वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
ट्रान्सफ्याट एक प्रकारको अति हानिकारक चिल्लो पदार्थ हो । यो कोठाको तापक्रममा जम्ने गर्दछ । यसले मुटुलाई नकारात्मक असर गर्ने प्रमाणित भइसकेको छ ।
प्रकृतिबाट पाइने ट्रान्सफ्याटमा दूध, चीज, अण्डा, मासु, माछा, नौनी पर्छन् भने कारखानामा तयार पारिएका अप्राकृतिक चिल्लोवस्तु बिस्कुट, पीज्जा, अनाज, मसला, चकलेट, तयारी सुप, पोर्क खानाहरू, रेष्टुरेन्टका खानाहरू पर्दछन् । प्राकृतिक रूपमा पाइने चिल्लो चीज ठीक मात्रामा खाएमा खासै हानी गर्दैन । घरपालुवा जनावरमा पाइने ट्रान्सफ्याट भनेको कन्जुगेटेड लिनेलिक एसिड (सीएलए) हो जुन दूधजन्य पदार्थमा पाइन्छ । यो स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
व्यापारिक दृष्टिकोणबाट लाभ लिन वनस्पतिबाट आउने चिल्लो चीजलाई धेरै टिकाउन झोल चिल्लोलाई हाइड्रोजिनेसन गरेर सा¥हो (सोलिड) बनाइन्छ, यो कोठाको तापक्रममा जमेको हुन्छ, यो स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । हाम्रा खानामा गाईवस्तु, बाख्रा, वनस्पति र केही हाइड्रोजीनेरेट गरेर बनाइएका चिल्लो पदार्थ हुन्छन् ।
दोस्रो विश्वयुद्धपछि खासगरेर संयुक्त राज्य अमेरिकामा सस्तो, धेरैले खानसक्ने, धेरै समय टिक्ने खाना बनाउँदा यो ट्रान्सफ्याटको सहरा लिएको पाइन्छ । यो चलन संसारभर नै विस्तार हुँदै गयो । यसले मुटुरोगलगायत अन्य धेरै रोग बढेको पाइएकाले अब यसबाट कसरी बच्ने भनेर सोच्ने समय आइसकेको छ ।
ट्रान्सफ्याटले शरीरको राम्रो खाले कोलेस्टेरोल घटाउँछ भने नराम्रो बढाउने गरेको देखिन्छ । राम्रो खालको एचडिएल कोलेस्टेरोलले धेरै चिल्लोलाई कलेजोमा पु¥याउँछ र धमनीमा जम्न दिँदैन भने नराम्रो एलडिएल कोलेस्टेरोलले धमनीको भित्री भागमा पु¥याएर धमनीलाई साँगुरो बनाउँदै जान्छ । यसरी ट्रान्सफ्याटले थुपारेको चिल्लोको बाहिरी पत्र फुट्छ र त्यसबाट रगत बाहिर आएर जम्ने हुनाले धमनीलाई टालिदिन्छ । त्यसपछि हृदयघात हुने गर्दछ ।
विश्व स्वास्थ्य सङ्घले २०२३ सम्ममा संसारभर खानामा मिसिएको ट्रान्सफ्याट घटाउने लक्ष्य लिएकोछ । यो कार्यक्रमको नाम रिप्लेस (सट्टागर्ने) रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले संसारभरका सरकार र सरोकारवालाहरूलाई सरकारी नियम बनाउनुपर्ने, व्यापक प्रचारप्रसार गर्ने र ट्रान्सफ्याट हटाउने नियमलाई कडाइका साथ पालना गर्न सुझाव दिएको छ । डेनमार्कलगायत विकसित देशहरूले यो कार्यक्रमहरू लागू गरिसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले खराब तेल हटाएर राम्रो तेल उपयोगमा ल्याउन आह्वान गरिसकेको छ । राम्रो तेलको छनोटले मात्रै पनि संसारमा मुटुरोगलाई घटाउन सकिन्छ । तसर्थ उद्योगमा उत्पादन हुने तेललाई रोकेर प्राकृतिक नजम्ने तेलको चलन चलाउनुपर्छ । खराब तेल उत्पादन बन्द गर्न देशमा कानुन बनाउनुपर्छ । कानुनको पालना भएनभएको हेर्न कडा निगरानी गर्न अनिवार्य छ । आम नागरिकहरू पनि यसप्रति सजग र सचेत हुन जरुरी छ । यस कदममा राम्रो नतिजा ल्याउनको लागि केही विकसित देशहरूले कानुनी तरिका अपनाइसकेका छन्, जसको पछिल्लो उदाहरण हो डेनमार्क, अनि अरू विकसित राष्ट्रहरूमा पनि यो विस्तारै लागू हुँदै छ । तर हाम्रो जस्तो देशमा धेरै काम गर्न बाकी नै छ ।
ट्रान्सफ्याट नखाएर अनस्याचुरेटेड फ्याटी एसिड भएको खानाले मुटुरोबाट बच्न सजिलो हुने तथ्य साबित भइसकेको छ । दिनभर उपलब्ध हुने क्यालोरीमा जम्मा १० प्रतिशतसम्ममात्र ट्रान्सफ्याटबाट आउन सक्दछ । त्यो भन्दा बढी हुँदैन । उदाहरणको लागि २,००० क्यालोरी खाँदा २.२ ग्राम भन्दा बढी हुनु हुँदैन । त्यसैले खाना सन्तुलित बनाउन आवश्यक छ ।
सुरुमा चिल्लो स्याचुरेटेड फ्याटलाई सबै दोष लाग्यो, पछि यसले पनि केही राम्रो गरेको देखियो, त्यही कारणले आजभोलि १० स्याचुरेटेड फ्याट खानामा हुनु ठिकै मानिन्छ । स्याचुरेटेड फ्याटसँग डराएर मानिसले बढी कार्बोहाइड्रेट सेवन गर्न थाले । यसरी चिल्लो कम गर्दैगर्दा पनि मुटुरोग बढेको पाइयो । त्यसपछिका अध्ययनहरूमा कार्वोहाइड्रेट पनि खतरनाक भएको पत्ता लाग्यो ।
विज्ञानले प्रमाणित भएको कुरा मात्रै स्वीकार्छ । तर यो जीवविज्ञानसित जोडिएको ज्ञान भएकाले सधैँ एकैनास हुँदैन । बेलाबेलामा परिणाम अलग आउने गर्दछ । तसर्थ, ट्रान्सफ्याटलाई कुनै हालतमा पनि राख्न हुँदैन । सन् २०१५ मा भएको अध्ययनमा (कुखुराको अण्डा) फूलले खासै कोलेस्टेरोल बढाएको पाइएन, गाईको घ्यूले पनि कमै असर गरेको देखिएको छ । तसर्थ हामीले कुनै कुरामा पनि अति गर्नुहुँदैन । ‘अति सर्वत्र वर्जयतः ।’ कुनै कुरामा पनि बीचमा बस्नु राम्रो हुन्छ । कुनै कुरा पनि अति गर्नु हुदैन ।
उदाहरणका लागि फ्रान्समा अरू विकसित देशको दाँजोमा मुटुरोग ज्यादै कम थियो तर जब अमेरिकी फास्टफुडः म्याकडोनाल्ड, बर्गर इत्यादि बजारमा देखा पर्न थाल्यो त्यही बेलादेखि मुटु रोग पनि बढ्न थालेको प्रस्ट देखिएको छ । छिटो हुन्छ, खाँदा मीठो पनि । यसो भन्दैमा पछि गएर त्यसले गर्ने नकारात्मक असरलाई बेवास्ता नगरौँ । आफू पनि बाँचौँ, अरूलाई पनि बच्न मद्दत गरौँ ।
(लेखक मेडिकेयर अस्पतालका अध्यक्ष, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र कार्डियाक सोसाइटी अफ नेपालका पूर्वअध्यक्ष हुनुहुन्छ ।)
Leave a Reply