भर्खरै :

कस्तो नयाँ पुस्ताको नेता ?

देशका ठूला सञ्चारमाध्यम यतिखेर महाधिवेशनमय भएको छ । केही शासक दलहरूको महाधिवेशन चलिरहेको र केहीको निकट भविष्यमै हुन गइरहेको हुनाले तिनकै क्षण क्षणका खबरले अखबारहरू रङ्गिएका र टेलिभिजन र रेडियोमा समाचार बजिरहेका छन् । सबैजसो पार्टीमा नेतृत्व र पदको लागि प्रतिस्पर्धामात्र होइन ठूलै रडाको मच्चिएको छ । नेपाली काङ्ग्रेस, एमाले, राप्रपा, जसपालगायत पार्टीहरूमा पद छोड्न नसकेका बुढा नेताहरू पार्टीलाई बलियो बनाएर राजनीतिबाट सन्यास लिने वाचा दोहो¥याइरहेका छन् भने नेतृत्वमा पुग्न आतुर तुलनात्मकरूपमा युवा नेताहरू पार्टीलाई बलियो बनाउन नयाँ पुस्ताको नेतृत्व जरूरी रहेको तर्क दिइरहेका छन् । शासक दलका नेताहरूले देश र जनताको लागि के काम गर्ने हो केही भन्न सकेका छैनन् ।
शासक दलको नेतृत्वदायी पदमा पुग्न लालायितहरूले पनि जनताको हितका लागि काम गर्ने कुरा पटक–पटक दोहो¥याइरहेकै छन् तर देश र जनताको फाइदा हुने के काम, कहिले र कसरी गर्ने स्पष्ट बताउन सक्दैैनन् । यथार्थमा उनीहरूसित न नयाँ विचार छ न त नयाँ काम गर्ने कुनै सोच र योजना नै छ । अनियमितता र भ्रष्टाचारले गर्दा जनता आक्रान्त छन् भने देश अविकासको भुमरीमा फसिरहेको छ । उनीहरूले मुखले भ्रष्टाचारलाई खराब भने तापनि व्यवहारमा भ्रष्टाचारको विरोध गर्न सकेका छैनन् । न त भ्रष्टाचार र भ्रष्टाचारीहरूविरुद्ध सङ्घर्षको भावना नै तिनीहरूसँग छ । तिनीहरूमध्ये अधिकांश र भ्रष्टाचारीहरूसँग काँधमा काँध मिलाएर हिँडेका देखिन्छन् । त्यस्तो नयाँ पुस्ताका नेताहरूले देशलाई उँभो लगाउला र जनतालाई सुख देला भनी सोच्नु आफैमा आकाशको फल हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *