भर्खरै :

ख्वप विश्वविद्यालय स्वीकृति दिन किन आनाकानी ?

देशको लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यले नै भक्तपुर नगरपालिकाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न सरकारसँग स्वीकृत माग गरिरहेको हो । ख्वप विश्वविद्यालय खोल्ने सन्दर्भमा सरकारले अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन । सरकारले पूर्वाग्रह राखेर ख्वप विश्वविद्यालय खोल्न अनुमति नदिएको हो । अहिले कुनै निजी मेडिकल कलेजमा अध्ययन पूरा गर्न एक विद्यार्थीको निम्ति ५० लाख रूपैयाँ पनि पुग्दैन । यति रकम खर्चेर सर्वसाधारण अभिभावकले आफ्ना सन्तानलाई चिकित्सा विषय पढाउन सक्दैन । पढ्ने क्षमता भएर पनि कति अभिभावकले आफ्ना सन्तानलाई महँगो खर्चकै कारण चिकित्सा विषय पढाउन सकिरहेको छैन । निजी मेडिकल कलेजमा पढ्ने विद्यार्थीहरूले शुल्कमात्रै ४० लाख रूपैयाँभन्दा बढी तिर्नुपर्छ । शुल्कबाहेक निजी मेडिकल कलेज व्यवस्थापन समितिले अन्य शुल्क तिर्नुपर्ने विद्यार्थीको बाध्यता त छँदै छ । यसबाहेक विद्यार्थीको लागि चाहिने पाठ्यपुस्तक, अन्य स्रोत र साधन, बहाल र खानपिन खर्च त बाँकी नै छ । आफ्ना सन्तानलाई चिकित्सा विषय अध्ययन गराएका अभिभावकहरूका अनुसार अध्ययन सकेपछि कम्तीमा रू. ५० लाख नभई पुग्दैन । यसरी महँगो शुल्क लाग्ने भएरै भनपाले केही वर्षपहिले सस्तोमा गुणस्तरीय चिकित्सा शिक्षा दिने प्रतिबद्धता जाहेर गरेको थियो । भनपाले हाल लिइरहेको शुल्कभन्दा आधा रकमभन्दा कममा चिकित्सा शिक्षा दिनसक्ने कुरा बारम्बार दोहो¥याइरहेको छ ।
अहिले विभिन्न पत्रपत्रिकामा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूसँग अनावश्यक थप शुल्क लिएर दुःख दिइरहेको खबर प्रकाशमा आएको छ । समाचारमा शिक्षा आयोगले निर्धारण गरेको रकमभन्दा बढी शुल्क लिने काम मेडिकल कलेजहरूले लिइरहेका छन् । घर–खेत बन्धकीमा राखेर र साहुहरूसँग चर्को ब्याजमा सापटी लिएर मेडिकल कलेज अध्ययन गरिरहेका विद्यार्थीहरू थप शुल्क लिन थालेपछि अहिले सङ्कटमा परेका छन् ।
मंसिर २३ गते ‘अन्नपूर्ण’ दैनिकमा प्रकाशित समाचारमा शिक्षा आयोगले निर्धारण गरेको रकमबाहेक अन्य थप अतिरिक्त शुल्क लिएको उल्लेख छ । समाचारमा आयोगले एमबीबीएस अध्ययन गर्न उपत्यकाभित्र ४० लाख २३ हजार २५० रूपैयाँ तथा उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ शुल्क निर्धारण गरेको उल्लेख छ । तर, मेडिकल कलेजले निर्धारित शुल्कबाहेक अतिरिक्त शुल्क भन्दै कहीँ ६ लाख त कहीँ एक लाख रूपैयाँ लिन थालेको छ । यसरी नियमविपरीत थप शुल्क लिने कलेजको निर्णयले चिकित्सा क्षेत्रमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरू चिन्तित छन् । एकातिर सरकार आफै जिल्ला–जिल्लामा या आवश्यकताअनुसार सरकारी मेडिकल कलेज खोल्दैन भने अर्कोतिर सस्तोमा गुणस्तरीय चिकित्सा शिक्षा कलेज माग्दा पनि सरकार अनुमति दिँदैन । महँगो खर्च हुने निजी मेडिकल कलेज स्वीकृति दिने सरकारले समुदाय या देशकै निम्ति चाहिने सस्तोमा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले खोल्न लागेको ख्वप विश्वविद्यालय स्वीकृति दिन सरकारले किन आनाकानी गरिरहेको हो ? आज देशभरका विद्यार्थी तथा अभिभावकहरू प्रश्न गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *