम्ति तयारी अवस्थामा रहन सबै सरकारहरूलाई आग्रह गरेको छ ।
खोप लगाउनेको दर भर्खर २५ नाघेको नेपालको निम्ति पनि ओमिक्रोनको खतरा उत्तिकै छ । संसार नै एउटा गाउँ बनिसकेको आजको अवस्थामा नेपाल र दक्षिण अफ्रिका धेरै टाढा छ भनेर सोच्नुमात्र पनि मूर्खता हो । पहिला भाइरस देखियोस् अनि तयारी थालौँला भन्ने छुट अहिले कुनै पनि सरकारलाई छैन । नेपाल सरकारले पनि तत्कालै आसन्न खतराको निम्ति तयारी थालिहाल्न जरुरी छ । सीमा क्षेत्रमा कडाइ नगर्दा दोस्रो लहरको ठूलो मार नेपालले भोग्नु परेको थियो । अब यो कमजोरी नदोहो¥याऔँ । खुला सीमा र हवाई सीमा दुवैमा कडाइ गरौँ । सीमा क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको परिचालनमा ढिलाइ नगरौँ । स्वास्थ्य पूर्वाधारको विस्तार र अद्यावधिक बनाउन थालिहालौँ । फेरि पनि अक्सिजन र अक्सिजन सिलिन्डर नभएर मानिसले ज्यान गुमाउन नपरोस् । नागरिकलाई स्वास्थ्य सावधानी पालना गराउने विषयमा सबै संयन्त्र परिचालन गरौँ । मुखमा मास्क लगाउने, भीडभाड नगर्ने, धेरै मानिस जम्मा हुने सभा सम्मेलन नगर्ने, स्यानिटाइजरको प्रयोग गर्ने आदि स्वास्थ्य मापदण्डको पालना गरौँ । सरकारी स्वास्थ्य निकायले देशका विभिन्न क्षेत्रमा नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्ने र एकै स्थानमा धेरै सङ्क्रमित भेटिए आवश्यक सावधानी पालना गर्न जरुरी छ । माझीहरूको सल्लाह गर्दागर्दै सात गाउँ डुब्ने अवस्थामा आउन नदिऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *